ख्याम्पालुङ, संखुवासभामा जन्मिएका कवि मुनाराज शेर्मा समकालीन साहित्यका सशक्त हस्ति मानिन्छन् । कविताबाहेक नियात्रा, संस्मरण र समालोचनामा समेत उत्तिकै प्रखर शेर्मा आवाजविहीनहरूको आवाजलाई प्रधान विषयका रूपमा उठान गर्न रुचाउँछन् । हाल झापा, बर्नेमा बसोबास गर्दै साहित्यका साथै शिक्षण र व्यवसायमा पनि सक्रिय रहेका उनको शब्दहरूको याक्सा कविता सङ्ग्रह प्रकाशित छ । कवि शेर्मासँग शब्दसोपानले गरेको कुराकानी प्रस्तुत गरिएको छ: मुनाराज शेर्मासँग शब्द संवाद
१.हाल लकडाउनको समयलाई कसरी उपयोग गर्दै हुनुहुन्छ ?
निषेधाज्ञा पालन गरेको छु । सामाजिक दुरी कायम गरेर समाजसँग नजिक छु । अनलाइन समाचार पढ्छु । देशको राजनैतिक बदलाव नियालिरहेको छु । कोरोनाको भेरियन्ट टुको प्रभावबाट पश्चिम नेपालको गम्भीर अवस्था देखिरहेका छौँ । सरकारको नेकपा भेरियन्ट थ्री चलिरहेको छ । यसरी लाचार र गैरजिम्मेवार देखिनु हुँदैनथ्यो । समय भइन्जेल केही होइन भन्ने, तयारी नगर्ने अनि समस्या आएपछि सक्दिन भनेको कुराले जनतालाई ज्यादै दुखी बनायो । यस्तो गम्भीर समयमा पनि मानिसहरू बिचलित नहुनु चाहिँ नेपालीको विशेष पहिचान हो ।घर छेउमा कोरोना घुमिरहेको होला हामी भने अलौकिक राजनीतिको चक्रव्युहमा छौँ ।
२.तपाईँले कहिलेदेखि लेख्न थाल्नुभयो ? पहिलो रचना के थियो र कुन पत्रिकामा प्रकाशित भएको थियो सम्झन सक्नुहुन्छ ?
मैले चालिसको दशकदेखि लेखेको हो । यकिन छैन कुन पत्रिकामा पहिलो रचना प्रकाशित भयो तथापि यात्रामा वा बिर्तामोडको कुनै पत्रिकामार्फत मेरो प्रथम रचना प्रकाशित भयो होला । यात्राको चाहिँ “रहित हुनुको अर्थभित्र” हो जुन बयालीस सालतिर हुनुपर्छ ।
मैले लेखेको प्रथम कविता चाहिँ “ढुङ्गा” हो चालिसमा । इलाम पढ्दै लेखेको तर प्रकाशित भएन । यो कवितामा मैले भोगेको अभावलाई ढुङ्गासँग तुलना गरिएको थियो । प्रकाशित गर्नु सजिलो पनि थिएन त्योबेला ।
३.साहित्यतर्फ अग्रसर हुने प्रेरणा तपाईँले कहाँबाट र कसरी पाउनुभयो ?
साहित्यतर्फको लगाव अदृश्य रूपमा मैले कक्षाको कोर्सबाट प्राप्त गरेँ होला । जसले मभित्रको कविलाई जगायो । जहाँ कवि, लेखकको आदर्श र लेखकीय महत्त्वको विस्तृत व्याख्या हुन्थ्यो । गाउँमा रात्रीकालीन सोको रूपमा मुनामदन मञ्चन हुन्थ्यो । मुनामदनका श्लोकहरू साग र सिस्नु खाएको बेस आनन्दी मनले, सुनको थैला हातको मैला के गर्नु धनले, जसले साग र ढिडो खाएर जीवनमा सामन्त वर्गको अगाडि चौडा छाती बनाए । जहाँ सामन्तहरू गरिबहरूलाई देखाउन पनि कुकुरलाई धानको भात ‘फ्लाइङ पोज’मा दिन्थे । यो भाष्य नेपाली आर्थिक प्रगतिको बाधक थियो भनेर विश्लेषकहरूले महत्वका साथ उठान गरे,यस कुरामा दम छ । तथापि विश्लेषकहरूले पूर्वीय दर्शनको इच्छालाई मार्ने लोभलाई त्याग्ने तत्व चैँ खास कारण हो प्रगतिको बाधक हो, भन्न सकेनन् । सकिरहेका छैनन् । अर्को श्लोक क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन ,मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन । त्यस समयमा यो भाष्य निकै दमदार भयो । हरेकको मुखमा यही कुरा अभिव्यक्त हुन्थ्यो । मानिस महान हुन हृदय चाहिन्छ जात होइन भन्ने पक्ष देवकोटाले भनेपछि समाजमा तरङ्ग नै आयो तथापि यो बाहुन नराखेर क्षेत्री शब्द राख्नाले देवकोटा आलोचित भए जुन हुनुपर्ने आलोचना हो । उनले मान्छे वा मानव राख्न सक्थे बाहुन नै राख्न सक्थे तर सिमा पुर्ण रूपमा भत्काउन सकेनन् ।
यो शक्तिशाली भाष्यको आलोचना साहित्यमा हुन्छ जुन लोकतान्त्रिक पार्टीमा पनि हुन्न भन्ने ज्ञानले पनि म यता तानिएँ कि । आदि सुशुप्त प्रज्ञा जसले म यतातिर आकर्षित भएँ होला ।
लोकतन्त्र र प्रजातन्त्रको लागि राजनीतिको जति महत्व हुन्छ साहित्यको त्यति नै महत्व हुन्छ तसर्थ पनि म साहित्यमा बढी तानिएँ होला । आदिवासी तथा लिम्बू कल्चरमा अधिक मौलिक पक्ष छन् । त्योबाहेक हामीसँग लेख्नु पर्ने स्थानिक वस्तुसत्य र यथार्थहरू बग्रेल्ती छन् । त्यो लेख्न म यो बाटो हिडेँ होला । सबै भन्दा खास म स्वतन्त्र छु । तसर्थ फ्रीडमको निमित्त लेख्छु ।एकपल्ट म डिप्रेसनमा गइसकेको रहेछु । मलाई लेखनले त्यो दुर्घटनाबाट बचाएछ । अहिले पर्गेल्दा थाहा भो, साथीहरूले भनेपछि । सायद मेरो दुखबाट आफैँलाई मुक्ति दिन पनि मैले लेखिरहेको रहेछु । सबभन्दा ज्यादा मान्छे आफ्नो लागि लेख्दो रहेछ । म आफैँलाई भन्न लेख्दोरहेछु ।
४.तपाईँलाई मुलत: कस्तो साहित्य लेख्न मन पर्छ, अहिलेसम्म लेखनको हिसाबले कतिको सन्तुष्ट हुनुहुन्छ ?
म खास गरेर कमजोरहरूको पक्षमा लेखिएको साहित्य मन पराउँछु । वस्तुसत्य, सांस्कृतिक चिन्तनले युक्त यात्रा संस्मरणले औधी तान्छ । सिमान्तकृत पात्रको अस्तित्वमाथि लेखिएको कथावस्तु भएको आख्यान, बुलन्द कविता जो वैचारिक पनि होस् । जुनै आख्यान निबन्ध कविता गजल नाटक जसको भाषा शक्तिशाली बिद्रोही होस् । मौलिक माटोको सुगन्ध, जातिय पहिचान, नारी मुक्ति, लैङ्गिक हस्तक्षेप, प्रगतिशीलता, पुरातात्त्विक वैचारिक इतिहासको तार्किक करेक्सन, अन्वेषण युक्त तथ्यमा आधारित विशिष्ट लेखन नै मेरो मुल अपेक्षा हो । आजको विश्व बहुलवादी समाजको पहिचान हो । त्यसकारण बहुल संस्कृति, भाषा, रुचि संस्कारको लेखन नै सिङ्गो राष्ट्र हो । हामीले खोजेको देश बहुल हो त्यो हामी लेख्छौँ, चहान्छौँ ।
म पूर्णकालीन लेखक होइन । हुन सकिन । हुने परिस्थिति छैन । म मेरो लेखनसँग पूर्ण सन्तुष्ट छुइन । सन्तुष्ट भइयो भने लेखक रहँदैन । मलाई मेरो असन्तुष्टिले नै घिसारिरहेको छ । म उत्खनन भैरहेको छु । म बाँचिरहेको छु । म चाहन्छु, म सन्तुष्टि प्राप्त नगरी सिद्धिऊँ, मैले अरु धेरै शत्रुको किल्लामा धावा बोल्नु छ । मतलब मैले कमजोरहरूको पक्षमा अरु कति लेख्नु छ ।
५ .तपाईँ साहित्यको विभिन्न विधामा कलम चलाइ रहनुभएको छ । पत्रपत्रिकाहरूमा पनि लेख,रचना र सृजनाहरू आइरहेको हुन्छ । यसका बाबजुद प्रकाशित कृति चाहिँ एउटा मात्र छ, कारण बताईदिनुस् न ।
हो ! मेरो हालसम्मको कृति एउटा मात्र हो, शब्दहरूको याक्सा । यसमा मलाई कुनै गुनासो छैन । सके थपुङ्ला, नथपी यो चोला निभ्ने छैन । म मूलतः कवि हो । कविता हतारमा हुँदैन । म हतारमा लेख्ने कवि होइन । विचारको आरनमा सान लाउनु र शिल्पको लिहिमा ठोक्नु समय लाग्छ । कवितामा धारिलो पाइन खोज्नु लिसिङ्पिसिङ कुरा होइन । यहाँ सम्राटहरू कवि नभएकोमा पछुतो मानेर अस्ताई गएका छन् । म कवि भएकोमा गर्व गर्छु । हुँदै नहुने सम्राटमा पिर छैन ।
म उता गाउँको कथा लेख्ने हुँ । यता शहरमा चोचोमोचो मिलाउन सकिएन । अलिक अल्छि पनि छु होला म आख्यान लेखिरहेको छुइन । मलाई अलिक छुच्चो पनि भन्दा हुन् । कतिलाई बिझाउँदो हो । रुवा लेख्ने कवि हुन पनि सकिएन । पानी भर्ने पधेँरोको भन्दा पधेर्निको दुख लेख्ने हो । हामी मृत्युको भाग्यवादी सौन्दर्य लेख्दैनौँ, मृत्युको कारणहरू लेख्छौँ । बरु दर्दनाक मृत्यु लेख्छौँ । जो सबैलाई मन नपर्न सक्छ कारण हामी सत्ताको कमजोरीहरू लेख्छौँ ।
६.जीवन र साहित्यको सम्बन्धबारे तपाईँको कस्तो दृष्टिकोण रहेको छ ? अब साहित्यमा के लेखिनु पर्छ जस्तो लाग्छ ?
जीवनको सम्पूर्ण विविध पक्षको व्याख्या साहित्यले गर्छ । जुन हामी एक्लै सबै पक्ष भोगिरहेका छैनौँ । भोग्ने मौका र समय पनि हुदैन एक जुनीमा । पृथ्वीकै सात अरब जुनीको किट्पतङ्ग प्रकृति र व्रह्माण्डको यथोचित व्याख्या धर्मविज्ञानपछि साहित्यले गर्छ । धर्मको सम्बन्ध सामन्य नागरिकदेखि निमुखा र कट्टरवादीसम्म ज्यादा छ । विज्ञान प्राज्ञिकसँग मात्र ज्यादा छ । जो खोज गर्छ । साहित्य स्वतन्त्रता चाहने विद्रोहीहरूसँग र सौन्दर्यको पारखीसँग अधिक हुन्छ । त्यसकारण साहित्य जीवनको अस्तित्वको खोज र सौन्दर्यकरणमा समाहित छ । समृद्ध जाति र राष्ट्र हुन यी सबै चाहिन्छ । कतिलाई यो लागिरहेको छ सभ्यताको लागि इतिहास र धर्म भए हुन्छ । साहित्यले जातीय उत्थानमा अहम भुमिका खेल्दैन । तर त्यो कदापी होइन विश्वको सभ्यतालाई हेरौँ । हरेक विकसित जाति र राष्ट्रको आफ्नो विशिष्ट साहित्य छ । हिजो हेपिएको अफ्रिकाको आज आफ्नो छुट्टै साहित्य छ । जातिको इतिहास, धर्म, चिन्तन, संस्कृति, विद्रोहको फैलावट साहित्यमा हुन्छ । उसको साहित्यको स्तर नै उसको सभ्यताको मापन हो ।विसङ्गतिको निरुत्साहन जीवनको सौन्दर्यको खोज हो । धर्म र विज्ञानले पर्गेल्न बाँकी जीवन साहित्यले अनुसन्धान गर्छ । साहित्यले धर्म, इतिहास, विज्ञान, कला सबैलाई एकीकृत रुपमा प्रस्तुत गर्छ ।
यस्तो नै ठ्याक्कै लेखिनु भन्ने डिटो सापेक्ष कुरा हो । जो हाम्रो जीवनमा रहेको रहस्यहरूको उत्खनन गर्दै जाने हो । पुँजीवादी दुनियाँमा लैङ्गिक पुनरुत्थान, श्रमिक अपहेलनाको क्षतिपूर्ति, हरित साहित्य र इतिहासकै पुनर्व्याख्या मूलत: मूल मुद्दा हुन सक्छन् । सबैभन्दा ज्यादा अपेक्षित विषय मानकहरूमाथि प्रश्न र तार्किक पुरातात्विक पुनर्व्याख्यालाई मान्न सकिन्छ । भर्खरै हामीले हेर्यौँ नि नेपालको कानुन, चिया मजदुरबाहेकले पन्ध्र हजार पाउने । लोकतन्त्रको अध्याँरो लेख्नुपर्ने सर्वकालीन विषय हो । मातृभाषामा लेख्नेले अझ सम्पूर्ण लेख्न बाँकी छ । निरपेक्ष विषयहरू समयले निर्माण गर्दै जान्छ । सबै नलेखिन सक्छ एकै पटक । फेरि बाँकी पुस्ताले पक्रेर लेख्ने हो । लेखकलाई केले छुन्छ लेख्न सहज हुन्छ । त्यो पनि खास हो । यो समग्र नियोजित हुँदैन । नियोजित त अनुसन्धान मात्र पनि हुन सक्छ ।
७.समकालीनका साहित्य कतिको सन्तोषजनक छ ? आजको साहित्यको उपलब्धि र नैराश्यता के हो जस्तो लाग्छ ?
लोकतन्त्रको स्थापनापछि जनताको पक्षमा साहित्य लेखियो । स्वतन्त्रता प्राप्तिपछि निर्वाध रूपमा लेखन बढ्यो, यो सुन्दर पक्ष हो । आदिवासी जनजातिको सांस्कृतिक आधारलाई लिएर लेख्ने क्रम बढ्यो । हिजोको मानकमाथि प्रश्न गर्ने परम्परा सुरु भयो ।केन्द्रीय मानकहरू भत्काएर हेर्ने पर्गेल्ने नयाँ तर्क सिद्धान्त कसिमा जाँच्ने काम लगातार भैरहेको छ । लैङ्गिक मानकलाई उखेलेर समानताको ह्याङगरमा टाङ्ने प्रयास भैरहेको छ । दलित, वादी, मधेस आदिको तर्फबाट लेखकहरूले निरन्तर कलम दौडाइरहेका छन् । यी सबै हेर्दा खुशी लाग्छ । तर यो पूर्णता कदापि होइन । नेपाली एक सय पच्चीस जातिहरूको विविधतामाथि लेख्न अझै कैयौँ वर्ष लाग्छ । कति जातिहरूमा लेखकहरू नै जन्मिसकेका छैनन् । कवि, लेखक उत्पन्न हुनु र उसमा स्वजातीय गौरव हुनु महान कुरा हो । जातीय प्रेम राख्ने लेखकहरू त्यो जातिय अस्तित्वको बाहक हुन् । देशको गौरव हुन् । त्यो तथ्यमाथि लेख्न स्वयं जाति जति जानिफकार हुन्छ अरु त्यति कदापि सक्षम हुँदैन । नोबेल पुरस्कार विजेता रविन्द्रनाथ ठाकुर मूलत: बङ्गाली भाषाका कवि हुन् । उनी हिन्दी र अङ्ग्रेजी भाषाका कवि होइनन् । राज्य भौतिक निर्माण मात्र विकास ठानिरहेको समयमा सहयोगको अपेक्षा निरासाजनक छ । आशा गरौँ यो काम पुरा होला नै ।
आजको साहित्य लेखनको उपलब्धिलाई मान्ने हो भने आशावादी हुनुपर्ने प्रमुख पक्ष हो, लेखकहरूले स्वतन्त्रतापुर्वक लेख्ने हैसियत लोकतन्त्रले प्रदान गरेको छ । हिजोको मानकमाथि कसि लाएर तथ्यगत लेखन थालिएको छ । इतिहासमाथि प्रश्न गरिएको छ । विषयको विविधता थपिएको छ । स्थानिकतामाथि चासोका साथ लेख्ने काम भएको छ । सामाजिक सञ्जाल, अनलाइन पत्रपत्रिका, मिडिया हाउस, प्रकाशन गृह, सबैको सकारात्मक प्रभावले साहित्यको उत्थानमा अभुतपूर्व उत्साह थपिएको छ ।युवाहरू गजल नै सहि लेखिरहेका छन् । संख्याको हिसाबले पनि पुस्तकहरू आइरहेका छन् । कोरोना महामारीकै बीचमा पनि पुस्तक बिमोचन भएको छ ।
अनलाइन पुस्तक पढ्ने पाठकहरू पनि बढेका छन् । देशव्यापी सङ्घसंस्थाहरूले कार्यक्रम गर्छन् । सानोतिनोदेखि ठूलो राशीका अनेक पुरस्कारदेखि पहिचान पुरस्कार समेत स्थापना भएका छन् । यी सब हेर्दा काम नभएको हैन भएकै छ भन्नुपर्छ । लेखनले देशलाई संसारभरि जोडेको छ ।
तथापि कमजोरीहरू पनि प्रशस्त छन् । लोकतन्त्रपछि आवाजविहीनहरूको आवाजलाई जसरी प्रमुखताका साथ लेख्नु पर्थ्यो, त्यो लेखिएन । युवाहरू रोमन्टिसिजम र फ्यान्टसीमा ज्यादा केन्द्रित भए । आर्थिक प्रलोभनमा गोस्ट राइटिङ हावी भयो । सीमान्तकृत लेखनको ब्यार्ड मासेर फिक्सनले बजार पेल्यो । फिक्सन नराम्रो होइन तर यो लेखन हाम्रो मुल मुद्दाबाट असम्बन्धित लेखन हो । वर्तमानमा हाम्रै स्थानिक जटिल मुद्दाहरू छन् । जस्तो कि एउटै उदाहरण मानव बेचबिखनको विषय । सुन बहादुरहरू दुईसय चेली बेचेर लोकतन्त्रमा डिमोक्रेटिक वडाध्यक्ष छ । बेचिएको चेलिको गाउँमा प्रमुख अतिथि हुन्छ । गाउँमा उसैको घर भएर मात्र बाटो जाने गर्छ । अर्को बाटो नखन्ने उसैको निर्णय लागू हुन्छ । लेखनको बेसक्याम्प नछिरेकाहरू रातारात लेखकको पगरी गुथे पैसा, पावरको बलमा भाडाको लेखनले । प्रकाशन गृहले के लेख्नुपर्ने नभएर के बिक्छ लेखाइरहेको छ ।बिकाउमा सफलताको ग्राफ जोडियो । बिकाउ लेखनको फर्म्याट पुरानो नेपाली फिल्मजस्तो वाक्कलाग्दो भएन भन्न सकिन्न । एउटा त्रास छ नेपाली लेखनमा हाम्रो साहित्य विश्व साहित्य भएन भन्ने । आफ्नो कुरा मन नपराउने अनि विश्व स्तर खोज्ने ! कति लेखकले नेपाली साहित्य पढ्दै नपढ्ने विदेशी लेखकको दृष्टान्त मात्र पेश गर्ने । अहिले हामीलाई हाम्रो मौलिक लेखन चाहिएको हो । आदिवासीको लेखनलाई काडेतार हाल्न अदृश्य रूपमा केन्द्रिय प्रकाशन गृह समेतले अनेक तानावाना बखेडा झिक्ने यति विविध जातिको भाषा संस्कृतिलाई अध्ययन अनुसन्धान गर्ने र प्राज्ञिक केन्द्रको स्थापना गरी लेखनलाई अघि बढाउने काम हुन सक्छ भन्ने झारो टार्ने बाहेक खास आसै रहेन । आख्यान वा साहित्यको स्थानिक भाषिकालाई केन्द्रिय मानक वैयाकरणिक झन्झटको मेसिनमा पिध्ने प्रपन्च भैराखेको दृष्टान्त हो । इतर मिथक ईश्वरको अस्तित्वलाई स्वीकार गर्न हम्मे पर्नु वर्तमान एक समस्या हो । जनताको करले स्थापित एकेडेमीमा राज्यको दानापानी लिएर बाँचेको स्कलरहरू केन्द्रिय सत्ताबाहेकको अस्तित्व स्वीकार गर्नुको साटो अझ भएभरको इतर अस्तित्वलाई केन्द्रिय मानकमै रुपान्तरण गरी जोडेर हेर्ने कुर्तुत प्रस्तुत गर्ने हदसम्मको दलिल पेस भएको छ । मातृभाषाको काम ठोस रुपमा सुन्नसम्म सकिएको छैन एकेडेमिक तहबाट । सबै भाषा संस्कृतिको उत्थान राष्ट्रको निर्माण हो । किन भय राख्नु राज्यले ।यस्तो गलत प्रवृति हावी भएकोले गरिमामय संस्थाप्रति नै निराशा उत्पन्न भएको छ। यसको आलवा निजि क्षेत्रबाट कामहरू भैरहेको छ । राज्य केन्द्रिय मानकको पछि कुदेर इतर मानकको अप्रत्यक्ष बहिष्करणमा सामेल हुनु निराशाजनक कुरा हो । राष्ट्र
एकताको नाममा केन्द्रिय मानकको अस्तित्व मात्र लिएर अघि बढ्न खोज्नु लोकतन्त्रको असली सौदर्य हुँदै होइन । अहिले लोकतन्त्रको नाममा इतर वैचारिकी र सौदर्य बहिष्करणमा छ यो चिन्ताको विषय हो । राष्ट्र त बहुलताको एकता हो नि खोइ बुझेको ?
८.यहाँलाई नेपाली साहित्यमा कुन विधा बढी समृद्ध छ जस्तो लाग्छ ? तपाईँको विचारमा त्यस्तो किन भएको होला ?
कविता र आख्यानमा उपन्यास उस्तै मोडमा छन् । कविता हिजो शक्तिशाली थियो । विशेष पद्य कविता । आज गद्य कविता शक्तिशाली छ । सभ्यताकै प्राञ्जल कोमल भाषा कवितामा छ ।मानव मात्रकै विद्रोही कविहरू काव्यमा दिमागले गिदि गालेर कुदिरहेका छन् । आज उपन्यास लेख्नेहरू हिजो सबै कविता लेखिरहेका थिए । उनीहरू आज आख्यानमा कविता लेखिरहेका छन् । पाठकहरू उनीहरू उपन्यासमा हिजोको कविता खोजिरहेका छन् । जो खण्डकाव्य, महाकाव्य वृहत्तर महाकाव्यमा लेखिन्थ्यो । जो उत्तरआधुनिकताले सिमाबद्ध गर्यो । तर कविता उपन्यासमा छिर्यो र विनिर्मित भयो । कुनै प्राञ्जल भाषा बेगरको उपन्यास के पाठकले स्वीकार्छ ? भन्न सक्छ्न् ‘बिकेको खोइ ?’ नबिक्ने ट्रेन्ड नेपालको मात्र होइन विश्वकै हो ।कविता कम बिक्ने नै हो । म भन्छु कविता उपन्यासमा बिकेपछि किन कविता मात्र बिक्नु ? देश विदेश जहाँसुकै कविताबिना कुनै कार्यक्रम हुन्छ ? जति संस्था निर्माण र सञ्चालित छ त्यसको ब्याकफोर्स कविता हो । समाजसँग साहित्यलाई जोड्ने मूल जोडन नै कविता हो । झुर कविताको तर्क हुनसक्छ, सबै आख्यान पनि शक्तिशाली हुँदैन नै । धेरै झुरबीच केही शक्तिशाली कविता हुन्छन् । यो शाश्वत प्राकृतिक नियम पनि हो । केही शक्तिशाली भएर नै अरु झुर लागेको हो नत्र त्यो आफैँमा शक्तिशाली हो ।
राजनैतिक आन्दोलनको केही बाहकमा कवितालाई मानिन्छ । यी सब वर्तमान विम्ब हुन् । प्राचीन शक्ति उत्खनन् गर्ने हो भने सबै धर्मको अस्तित्व कवितामा पुस्तान्तरण भएर आएको हो । यो गेयात्मक छ र स्मृतिमा रहन्छ । लिम्बू मुन्धुममा साम्बा यबा फेदाङ्मा, राईहरूमा नोक्छाङ प्राचीन कविताका ज्ञाता हुन् । मुनाराज शेर्मा मुनाराज शेर्मा
कस्ता तानाशाहहरू मृत्युको अन्तिम घडीमा सबै खोसिएपछि पनि आत्महत्या नगरी पश्चातापमा कविता लेखेर बाँचेका छन् । कविताले निरङ्कुशतालाई पखाल्दो रहेछ । जीवन सिकाउँदो रहेछ । कविता शासकीय सत्ताभन्दा माथिको सत्ता हो । मुनाराज शेर्मा मुनाराज शेर्मा मुनाराज शेर्मा
हाल आख्यान विविध विषयको कलात्मक प्रस्तुतिले लोकप्रिय बन्दै छ । यो सुन्दर कुरा हो । सम्पूर्ण जीवनको ब्याख्याको कोसिस उपन्यासले गर्ने हुँदा यो पाठकको रुचिमा छ । कथाले चुम्बकीय गुरुत्व राख्ने छुट्टै विशेषता हो । हिजो लेख्न नसकिएको सत्यमा धमाधम लेखिँदै छ । पाठकलाई लामो झङ्कारले बाँधेर राख्ने क्षमता आख्यानमा हुन्छ । विचार, सिद्धान्त, दर्शन, कला, इतिहास, संस्कृती सबैलाई समेटेर सिङ्गो जीवनको जिवन्त अभिव्यक्ति गर्न सकिने हुँदा उपन्यास चौतर्फी रुचाइएको विधा हो । जसले सम्पूर्ण समाजको चित्रलाई भन्न खोजे पनि यो सर्वथा सत्य भने होइन । मात्र एक जाति केही परिवारको केही समयको घटनालाई मात्र व्यक्त गर्छ । ती दुरुस्तै अरुसँग मिल्छन् भन्नु भ्रम मात्र हो । अनुभुत पक्का गरिन्छ । त्यो गम्भीर अनुभूति ठूलो भोल्युममा लङ रेन्जमा पाठकले प्राप्त गर्ने हुनाले आख्यान बढी अपेक्षित हुन्छ । कुनै उपन्यासले एक समयको त्रासदिलाई बिद्रोहलाई परिवर्तनलाई गजबले बोल्ने प्रयास गर्छ यद्यपि त्यो कदापी पूर्ण हुन्न । तर स्वयं भोग्नेहरूलाई त्यो आफ्नो लाग्ने हुन्छ । वा पछिल्लो पुस्ता जो त्यो ज्ञानबाट बन्चित थिए तिनीहरूका लागि त्यो सम्पूर्ण हो हुन सक्छ । आलोचना बाँकी नै हुन्छ । लुप होलहरू बाँकी नै हुन्छन् । उपन्यास नै त्यस्तो साहित्यिक विधा हो जसले सिङ्गो रुपमा मानवताको हरेक दृष्टिकोणलाई पुनर्व्याख्या, मानकमाथि प्रश्न र पुननिर्माण समेत व्यक्त गर्ने प्रयास गर्छ ।
त्यसैले यो अब्बल छ । संसारको कुरा गर्ने हो भने कविता शुरुमा शक्तिशाली हो त्यसपछि आख्यान । त्यसकारण पनि कविता र उपन्यास हाराहारीमा चलिरहेको विधा हो ।
९.भनिन्छ, ‘मानिस प्रभावको पोको हो‘ तपाईँ यस भनाइसँग सहमत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कुनै वाद अथवा दर्शनको परिधिमा उभिएर साहित्य र कला साधना/ सृजना गर्नु कतिको उचित ठान्नुहुन्छ ? तपाईँका अनुसार अहिलेसम्म विश्व साहित्यदेखि नेपाली साहित्यसम्म वाद र दर्शनबाट प्रभावित भएर उल्लेखनीय साहित्य जन्मेका छन् कि छैनन् ?
मान्छे स्वयं अन्य वस्तु, अवस्था, घटना, विचारबाट प्रभावित नभै रहन सक्दैन । सृजना स्वस्फूर्तभन्दा ज्यादा प्रभावबाट हुन्छ । कुनै व्यक्ति सर्जक बन्नुभन्दा अघि कतै न कतै प्रकृति वा कुनै सन्दर्भ सुनेको, बुझेको वा अवलोकन गरेबाट नै ऊभित्र एउटा धारणाको निर्माण हुन्छ । कसैले म स्वस्फूर्त भन्छ भने त्यो सफेद झुट हो । सर्जकहरू प्रभावित भएपछि कि आफ्नो लाइनमा सृजना गर्छन् कि त्यही सिद्धान्तमा ।
यो कुरा सर्जकको बुझाइमा भर पर्छ । अति क्षमता भएकाहरू छुट्टै सिद्धान्त निर्माण गर्छन् वा नेतृत्व गर्छन् । कुनै वाद, दर्शनको घेराभित्र रहेर सिर्जना गर्नु नराम्रो कुरा होइन । सबैभन्दा ठूलो दर्शन राजनैतिक दर्शन हो । त्यही दर्शनमुनि हामी छौँ । साहित्यमा दर्शन होइन भन्नै मिल्दैन । कसैले वाद दर्शन विचारको बर्खिलाप गर्नु आफैँमा एक सिद्धान्त वाद हो । वादमा छुइन भन्नु पनि वादै त हो । संसार नै वादमा चलेको छ । म देख्छु “धेरै कवि लेखकले म त कुनै दर्शन वा वादको घेरामा छुइन” भन्छन् । ऊ चैँ सबै वाद र दर्शनभित्र घुमिरहेको हुन्छ । बुझ्नुहोस् त जब तपाईँको आफ्नो कुनै निजि चिज छैन भने आवश्यक परेको बेला अरुको सबै चलाउनु परेन ? जसले दर्शनको विरोध गर्छ उसले देवकोटालाई पनि बर्खिलाप गर्नु पर्यो , सक्छ त ? स्वयं देवकोटा रोमान्टिसिजम, स्वच्छन्दतावाद, प्रकृतिवाद, निरिश्वरवाद, भौतिकवाद, अध्यात्मवादभित्र छन् । फेरि चिन्तकहरूले यो व्रह्माण्डलाई दर्शन र सिद्धान्तको घेरामा हजार चोटि व्याख्या गरिसके हामी दर्शनको अव्याख्यामा कसरी बाँच्न सक्छौँ ! हामीले पूर्विय पश्चिमी सबै दर्शनको उपलब्धिलाई नकार्न कसरी सक्छौँ ! जब कि हाल हामी त्यहीबाट निर्मित छौँ ।
नेपालमा भानुभक्तदेखि डिजिटल पुस्तासम्म वादैवाद सिद्धान्तैसिद्धान्तले निर्मित छ । अनुवाद, क्लासिक रोमान्टिसिजम, परिस्कारवाद, आदर्शवाद, यथार्थवाद, यौनमनोविज्ञान, फ्रायड्वाद, अस्तित्ववाद, निस्सारवाद, भोक कविता, बुट पालिस प्रगतिशीलता, मार्क्सवाद, आयामेली प्रयोगवाद, उत्तरआधुनिकता, विनिर्माणवाद, लिला लेखन, सिर्जनशील अराजकता, रङ्गवाद, उत्तरर्वर्ती उत्तर आधुनिकता, भयवाद, पहिचान लेखन, युद्ध साहित्य, उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता, सबै वाद सिद्धान्त नेपाली लेखनमा चलेका हुन् । चाहे त्यो कला वा साहित्य जे होस् । कुनै कृति समालोचकले परिक्षण गर्दा त्यस सृजनामा निहित तत्वको विचार, सिद्धान्त, वाद पर्गेलिन्छ । कुनै विचार वा वाद छैन भन्नै मिल्दैन । केही अंश रहन्छ नै । रहेन भने त अव्रह्माण्डवाद भैगो नि, त्यो पनि एउटा वादै हो । मुनाराज शेर्मा मुनाराज शेर्मा मुनाराज शेर्मा
विश्व साहित्यदेखि नेपाली साहित्यमा जति पनि उल्लेखनीय भामट काम भए ती अधिकांश सिद्धान्त वादमा भएका छ्न् ।अस्तित्ववादमा अल्वर्ट कामुको द मिथ अफ सिसिफस, सार्त्रको बिइङ एन्ड नोथिङ्नेस, पारिजातको शिरीषको फूल, नित्सेको अस्तित्ववादी निरीश्वरवादी दर्शन दस् स्पेक जाराथुस्त्र, यथार्थवाद, अतियतार्थवाद, अभिव्यक्तिवादमा फ्रेन्ज काफ्काको द मेटामर्फसिस, चामत्कारिक यथार्थवादमा मार्खेजको वन हन्ड्रेड यर्स अफ सोलिच्युड, हेमिङ्वेको द ओल्ड मेन एन्ड द सि, अस्तित्ववाद र निस्सारवादको उत्कृष्ट कृति हुन् । घनवादी, अमुर्तवादी कलामा पाब्लो पिकासो, जर्ज ब्राक जसको प्रभाव साहित्यमा गहिरो छ । अतियथार्थवादी मुराकामीको आफ्टर डार्क इन्फिक्सन जापानमा प्रख्यात छ । मुनाराज शेर्मा
डेरिडाको विनिर्माणवादमा अफ ग्रामेटोलोजी, स्पेक्टर्स अफ मार्क्स, सेक्सपियरको रोमान्टिसिजम जर्ज अर्वेलको एनिमल फार्मको एनामलिजम, पशुवाद आदि कैयौँ साहित्यिक वाद सिद्धान्त लेखनले वर्तमानमा हाम्रो लेखनलाई प्रभावित बनाएको छ । यो आजै निर्माण भएको वर्तमान कदापी होइन । मुनाराज शेर्मा मुनाराज शेर्मा मुनाराज शेर्मा
१०.वौद्धिक क्षेत्रमा लिम्बू महिलाहरूको उपस्थिति कस्तो पाउनुहुन्छ ? मुनाराज शेर्मा मुनाराज शेर्मा
नेपाली साहित्यमा स्थापित महिला लेखक वौद्धिकहरू कमै छन् जो औँलामा गन्न सकिन्छ । यो आशावादी हुन सकिने पक्ष हो तर सन्तोषजनक बन्दै मानिन्दैन । वौद्धिकता वंशानुगतभन्दा आर्जित हुने हुँदा आर्जन चैँ हाम्रो वशमा हुन्छ । दुवै प्रकारको वौद्धिकता प्रष्फुटनको लागि शिक्षाको वातावरण, पहुँच, अवसर, रुचि, लगाव आवश्यक हुन्छ । लिम्बुवानमा शिक्षाको लहर पुगेको कति नै भएको छ र ? फेरि सडक चेतना र अरु आधारभुत पक्ष थोरै मात्र पुगेको पनि धेरै भएको छैन । पहुँच, अवसरको कुरै नगरौँ । लेख्नु, प्रकाशन गर्नु, छलफलमा भाग लिनु, राजनीतिमा निर्णायक तहमा पुग्नु अझै कठिन छ । जति देखिएको छ यो व्यक्तिगत क्षमता र निजि प्रयासमा भएको छ । लिम्बू समाजको संरचना र राज्यको नीति समेत अनुकुल छैन । भाषिक दुरिको कारण बुझाइ, ग्रहण र अभिव्यक्तिमा समस्या छ । आगामी दिनमा संस्थागत रूपमा नै लिम्बू महिलाहरूलाई अगाडि ल्याउनु अति आवश्यक छ । संस्कृति, कला, भाषा, इतिहास, साहित्य, मनोरञ्जन, राजनीति, व्यवसाय, जागिर सबै क्षेत्र व्यक्तित्व निर्माणको क्षेत्र हो । यी सबैमा प्रोत्साहन गर्नु आवश्यक छ ।
११.“हापेन चोकदेखि लिम्बूनी गाउँसम्म” नियात्रा/संस्मरणको ‘संघीय स्थानीय तह र भुईयाँको परिचर्चा’ मा बर्नेमा भएको पुस्तक प्रदर्शनीको चर्चा गरिरहँदा तपाईँले लेख्नुभएको छ “पुस्तक राम्रै बिक्री भयो । नपुगेर गुनासो खेप्नुपर्यो । त्यतिखेर हो बर्नेले काठमाडौँलाई लोबारेको ‘देखिस् त काठमाडौँ हाम्रो कार्यक्रममा किताब कति बिक्यो ! था भयो ?”, के यसलाई काठमाडौँप्रति मोफसलको पुवाग्रह भन्न मिल्छ ? काठमाडौँप्रतिको असन्तुष्टी भन्न मिल्छ ? मुनाराज शेर्मा मुनाराज शेर्मा
यज्ञसको कृति भुइँयाको चर्चा बर्नेमा भव्य भयो । पचास थान बिक्ला के भनेको किताब अभाव भयो । पाठकहरू रिसाए किताब नपुगेर । त्यो सन्दर्भलाई मैले संस्मरण “हापेन चोकदेखि लिम्बुनी गाउँसम्म” मा उल्लेख गरेको छु । यो सन्दर्भ काठमाडौँलाई चुनौती/सम्बोधन जे भने पनि हो । आजकल पुस्तक परिचर्चा देशको सुदुर गाउँमा पनि भव्य हुन्छ । पाठकहरू ग्रामीण भेकमा पनि छ्न् । ‘काठमाडौँ महान’को भ्रम कृष्णभुषण बलको कविताले नै धुलो परिसकेको हो । काठमाडौँ हुन समग्र देशले गरेको योगदानको एकमुस्ट चेतना हो । एक्लै देश हुन्न कहिले । विकास सिकाइ प्राप्ती समानान्तर हिसाबले भैराखेको हुनसक्छ भन्ने पनि हो ।
१२.अन्त्यमा तपाईँलाई मन पर्ने पाँच नेपाली पुस्तकहरूको नामसँगै अर्को कृति कहिलेसम्ममा पढ्न पाइएला ? बताइदिनुहोस् न ।
नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा निरीश्वरवाद, भौतिकवाद, अस्तित्ववादको अब्बल कृति मानिन्छ । उनका कथाहरू फ्रायडियन यौनमनोवैज्ञानका उत्कृष्ट कृति हुन् । काइँलाको “मातेको मान्छेको भाषण” आयामेली साहित्यको उत्कृष्ट कविता हो । जो घनवादसँग नजिक छ । इन्द्रबहादुर राईको कठ्पुतलिको मन लिला लेखनको बेजोड कथा हो । लिलामा कृष्ण बरालको अरामयण, धराबासीको शरणार्थी, कुमारको अश्वत्थामा पनि गज्जब छन् । राजनको दमिनी भिर, उपेन्द्रको खोलाको गीत, हाङ्गयुगको करङको हिरासत पहिचान लेखन, सिर्जनशील अराजकताको राम्रो कृति हो । उमा सुवेदीको सयौं पुतली, र प्रगति राईको आउँदै गरेको थाङ्ग्रा महिलावादीको राम्रो कृति हुन् । हंश पर्यावरण लेखनको सुन्दर उपन्यास हो । पुरुषगन्ध निस्सारवादको गजव कृति हो । “लिम्बुनी गाउँ”, माङ्फुङ्को कायकल्प उत्तर्वर्ती सोचको उपयुक्त कृति हो । मैले बोल्दा देशको नक्सा हल्लिन्छ रङ्गवादको पछिल्लो सुन्दर कृति हो । प्रेत कल्प, हजार माइलको यात्रा मार्क्सवादी प्रगतिशील चिन्तनको अब्बल कृति हुन् । नगरकोटिको घाटमाण्डु लगायत कृतिहरू फिक्सनको राम्रो कृति हुन् । सरुभक्तको पागल बस्ती अर्चनाको कठपुतला स्वैरकल्पनाको सुन्दर कृति हुन् । सुकरातको पाइला उत्तर आधुनिकताको गजब उपन्यास हो । नरेस काम्बाङको खुकुरीको धार युद्ध साहित्यको राम्रो पुस्तक हो । यसरी कति धेरै वाद र सिद्धान्तमा लेखिएको कृतिहरू नेपाली साहित्यमा छ्यापछ्यापती छन् । जसको नामै लिँदा लामो सुची बन्छ । धन्यवाद ।
कवि शेर्माको कविता “साला सभ्यता”:
मान्छे एकै हो असमान कोही हुँदैन
भेदभाव मयलजस्तै धोएर फाल्यौँ
छुवाछुत झारजस्तै उखेलेर मासेऊँ
उच्चताको अहमतामा ज्ञानले पटाहा लायौँ
निचताको गहिराइलाई उत्साह र सद्भावले पुरेऊँ
हामीले बुझेको अहिलेसम्मको समय हो सायद यो
भर्खरै हाम्रो ज्ञानको बीचबाट एउटा विभेदको आँधी आयो
मान्छेहरू मान्छेको बहिष्कारमा थिए
मान्छेहरू मान्छेकै अस्विकारमा थिए
मान्छेहरू मान्छेकै छोइछिटोमा थिए
मान्छेहरू यो विभेदको सिनो बोकेर
सभ्यताको डिङ हाँकिरहेका थिए
मान्छेहरू आवाज बन्द गर्न
पिध समेत मुखले टालिरहेका थिए
कानुन शक्तिमानहरूको धोती भएको थियो
शहरमा दिनदहाडै दलितहरू दुध बेच्न बन्चित थिए
शहरमा दलितहरू कार्यालय सहायकमा निषेधित थिए
गाउँमा आमाहरू बोक्सिको नाममा खरानी भैरहेका थिए
छोरीहरू दाइजोको नाममा
दुधे बालकसहित घरबारविहीन थिए
शहरमा सपनाको बिक्रिमा माटो छोड्नेहरूको नटुक्रिने लाइन थियो
सपनाको मृत्युमा नबिउँझने गरी फिर्नेहरूको आँसुको आँधी थियो
देस खोज्दा हराउनेहरूको खोजीको व्याकुल जमात थियो
आस्वासन बाँडेर नथाक्ने ढाँटहरूको अविचलित बगाल थियो
जनतालाई निर्धो ठानेर ब्रम्हलुट गर्नेहरूको हालिमुहाली थियो
रूप चल्थ्यो उसको ,सिप चल्थ्यो उसको,
बैँस स्विकार्य हार्दिकताले
भोट चल्थ्यो उसको, नोट चल्थ्यो उसको, पसिना मुक्त कन्ठले
जुलुस जम्थ्यो उसको, विद्रोह चल्थ्यो उसको,
आन्दोलनमा बल्जफ्तिले
कठै किन चल्थ्यो शास्त्र समानताले पहुँच समावेशीले
त्यसैले च्यात्नु छ तिम्रो अराजक शास्त्र
खाक बनाउनु छ तिम्रो निरङ्कुश बिचारको किल्ला
यो उज्यालोअघि
म समानताको घाम हेर्न चाहन्छु
म रङ्गहीन उज्यालोले नुहाउन चाहन्छु
आऊ सम्पूर्ण हामी विभेदरहित घामले स्नान गरौँ ।
पढ्नै पर्ने अन्तर्वार्ता रहेछ ।
Comprehensive N compelling