आमाको तासफोटो
प्रिय कवि सुष्मा रानाहँमाको आमाको तासफोटो पढिसकेँ । तासफोटो भन्नेबित्तिकै मलाई मेरो बाल्यकालतिर फर्कायो । खोटाङको बुइपामा हुर्केको म । स्कुलनजिकै चन्द्रावती निनीको फोटो स्टुडियो थियो । १५ या २५ रुपैयाँमा तास फोटो खिचिदिनुहुन्थ्यो । मैले जम्माजम्मी एक पटक अवसर पाएको छु फोटो खिच्ने । सेतो सर्ट र कालो स्कर्टमा पातली केटी घाँटीमा हड्डी निस्किएर खोपिल्टा परेको । त्यो उमेर त्यो समय त्यो क्षणमा पुगेँ म ।
सुष्मासँगको साक्षात्कारको संयोग निकै गजबको छ । उसँग म फेसबुकमा साथी भएता पनि बोलेको थिइनँ । सुष्माको
“बागदातामा अल्झेको रुङ्ग्री” फेसबुकमा पढ्न पाएँ । पढ्दा पढ्दै म यसरी भत्किएछु, यसरी छचल्किएछु, यसरी पोखिएछु, यसरी भक्कानिएछु कविता पढिसक्दा म रोइरहेको थिएँ । हिक्कहिक्क हिक्का छुटिरहेथ्यो । त्यसपछि मैले ‘हाइ’ भनेर बोलाए । तुरुन्तै रिप्लाई दिइन् । कुरा हुँदै गयो । हामी म्यासेन्जर कलमा बोल्यौँ । त्यहाँ पनि म रोएँ । सायद ऊ पनि रोयो होला । राई संस्कृतिमा छोरीचेलीसँगको सम्बन्ध जोडिएको “बागदाता” रिचुअल छ नै त्यस्तै । सुस्माले यो कविता मेरै लागि लेखेजस्तै बोध भयो । यो कविताले मन गह्रुङ्गो बनाइरह्यो । पछि डाह पनि लाग्यो । मैले किन लेख्न सकिन यस्तो कविता भनेर ।
“बागदातामा अल्झेको रुङ्ग्री” बाट भएको हाम्रो सम्बन्धको सफर एकदमै निकट भएर अघि बढिरह्यो । मलाई ऊ कहिले नयाँ मान्छे, नयाँ साथी जस्तो लागेन । वर्षौँअघि भेटिएका, वर्षौँ संगत गरेका सहेली जस्तो लाग्यो र नै त तिमी भनेर सम्बोधन गरिरहेछु ।
सुष्माको आमाको तासफोटो आउँदै गर्दा साह्रै उत्साहित थिएँ । दु:खद कुरा निकै व्यस्त भएकोले रोकिँदै रोकिँदै समय चोरेर उसको सबै कविता पढिसकेँ । ४६ ओटा कविताहरू सङ्ग्रहित आमाको तासफोटो अत्यन्तै सुन्दर किताब छ । यसभित्रका कविताहरू पढ्दै जाँदा प्रेमालाप भेटिन्छ । माटोसँगको प्रेम, संस्कृतिसँगको प्रेम, सहेलीसँगको प्रेम, उमेर, बाल्यकाल समयसँगको प्रेम, प्रियसँगको प्रेमको वियोग भेटिन्छ । प्रेममा चुर्लुम्मै डुबिरहँदा कतै दिल गह्रुङ्गो हुन्छ कतै डुङ्गा सरर अघि बढ्छ ।
मान्छेको जन्म जहाँ भए पनि जीवन खोज्दै मान्छे कहाँसम्म पुग्छ ? भन्ने कुरा कवितामा प्रस्ट छ । कविता कुनै पनि गह्रुङ्गो बिम्ब नबोकी सरल भाषामा लेखिएको छ । कविताजस्तै छ होला सुष्मा यस्तै लाग्छ कविता पढिरहँदा । मान्छे जहाँ पुगिन्छ, जुन समाजमा बाँचिन्छ त्यै कविताको बिम्ब बन्दोरहेछ । “मेसिनको सहर”, “बाबालाई पार्सल” जस्ता कविताहरू हामी नेपालमा बसेर प्रवास कल्पेर लेख्न चाहेर पनि लेख्न सक्दैनौँ । यी कविताहरू सुस्मा र सुष्माजस्ता आम सुष्माहरूको हृदयले लेखेका कविता हुन् ।
“आदिवासी”, “तयामा”, “कचुर”, “बागदातामा अल्झेको रुङ्ग्री” कविताहरू गैर आदिवासीले लेख्न निकै जोडबल गर्नुपर्छ । यी कविताहरूभित्रको भाव, प्रत्येक शब्दहरूको आफ्नै महत्व छ । प्रत्येक शब्द छिचोल्न त्यति सजिलो छैन जति त्यो समाज, संस्कृतिमा अभ्यस्त मान्छेले छिचोल्न सक्छ । सुस्माले विद्रोहको कविता लेखेको छ । ऊ कवितामा विद्रोह गर्छ । चाहे आफ्नो समाज, संस्कृतिसँग होस् या अर्को समाज, संस्कृति, ऊ लड्न तयार छ । “बागदातामा अल्झेको रुङ्ग्री” मा आफ्नो समाजलाई, संस्कृतिलाई ठाडो प्रश्न गरेको छ । निकै ठूलो आँट ठान्छु म यसलाई । हाम्रो संस्कृति संरक्षण, सौन्दर्यको कुरा एक ठाउँमा छँदैछ । हुँदाहुँदै पनि हाम्रो संस्कृतिभित्र पनि कतै विभेद त छैन ? प्रश्न गर्छ सुष्माले कवितामा ।
विद्रोहकै कुरा गर्दा “हुर्कँदो विद्रोह” मा कसरी बाल मस्तिष्कमा छोरा र छोरी भनेर सिकाइन्छ ? जताइन्छ, सामाजिकिकरण गरिन्छ ? कसरी बालक छँदादेखि नै नजानिदो ढँगले विभेद गरिन्छ ? भनेर त्यो विभेद विरुद्ध विद्रोह गरेकी छिन्। “न्याय” कवितामा नेपाली समाजको सामाजिक यथार्थ चित्रण गरेकी छ । त्यस्तै “नारी” कवितामा उनी आफूलाई अब्बल साबित गर्छिन् र पितृसत्तात्मक चिन्तनलाई खबरदार गर्छिन् ।
आमाको तासफोटो पढिरहँदा कतै आगो बल्छ त घरी झरी पर्छ । घरी चुर्लुम्म डुबिन्छ त घरी डाँडैडाँडा उक्लिइन्छ । कविताको यात्रा कतिबेला सकिन्छ पत्तै हुँदैन । आमाको तासफोटो कविता एउटा अत्यन्तै गहकिलो, सुन्दर, हृदयले लेखेको कविताहरूको सङ्ग्रह हो ।
लेखक परिचय
खोटाङ जिल्लामा जन्मिएकी कवि राई, आदिवासी जनजाति साहित्यकार/लेखक सङ्घका सचिव हुन् ।