विषय प्रवेश
कविता जीवन र जगत्लाई अनुभूत गरे पश्चात् प्रतिभाशाली व्यक्तिद्वारा अभिव्यक्त गरिएको लिखित लयात्मक तरङ्ग हो । जसलाई साहित्यको महत्त्वपूर्ण विधाको रूपमा स्वीकारिएको छ । हरेक भाषाले स्तरीय र व्यापक रूप ग्रहण गर्दै जाँदा त्यस भाषामा साहित्यले पनि आफ्नो स्थान तय गर्दै जान्छ । यस्तै परिवेशबाट नेपाली साहित्य र कविता विधाले पनि आफ्नो अस्तित्वलाई समयानुकूल परिष्कार र परिमार्जन गर्दै अगाडि बढेको पाइन्छ । कविताको झल्को पाइने सिर्जनाहरू अरू थुप्रै भएता पनि कवि ‘सुवानन्द दास’द्वारा वि.स. १८२६ मा लेखिएको ‘पृथ्वीनारायण’ नामक कवितालाई नेपाली कविताको मौलिक तथा प्राप्य औपचारिक कविता मानिन्छ । यस समयबाट आजसम्म आइपुग्दा नेपाली कविताले थुप्रै मोड तथा कालखण्डहरूलाई जन्माउने, हुर्काउन साथै व्यापकता दिने काम गरिसकेको छ । अनुदित तथा मौलिक थुप्रै महाकाव्य, खण्डकाव्य/लामा कविता, फुटकर कविता साथै लघुतम् कविताहरू लेखिएका छन्, प्रकाशित भएका छन्, जो अनगिन्ती छन् । यी अनगिन्ती कविताहरूलाई हेर्दा कविता अभिव्यक्तिका शैलीगत माध्यम मुख्य गरी दुई धारमा छुट्टिएको छ : मुक्त (गद्य) लय र पद्य लय ।पद्य अर्थात् छन्द (शास्त्रीय, लोकलय) र मुक्त लयका कविता व्यापक रूपमा लेखिदैँ आएका छन् । यही दुई धारमध्ये पद्य लय भित्रपनि मुख्यगरी शास्त्रीय छन्दमा कविता लेख्ने एक कुशल साधक सोम निरौलाद्वारा भर्खर बजारमा ल्याइएको कृति हो ‘सिसिफस’(२०७७) । यहाँ कवि सोम निरौला र यही ‘सिसिफस’ कविता सङ्ग्रहभित्र रहेर व्यक्तिगत तथा कृतिगत विचरण गर्ने प्रयास गरिएको छ :
कवि सोम निरौलाको संक्षिप्त परिचय
कवि सोम निरौला वि.स. २०३२ साल असोज ३० गते इलाम जिल्लाको साबिक सुम्बेक गा.वि.स. (हाल इलाम नगरपालिका) मा माता योगमाया र पिता मित्रलाल निरौलाको जेष्ठ सुपुत्रको रूपमा जन्मिएका हुन् । बाल्यकालदेखि नै तीक्ष्ण स्वभावका कवि पढ्नमा अत्यन्तै जिज्ञासु र अध्ययनशील थिए । स्नातकोत्तर तहसम्मको अध्ययन गरेका कवि विज्ञान विषयका विद्यार्थी, शिक्षक तथा हाल श्री अमर माध्यमिक विद्यालय बरबोटे, इलामका प्रधानाध्यापक हुन् । कवि निरौलाले साहित्य लेखनलाई आफ्नो जीवनको ४० औँ वसन्तको पेरिफेरीमा आएर पाठक तथा स्रोता माझ देखाएका छन् । लेखनको सुरुवात गर्नुभन्दा पहिले उनी धर्मशास्त्र, साहित्य, दर्शन आदिको अध्ययनमा लागेको पाइन्छ । त्यती धेरै कवि गोष्ठी तथा कार्यक्रमहरूमा नहिडेका यी कवि पछिल्लो समय सामाजिक सञ्जालमा विशेषगरी ‘छन्द चौतारी’मार्फत् निक्कै चर्चामा छन् । सामाजिक सञ्जालमै आफ्ना सिर्जनाहरूलाई राख्छन्, त्यहीँबाट परिष्कार र परिमार्जन गर्ने अवसर खोज्छन् । कविताबाहेक गजल यिनको अर्को लेखनको महत्त्वपूर्ण पाटो हो । कविताको बृहत् रूप (महाकाव्य) लेखन गर्दै गरेका यी कविले करिब चारपाँचसय कविता र गजल लेखेको बताउँछन् । यति धेरै सिर्जनाहरू सिर्जित गरेता पनि बजारमा ल्याएको कृति भने ‘सिसिफस’ मात्र हो । अन्य कविता र गजलका कृति प्रकाशित गर्ने तयारीमा रहेका छन् । सबै किसिमका लयमा आधारित भई कविता लेख्न सक्ने यी कविको मुख्य लेखनको धार भनेको शास्त्रीय छन्दमा विचार पक्षलाई उच्च ढङ्गबाट पस्कन सक्नु नै हो ।
‘सिसिफस’ सङ्ग्रहको भौतिक सौन्दर्य
‘सिसिफस’ कविता सङ्ग्रहको भौतिक आकार तथा बनोट सानो नै मान्नु पर्दछ । अगाडिको आवरण गाढा निलो रङ्गमा सजिएको छ । जहाँ सङ्ग्रहको नाम ‘सिसिफस’लाई आवरणको सिरानमा र पुछारमा कविको नाम सेता अक्षरमा राखिएको छ । मिथकीय पात्र ‘सिसिफस’ नै यस सङ्ग्रहको नाम भएकाले सोही पात्रको बिम्ब झल्कने गरी पहाडमा ढुङ्गा ठेल्दै गरेको चित्रलाई आवरणमा देखाइएको छ । जसलाई वर्तमान मानिसहरूको पनि सोही नियती मान्न सकिन्छ । त्यसैगरी पछाडिको आवरणमा कविको तस्बिरसहित कवि परिचय राखिएको छ । सोही पृष्ठमा आधुनिक आशुकवि रमेश खकुरेल र डा. देवी नेपालको सङ्ग्रहमाथिको छोटो र गहन दृष्टिकोणलाई राखिएको छ । आवरण, विषयसूची, भूमिका, शुभकामना र कविता गरी १३२ पृष्ठरहेको यस सङ्ग्रहमा ३४ पृष्ठ भूमिका, शुभकामना, विषयसूची साथै ९७ पृष्ठमा कविताहरूलाई अटाइएको छ । जम्मा ४९ ओटा कविताहरू रहेका छन् । एउटा कविताबाहेक सबै कविताले दुईओटा पृष्ठलाई समेटेका छन् । पाँच श्लोकदेखि बढीमा आठ श्लोकहरू रहेका कविताहरू छन् ।भद्रकला निरौला प्रकाशक रहेको यस सङ्ग्रहको मूल्य रु २५० रहेको छ । सङ्ग्रहलाई बाहिरबाट हेर्दा वा बोक्दा जो कसैलाई मन पर्ने खालको छ । सानो छ, चिटिक्क छ ।
‘सिसिफस’ सङ्ग्रहको वैचारिक सौन्दर्य
क) कवितामा देशभक्ति विचार
निरौलाले यस सङ्ग्रहमा नेपाल आमा जय, झण्डा र धड्कन, विद्रोह, चेतावनी, विदेश मोह, केही हरफ कविता, सौध्दै छ नेपालले, देश परदेश जस्ता कविताभित्र देशभक्ति भावनालाई उजागर गरेका छन् । आफू जन्मेको माटोको उच्च सम्मान आफूले गर्ने र अरूले पनि गर्नुपर्ने कुरालाई उनले कविताका माध्यमबाट सुसेलेका छन् । देश, माटो र आमासँग तुलना गर्ने अर्को वस्तु नभएको बताउँछन् । माटो छोडेर जानेहरूलाई फर्किन अनुरोध गरेका छन् । उनी यसरी कवितामा देशभक्ति विचारलाई पोख्छन् :
पुर्खाको इतिहास साहस दिई भन्दैछ के को भय ?
जाँदा अन्तिम शब्द बोल्न म सकूँ ‘नेपाल आमा जय’ । (पृ. २)
मोती बन्छ प्रभात साँझ सुनझैँ चम्किछ आभा छरी,
यस्तो सुन्दर देश चिन्न नसकी टाढा भयौ के गरी ? (पृ. ३५)
ख) प्रकृति प्रतिको मोह
कवि निरौलाका कविताले प्रकृति प्रतिको मोहलाई झल्काएको पाइन्छ । उनी प्रकृतिका हरेक वस्तुहरूसँग सम्वाद गर्दछन् । प्रकृतिसँगै लुट्पुटिन्छ । हेरेर खुब आनन्द लिन्छन् । उनका वसन्त, प्रेम र प्रकृति, सिसिफस, इलाम र सौन्दर्य, माइपोखरी आदि प्रकृतिसँग नजिक प्रतिनिधि कविताहरू हुन् । कवि प्रकृतिप्रतिको विचार यसरी अभिव्यक्त गर्दछन् :
उघारी मेघको पर्दा घाम फेरि उदाउँछ,
हटाई नभको मैलो वसन्त ऋतु आउँछ । (पृ.११)
गाउँछे शान्तिको गीत साँझमा कोइली चरी,
शान्तिको काव्यझैँ लाग्छ, मलाई माइपोखरी । (पृ.४३)
ग) मानवतावादी स्वर
सिसिफसभित्र समेटिएका सिसिफस, सौन्दर्य : बुझाइ र वास्तविकता, नारी, मन, मान्छे र ऐना, मुसाफिर र लक्ष्य, घरफर्क, कात्रो र मूल्य, श्री कष्ण, कवि धर्म, मेरो चिनारी, रङ र जीवन आदि कविताहरूमा मानिसलाई केन्द्रमा राखेर के गर्न हुने/के गर्न नहुने कुराहरूलाई स्पष्ट बनाएका छन् । कसैले कसैलाई अन्याय गर्न नहुने, हत्या, हिंसाभन्दा पर रहेर सामाजिक सहिष्णुता, एकता, प्रेममा बाँधिनु पर्ने कुरा व्यक्त गरेका छन् । मानिसलाई मानिसले नै सङ्कटमा पारेको हुँदा जाति, भाषा, धर्म, वर्गभन्दा माथि उठेर मान्छे पहिचान बनाउनु पर्ने मान्यता नै कविको ध्येय देखिन्छ । कवि यसरी प्रस्तुत हुन्छन् कवितामा :
मान्छे ज्ञानलाई मनुज र जगको पक्षमा लाउने हो,
मान्छे मान्छेहरूमा डर, भय नभई प्रेम फैलाउने हो । (पृ. ९६)
बुझाइ नाघ्न यात्रीका पाइला अन्कनाउँछन्,
वस्तुतः बोधले मान्छे दृष्टिकोण बनाउँछन् । (पृ. १४)
घ) नारीवादी चेत
हाम्रो समाजमा नारीलाई हेर्ने दृष्टिकोण सौन्दर्य, यौन चाहना परिपूर्तिको साधन, बौद्धिक स्तर कम भएका जस्ता विचारहरू अझै पनि पाइन्छन् । उनीहरू यी कुराहरूभन्दा फरक हुन्, अवसर पाए उनीहरूले जे पनि गर्न सक्छन् भन्ने विचार कविको देखिन्छ । उनले नारीको सुन्दरतालाई प्राकृतिक वरदान मानेका छन् र पूजा गर्नुपर्ने धारणा राख्छन् । नारीलाई ममता, प्रेम, स्नेह, त्याग, उर्जा, सर्जक, सहनशीलता जस्ता बिम्बहरूसँग तुलना गरेका छन् । नारी नै सृष्टिको मुहान् भएकाले नारीमाथि अन्याय गर्न नहुने कविको भावना पाइन्छ । सङ्ग्रहमा आमा, नारी जस्ता कविताले नारीवादी चेतलाई फैलाएका छन् । उनी कवितामा लेख्छन् :
आमा सम्झी जुन हृदयमा हुन्न कर्तव्यबोध,
ढुङ्गो हो त्यो हृदय नभई जन्तु हो ऊ अबोध । (पृ. ४)
सिङ्गो समुद्र हुन् नारी व्याख्याता म छिटासरि,
घर निर्माणमा नारी मूलस्तम्भ इँटासरि । (पृ.१८)
ङ) आध्यात्मिक तथा दार्शनिक विचार
कविले प्राय कविताहरूमा आध्यात्मिक तथा दार्शनिक विचारलाई घुसाएको पाइन्छ । यो नै उनको काव्यिक क्षमता पनि हो । मान्छे आस्तिक होस् या नास्तिक, मानव चोलालाई सत् विचार र सत् कर्मले मात्र सफल बनाउँछ भन्ने कुरामा कवि अडिग देखिन्छन् । मानिस भएर जन्म लिएपछि के गर्न हुने र के गर्न नहुने साथै स्वयम्लाई चिन्न सक्नु नै सबैभन्दा ठुलो उपलब्धि मान्छन् । कविताका शीर्षकलाई तर्क, उदाहरण, ज्ञानको उच्च प्रयोग जस्ता कुराहरूले पुष्टि गरेका छन् । उनले व्यक्त गरेका विचारमा कतै पाठक असहमत बन्नु पर्ने अवस्था देखिदैँन । सङ्ग्रहमा आखिरी दम, सिसिफस, बुझाइ र दृष्टिकोण, सौन्दर्य, बुझाइ र वास्तविकता, गाएको पिरतीभन्दा, श्री कष्ण, कवि धर्म आदि आध्यात्मिक तथा दार्शनिक विचार व्यक्त भएका उत्कृष्ठ कविताहरू हुन् । केही श्लोकहरूलाई हेरौँ :
दृश्यमाथि छ सौन्दर्य बन्छ जीवन सम्पदा,
सौन्दर्य श्रम सापेक्ष हुन्छ वास्तवमा सदा । (पृ. १६)
बगेमा सङ्लिदै जान्छ पानीको धमिलोपन,
निरन्तर हिडे हट्छन् पथका सब उल्झन । (पृ. ५)
च) राजनैतिक तथा क्रान्तिकारी सोच
कविलाई मानवीय कार्यहरूमा के राम्रो के नराम्रो प्रस्ट थाहा छ । देश तथा समाजमा शान्ति ल्याउन के गर्नुपर्छ ? विद्रोह के हो ? समाजको सुधार कसरी हुन्छ ? जनताले कति बेला न्याय तथा सुशासनको महशुस गर्दछन् ? भन्ने कुराको हेक्का राम्ररी राखेका छन्, तसर्थ सम्बन्धित पक्षलाई उपदेश दिन्छन्, व्यङ्ग्यका माध्यमबाट सुधारको अपेक्षा राख्छन् । आखिरी दम, चेतावनी, सूत्रधार, अर्को युद्ध आदि उनका प्रतिनिधि कविताहरू हुन् । उनी कवितामा यसरी आफ्ना विचार प्रस्तुत गर्दछन् :
माछापुच्छ्रे शिर र पदमा केचना हुन्छ मेरो,
सीमा काटी रिपु अब नपस् काल बन्नेछु तेरो । (पृ. २४)
हुने खानेहरूलाई जहिले सरकार छ,
हुँदा खानेहरूलाई कहिले सरकार छ ? (पृ.५०)
छ) भुँइमान्छेहरूको प्रतिनिधि स्वर
कवि दलेर खानेहरूभन्दा गरेर खानेहरूका विचारहरूलाई कवितामा समेट्न खप्पिस छन् । आफ्नै श्रममा बाँचेका तर श्रमको मूल्य भनेजति नपाएका भुँइमान्छेहरूको स्वर उनका कवितामा तिखारिएर आएको पाइन्छ । उनी श्रमप्रति उच्च सम्मान व्यक्त गर्दछन् । सत्ताधारी अथवा शोषण गर्न पल्लेकाहरूलाई कविले नजरसम्म लगाउँदैनन् । पाउ र वर्चस्व, विदेश मोह, घरफर्क, सौन्दर्य : बुझाइ र वास्तविकता, विकृत मानसिकता आदि कवितामा उनले यस्तै विचारलाई स्थान दिइएको पाइन्छ । उनी लेख्छन् :
जरामा हुन्छ सौन्दर्य, आँखाले फूल रोज्दछन्,
गरामा हुन्छ सौन्दर्य किसान जन पोख्दछन् । (पृ. १६)
डाँडामाथि गुँरासले मधुरिमा सर्वत्र फैलाउँछ,
डाँडामुन्तिर जाँगरी कृषकले ऐश्वर्य थन्क्याउँछ । (पृ.३५)
झ) उच्च तार्किक अभिव्यक्ति
कवि निरौलाका प्रायः कवितामा उच्च तार्किक क्षमताको घोलन पाइन्छ । उनले हरेककवितामा पाठकलाई मस्तिष्क मन्थन गराउँछन् । २/३ ओटा कविता मात्र हृदयसँग नजिक छन् भने बाँकी सबै मस्तिष्कसँग नजिक छन् । उनले कवितालाई तर्कसँग जोड्न मिथकीय बिम्ब, तत्सम तथा केही पारिभाषिक शब्दावली साथै उपयुक्त दृष्टान्तहरूको प्रयोग गरेको पाइन्छ । केही नमुनाहरूलाई हेरौँ :
चरी देख्छे चारा हरिण तृण मौरी मधुरस,
कतै भौतारिन्छन् प्रकृति नबुझेका सिसिफस । (पृ. १०)
कमजोर उही हो जो चुनौतीबाट भाग्दछ,
कसी फलाममा हैन सुनमा मात्र लाग्दछ । (पृ. ९७)
सिसिफसको काव्यिक सौन्दर्य
क) ‘सिसिफस’भित्र छन्दको प्रयोग
सङ्ग्रहभित्र ४९ ओटा कविताहरू समेटिएका छन् । जसमध्ये १३ ओटा शार्दूलविक्रीडित, २१ ओटा अनुष्टुप, ८ ओटा मन्दाक्रान्ता, २ ओटा शिखरिणी, ४ ओटा स्रग्धरा र १ ओटा उपजाति छन्दमा लेखिएका छन् । सङ्ग्रहमा पाठकले फरकफरक शास्त्रीय लयका कविताहरूलाई पढ्न पाउँछन् । कवि एकाध ठाँउबाहेक लय निर्माण र भाषिक शुद्धतामा सचेत देखिन्छन् । शास्त्रीय लयमा आधारित भएर पनि उत्कृष्ट विचार पस्किन सक्नु नै यस सङ्ग्रहको एक सौन्दर्य हो । छन्दमा भाव अटाउन सकिँदैन भन्नेहरूका लागि उत्तर पनि हो । लयगत विविधताले नै यो सङ्ग्रहको महत्त्व बढाएको छ । नेपाली जनबोलीमा भिजिसकेका प्रायः शास्त्रीय छन्दहरूलाई मात्र यस सङ्ग्रहमा स्थान दिइनु कविको बठ्याइँ पनि हो ।
ख) ‘सिसिफस’भित्र अलङ्कारको प्रयोग
सङ्ग्रहभित्र समेटिएका कविताहरू शास्त्रीय छन्दमा आधारित भएकाले शब्दालङ्कार र अर्थालङ्कारको राम्रो प्रयोग भएको पाइन्छ । त्यसमा पनि अनुष्टुप छन्दलाई अलङ्कार प्रयोगको एक महत्त्वपूर्ण छन्दका रूपमा लिइन्छ, यस सङ्ग्रहमा पनि सोही छन्दका कविताहरू बढी रहेका छन् । कविले कवितामा यो अङ्कारको प्रयोग गर्छु भनेरभन्दा पनि विचार अभिव्यक्त गर्ने सन्दर्भमा विविध अलङ्कारहरूको प्रयोग भएकोे पाइन्छ । कविले आफ्ना भावना/विचारहरूलाई प्रस्तुत गर्ने, तुलना गर्ने, सुक्तीमय बनाउने, उदाहरण प्रस्तुत गर्ने, श्रुतिमधुर बनाउने सन्र्दभमा अलङ्कारको प्रयोग गरेको पाइन्छ । सङ्ग्रहमा अनुप्रास, यमक, उपमा, रूपक, दृष्टान्त, समाशोक्ति जस्ता अलङ्कारहरू भेटिन्छन् । काव्य पढ्नुको मजा यिनै अलङ्कारहरूको उत्कृष्ट प्रयोगले दिलाउने भएकाले कृतिगत काव्यिक सौन्दर्यलाई बढाएको पाइन्छ । केही उदाहरणहरूलाई हेरौँ :
माटो चन्दनझैँ पहाड गुरुझैँ भूूगोल विद्यालय,
गुम्बा, मन्दिर,चर्च, मस्जित तिमी नेपाल आमा जय । (पृ.१ : उपमा अलङ्कार)
भजने ओठभन्दा यी मैला हात पवित्र छन्,
गुम्बा मन्दिरमा हैन भगवान् दिलभित्र छन् । (पृ.२६ : समासोक्ति अलङ्कार)
च्यातिन्छन् कागजी बाघ नडराउ तिमी रति,
ढिस्काले छेक्न सक्दैन नदीको उर्लदो गति । (पृ.५ : दृष्टान्त अलङ्कार)
ग) ‘सिसिफस’भित्र रसको प्रयोग
सङ्ग्रहभित्र शृङ्गार, हाँस्य, करुण, विभत्स, भयानक जस्ता रसहरूको प्रयोग अत्यन्तै कम देखिन्छ । अझै विभत्स, करुण रसको त प्रयोग छैन भने पनि हुन्छ । कविताका हरफहरूले फरक फरक सन्र्दभलाई उठाएको हुँदा कतिपय श्लोकहरू कुन रसमा आधारित छ भनेर पहिचान गर्नसमेत सकिँदैन । समग्र कवितालाई हेर्दा कतिपय कविताको रस अनुभूत गर्न सकिन्छ । तथापि वीर, रौद्र, र शान्त रसको उत्कृष्ठ प्रयोग पाइन्छ । अझै शान्त र वीर रसको त पुञ्ज नै माने पनि हुन्छ सङ्ग्रहलाई । नौ रसहरूमध्ये करिब सात रसहरूको नमुनाहरूभेटिन्छ सङ्ग्रहमा । यसरी विविध रसहरूको प्रयोग भएको हुँदा सङ्ग्रहले पाठकको ध्यानलाई तान्न सफल देखिन्छ । जसले कृतिको काव्यिक सौन्दर्य र कला पक्षलाई बलियो बनाएको छ । कवि यसरी प्रयोग गर्दछन् विविध रसहरूलाई :
भत्काऊँ त्यो नहर जसले पारी लाँदैछ पानी,
खाऊँ केही जहर डरले काम्न थाले जवानी । (पृ.२३ : रौद्र)
अरूको बस्त्र लाएर लाज ढाक्नु पर्यो भने,
एक क्षण नबाचूँ म यो इमान मर्यो भने । (पृ.७ : वीर)
तिम्रो सुन्दर ओठमा छ सङ्गिनी पीयुषको सागर,
आँखाभित्र बसुन्धरा छ रङ्गको छाती छ उर्जाघर । (पृ.६७ : शृङ्गार)
डुल्छन् नित्य सुपुज्य शङ्कर तथा ब्रह्मा र विष्णु त्रय,
सारा तीर्थ र चारधाम जननी नेपाल आमा जय । (पृ. २ : शान्त)
घ) ‘सिसिफस’भित्र शब्दशक्तिको प्रयोग
‘सिसिफस’भित्रका कवितामा कविले आफ्ना विचारहरूलाई कतै कोशीय अर्थमा कतै लक्षणा र व्यञ्जनात्मक अर्थका रूपमा प्रस्तुत गरेका छन् । कविताहरूलाई स्तरीय तथा उत्कृष्ठ बनाउन व्यञ्जनात्मक अभिव्यक्ति गर्न सक्नु कविको सफलता देखिन्छ । केही थोरै कविताबाहेक अन्य कवितामा अभिधा अर्थलाई प्रयोग गरेको पाइदैन । अर्थात् कलात्मक प्रस्तुतिले अभिधा अर्थलाई छोपिदिएको छ । जसले कविताहरूलाई चिन्तन गर्न बाध्य बनाएको देखिन्छ । यो अर्को सौन्र्दय हो । कवि कवितामा यसरी व्यञ्जनात्मक भाव प्रस्तुत गर्दछन् :
माटो शुद्ध छ वीरका रगतले धोएर होला अझ,
बाटो शुद्ध छ बुद्धका पयरले छोएर होला रज ।
पुर्खाको पसिना हुँदा अमृत हो मेची नदीको जल,
पुर्खा ईश्वरभक्त हूँ म तिनको नेपाल तीर्थस्थल । (पृ. ७४)
ङ)‘सिसिफस’भित्र सुक्तिको प्रयोग
सङ्ग्रहमा समावेश भएका हरेक कविताका श्लोकहरू सूक्तियम छन् । मधुर साथै मिठा छन् । प्रेरणादायी तथा महान् विचारयुक्त छन् । जुन श्लोक पढ्यो त्यही सम्झन योग्य छन् । थोरै शब्दहरूको संयोजनबाट बृहत् अर्थ प्रस्तुत भएको छ, अर्थात् थोरैमा धेरै भन्न सक्ने खुबी कविमा पाइन्छ । यिनै महान् विचारहरू तथा उदाहरणीय अभिव्यक्तिले नै मुख्यगरी पाठकको मन जित्न सफल देखिन्छ । जसको कारण सङ्ग्रहलाई खिरिलो, ओजस्वी, चिन्तनयुक्त हुन सहयोग मिलेको छ । यही नै कृतिको अर्को महत्त्वपूर्ण सौन्दर्य पनि हो ।केही सूक्तिका उदाहरण :
मान्छे आगो हुनेछन् अनि नयनहरू रापिला अग्नि कुण्ड,
गार्खाली भूमि हो यो अलि सजग रहनू विश्वका चण्डमुण्ड । (पृ.२८)
आवाजबाट जानिन्छ गतिलो चिज हो कुन,
बढी फलाम थर्कन्छ हीरा वा सुन होइन । (पृ. ९७)
निष्कर्ष
‘सिसिफस’ नेपाली काव्य जगत्को वर्तमान समयको एक शास्त्रीय छन्दमा आधारित उच्च परिष्कृत प्रतिनिधि कविता सङ्ग्रह हो । विज्ञान विषयको विद्यार्थी/शिक्षक भएर पनि नेपाली भाषामा यति उत्कृष्ठ कविता लेख्नु, परिष्कारको उच्चता पाइनु कविले नेपाली भाषालाई गरेको ठूलो न्याय हो । कविले भाषिक शुद्धता कायम राख्न खोज्दा खोज्दै पनि कतिपय आवश्यकीय स्थानमा लेख्य चिह्नहरूको प्रयोग भने गरेका छैनन् । जम्माजम्मी ३ ओटा लेख्य चिह्नको प्रयोग गरेका पाइन्छ, प्रश्नवाचक (?) विसर्ग (:) र उद्गार (१) । यी ३ ओटा चिह्नले मात्र भाषिक शुद्धता कायम राख्यो त ? अन्य चिह्नहरूको प्रयोग गद्य लेखनका लागि मात्र हुन् त ? यी प्रश्नहरूको जवाफ स्वयम् कविसँग होला । त्यसैगरी केही कविताहरूका हरफहरूमा लय/विश्राम भङ्ग भएको पाइन्छ । शास्त्रीय छन्द होस् या त लोक लय, जसको मर्म भनेको लय पनि हो । जस्तै : शिखरिणी छन्द १७ अक्षरको हुन्छ, जसमा छैटौँ र बाह्रौँ अक्षरलाई विश्राम मानिन्छ । जस्तै लय भङ्गको अवस्था :
चरी देख्छे चारा, हरिण तृण मौ/री मधुरस,
कतै भौँतारिन्छन्, प्रकृति नबुझे/का ‘सिसिफस’ । (पृ.१० : शब्द नै टुक्रिनु पर्ने अवस्था)
भाषिक शुद्धताको आधिकारिक स्रोत शब्दकोश हो । जुन बढी चलनचल्तीमा हुन्छ साथै राज्य स्तरबाट मानक मानिएको ठहर्छ । त्यसरी हेर्दा नेपाली भाषाको मानक कोश ‘नेपाली बृहत् शब्दकोश’ नै हो । यसलाई आधारमान्दा केही कवितामा भएका शब्दहरूमा समस्या देखिन्छ, जस्तै झूटो/झुटो, मीठो/मिठो, जीत/जित, ठूलो/ठुलो, सिन्दुर/सिन्दूर आदि । कविले अत्यन्तै लोकप्रिय छन्द अनुष्टुपका चारपाउको एक श्लोक मान्ने प्रचलनलाई सङ्ग्रहभित्र एक दुई पृष्ठभित्र एउटा कविता अटाउनलागि ८ पाउलाई एक श्लोक बनाएका छन्, जसले लोकप्रिय छन्दको संरचना भत्किएको छ । सङ्ग्रहमा झन्नै एक तिहाइ (२६ पृष्ठ) भूमिका/विचार मात्रै राखेको पाइन्छ । आफ्ना विचार अभिव्य गर्ने क्रममा कतै कतै छन्द मात्र बदलेका हुन् कि भन्ने आभाषसमते मिल्छ—‘जाँदा अन्तिम शब्द बोल्न म सकूँ नेपाल आमा जय’/‘लेखौँ केही हरफ कविता राष्ट्रको वन्दनामा’ । कवितामा विचार खोज्ने पाठकहरूका लागि यस्तो दोहोरिएको विचारले अन्यायमा पार्न सक्छ ।
शास्त्रीय छन्दमा आधारित भई ४९ ओटा कविता सिर्जना गर्दा कहीँ न कहीँ कमीकमजोरी हुन्छ नै । जसलाई पाठकभेट्नु पनि स्वभाविक नै हो । यी कमजोरीहरू अन्य गुणका अगाडि सामान्य लाग्छन् । कवि निरौलामा कवि बन्नका लागि प्रतिभा, व्युत्पत्ति र अभ्यास तीनै कुराहरूको संयोजन रहेको पाइन्छ । उनीमा प्रतिभा नभएको भए यति उत्कृष्ट कविताहरू सिर्जना हुने थिएनन् । जसलाई उनको पौराणिक धर्मग्रन्थहरू, शास्त्र तथा वर्तमान परिवेशमा लेखिएका साहित्यिक पुस्तकहरूको अध्ययनले निखारता दिएको छ, जो उनले प्रयोग गरेका मिथकीय बिम्ब, प्रतीक, उदाहरण, तार्किक क्षमताले पुष्टि गर्छन् । त्यसैगरी भाषिक शुद्धता र काव्यिक चेतबाट अभ्यास पनि कार्य सिर्जनाको आधार हो भन्ने पुष्टि हुन्छ । ‘सिसिफस’ सङ्ग्रहका आधारमा कवि सोम निरौलालाई देशभक्ति, प्रकृतिप्रेमी, मानवतावादी, आध्यात्मिक तथा दार्शनिक चेत भएका, नारीवादी, तर्कवादी, राजनैतिक चेत तथा क्रान्तिकारी,श्रमको सम्मान गर्ने, विभिन्न छन्द, अलङ्कार, रस, शब्दशक्तिको सफल प्रयोग कर्ता, मिथकीय तथा प्राकृतिक बिम्बहरूको संयोजन कर्ता, सूक्तिमय अभिव्यक्तिका पारखी लगाएतका विशेषताहरूबाट परिचित गर्न सकिन्छ । यसर्थ कवि निरौला नेपाली कविताका एक सफल कवि साथै उनको ‘सिसिफस’ सङ्ग्रह अर्को तला थप्ने एक इँटा हो ।
सन्दर्भ सामग्री
– अधिकारी, हेमाङ्गराज (२०६७), पूर्वीय समालोचना सिद्धान्त, ललितपुर : साझा प्रकाशन ।
– थापा, मोहनहिमांशु ( २०६६), साहित्य परिचय, ललितपुर : साझा प्रकाशन ।
– निरौला, सोम (२०७७), सिसिफस, इलाम : भद्रकला निरौला ।
– पोखरेल, बालकृष्ण र अरू (२०६७), नेपाली बृहत् शब्दकोश, काठमाडौँ : ने.प्र. प्र. ।
– भट्टराई, रामप्रसाद (२०६५), भाषिक अनुसन्धान विधि, काठमाडौँ : शुभकामना प्रकाशन ।
– भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल (२०६८), साहित्य शास्त्र र नेपाली समालोचना, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
लेखक परिचय
विशेष गरी गजल र कविता लेखन तथा प्रस्तुतीकरणमा सशक्त भट्टराई समालोचनामा पनि उत्तिकै दख्खल राख्छन् । नेपाली भाषाको अध्ययन अध्ययापनमा पनि उनी सक्रिय रहेका छन् ।
धन्यवाद शब्दसोपान परिवारलाई ।
लेखकीय खुबीलाई सलोट । अनुसन्धानपरक संरचनामा विश्लेषण गरिएको लेखनी साह्रै नै गज्जब लाग्यो । पढिरहुँ लाग्ने । पठनीय । बधाई दाजु !!