अर्थ र परिभाषा, वक्रोक्तिसम्बन्धी चिन्तनको ऐतिहासिक विकासक्रम, काव्यमा वक्रोक्तिको स्थिति र प्रयोजन, वक्रोक्तिका भेदहरू, समीक्षा सिद्धान्तमा वक्रोक्तिको स्थान, महत्त्व र मूल्य, वक्रोक्तिवादी प्रमुख आचार्यहरू ।
परिचय –
बीशौं शताब्दीका आचार्य कुन्तकले वक्रोक्तिसिद्धान्त प्रतिष्ठा गरेका हुन् । तर भारतीय काव्यशास्त्रमा कुन्तकभन्दा पहिले वा वाणभट्ट. भानह, दण्डी, वामन, रूद्रट तथा ध्वनिकार आनन्दवर्धनहरूले आ-आफ्नै विचार अनुसार वक्रोक्ति शब्द प्रयोग गरेका हुन् भन्ने विद्वानहरूको ठनाइ छ । वक्रोक्तिसिद्धान्त प्रतिष्ठाको इतिहास खोतल्दै जाँदा के देिन्छ भने, भारतीय कविहरूमध्ये सबभन्दा पहिले वाणभट्टले वक्रोक्तिबारे “वक्रोक्तिनिपुणेन आख्या विकाख्यानपरिचय चतुरेण” भन्ने मनतव्य जाहेर गर्दै यसको व्यापक अर्थ प्रदान गरेको पाइन्छ ।
जे भए तापनि भारतीय आचार्य कुन्तकलाई वक्रोक्तिका प्रवर्त्तक मानिन्छ । यिनले “वक्रोक्ति काव्यजीवितम्” भनी वक्रोक्तिलाई परिभाषित गरेका छन् । यिनी काव्यलाई जीवित मान्दछन् । संस्कृत साहित्यमा वक्रोक्तिलाई शब्दालङ्कार रूपमा मानिलिएको पाइन्छ । वक्ताले बोलेको कुरा श्रोताले सोही अर्थमा नलिएर अर्को अर्थ लाउँछ भने त्यो नै अलङ्कार हुन्छ। तर आचार्य कुन्तकले वक्रोक्तिलाई शब्दालङ्कारको यो सङ्कीर्ण घेराबन्दीबाट मुक्त गराएर व्यापक अर्थमा प्रयोग गरे । यिनकको प्रसिद्ध ग्रन्थ “वक्रोक्तिजीवित”-मा यिनले “वक्रोक्ति नै काव्यको प्राण हो” भनी ठोकुवा गर्दै आफ्नो स्पष्ट विचार व्यक्त गरेर समालोचनाको क्षेत्रमा एउटा नयाँ उघारेका छन् ।
सम्भवतः आचार्य अभिनवगुप्तका समकालीन कुन्तक दशौं र एघारौं शताब्दीको आचार्य थिए । यिनको “वक्रोक्तिजीवित” ग्रन्थमा यिनले कारिकाहरूमा वक्रोक्तिबारे आफ्नो अभिमत प्रकाश पार्ने प्रयास गरेका छन् । आपनो ग्रन्थको आरम्भमै यिनले भनेका छन्, “काव्यमार्फत् जुन अलौकिक चमत्कार, वैचित्र्य, असामान्य आह्लाद उत्पन्न हुन्छ तिनका कारण निर्णय न ता सयौं-सयौं अलङ्कारका ग्रन्थहरूमा देखिएको छ न ताअर्घेलाहरू कसैले गर्न सकेका छन् ।”
वक्रोक्तिलाई स्वतन्त्र मर्यादास्वरूप काव्यात्माका रूपमा प्रतिष्ठा गर्ने श्रेय आचार्य कुन्तकलाई नै जान्छ । यिनको “वक्रोक्तिजीवित” ग्रन्थले व्यापकरूपमा समर्थन नपाए पनि अन्यान्य महिमाका कारणले अद्यावधि काव्यशास्त्रका अध्येताहरूका निमित्त स्वीकार्य नै देखिँदो छ ।
वक्रोक्तिको अर्थ –
वक्र र उक्ति (वक्र + उक्ति) को योगबाट बनेको शब्द हो वक्रोक्ति । वक्रोक्तिको शब्दकोशीय अर्थ भलादमी पाराको व्यङ्ग्य, शिष्ट हाँसो, ठट्टा आदि हुन्छ भने काव्यलक्षण अनुसार श्लेषद्वारा अर्कै अर्थ निक्लँदा पर्न जाने एक अर्थालङ्कार, क्कूक्ति हुन्छ । साधारण अर्थमा वक्रोक्ति भन्नाले कुटिल, बाङ्गो वा छड़्के भनाइ बुझिन्छ । वक्रोक्तिलाई सोझो अर्थमा नलिएर वक्र शब्दले साहित्यमा सुन्दर, चातुर्यपूर्ण, आह्लादकारी भनाइ तथा विनोदात्मक सुन्दर भनाइको अर्थमा मानिएको छ ।
तर वक्रोक्तिको अर्थ सबैले एकैखाले बुझेका छैनन् । उदाहरणको निम्ति वामनले उनको “काव्यलङ्कारसूत्रवृत्ति”-मा वक्रोक्तिलाई यसरी अर्थ्याएका छन् – “सादृश्याल्लक्षणा वक्रोक्ति” अर्थात् सादृश्यमूलक लक्षण वक्रोक्ति हो । तर ध्वनिवादी र रसवादी आचार्यहरूका दृष्टिमा वक्रोक्ति साधारण एउटा शब्दालङ्कार मात्र हो । साहित्यदर्पणकार विश्वनाथले एउटा अर्थमा उच्चरित वाक्यलाई श्रोताले अर्कै अर्थमा बुझे त्यो वक्रोक्ति हो भनेका छन् ।
वक्रोक्तिलाई विशेष शब्दालङ्कारको अर्थमा प्रयोग गरिएको देखिन्छ । अलङ्कारवादी रूद्रटले वक्रोक्तिलाई सोरी प्रकारले ग्रहण गरेको पाइन्छ । मम्मट पनि यसैका पक्षधर देखिन्छ । तर भामह, दण्डी र वामनले भने वक्रोक्तिलाई शब्दालङ्कारदेखि अर्कै अर्थमा प्रयोग गरेको पाइन्छ । शब्दालङ्कार रूपमा अर्थ्याउनेले वक्रोक्तिलाई काकू र श्लेष गरी दुइ भागमा हेर्ने गरेको देखिन्छ । काकू उच्चारण भङ्गीमाथि र श्लेषलाई वाह्य अर्थबाहेक पनि अर्को एउटा अर्थको रूपमा लिएका थिए । भामहले वक्रोक्तिलाई अलङ्कार मात्रैको अर्थमा औंल्याएका छन् । दण्डीले विविध अलङ्कारलाई नै वक्रोक्तिको अर्थमा हेरेको पाइन्छ ।
“लोचनटीका”-मा अभिनगुप्तले वक्रोक्तिलाई “लोकात्तीर्ण रूपेणावस्थानम्” भनी परिभाषित गरेका छन् ।
वक्रोक्तिको परिभाषा –
शब्दार्थको साहित्यालोचनादेखि लिएर वक्रोक्तिलाई काव्यप्राण ठान्ने भामहद्वारा प्रेरित-प्रभावित कुन्तक वक्रोक्तिका प्रवर्त्तक, प्रतिष्ठाता र व्याख्याकार भएकाले वक्रोक्तिसम्बन्धी उनले दिएको परिभाषालाई नै स्वीकार्नु पर्ने ठाउँहरू प्रशस्तै छन् । वक्रोक्तिलाई कुन्तकले यसरी अर्थ्याएको पाइन्छ –
“लोकोत्तरचमत्कारकारिवैचित्र्यसिद्धये ।
काव्यस्यायभलङ्कारः कोSप्यपूर्वोविधीयत।।” (वक्रोक्तिजीवित)
अर्थात्, “प्रसिद्धि वा लोकप्रचलित कथनभन्दा बेग्लै वैचित्र्यपूर्ण कथन नै वक्रोक्ति हो ।” फेरि उनले “विचक्षण वागभङ्गी नै वक्रोक्ति हो” (“वक्रोक्तिरेण वैदग्ध्यभङ्गभणितिरूच्यातेऩ (वक्रोक्तिजीवित 1/10) भनी वक्रोक्तिलाई परिभाषामा बाँधेको पाइन्छ । यस परिभाषामा कुन्तकले वैदग्ध्यको अर्थ “कविकर्मकौशल”. भङ्गीको अर्थ “विच्छिति” (सौन्दर्यछटा) र भणितिको अर्थ “उक्ति” भनेर परिभाषित गरेको पाइन्छ ।
वक्रोक्तिबारे कुन्तके परिभाषालाई केलाउँदा वक्रोक्तिको परिभाषा निष्कर्षमा यस्तो देखिन्छ – “कविप्रतिभाबाट प्रस्फुटित विच्छिति (सौन्दर्यछटा) मा आबद्ध विशिष्ट प्रकारको उक्तिलाई नै वक्रोक्ति भनिन्छ ।
वक्रोक्तिसम्बन्धी चिन्तनको ऐतिहासिक विकासक्रम –
वक्रोक्तिसम्बन्धी चिन्तनको ऐतिहासिक विकासक्रमको लामो परम्परा रहेको देखिन्छ । वक्रोक्तिको ऐतिहासिक चिन्तन परमपराको गोरेटो पहिल्याउँदै जाँदा वैदिक साहित्यसम्मै पुग्नुपर्ने हुन्छ। वैदिक साहित्यमा वक्रोक्ति शब्दको प्रयोग भएको पाइन्छ भने यस शब्दलाई वेद तथा लोकमा “कुटिल” अर्थमा लिइएको पाइन्छ । भारतीय काव्यशास्त्रमा वक्रोक्तिसम्बन्धी चिन्तनको परम्परा खोतल्दा वक्रोक्तिलाई काव्यको आत्मा ठान्ने चिन्तक-प्रवर्त्तकका रूपमा कुन्तक देखा पर्छन् । “वक्रोक्तिजीवित” नामक ग्रन्थमार्फत् यिनै कुन्तकको वक्रोक्ति सिद्धान्तको शङ्खघोष गरेका हुन् ।
वक्रोक्ति चिन्तन परम्परालाई सर्वप्रथम अघि बढ़ाउने क्रममा आचार्च भामह देखा पर्छन् । भारतीय काव्यशास्त्र परम्परामा वक्रोक्तिलाई विधिवत् रूपमा भित्र्याउने पहिलो काव्यशास्त्री नै भामह हुन् । भामह मुख्यतः अलङ्कारवादी आचार्य हुन् र अलङ्कारकै चर्चा गर्ने निहुँमा यिनले वक्रोक्ति नै सबै अलङ्कारको आधार हो भन्ने कुरामा तटस्थ रहँदै लोकशैली र वक्रशैलीमा भेद रहेका पाइन्छ भन्ने कुरा बताएको पाइऩ्छ । यिनको ग्रन्थ “काव्यलङ्कार”-मा काव्य रचना गर्दाहुँदी धर्म-अर्थ-काम-मोक्षलाई तथा विभिन्न कलामा विचक्षणता जन्मिन्छ, आनन्दित हुन्छ र कीर्तिलाभ हुन्छ भन्ने कुरोको उल्लेख पाइन्छ। शब्दले मात्र होइन शब्द र अर्थ दुवैसित वक्रोक्तिको सम्बन्ध रहेको छ भन्ने यिनको भनाइ देखिन्छ । यिनले अतिशयोक्ति वा वक्रोक्तिलाई सम्पूर्ण अलङ्कारको मूलाधार स्वीकार गर्दै अलङ्कार मात्रै वक्रोक्ति हो भन्ने सिद्घान्त प्रतिष्ठा गरेका छन् । यिनको सिद्धान्त अनुसार महाकाव्य, नाटक तथा आख्यायिका सबैमै वक्रोक्ति रहनु आवश्यक छ । भामहले विभिन्न प्रकारका दोष गुणको उल्लेख गर्दै तथा केही शब्दालङ्कार र अर्थालङ्ककरको वर्णन समेत गरेका छन् । अर्थालङ्कारमा उनले उपमा, रूपक, आक्षेप, अर्थान्तरन्यास, व्यतिरेक, विभावना, समासोक्ति, अतिशयोक्ति, ओजस्वी, पर्यायोक्त, समाधि, उद्योत, श्लेष, अपनहुति, विशेषोक्ति, तुल्ययोगिता, अप्रस्तुतप्रशंसा, व्याजस्त्तुति, सहोक्ति, परिवृत्ति, सन्देह, अनन्वय आदि अलङ्कारहरुको वर्णन गरेका छन् । तर वक्रोक्ति सम्पूर्ण अलङ्कारको आधार हो र यो बिना काव्य हुँदैन भन्ने कुरा स्पष्ट पारेका छन् ।
“वक्र” शब्दको अर्थ स्पष्ट पार्न भामहले के भनेका छन् भने, बोलेको कुरा कानले सुनिन्छ त्यस शब्दको अर्थभन्दा अरू केही बुझिनु नै वक्र हो (By the word striking or Vakra Bhamaha means that kind of expression where move as meant than meets the ear that. – Sanskrit Literature D. De & । Dr. Dasgupta p. 586) । सम्पूर्ण अलङ्कार नै वक्रोक्ति हो अनि यो वक्रोक्ति बिना अलङ्कार हुँदैन भन्ने भामहको विचार देखिन्छ । भामह प्रतिपादित वक्रोक्तिको यो नयाँ मान्यताप्रति दण्डी, वामन, रूद्रट आदि प्रमुख अलङ्कारवादी आचार्यहरूले नाक खुम्च्याए । यस अर्थलाई अझै स्पष्ट पार्न भामहले फेरि “सबै अलङ्कारमै अतिशयोक्तिको भाव गाँसिएको हुन्छ ” भन्दै उनले “सैषा सर्वैव पक्रोक्तिः” भन्दै यसरी परिभाषा बाँध्न प्रयास गरे – “सैषा = सा एषा अतिशयोक्तिः” । अर्थात्, सबै अलङ्कारनै एक हिसाबले अतिशयोक्ति सँगसँगै वक्रोक्ति पनि हो ।
आरम्भमा, वक्रोक्तिबारे भामहको उक्त विचार नबुझ्नेहरूले “सैषा सर्वैवा वक्रोक्ति” भन्ने उक्तिलाई विभिन्न अर्थमा व्याक्या-विश्लेषण गर्न थालियो । कति कतिले ता भामहले अतिशयोक्तिलाई नै वक्रोक्ति अनि सबै अलङ्कारलाई नै अतिशयोक्तिमूलक भनी निर्देश गरेका हुन् भन्ने कुरा ठान्न थाले । तर भामहको कुरामा हो मा हो मिलाउँदै आनन्दवर्धनले लेखे – “तन्नातिशयोक्तिर्जमलङ्कारमधितिष्ठति कविप्रतिभावशात तस्य चारूत्वातिशयर्जगोहनस्य त्वलङ्कार मात्रतैव इति सर्वालङ्कार – शरीरस्वीकरणयोग्यत्वैत अभेदोपचारस्य सैव सर्वालङ्काररूपा इत्येभवार्थोहवगन्तव्यः ।” अर्थात्, कविप्रतिभाद्वारा अतिशयोक्तिले जुन अलङ्कारलाई आश्रय दिन्छ त्यसबाट यथार्थ चारूत्व (सुन्दरत्व) उत्पन्न हुन्छ, अन्य सबै अलङ्कार मात्रै हुन् । अतिशयोक्तिले सबै अलङ्कारको रूप धारण गर्न सक्छ भनी लाक्षणिक रूपमा अतिशयोक्तिलाई यहाँ “सर्वलङ्कार रूप” भनी वर्णन गरिएको छ ।
यसरी हेर्दा, आनन्दवर्धनलाई भामहकै पक्षधर देखिन्छ । भामहको भनाइसित सहमत हुँदै उनले अतिशयोक्ति र वक्रोक्तिको पर्यायलाई निर्धक्क स्वीकारेका छन् । प्रतिभाशाली कविहरूले मात्र वक्रोक्तिमा अतिशयोक्तिको प्रयोग गर्न सक्छन् भन्ने उनको ठोकुवा देखिन्छ । तर अभिनवगुप्त भने आनन्दवर्धनको उपरोक्त ठोकुवा भनाइसित एकमत देखिएनन् । आनन्दवर्धनको भनाइसित नाकनिक गर्दै उनले लेखे – “यातिशयोक्तिलक्षिता सैव सर्वा वा वक्रोक्तिचलङ्कार प्रकारः ।” अर्थात्, चहाँ जुन अतिशयोक्तिको वर्णन गरिएको छ, सम्पूर्ण अलङ्कारकै वक्रतामूलक रूप हो । कारण समस्त अलङ्कार नै वक्रोक्ति हो भनी भामहले कतै भनेका हुन् ।
त्यसपछि वक्रोक्ति सिद्धान्तसम्बन्धी चिन्तन परम्पराको विकासमा आचार्य दण्डी देखा पर्छन् । यिनले सम्पूर्ण साहित्यलाई स्वाभोक्ति र वक्रोक्तिमा विभाजित गर्दै स्वाभोक्तिलाई प्रथम अलङ्कार (आद्या अलङ्कृति) रूपमा प्रस्तुत गरे । त्यसपछि बेग्लाबेग्लै अलङ्कारबारेमा आलोचना गरेपछि अनन्वय, सन्देह, उपमा-रूपक तथा उत्प्रेक्षालाई बेगंलै अलङ्कार रूपमा स्वीकार गर्न उनी राजी भएनन् । यसमा पनि दण्डीलाई भामहकै पक्षधर देखिन्छ । दण्डीले श्लेषलाई एक अनङ्कार मानेका छन् तर साथसाथै सम्पूर्ण अलङ्कारको चमत्कारपूर्ण विधायक हो भन्न पनि उनी चुकेेका छैनन् । दण्डीको विचारमा, वाङमय काव्य स्वाभावोक्ति र वक्रोक्ति श्लेषमाथि वक्रोक्तिको सौन्दर्य निर्भर रहन्छ ।
फेरि वक्रोक्तिलाई सम्पूर्ण बेग्लै अर्थमा प्रयोग गर्दै वामन देखा परे । वक्रोक्तिलाई यिनले “सादृश्यल्लक्षणा वक्रोक्तिः” मै सीमित राखे । रूद्रटले वक्रोक्तिलाई विशेष प्रकारको शब्दालङ्कार रूपमा ग्रण गरे भने फेरि उनले नै वक्रोक्तिलाई एक विशेष प्रकारको अर्थालङ्कारो रूपमा पनि लिएको देखिन्छ । यसकारण वामनको वक्रोक्ति प्रचलित अर्थमा वक्रोक्ति होइन । यसबाट के छर्लङ्गै हुन्छ भने, भामह र दण्डीका निमित्त वक्रोक्तिको उद्देश्य एक प्रकारको थियो भने रूद्रटको निम्ति अर्कै प्रकारको । कुन्तकको वक्रोक्तिजीवितको वक्रोतत्त्वमाथि आधार मानेर प्रतिष्ठा भएको देखिन्छ । वक्रोक्तिबारेमा भामहको भनाइ यस्तो देखिन्छ, “अलङ्कार-सामान्य-लक्षणा”, अर्थात्, विशिष्ट अलङ्कारो साध्यालाप वा साध्यलक्षण वा स्वरूप नै वक्रोक्ति हो ।
अर्कोतिर, भोजराजले पनि वक्रोक्तिबारेमा विस्तृ़त चर्चा गरी वक्रोक्तिसम्बन्धी चिन्तन परम्परालाई भारतीय काव्यशास्त्र सिद्धान्तमाथि उठाउने काम गरेको देखिन्छ । यिनले पनि दण्डीलाई नै पछ्याउँदै सिङ्गो वाङमयलाई स्वाभोक्ति, वक्रोक्ति र रसोक्ति गरी तीन वर्गमा विभाजन गरेका छन् । उनकै शब्दमा – “त्रिविधा खलू अलङ्कारवर्गः वक्रोक्तिःस्वभावोक्तिः रसोक्तिरिक्तः । तत्रोपमाघलंकार प्राधान्ये वक्रोक्ति सोपि गुण प्राधान्ये स्वाभोक्तिःविभावानुभाव व्यभिचारिसोयोगानतु रसनिष्पते रसोक्तिरिति ।” अर्थात्, काव्यसौन्दर्य (अलङ्कार) वक्रोक्ति, स्वाभोक्ति र रसोक्ति गरी तीन प्रकारका हुन्छन् । उपमा आदि अलङ्कार जहाँ प्रस्तुत रहन्छ त्यहाँ वक्रोक्ति गुणको प्रमुखता हुने स्थानमा स्वाभोक्ति र विभाव, अनुभाव तथा सञ्चारी भावको योग रूप-निष्पत्ति भए त्यहाँ रसोक्ति हुँदछ ।
वक्रोक्ति सम्बन्धी चिन्तन परम्परामा आचार्य भामहदेखि आरम्भ गरेर भारतीय साहित्य सिद्धान्तमा तीन विभिन्न आचार्यहरूले आ-आफ्नो विद्वतामार्फत् वक्रोक्ति सिद्धान्तलाई फाँटिलो बनाउँदै गए पनि कालान्तरमा यो सिद्धान्त साँघुरिँदै भोजसम्म आइपुग्दा ता वक्रोक्ति उपमान -अलङ्कारमै कुँजिएर बस्नुपरेको निर्विवाद सत्य देखिन्छ ।
आचार्य कुन्तककै विद्वतापूर्ण भनाइसित सोह्रै आना सहमति जनाउँदै निष्कर्षमा निर्धक्कै के भन्न सकिन्छ भने, वक्रोक्ति काव्यको जीवन हो । वक्रोक्ति उक्तिको चमत्कार हो र यसमा अतिशयोक्तिको रमरम भाव पनि मिसिएको हुन्छ । कवि प्रतिभाको संयोगबाट मात्र यस्तो विशेषता जन्मिन सक्छ । यसैले वक्रोक्ति सिद्धान्तको सबभन्दा वृहत् अनि महत्त्वपूर्ण विशेषता के हो भने, यसमा कवि व्यापारलाई आदरपूर्वक महत्त्व दिनाका साथै कवि-व्यक्तित्वमाथि पनि विशद् रूपमा प्रकाश पारिएको छ । यो चर्चा वक्रोक्ति सिद्धान्तबाहेक अन्य कुनै पनि सिद्धान्तमा पाइँदैन ।
वक्रोक्तिमाथि आचार्य कुन्तकपछिका अन्य कुनै पनि आचार्यहरूले कुन्तकको चिन्तनलाई फाँटिलो बनाउने प्रयास नगरेर वक्रोक्तिलाई अलङ्कारविशेषसम्मै सीमित राखे । भारतीय काव्यसाहित्य सिद्धान्तमा यो दुर्भाग्यको कुरो हो भन्ने कुरो विरालकोटिलाई मात्र थाहा होला ।
काव्यमा वक्रोक्तिको स्थिति र प्रयोजन –
भारतीय काव्यशास्त्रको फाँटमा एक स्वतन्त्र सिद्धान्तको रूपमा दशौं शताब्दीमा वक्रोक्तिसिद्धान्तको घरेट बसाउने आचार्य कुन्तक हुन् । हुन ता आचार्य कुन्तकभन्दा पहिले नै भामह, वाणभट्ट, दण्डी, वामन, रूद्रट तथा ध्वनिवादी आचार्य आनन्दवर्धनहरूले वक्रोक्तिबारे केही भनेकै हुन् । काव्यमा वक्रोक्ति प्रयोग गर्ने भारतीय साहित्यशास्त्रीहरूमध्ये सबैभन्दा जेठो भामह नै हुन् भन्ने विद्वानहरूले मानिसकिएका छन् । यिनले आरम्भमा वक्रोक्तिलाई वाक्छलरूप शब्दालङ्कार रूपमा लिए पनि पछि गएर वक्रोक्ति अशिष्ट श्लेष र नयाँ अर्थसित गाँसिनुका साथै शब्द-अर्थ दुवैको चमत्कारसित सम्बन्धित छ भन्ने विचार पनि व्यक्त गरे । वक्रोक्तिको स्थिति शब्द र अर्थमा लुकेको हुन्छ भन्ने भामहको विचार देखिन्छ । वक्रोक्तिलाई अलङ्कारको आत्मा रूपमा भामहले ग्रहण गरेपछि दण्डीले वक्रोक्तिको महत्त्वमाथि आफ्नो विचार पोखे ।
भामहकै प्रेरणा-प्रभावबाट अनुप्रेरित भई भारतीय काव्य समालोचनाको फाँटमा वक्रोक्तिवाद सिद्धान्त प्रतिष्ठापित गर्ने आचार्य कुन्तक हुन् भन्ने कुरा स्पष्ट छ ।
कुन्तककै भनाइमा लागेर भन्नु हो भने, काव्यमा वक्रोक्तिको स्थान “घुमाउने कुरा” वा अलङ्कार विशेषमात्रमा नरहेर वक्रोक्तिको स्थान अलङ्कारभन्दा भिन्न रहेको छ । वक्रोक्तिको प्रयोगले काव्यमा चमत्कार सृष्टि हुन्छ भन्ने कुन्तकको मत टड़कारो देखिन्छ । कुन्तक स्वयम् पनि चमत्कारवादी आचार्य भएकाले यिनले काव्यमा वक्रोक्तिको स्थान चमत्कारपूर्ण नै हुनुपर्छ भन्ने बताएका देखिन्छ । यिनले आफ्नो ग्रन्थमा भनेकै पनि छन् –
“लोकोत्तरचमत्कारकारिवैचित्र्यसिद्घये ।
काव्यस्यायमलङ्कारःकौप्यपूर्वी विधीयते ।।”
अर्थात्, अलौकिक चमत्कारी वैचित्र्यको सिद्धिका लागि यो कुनै अपूर्व अलङ्कार (वक्रोक्ति) को विधान गरिन्छ ।
काव्यमा वक्रोक्तिको नितान्तै प्रयोजन हुन्छ भन्ने कुरामा अडिग रहेर कुन्तकले वक्रोक्तिबिना काव्य नै हुँदैन भन्ने मत प्रकट गरेकाले (“बन्धे व्यवस्थितौ काव्य हदविदाह्लादकारिणी” – वक्रोक्तिजीवित) काव्यमा वक्रोक्तिको स्थिति कति हदसम्म महत्त्वपूर्ण रहेछ भन्ने कुरा बुझ्न घोरिरहने आवश्यक देखिँदैन ।
भारतीय काव्यसमालोचनाको क्षेत्रमा वक्रोक्ति भित्र्याउने अलङ्कारवादी आचार्य हुँदाहुँदै पनि अलङ्कारकै चर्चा गर्ने सिलसिलामा वक्रोक्तिलाई सम्पूर्ण अलङ्कारको श्रोत ठानेर वक्रोक्तिको स्थिति र प्रयोजनमाथि जोड़ दिएको पाइन्छ । काव्यमा वक्रोक्तिको स्थिति र प्रयोजनलाई फाँटिलो बनाउनमा यिनले अतिशयोक्तिलाई वक्रोक्तिको पगरी गुँथाउन कुनै कसर छोड़ेका छैनन् । कारण काव्य भन्नु नै विशिष्ट कथन अतिशयोक्ति भन्दा मात्रै प्राप्त हुन्छ भन्ने यिनको तर्क देखिन्छ ।
भारतीय काव्यशास्त्रका काव्यस्रष्टा वाणभट्टले ता आफ्नो काव्यकृतिमै वक्रोक्ति शब्द सर्वप्रथम प्रयोग गरेर वक्रोक्तिको स्थिति बलियो पार्नु मात्र होइन यसको प्रयोजन अझ फाँटिलो बनाउने गरेको प्रयास गरेको मान्नुपर्छ । यिनले वक्रोक्तिलाई चातुर्यपूर्ण उक्त्तिकै अर्थमा ग्रहण गरेर वक्रोक्तिलाई परिहासपूर्ण कथन र कतै कतै चातुर्यपूर्ण उक्तिका रूपमा प्रयोग गरेका छन् ।
भामहकै विचारसित सोह्रै आना सहमत हुँदै दण्डीले साधारण उक्तिलाई स्वाभाविकता ठान्दै वक्रोक्तिलाई चिरिच्याट्टै पारेर विशिष्ट प्रयोग गर्ने स्थितिमा जोड़ दिएको देखिन्छ । वक्रोक्ति समस्ता काव्यकारक हो भन्ने भामहको तर्कनालाई आफ्नो तर्कले छोप्दै वक्रोक्तिलाई काव्यको एक भेदमै थन्काएर दण्डीले मौलिकताको शङ्खघोष गरे ।
समयको अन्तरालसँगसँगै रीतिवादी वामनसम्म आइपुग्दा वक्रोक्तिको स्थिति र प्रयोजनमा शिथिलता आउँदै गएको पाइऩ्छ । वक्रोक्तिलाई एउटा अलङ्कारको रूपमा मात्र स्वीकार गर्ने वामनले वक्रोक्तिलाई “सादृश्यलक्षणा वक्रोक्ति”-को घुम्टो ओढ़ाएर वक्रोक्तिको स्थिति र प्रयोजनलाई साँघुरो पार्ने काम गरे ।
आचार्य रूद्रटले ता झन् वक्रोक्ति शब्दसौन्दर्चयकार अनि शब्दालङ्कार मात्रै हो भनी वक्रोक्तिको स्थिति र प्रयोजनलाई सीमित बनाएको देखिन्छ । वक्रोक्ति प्रतिको यिनको यस्तो नकारात्मक धारणा रूद्रट र पछिल्ला आचार्यहरूलाई गतिलो झट्का दियो र आज वक्रोक्तिको स्थिति र प्रयोजन पनि रूद्रटकै पछ्यौरा समातेर बाँचिरहेको छ ।
अर्कोतिर, भामहद्वारा व्याख्यायित वक्रोक्तिबारेको धारणालाई सुदृढ़ र फाँटिलो बनाउने काममा ध्वनिवादी आचार्य आनन्दवर्धन अग्रसर भएको देखिन्छ । यिनले वक्रोक्तिको स्थिति र प्रयोजनलाई काखी च्याप्दै वक्रोक्ति र अतिशयोक्ति एउटै सिक्काका दुइ पाटा हुन् भन्ने भावगम्भीर विचार प्रकट गरेको पाइन्छ ।
भामहकै विचारलाई सहमतिको सप्कोले बेह्रेर वक्रोक्ति एक सामान्य अलङ्कार हो भन्ने कुरामा अभिनवगुप्त तटस्थ देखिन्छ भने चण्डीको विचारलाई पछ्याउँदै भोजराजले अलङ्कारको प्रमुखतालाई नै वक्रोक्ति जीवित रहन्छ भन्ने अवधारणा व्यक्त गरेको पाइऩ्छ ।
निष्कर्षमा, भारतीय काव्यशास्त्रमा वक्रोक्तिको स्थिति र प्रयोजनबारे निर्क्यौल गर्नुपर्दा आचार्य कुन्तककै भनाइसित हो मा हो मिलाउँदै यति भन्न सकिन्छ वक्रोक्ति काव्यको आत्मा हो । तर एउटै वक्रोक्तिलाई साधन र साघ्य रूपमा स्वीकार्नु अचम्म र उदेक लाग्दालाग्दै पनि यिनै अचम्म र उदेकलाई नै कुन्तकले प्रतिपादन गरेका हुन् भनी स्वीकार्नुपर्ने प्रशस्तै ठाउँहरू छन् ।
दुर्भाग्यको कुरो, वर्तमान भारतीय काव्यशास्त्रमा वक्रोक्तिको स्थिति र प्रचोजनबारेको स्थिति डाँवाडोल नै देखिन्छ । यसबारेमा के भनिहाल्नु घतपर्दो हुन्छ भने वक्रोक्तिको गोरेटो खनेर वक्रोक्तिलाई फाँटिलो बनाउनुपट्टि नलागी वर्तमानमा वक्रोक्तिलाई अलङ्कारको घेराबन्दीभित्रमै सीमित राखेको देखिन्छ ।
वक्रोक्तिका भेदहरू –
वक्रोक्तिसिद्धान्तका प्रवर्त्तक कुन्ताकचार्यले वक्रोक्तिका छ वटा प्रकार-भेद देखाएका छन् । यिनको ‘वक्रोक्तिजीवित’ ग्रन्थबाट यी भेदहरूलाई जस्ताको त्यस्तै यहाँ राख्न उपयुक्त ठानिएकोले सो यहाँ दिइन्छ –
“१ वर्णविन्यासवक्रत्वः २ पदपूर्वार्धवक्रता ।
वक्रताया परो’न्यास्ति प्रकारः ३ प्रत्याश्रयः ।।
४ वाक्यस्य वक्रभावो’न्यो विद्यते यः सहस्रधा ।
यत्रालङ्कारवर्गो’सो सर्वो’प्यान्तर्भविष्पति ।।
वक्रभावः ५ प्रकरणे ६ प्रबन्धे’फ्यस्ति यादृशः ।
सच्यते सहजाहार्वन्सौकुमार्यमनोहरः।।” (वक्रोक्तिजीवित १/२० -२२)
उपरोक्त छ वटा भेदलाई नेपालीमा अनुवाद गर्दा यस्तो देखिन्छ –
१. वर्णविन्यासवक्रता, २. पदपूर्वार्धवक्रता. ३. प्रत्याश्रय (पदपरार्धवक्रता). ४. वाक्यस्यवक्रता, ५. प्रकरणवक्रता, ६. प्रबन्धवक्रता ।
वक्रोक्तिका यी छ वटै भेदलाई यिनले काव्यभाषाको तल्लो एकाइदेखि फलप्राप्तिको माथिल्लो एकाइसम्मलाई आचार मानी व्यापक परियोजना पेश गरेको देखिन्छ । काव्यमा विशिष्टती सिर्हना गर्नु वक्रोक्तिले दरिला हातकै काम गर्दछ भन्ने ची भेदहरूको उद्देश्य देखिन्छ। यी छ वटै भेदहरूको यहाँ सविस्तार चर्चा गरिन्छ ।
१. वर्णविन्यासवक्रता – एक, दुइ वा दुइभन्दा धेर वर्ण पटक-पटक दोहोरिएर सौन्दर्य (चमत्कार) उत्पन्न हुनुलाई वर्णविन्यासवक्रता भनिन्छ । कुन्तककै शब्दमा –
“एको द्वौ वहवो वर्णा वध्यमानाः पुनः पुनः ।
स्वल्पान्तरा स्त्रिधा सोक्त वर्णविन्यासवक्रता ।।
वर्णान्तयोगिः स्पर्शा विरूक्तास्तलानाद्यः ।
रेफादिमिश्य सङ्युक्ताः प्रस्तुतौचिता शोभिनः ।। (वक्रोक्तिजीवित २/३-२५)
अर्थात्, एक, दुइ वा केही वर्ण सामान्य व्यधानमा पटकपटक प्रयोग भएमा वर्णविन्यासवक्रता हुन्छ ।
एउटा बान्किलो काव्यमा अनुप्रास, यमक अलङ्कार लगायत माधुर्य गुण सँगसँगै वैदर्भीरीतिसमेत समावेश हुन्छन् । वर्णविन्यासवक्रतामा वर्ण पटकपटक दोहोरिँदा (आवृत्ति) ती वर्णहरू स्वाभाविक रूपले नै झिँझेटलाग्दो (कर्णकटु ?) नभएर र सुनिरहूँ-सुनिरहुँजस्तो (श्रुतिमाघुर्य?) लाग्दछ । त्यतिमात्र होइन वर्ण योजनामा औचित्य सिद्घान्तको निर्वाहसमेत हुँदछ र काव्य विचित्र किसिमको हुँदछ भन्ने कुन्ताकाचार्यको भनाइ रहेको छ ।
वर्णविन्यासवक्रता तीन प्रकारको हुनसक्छ :
(क) वर्गीय पञ्चमवर्णसित त्यस वर्गको अऩ्य वर्ण योग हुन्छ,
(ख) वर्णको पटकपटक व्यवहार र
(ग) रेफयुक्त वर्ण प्रयोग आदि थ।
जस्तो –
(अ) “हल्ली-खल्लीछ कल्लिको चरणमा घन्कन्छ गल्ली पनि
चिल्लीबिल्ली उठाउँदोछ म यसै पनि रल्लिन्छु सिल्ली बनी ।” (चक्रपाणी चालिसे)
यहाँ “ल” वर्ण पटकपटक दोकोरिएको (द्वित्व)-ले आवृत्तिविन्यासवक्रता भएको छ ।
(आ( “उदय भो जब सन्त वसन्तको
प्रकट भो छवि चित्र विचित्रको ।” (सोमनाथ सिग्द्याल)
२. पदपूर्वार्धवक्रता – एउटा पदमा पूर्वार्ध र उत्तरार्ध भाग दुवै हुन्छन् । नामपद र क्रियापदको पूर्वार्ध यथाक्रमले विभक्तहीन धातु हो । पदको धातु रूप र मूल शब्दमा जुन वक्रोक्ति देखा पर्दछ तिनलाई पदपूर्वार्धवक्रता भनिन्छ । जस्तो –
“नव हरिण सुनौला तेजिली देखिँदामा
लिने मनसुव ज्यादै मानकीको हुँदा।।” (सोमनाथ सिग्द्याल)
कुन्तकाचार्यले पदपूर्वार्धवक्रताको दश भेद देखाएका छन् । ती हुन् – (क) रूढ़िवैचित्र्यवक्रता, (ख) पर्यायवक्रता, (ग) उपचारवक्रता, (घ) विशेषणवक्रता, (ङ) संवृत्तिवक्रता, (च) वृत्तिवक्रता, (छ) क्रियावैचित्र्यवक्रता, (ज) लिङ्गवैचित्र्यवक्रता, (झ) प्रत्ययवक्रता र (ञ) भाववैचित्र्यवक्रता ।
(क) रूढ़िवैचित्र्यवक्रता – प्रशंसा वा तिरस्कार गरिने अफिप्राय वा उद्देश्य (अर्थ) मा गरिने शब्द यस्तो प्रकारले प्रयोग गर्न सकिन्छ ताकि असम्भव कुनै विशेषता यस शब्दार्थमा आरोपित हुन्छ । यसमा साँच्चै त्यस शब्दार्थको विशेषता रहन्छ । त्यस्ताखाले वक्रतालाई रूढ़िवैचित्र्यवक्रता भनिन्छ । रूढ़िवैचित्र्यवक्रतालाई अतिशयआरोपवक्रता पनि भनिन्छ । आफ्नो प्रतिभाको भरमा कविले रूढ़ अर्थलाई यस्तो प्रकारले प्रयोग गर्दछ काव्यको मूल स्थानमा कुनै असम्भाव्य अर्थको उत्पत्ति हुँदछ ।
(ख) पर्यायवक्रता – पर्यायवाची शब्दहरूमघ्ये जुन चाहिँ सबैभन्दा तात्पर्यपूर्ण र प्रासङ्गिक हुन्छ त्यसलाई प्र्योग गर्नुलाई पर्यायवक्रता भनिन्छ । प्रतिभाशाली कविहरूले विभिन्न पर्यायवाची शब्दहरू प्रयोग गरेर कतै वाच्यार्थको मूल रहस्य उदघाटन गर्दछ भने कतै त्यसको अतिशयता पनि व्यक्त गर्दछ । महाकवि कालिदासले काव्यबाट पर्यायवक्रताका केही उदाहरण –
विषय – हिमालय
(अ) हिमाल यो नाम नगाधिराजः (कुमारसम्भवः १/१)
(आ) शैलराजावतीणीः (मेघदूतः १/५०)
(इ) अदृश्यात स्थावरराजकन्या (कुमारसम्भवः ३/५२)
(ई) शैलाधिराजतनया न वयो न तस्हौ (कुमारसम्भवः ५/८५)
(उ) सधान्तुष्यन्दः इवाद्रिराजः (रघुवंशः १६/७०)
उपरोक्त पङ्क्तिहरूमा नग, शैल, स्थावप, अद्रिजस्तो पर्यायवाची शब्दको प्रयोगले एक-एक ठाउँमा चमत्कार सृष्टि भएको छ ।
त्यसरी नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको काव्यबाट पनि केही उदाहरणहरू –
विषय – हिमालय
(अ) पहाड़किल्ला चुल्ली उपल्ला श्रीपेच-सरोज (मुनामदनः पृ २५)
(आ) श्रीपेच लगाई बल हिमाल
बादल सोला बुन । (कुञ्जिनीः खण्ड ञ श्लोक ६)
(इ) नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
हिमालचुली बिहान खुली उत्तर हाँसेको
पहराहरूको नीरको माला नेपाल शहरको,
लुर्कनाजस्ता रूखको लहर शिखर किनारको ।। (मुनामदनः पृ २८/२९)
(ई) नकल भारतको शिरताज झैं
जगतको इतिहास विराज झैं
हिउँचुली झल्कदा हिमालय
…………………………………… । ध्वनिहरू/ अप्रकाशित कविता (देवकोटाको कवितायात्राको विश्लेषण र मूल्याङ्कनबाट – डा. कुमारबहादुर जोशी)
उपरोक्त पङ्कतिहरूमा महाकवि लक्ष्माप्रसाद देवकोटाले पनि हिमालय शब्दको पर्यायवाची शब्दहरू प्रयोग गरेर पङ्क्ति-पङ्क्तिमा चमत्कार सृष्टि गरेको देखिन्छ ।
(ग) उपचारवक्रता – उपचारवाचक वक्रोक्तिमा एउटामाथि अर्कोको आरोप वा रूपक अलङ्कार हुन्छ । यसमा प्रस्तुतमाथि अप्रस्तुत आरोप गरिन्छ । कुन्तकाचार्यले यसलाई चार भेदमा विभाजन गर्दै यसका सहस्रौं भेद हुन सक्ने बताएका छन् । जस्तो –
“रातिमा सुर्जे, विदामा हाँसो कसोरि मिलाऊँ ।
जानु नै भए नछाडी जानोस् साथमा सुहाऊँ ।। (मुनामदनः पृ ३)
(घ) विशेषणवक्रता – विशेषणले कारक रूप र क्रिया रूपमा चमत्कार सृष्टि गर्छ र क्रिया विशेषणको प्रयोग विशेष्य वस्तुको सौन्दर्य उदघाटन गर्न अनि अलङ्कार सौन्दर्य ऩफिवर्द्धन गर्नाका निम्ति गरिन्छ भने त्यो विशेषणवक्रता हुन्छ । यस्तो खाले वक्रता प्रयोगले विशेष्यमा अतिशयता उत्पन्न हुनाका साथै काव्य चमत्कृत हुन्छ । यसरी विशेषणपवक्रताका दुइ भेद छन् – (अ( कारक वक्रता र (ख) क्रिया-लिशेषणवक्रता । क्रियाविशेषणको उदारणार्थ कुन्तकीय भनाइ यस्तो देखिन्छ –
“सस्मार वारणपतिर्विनिमीलिताक्षः
स्वेच्दावनाविहारवनवासमहोत्सवनानाम् ।”
अर्थात्, हामीले आँखा चिम्लेर पनि आफ्नो वनमहोत्सवको स्मरण गर्ऩ थाल्यौं भने त्यो स्वच्छन्द रूपमा वन-विहार गरेकैजस्तो अनुभव हुँदछ । यस पङ्क्तिमा ‘सस्मार’ क्रिया हो अनि ‘निमीलिताक्षः’ तिनको क्रियाविशेषण । जस्तो नेपाली काव्यमा –
“विमान खासा मनको लिउकन
म चन्द्र-तारा-पृथ्वी घुमि घुमिकन
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरि उही रम्य आँगन ।” (देवकोटा – गरिब)
(ङ) संवृत्तिवक्रता – सर्वनमा इत्यादिको सहायताले वस्तुलाई अस्पष्ट (गोप्य) रूपमा राखिन्छ भने त्यो संवृत्तिवक्रता हुन्छ । जसले काव्यमा चमत्कार देखिन्छ ।
(च) वृत्तिवक्रता – मानवसुलभ आचरणबाट नभएर समास र तद्धित आदिबाट हुने वक्रता वृत्तिवक्रता हुन्छ । समासजन्य चमत्कार पनि यसै वृत्तिवक्रता अन्तर्गत पर्दछ ।
(छ) क्रियावैचित्र्यवक्रता – धातुरूपको प्रयोगमा आश्रित हुने यो वक्रतामा क्रियाको प्रयोग हुँदछ । क्रिया प्रयोगमा जहाँ चमत्कार हुन्छ त्यहाँ क्रियावैचित्र्यवक्रता हुन्छ । कुन्ताकाचार्यले यस्तो धाले वक्रतालाई पाँच तहमा विभाजन गरेाक छन् । ती हुन् –
(क) क्रिया र कर्त्ता अभिन्न भएमा,
(ख) कर्त्ताको अन्य कर्त्तासित विभिन्नती भएमा,
(ग) क्रियाको विशेषण प्रकट भएमा,
(घ) सादृश्य आदिको आघारमा अन्य धर्मको आरोप भएमा अनि अन्त्यमा
(ङ) क्रियाको कर्म आदिलाई गोप्य (अस्पष्ट) राखेर सौन्दर्य सृष्टि गरेमा ।
(ज) लिङ्गवैचित्रयवक्रता – यस वक्रताको आधार नै लिङ्ग प्रयोग हो । कुन्ताकाचार्यले लिङ्गवैचित्रयववक्रतालाईफेरि तीन भागमा छुट्याएर हेर्ने काम गरेका छन् –
(अ) विभिन्न लिङ्गहरूको समानाधिकरण,
(आ) स्त्रीलिङ्गको प्रयोग र
(इ) लिङ्गको प्रयोग । यसमा स्त्रीलिङ्ग र पुलिङ्गलाई समानाधिकरण गरिन्छ ।
(झ) प्रत्ययवक्रता – प्रत्ययद्वारा प्रस्तुत गरिएको कुनै विशेष औचित्यसम्बन्धी चमत्कार भएमा प्रत्ययवक्रता हुन्छ ।
(ञ) भाववैचित्र्यवक्रता – क्रिया साध्य रूपमा नभएर सिद्धरूपमा प्रयुक्त भएको वक्रतालाईभाववैचित्र्यवक्रता भनिन्छ ।
३. प्रत्याश्रयवक्रता (पदपरार्धवक्रता) – प्रत्याश्रयवक्रलाई पदपरार्धवक्रता पनि भनिन्छ । पदको पछिल्लो खण्डमा प्रयोगको आधारमा सिर्जना हुने अनि पदको उत्तरार्ध खण्डमा अवस्थित हुने वक्रतालाई प्रत्यायश्रयवक्रता (पदपरार्धवक्रता भन्दछन् । जस्तो –
“न वा त्यो चरी हो न वा त्यो परी हो
न वा कृष्णको मोहनी माधुरी हो
न वा विम्ब सौन्दर्यको चातुरी हो
यसै काल पियुष नै चरी भो ।” (लक्ष्मीप्रसाद देवकोटाः)
यो वक्रता पनि (क) कालवैचित्र्यवक्रता, (ख) कारकवक्रता , (ग) सङ्ख्यावक्रता, (घ) पुरूषवक्रता, (ङ) उपग्रह (धातु) वक्रता, (च) प्रत्ययवक्रता, (छ) पदवक्रता गरी सात प्रकारको रूपले अभिव्यक्त हुन्छ भन्ने कुन्ताकाचार्यले निर्देश गरेका छन् ।
(क) कालवैचित्र्यवक्रता – औचित्यको अनुरूप कालको प्रयोगमा चमत्कार आश्रित भएमा कालवैचित्र्यवक्रता हुँदछ ।
(ख) कारकवक्रता – अभिप्राय प्रकट गर्न कारकमा विवयर्य गरी प्रयोग गरिने वक्रता कारकवक्रता हो ।
(ग) सङ्ख्यावक्रता – एकवचनको ठाउँमा बहुवचन या बहुवचनको ठाउँमा एकवचन गरिएमा सङ्ख्यावक्रता हुन्छ ।
(घ) पुरूषवक्रता – पुरूषको विपयर्यद्वारा चमत्कार सृष्टि भएमा पुरूषवक्रता हुन्छ ।
(ङ) उपग्रह (धातु) वक्रता – संस्कृत धातुको विशेषतासित सम्बन्ध राख्ने वक्रता भएकोले नेपालीमा यस्तो वक्रता प्रचलित देखिँदैन । यद्यपि धातुहरूमा औचित्यको कारणले गर्दा एउटाको प्रयोग भएमा उपग्रह (धातु) वक्रता हुन्छ ।
(च) प्रत्ययवक्रता – स-साना प्रत्ययहरू प्रयोग गरिँदा काव्यमा जुन चमत्कार सृष्टि हुन्छ त्यो प्रत्ययवक्रता हो ।
(छ) पदवक्रता – काव्यमा उपसर्ग र निपातको प्रयोग भएमा त्यो वक्रता पदवक्रता कहलाइन्छ ।
वाक्यस्यवक्रता – काव्यवस्तुको उदार, सुन्दर र रमणीय वर्णन अवलम्बन गरी रचिएको काव्यलाई वाक्यवक्रता भनिन्छ । यसलाई पुरूषवक्रता पनि भनिन्छ । वाक्यवक्रताले वाक्यार्थमा चमत्कार उत्पन्न हुँदछ र त्यो अनन्तरूपी हुन्छ भन्ने कुन्ताकाचार्यले स्पष्ट पारेका छन् । आचार्य कुन्तकले वाक्यवक्रतालाई निम्न भेदमा छुट्याएका छन् –
वाक्यवक्रता –
सहजावक्रता आहार्यवक्रता
स्वभावप्रधानवक्रता रसप्रधानवक्रता
सामान्यवक्रता शोभामयवक्रता
सहज वर्णनबाट स्वाभाविक रूपले उत्पन्न हुने चमत्कारीपन सहजवक्रता हो र शिक्षाभ्यासबाट प्राप्त चमत्कारलाई आहार्यवक्रता भनिन्छ । वाक्यवक्रतामा कुन्तकाचार्यले प्रेयस, रक्षवत, उर्जस्वीबाहेक पनि सबै अर्थालङ्कारलाई समावेश गरी रसपूर्ण उक्तिलाई समेत स्वीकार गर्नाका साथै रसको पनि प्रवेश गराएका छन् । वाक्यवक्रताको एउटा उदाहरण –
“संसार देख्छु यस्तो, बनेछ यो वज्रकै जस्तो ।
आघात गऱ्यो कस्तो, नौनीमा बञ्चरो जस्तो ।।” (सोमनाथ सिग्द्याल)
५. प्रकरणवक्रता – काव्यवस्तुको अनुकूलता प्रासङ्गिक अन्य कुनै विषयवस्तुको कुटिल प्रतिस्थापित भएमा प्रकरणवक्रता हुँदछ । कालिदासको ‘शकुन्तला’ नाटकमा दुर्वासाको अभिशाप, समको ‘प्रह्लाद’ नाटकमा प्रह्लादको ठाउँमा रोध आगोमा चढ्नु र ‘मुद्राराक्षस’ आत्महत्याको निहुँ रची चाणक्यद्वारा राक्षसलाई जिउँदै बन्दी बनाउनुजस्ता विधान यसका ज्वलन्त नमूनाहरू हुन् ।
६. प्रबन्धवक्रता – सिङ्गो काव्य (महाकाव्य, खण्डकाव्य, नाटक, उपन्यास) सित प्रबन्धवक्रताको सम्बन्ध रहेको हुन्छ । यो वक्रोक्तिको व्यापक रूप हुनाका साथै कथानकमा मौलिक चमत्कार योग भएको हुन्छ । प्रबन्धवक्रतालाई आचार्य कुन्तकले छ वर्गमा देखाएका छन् – (अ) मूल रस / अङ्गीरसको परिवर्तन वक्रता, (आ) समापन वक्रताको उपसंहार, (इ) कथाविच्छेद वक्रता, (ई) आनुषङ्गिक वक्रता, (उ) नामकरण वक्रता र (ऊ) तुल्यकथा वक्रता ।
(अ) मूल रस / अङ्गीरसको परिवर्तन वक्रता – इतिहास र पुराण प्रसिद्ध मूल कथामा भएको मूल (अङ्गी) रसलाई उपेक्षा गरी आफ्नो कवित्वप्रतिभाको बलले कविले आफनो काव्यमा अरू नै रस प्रयोग गरी मूल कथा नै परिवर्तन गर्दछ । यो अङ्गीरस परिवर्तन वक्रतालाई मूल रस / अङ्गीरसको परिवर्तन वक्रता भनिन्छ ।
(आ) समापन वक्रताको उपसंहार – समापन वक्रतालाई कथाको समापन वक्रता पनि भनिन्छ । जब कुनै कृतिमा वा कथाको मूल नायकले चरमोत्कर्ष प्राप्त गर्छ तब तत्कालै कथाको समाप्ति गरिएको स्थितिलाई समापन भनिन्छ । यस प्रकारको वक्रतामा नायक चरमोत्कर्षमा पुगेपछि कविले अनावश्यक अन्य समान्य वर्णन गर्ने प्रयासलाई पन्छाउँदै कथालाई उपसंकारद्वारा समाप्त गरिदिनु नै समापन वक्रता हो ।
(इ) कथाविच्छेद वक्रता – कथा चरमोत्कर्षमा पुगेपछि कविले सो को सहज विकासलाई पूर्णविराम लगाईकन आफ्नो कविप्रतिभाको आड़्मा कथाको मध्यभागमै मुख्य कार्य ठामठिम पार्नुलाई कथाविच्छेद वक्रता भनिन्छ ।
(ई) आनुषङ्गिक वक्रता – कविले आफ्नो कविताप्रतिभाद्वारा नायकलाई फलप्राप्तिको निम्ति हुटहुटी लाउँदै अघि बढ़ाउँदाको समयमा नायकलाई अनेकौं फल प्राप्ति गर्ने सौभाग्य जुड़्दछ, त्यस्तो खाले वक्रतालाई आनुषङ्गिक वक्रता भनिन्छ ।
(उ) नामकरण वक्रता – कृतिको कथावस्तुकै आधारमा त्यसमा चमत्कारको लेप लगाई कृतिको नामकरण छनौट गर्नुलाई नामकरण वक्रता भनिन्छ । कृतिको नामकरणमा कविको कुशलता देखिनु स्वाभाविकै हो ।
(ऊ) तुल्यकथा वक्रता – इतिहास वा पुराण प्रसिद्ध कथामा भर पर्दा जब कविले तिनमा थुप्रै प्रकारका कथाहरू रचना गर्दछन् त्यस्तो वक्रतालाई तुल्यकथा वक्रता भन्दछन् ।
कवि प्रतिभाको श्रमता कति हद्सम्म स्वतन्त्र, विस्तृत एवम् फाँटिलो हुनसक्छ भन्ने छतछती प्रमाण गर्नुलाई नै कुन्तकाचार्यले उपरोक्त विभिन्न प्रकारका वक्रोक्तिहरू प्रयोग गरेका हुन् । वक्रोक्तिसिद्धान्त मार्फत् काव्यभित्र आएका सम्पूर्ण चमत्कारलाई निरूपम गर्न उनले कुनै कसर छोड़ेका देखिँदैन ।
समीक्षा सिद्धान्तमा वक्रोक्तिको स्थान , महत्तव र मूल्य –
“वक्रोक्तिः काव्यजीवितम् ।” अर्थात् “वक्रोक्ति काव्यको आत्मा हो ।”
भारतीय समीक्षासिद्धान्तको फाँटमा यो प्रसिद्ध उक्ति आचार्य कुन्तकको हृदयबाट प्रस्फुटित भएको घतपर्दो वाणी हो । वक्रोक्तिलाई काव्यको प्राण वा आत्मा भनी वक्रोक्ति सिद्धान्तको शङ्खघोष गर्ने कुन्तक यति वाणी दिएर चूप लागि बसेनन् । उनको त्यस्तै घतपर्दो अर्को वाणी भारतीय समीक्षासिद्धान्तको कुरूक्षेत्रमा फेरि यसरी गुञ्जयमान भयो – “वक्रोतिरेव वैदार्ध्य-भङ्गी-भणितिरूच्यते ।” अर्थात्, ? “वक्रोक्ति कवि-कर्मको कुशलताबाट उत्पन्न चमत्कार (औचित्य ?) पूर्ण कथन-प्रकरण हो । यो चमत्कार कवि प्रतिभाबाट जन्मिएको र आह्लादकारी हुनुपर्छ ।”
यसरी हेर्दा कुन्तकाचार्यले कवि-व्यापारलाई महत्त्व दिनाका साथसाथै कवि-व्यक्तित्वमाथि पनि प्रकाश पार्ने कुन्तकले पूर्ववर्ती सम्पूर्ण सिद्धान्तको सामान्य छाप वक्रोक्ति सिद्धान्तमा समेटेका देखिन्छ । यो नै वक्रोक्ति सिद्धान्तको मह्त्वपूर्ण विशेषता हो ।
कुन्तकको “वक्रोक्तिजीवितम” नामक ग्रन्थले त्यति व्यापक समर्थन नपाए पनि अन्यान्य कारणले भने भारतीय समीक्षासिद्धान्तमा वक्रोक्तिको स्थान, महत्तव र मूल्य अद्यावधि झर्झराउंदो नै देखिन्छ । यसरी हेर्दा, भारतीय काव्य समालोचनाको क्षेत्रमा कुन्तकले प्रतिपादित गरेको वक्रोक्ति सिद्घान्तले एउटा नवीन मार्गको घरेटी तयार पारेको कुरा निर्विवाद सत्य देखिन्छ । कुन्तकका पूर्ववर्ती आचार्यहरूका अन्य सिद्धान्तभन्दा यो सिद्धान्त बेग्लै रूपमा प्रतिपादित भएको पाइन्छ । यस दृष्टिकोणबाट हेर्दा, संस्कृत साहित्यमा देखा परेका अन्य विभिन्न प्रवत्तिहरूमध्ये कुन्तकीय वक्रोक्ति पद्धतिको महत्त्वपूर्ण र विशिष्ट स्थान देखिन्छ । यसैकारण वक्रोक्तिवादको प्रतिष्ठा गर्ने कुन्तक अवश्यै पनि महान् छन् । तर वक्रोक्तिवाद खहरे खोलाजस्तो एकै झ्वाँकमा ह्वात्तै जन्मेको सिद्धान्त भने होइन । यसको रमरम छाप ता अलङ्कारवादको गर्भमै बसेको थियो । ध्वनिवादको औंलो समात्दै नै यसले हुर्किने, बढ़्ने, मौलाउने, झ्याङिने प्रेरणा र उत्साह पाएको थियो । कुन्तकले पूर्ववर्ती साहित्यिक मान्यताहरू एकमुष्ठ पारी तिनमा सामान्य नयाँ र अलिकति मौलिकताको जलप लाउने प्रयास गरेबाट भारतीय समीक्षासिद्धान्तमा वक्रोक्तिवाद झाँङिएर जान थालेको छ । कुन्तकको यो एकमुष्ठ (समन्यवादी) भगीरथ प्रयासको सराहना नगरी सकिन्न ।
वक्रोक्तिलाई शब्दालङ्कारको सङ्कुचित घेराबन्दीबाट मुक्त गरी व्यापक अर्थमा काव्याङ्गण सिद्धान्तको फौँटमा ल्याउने कुन्तकले तिनको ‘वक्रोतिजीवित’ ग्रन्थ मार्फत् काव्य आत्मा हो भन्ने कुरा फ्लाँके । वक्रोक्तितत्त्वको सर्वाङ्गमै काव्य सिद्धान्तका अन्यान्य तत्त्वहरू पनि समेटेर तिनले धेरै मात्रामा आत्माभिमानसहित जुन नयाँ मौलिक सिद्घान्तको व्याख्या आफ्नो कृतिमार्फत् गरे त्यसबाट हामी किञ्चित मुण्टो हल्लाउँदैनौं बरू श्रद्धाले शिर निहुराउँछौं । कुन्तकभन्दा पनि पहिले आचार्य भामहले यस सिद्धान्तबारेमा अमूल्य कुराहरू भनिसकेका छन्। भामहको यो अमूल्य र घतपर्दो व्याख्याप्रति आचार्य कुन्तक अवश्यै प्रभावित भएको कुरा नकार्न पनि सकिन्न ।
वक्रोक्तिभित्रै सम्पूर्ण अर्थालङ्कार बुझ्न चाहेका थिए भामहले । भामहको व्याख्याभित्र पूर्णरूपले प्रभावित भएर कुन्तकले वक्रोक्ति ग्रहण गरे र शब्द अर्थको सम्मिलित रूप समीक्षा क्षेत्रमा प्रयोग गरेपछि कुन्तक प्रतिपादित व्याख्या समीक्षा सिद्धान्तमा वक्रोक्तिको स्थान, महत्त्व र मूल्य झन् गहन र व्यापक भएर गयो । कुन्तकले वक्रोक्ति शब्दलाई नयाँ अर्थ दिएर प्रचलित अलङ्कारको सिमान्तभित्रमात्रै त्यसको अर्थ सीमित राखेनन् । यसोसले काव्य समीक्षासिद्धान्तका अन्यान्य सूत्रले वक्रोक्तिमा सामेल हुने मौका पायो । यसैकारण पनि समीक्षासिद्धान्तमा वक्रोक्तिको मूल्य, स्थान र महत्त्व अभूतपूर्व देखिन्छ ।
यसरी कुन्तकको वक्रो्क्ति सिद्धान्तको साङ्गोपाङ्गो अध्ययन-विश्लेषण-मनन गर्दा वक्रताभित्र कुन्तकले अलङ्कार, रीति र विभिन्न् प्रकारका ध्वनिहरूलाई समेटेको पाइऩ्छ । आनन्दवर्धन र कुन्तक दुवै आचार्यहरू कविप्रतिभासित सहमति देखिन्छन् । आनन्दवर्धनको व्याख्या आत्मनिष्ठ देखिन्छ भने कुन्तकको व्याख्या एकनिष्ठ । इङ्गितमय ध्वनि मार्फत् आनन्दवर्धनले अनि वक्रोक्तिको माध्यमबाट कुन्तकले कविप्रतिभा चिनाउने प्रयास गरेको देखिन्छ । यसैले समीक्षासिद्धान्त अन्तर्गत कुन्तकले ‘वक्रोक्तिजीवित’ पुस्तकमा कवि-समालोचक दुवैको पक्षमा अत्यन्तै मूल्यवान, महत्त्वपूर्ण अनि घतपर्दो दस्तावेज भएको छ ।
वक्रोक्ति सिद्धान्त अन्तर्गत कुन्तकले वाक्यगत, प्रबन्धगत र प्रकरणगत साहित्यको कुरा गर्न पनि चुकेका छैनन् । कुन्तकले सबै दृष्टिकोणबाट साहित्य समीक्षाको जुन पूर्णाङ्ग आलोचना गरेका छन् त्यो अचम्भलाग्दो नै देखिँदोछ ।
पुछारमा, खास गरी, वक्रोक्तिवादभित्र आचार्य कुन्तकले विभिन्न काव्य तत्त्व अत्यन्तै वैज्ञानिक ढङ्गमा विवेचना गरेका हुनाले साहित्य समालोचनासिद्घान्तमा यसको महत्त्व र मूल्य बिर्सिनसक्नुको छ । कुन्तकको वक्रोक्तिवाद सिद्धान्त विरूद्ध आलोचकहरूले जति नै सिस्नुपानीले छ्यापे पनि भारतीय समाक्षासिद्धान्त परम्परामा कुन्तकीय वक्रोक्तिवाद सिद्घान्तलाई कुनै असर र प्रभाव पर्ने होइन किनभने औंलामै गन्न नसकिने विद्वानहरूले यिनो यो सिद्धान्तलाी नवीन, मौलिक वस्तुवादी कलापूर्ण साहित्यिक सिद्धान्तको थानमा ब़ड़ो आदर अनि श्रद्धापूर्वक स्थापित गरेका छन् ।
वक्रोक्तिवादी प्रमुख आचार्यहरू –
भारतीय काव्यशास्त्रको फाँटमा वक्रोक्तिलाई सर्वप्रथम भित्र्याउने आचार्य भामह मानिए तापनि वक्रोक्ति सिद्धान्तका प्रवर्त्तक चाहिँ कुन्तक नै हुन् । आचार्य भामहले वक्रोक्तिलाई “अलौकिक उक्ति र विशिष्ट कथन” रूपमा लिएको भए पनि आचार्य कुन्तकले चाहिँ आफ्नो प्रशिद्ध कृति “वक्रोक्तिजीवित” मार्फत् भारतीय काव्यशास्त्रमा वक्रोक्तिवादको प्रतिष्ठा गरि छाड़े। हुन ता वैदिक साहित्यमा पनि वक्रोक्ति शब्दको प्रयोग भएकै हो । वक्रोक्तिसिद्धान्तबारे आ-आफ्ना तर्कसङ्गत अवधारणा र सैद्धान्तिक पक्षहरू प्रतिष्ठा गर्न चाहने केही वक्रोक्तिवादी आचार्यहरू पनि भारतीय काव्यशास्त्रको फाँटमा ओर्लिएको देखिन्छ । यी वक्रोक्तिवादी आचार्यहरूले वक्रोक्तिवादमाथि व्यक्त गरेका अवधारणा र सैद्धान्तिक पक्षहरूको तुलनामा वक्रोक्ति सिद्घान्तबारे प्रतिष्ठापित कुन्तकीय अवधारणा र सैद्धान्तिक पक्ष नितान्तै बेग्लै र छुट्टै खालको रहेका छन् । निम्न सोपानक्रमअनुसार वक्रोक्तिवादी आचार्यहरूको सङ्क्षिप्त रूपमा चर्चा गरिन्छ – भामह, वाणभट्ट, दण्डी, वामन, रूद्रट, आनन्दवर्धन, अभिनवगुप्त, भोजराज, कुन्तक ।
भामह – संस्कृत साहित्यका मौलिक चिन्तक र अलङ्कारवादी सम्प्रदायका प्रवर्त्तक रूपमा आफ्नो स्थान सुरक्षित राख्ने भामह छैटौं शताब्दीका आचार्य हुन् । भारतीय काव्यशास्त्रमा वक्रोक्ति भित्र्याउने यिनै अलङ्कारवादी आचार्य भामह नै हुन् । प्रायः चार सय जति श्लोक भएको यिनको ‘काव्यालङ्कार’-को तेस्रो परिच्छेदमा विभिन्न प्रकारका अलङ्कारहरूको बेलिविस्तार लाउँदै वक्रोक्तिबिना कुनै पनि अलङ्कार अलङ्कार हुन सक्दैन भनी वक्रोक्तिलाई काव्यशास्त्रमा स्थापना गरेका छन् । वक्रोक्तिप्रति गतिलो आस्था राख्ने भामहले अलङ्कारको बीउ नै वक्रोक्ति हो र वक्रोक्तिबाटै अलङ्कारको हाँगा पलाउन थालेको हो भनी वक्रोक्तिको वकालती गरेका छन् । यिनी अतिशयोक्ति अलङ्कारलाई मात्र वक्रोक्ति ठान्छन् । यसैले आचार्य भामहलाई वक्रोक्तिसिद्घान्तवादीभन्दा अलग्गै देखिन्छ ।
वाणभट्ट – तेह्रौं शताब्दीका वाणभट्टको त्यति प्रसिद्धि नभए पनि यिनको ‘काव्यानुशासन’ नामक ग्रन्थ प्रकाशित छ । आफ्नो काव्यकृतिमा ‘वक्रोक्ति’ शब्द प्रयोग गर्ने सर्वप्रथम साहित्यकार यिनै वाणफट्ट हुन् । वक्रोक्ति चातुर्यपूर्ण उक्ति र परिहासपूर्ण कथन हो भनी यिनले वक्रोक्तिलाई काव्यशास्त्रमा प्रतिष्ठापित गर्न खोजेको देखिन्छ ।
दण्डी – आचार्य भामहपछि नवौं शताब्दीमा देखा पर्ने आचार्य हुन् दण्डी । दक्षिण भारतको काञ्जीवरम् भन्ने ठाउँमा जन्मेका दण्डी महाकवि भारविका वंशज थिए । यिनी अलङ्कारवादका कट्टर समर्थक हुनाका साथै रीतिवादको घरेटी तयार पारिदिने आचार्य हुन् । भारतीय काव्यशास्त्रमा वक्रोक्ति शब्द प्रतिष्ठापित गर्नको निम्ति यिनी लागिपरेका थिए र वक्रोक्तिलाई समर्थन गर्ने क्रममा यिनले वक्रोक्तिबारे भामहको विचारलाई समर्थन गरेाक थिए । वक्रोक्ति सम्बन्धित यिनको धारणालाई हेर्दा यिनले भामहकै विचारलाई अघि बढ़ाउँदै तिनमा मौलिकता थप्ने प्रयास गरेको पाइन्छ । साधारण किसिमको उक्तिलाई यिनले स्वाभोक्ति मान्ने विचार राख्दै यसलाई विशिष्टता प्रदान गरेमा मात्र वक्रोक्ति झल्किन्छ भन्ने यिनको अवधारणा देखिन्छ । स्वाभोक्तिको क्षेत्र शास्त्र हो अनि वक्रोक्तिको क्षेत्र काव्य हो भन्ने मान्यता दण्डीले स्थापना गरे । आचार्यले भामहले वक्रोक्तिलाई काव्यपरक मानेका थिए । तर आचार्य दण्डीले यिनको विचारलाई छेकावार लाउँदै वक्रोक्ति काव्यको एक भेद हो भनी मौलिकता प्रदान गरेको पाइन्छ ।
तीन परिच्छेदमा विभाजन गरिएको यिनको कृति ‘काव्यादर्श’ भारतीय काव्यशास्त्रमा महत्त्वपूर्ण स्थान हासिल गर्न समर्थ रहेको छ ।
वामन – आठौं शताब्दीको पुछारतिर अनि नवौं शताब्दीको सिरानतिर देखा पर्ने आचार्य वामन कश्मीरे राजा जयपीड़ेका मन्त्री थिए । यिनी कवि उद्भटको समकालीन थिए । उद्भट पनि यिनै राजाका राजसभाका सभापण्डितका आसनमा विराजमान थिए । यिनले आफ्नो ‘सूत्रलङ्कारवृत्ति’ ग्रन्थमा अलङ्कारशास्त्रबारे विशद् रूपमा चर्चा गरेका हुन् । वामनले वक्रोक्तिलाई अलङ्कारको रूपमा मात्र स्वीकर गरे । त्यसभन्दा धेर वक्रोक्तिमाथि केही बोलेनन् । यसो हुँदा वक्रोक्तिको अवधारणा, मान्यता टाक्सिन पुग्यो । वक्रोक्तिको सादृश्यमा निर्भर रहन्छ भन्ने ठोकुवा गर्दै यिनले ‘सादृश्यलक्षण वक्रोक्ति’ भनेर वक्रोक्तिको पखेटा निकाल्ने काम गरे ।
रूद्रट – नवौं शताब्दीको अन्त्य अनि दशौं शताब्दीको आरम्भमा देखा पर्ने अलङ्कारवादी रूद्रटको मातृभूमि कश्मीर देखिन्छ । यिनी ध्वनिवादी आनन्दवर्धनका समर्थक हुन् । ७३४ वटा श्लोकमा लेखिएको यिनको ‘काव्यालङ्कार’ कृति भारतीय काव्यस्त्रमा अपूर्व मानिन्छ ।
आचार्य रूद्रटले पनि झण्डै-झण्डै वामनको बिँड़ो थाम्दै वक्रोक्तिलाई कँज्याउने प्रयास गरेको पाइन्छ । यिनले वक्रोक्ति शब्दसौन्दर्य र शब्दालङ्कारबाहेक अरू केही होइन भन्ने धारणा प्रस्तुत गरे पनि वक्रोक्तिलाई काकुवक्रोक्ति र श्लेषवक्रोक्ति गरी वक्रोक्तिलाई दुइ भागमा विभक्त गरेको पाइन्छ । यस विभाजनले वक्रोक्ति प्रति रूद्रटको कुनै पूर्वाग्रह देखिँदैन । बरू यिनको यस विभाजनले भारतीय काव्यशास्त्र अन्तर्गत देखा परेको वक्रोक्ति परम्परामा एउटा नौलो अवधारणा जन्मेको पाइन्छ । वक्रोक्ति परम्परामा यिनको यो नौलो अवधारणाले पछिल्ला काव्यशास्त्रीहरूलाई गतिलो प्रभाव मात्रन पारेन तर आजसम्म प्रचलित मान्यताले पनि रूद्रटकै नौलो परम्पराकै गोरेटो पहिल्याएको देखिन्छ । एउटाले भनेको वा बोलेको कुरालाई अर्कोले अर्कै पाराले बुझ्नु नै वक्रोक्ति हो भन्ने आचार्य रूद्रटको मान्यता देखिन्छ ।
आनन्दवर्धन – कश्मीरे राजाका सभापण्डित आनन्दवर्धन नवौं शताब्दीको आचार्य हुन् । आफ्नो जमानामा ‘ध्वन्यलोक’ नामक प्रशिद्ध ग्रन्थ लेखी ध्वनिवादका संस्थापकको पगरी गुँथ्ने आनन्दवर्धनलाई वक्रोकित सम्बन्धित आफ्नो अवधारणा प्रस्तुत गर्नमा उदार, शिष्ट र सभ्य देखिएका छन् । किनभने वक्रोक्ति सम्बन्धित भामहद्वारा व्याख्यायित अवधारणालाई अझ सुदृढ़, फराकिलो र झर्झराउँदो बनाउन प्रयास गरेको देखिन्छ । वक्रोक्तिबारे यिनले त्यति लम्बेतान व्याख्या नगरे पनि यिनको ध्वनिसिद्घान्तबारे वक्रोक्तिको मान्यताको प्रभाव छपछपती छ भन्ने विद्वानहरूको स्वीकारोक्ति देखिन्छ । वक्रोक्ति र अतिशयोक्ति एउटै हुन् र प्रतिभासम्पन्न स्रष्टाले मात्र यसको शिरदेखि पुच्छरसम्मै प्रयोग गर्न सक्ने बताएका छन् । यसबाहेक वक्रोक्तिबारे यिनले यसको प्रयोग लरतरो, फ्यातुलो खाले नभएर औचित्यपूर्ण र प्रसङ्ग अनुकूल हुनुपज्ञछ भन्ने निर्देश दिएका छन् ।
अभिनवगुप्त – यिनले पनि भामहकै विचारलाई पछ्याएको देखिन्छ । वक्रोक्ति एउटा सामान्य अलङ्कार मात्र हो भन्ने यिनको विचार देखिन्छ । शब्द र अर्थमा वक्रताको तात्पर्य लोकोत्तर रूपमा राख्नुपर्छ भन्ने आशय व्यक्त गर्दै यसलाई सामान्य अलङ्कार ठानेको देखिन्छ ।
भोजराज – आचार्य दण्डीले पैल्याएको विचारधाराको पगडण्डी पछ्याउँदै भए पनि यिनले वक्रोक्ति सम्बन्धी विशद् रूपमा चर्चा गरेको पाइन्छ । यिनको विचारमा बाङमयको तीन भेद (स्वाभोक्ति, वक्रोक्ति, रसोक्ति) हुन्छन् । त्यस्तै प्रकारले काव्यसौन्दर्यको पनि तीनवटै भेद बताएका छन् । अलङ्कारको प्रमुखतालाई नै वक्रोक्ति जीवित रहने यिनको धारणा देखिन्छ ।
कुन्तक – ‘वक्रोक्तिजीवित’ नामक लोकप्रिय ग्रन्थका सर्जक आचार्य कुन्तक कश्मीरे हुन् । एघारौं शताब्दीको यी स्रष्टा वक्रोक्ति सम्प्रदायका संस्थापक हुन् । कुन्तक सम्भवतः अभिनवगुप्तका समकालीन थिए भन्ने अनुमान गरिएको पाइन्छ । रूद्रटको विचारपट्टि लागेर वक्रोक्तिलाई शब्दालङ्कार मात्रै हो फनी तोक लगाउने आचार्यहरूलाई बूढ़ो औंली देखाउँदै आचार्य भामहको विचारलाई सविनय स्वीकारात्मक ढ्याङरो ठोक्दै वक्रोक्तिलाई विशिष्ट अर्थको आभूषण पहिराई सर्वाङ्ग सुन्दर बान्किलो पारेर सौन्दर्यभावको वाचक तुल्याउने यिनै आचार्य कुन्तक हुन् । यिनको प्रसिद्ध ग्रन्थ ‘वक्रोक्तिजीवित’-मा यिनै विचारहरूको विशुद्ध व्याख्या-विश्लेषण गर्दै यिनले भामहबाहेक पनि दण्डी, यतिसम्मकि उद्भटहरूले समेटेका विचारहरू एक बिटो पारी टिपेर ग्रन्थलाई गहकिलो र बान्किलो बनाउने प्रयास गरेको देखिन्छ । चार अध्यायमा विभक्त गरिएको यिनको ग्रन्थमा कारिका र व्याख्यासमेत रहेको छ । कुन्तकले वक्रोक्तिलाई काव्यको आत्मा मानेका छन् । यिनीभन्दा पहिले भामहले पनि सम्पूर्ण अलङ्कार नै वक्रोक्ति हो भनेका छन् । वक्रोक्तिलाई काव्यात्मा रूपमा प्रतिष्ठापित गर्ने कुरामा कुन्तक आफैमा मौलिकताको छाप रहेको भए तापनि भामहको विचारसित यिनको विचार ठ्याक्कै मिल्दोजूल्दो देखिन्छ । वक्रोक्तिबारे कुन्तकीय अवघारणा जे छ तिनमात ध्वनिवादको सामान्य छाप पाइन्छ । किनभने वक्रोक्तिभित्र सम्पूर्ण रस र ध्वनिका कुराहरू परेका हुन्छन् भन्ने कुरा ता कुन्तकले यिनको आफ्नै ग्रन्थ ‘वक्रोक्तिजीवित’-मा भनिसकेका छन् :
“शब्दार्थौ सहितौ वक्रोक्ति व्यापारशालिनि ।
वन्धे व्यस्वस्थितौ काव्यं तदविदाह्लादकारिणी ।।”
भारतीय काव्यशास्र्मा ध्वनिकार आनन्दवर्धनकृत ध्वनिसिद्धान्तको जगजगी र धलिमलि चलिरहेको समयमा भारतीय काव्यशास्र्कै विशाल शास्त्राङ्गणमा वक्रोक्तिसिद्घान्तको ध्वजा फहराउन तम्सिने कुन्तकले वक्रोक्तिसिद्धान्तको स्थान पनि उच्च छ भन्ने कुरा देखाउँदै आफ्नो व्यक्तित्त्वको परिचय दिन सक्षम रहेको देखिन्छ ।
‘वक्रोक्ति’ शब्दको आक्षरिक अर्थ ‘वक्रवचन’ (घुमाउरो भनाइ ?) हो । कुनै एउटा शब्दको साधारण अर्थद्वारा जब केही निर्देश गरिन्छ भने सोझो वा प्रत्यक्ष अर्थ हुन्छ । तर जब अभिप्रेत अर्थलाई अर्कै पाराले भनिएको खण्डमा त्यो ‘वक्रवचन’ हुन्छ । शब्द र अर्थको सङ्गमले काव्य निर्माण हुन्छ, जसले आनन्दप्रदान गर्दछ । काव्यमा वक्रोक्ति हुनुपर्छ कारण वक्रोक्तिबिना काव्य निर्माण हुनै सक्दैन भन्ने अवघारणा आचार्यले कुन्तकले प्रतिष्ठापित गरे । त्यतिमात्र होइऩ वक्रोक्तिले काव्यलाई जीवित तुल्याउँछ भन्ने यिनको धारणा देखिन्छ ।
समष्टिमा, आचार्य कुन्तक प्रतिपादित वक्रोक्तिसिद्घान्त भारतीय काव्यशास्त्रपरम्परामा महत्त्वपूर्ण र ग्रहणयोग्य उपलब्घि हो । वक्रोक्तिसिद्धान्तमा काव्यको कलापक्षबारे विस्तृत एवम् क्रमबद्ध रूपमा विवेचन गरिएको छ । यस्तो विस्तृत आलोचन-विवेचन अन्य कुनै काव्यशास्त्र सिद्धान्तमा अद्यावधि भएको पाइँदैन । यस सिद्धान्तको चित्तपर्दो विषय ता के छ भने, आचार्य कुन्तकले रौंचिरा (सानोभन्दा सानो) विश्लेषणदेखि लिएर प्रबन्धसम्मलाई समेटी वक्रोक्तिको नालीबेली प्रस्तुत गरेका छन् । यो आफै-आफमा अभूतपूर्व मात्र नभएर भारतीय सौन्दर्यशास्त्रमा नितान्तै मौलिक चिन्तनको दस्तावेज भएको कुरो स्वीकार्य छ ।
भारतीय काव्यसिद्धान्तमा कुन्तकको वक्रोक्तिसिद्धान्तमा आँखा तर्ने, नाक-मुख खुम्च्याउने कतिपय आचार्यहरू देखिए पनि, वक्रोक्तिलाई ‘अलङ्कार-विशेष’-को घेरोभित्र कँज्याएर राख्नेहरू बग्रेल्तै भए पनि आचार्य कुन्तकको वक्रोक्तिसिद्धान्तले भारतीय काव्यशास्त्रमा नयाँ अध्याय थपेको छ ।
मेरो यस ठोकुवा भनाइको छतछती प्रमाण चाहिँ कसैले पनि एकपल्ट आचार्य कुन्तकको ‘वक्रोक्तिजीवित’ ग्रन्थ पढ़नैपर्छ । नत्र ता कुन्तकीय वक्रोक्तिबारे जति नै बाह्र-बत्तीसका कुरा हाँके पनि वा जत्ति नै ढोल-ढ्याङ्ग्रो ठट्टाए पनि त्यो अन्धाले हाती छामेकै बराबर हुनेछ ।
कृतज्ञता स्वीकार –
१. बलदेव उपाध्याय – संस्कृत साहित्य का इतिहास, शारदा मन्दिर, काशी, २०१३ (सन् 1956) ।
२. डिल्लीराम तिमिल्सिना – काव्य मीमांसा (अनु), नेराप्रप. २०३० (सन् १९२३) ।
३. डा. केशवप्रसाद उपाध्याय – पूर्वीय साहित्य सिद्धान्त, साझा प्रकाशन, काठमाण्डौं, नेपाल, सातौंत संस्करण २०६७ (सन् २०१०) ।
४. डा. केशवप्रसाद उपाध्याय – साहित्य-प्रकाश, साझा प्रकाशन, काठमाण्डौं, नेपाल, सातौं संस्करण २०६७ (सन् २०१०) ।
५. कुन्तक – वक्रोक्तिजीवित, व्याख्या, सिद्धान्त शिरोमणि, विश्वेश्वर, सम्पा, नगेन्द्र, दिल्ली, आत्माराम एण्ड सन्स्, वि.सं. २०६९ (सन् २०१२) ।
६. हिन्दी वक्रोक्तिजीवित – राधेश्याम मिश्र ।
७. महाकवि कालिदास, महाकवि लक्ष्मीप्रसाद देवकोटा, सोमनाथ सिग्द्याल. चक्रपाणि चालिसेका कविताहरू ।
(प्रकाशोन्मुख भारतीय काव्यशास्त्र ग्रन्थबाट)
लेखक परिचय
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com