पृष्ठभूमि:
बाजे श्रीकृष्ण आचार्यले दिनहुँ उच्चारण गर्ने स्तोत्रहरू भुइँमा खस्न नदिई टपकटपक टिपेर कण्ठस्थ गर्ने भानुभक्त विलक्षण प्रतिभाका धनी थिए । ठिटौले उमेरमै यिनले सूर्यकवच, दुर्गाकवच, चण्डी आदि स्तोत्रहरू खर्लप्पै निलेका थिए । अमरकोश र कौमुदी ता यिन्को जिब्रोमा छ्याप्छ्याप्ती भिजिसकेको थियो ।
गाउँघरमा गाइऩे भजनर र बालुनका साथसाथै विहेबटुलमा जन्ती र घरबेटी पक्षका माझमा चल्ने, बालुन र दोहोरी सिलोकले समेत यिनलाई भुतुक्कै र हुरुक्कै पारेका थिए । यिनै भजन, बालुन र दोहोरी सिलोकले भानुभक्तको बालसुलभ हृदयमा कविता गर्ने आग्रह पलाएको देखिन्छ । यसैकारण आठ नौ वर्षको ठिटौले उमेरदेखि नै यिनले कविता कथेर हुने बिरुवाको चिल्ला पातको लक्षण देखाएको पाइन्छ । यद्यपि भानुभक्तले खास कति वर्षको उमेरदेखि कविता कथ्न थालेका हुन् भन्ने खासै जानकारी भने अद्यापि अन्धकारमै रहेको देखिन्छ ।
भानुभक्तीय रामायण:
संस्कृत अध्यात्म रामायणको नेपाली रूपन्तर भानुभक्तीय रामायणलाई यिनको प्रमुख उल्थित काव्यकृति मान्ने प्रशस्तै ठाउँहरू छन् । सातकाण्डमा पूर्ण गरिएको यो रामायण भानुभक्तले तर एकै खेपमा रूपान्तर (उल्था) गरेका चाहिँ होइनन् । भानुभक्तलाई रामायण उल्था गर्न हुटहुटी लाउऩे व्यक्ति घाँसीलाई मानिए तापनि घाँसी प्रसङ्ग र रामायण लेखनमाझ सात वर्षको फेर पाइएकोले रामायण लेखनको प्रेरणासहित घाँसीलाई मात्र मान्न चाहिँ सकिँदैन । यिनका आफ्नै बाजे श्रीकृष्ण आचार्यको भक्कुचूर प्रेरणाले गर्दा नै यिनलाई अध्यात्म रामायणको भावानुवाद गर्ने हुटहुटी लागेको सम्भावना देखिन्छ । किनभने संस्कृतको अध्यात्म रामायण श्रीकृष्ण आचार्यले अहर्निश पाठ गरिरहन्थे । ती रामायणका श्लोकहरू मन लाएर सुन्ने एकमात्र श्रोता भानुभक्त नै थिए । यो श्रव्यकाव्यले भानुभक्तलाई अध्यात्म रामायण आफ्नै मातृभाषामा उल्था गर्ने प्रेरणा मिलेको देखिन्छ । तर घाँसीको दैवी प्रेरणालाई पनि टार्न चाहिँ सकिन्न ।
बालकाण्ड रामायण:
वि.सं. १८९७-१८९८ (सन् १८४०-१८४१) तिर २६/२७ वर्षको उमेरमा भानुभक्तले बालकाण्ड रामायण रूपान्तर गरेका हुन् । यो सिद्ध्याउन यिनलाई सम्भवतः एक वर्ष (३६५ दिन) जति समय लागेको थियो । बालकाण्ड रामायणमा मोठ १३९ श्लोक छन् । बालकाण्ड रामायणमा ग्रामीण परिवेशको सुन्दर वर्णन गर्नमा भानुभक्तीय अनुवाद अब्बल देखिन्छ । यो लेखिएको एकचालीस वर्षपछि वि.सं.. १९३८ (सन् १८८१)-मोतीराम भट्टको हुटहुटीमा भट्टको हुटहुटीमा तेजबहादुर राणाद्वारा बनारसको भारत जीवन प्रेसबाट भानुभक्तीय रामायण प्रकाशित भएको पाइन्छ ।
अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, र सुन्दर काण्ड रामायण –
बालकाण्ड रामायण सिद्ध्याएको तेह्र वर्षपछि अर्थात् वि.सं.. १९०१ (सन् १८५४) तिर भानुभक्तले अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड र सुन्दर काण्ड रामायण गरी चारै काण्ड पूरा गरेका पाइन्छ । यही वर्ष भानुभक्त कुमारीचोकमा थुना परेका थिए । यसताका यिनको जीवन कष्टप्रद भए पनि काव्ययात्राको विकास भने यस समयमा निकै महत्वपूर्ण देखिन्छ । बाल काण्ड रामायण उल्था गर्दासम्म भानुभक्त जनमानसमा अपिरिचित नै थिए । कुमारीचोकमा थुना परेको अवस्थामा उल्था गरिएका उपरोक्त चारै काण्डले भानुभक्तको नाम ‘दरवारिया’-हरूमाझ निकै चर्चाको विषय रहेको थियो । यसै समयदेखि भानुभक्तको प्रसिद्धि टुसाउन थालेको देखिन्छ ।
युद्ध काण्ड रामायण:
भानुभक्तले बालकाण्ड रामायण आफ्नै घरको काममा व्यस्त रहेको अवस्थामा उल्था गरेका हुन् भने अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, र सुन्दर काण्ड रामायण कुमारीचोकमा थुना परेका अवस्थामा उल्था गरेका हुन् । युद्ध काण्ड रामायण चाहिँ यिनले वि.सं.. १९०४ (सन् १८५५/’५८) तिर उल्था गरेको बुझिन्छ । यतिन्जेल भानुभक्त थुनाबाट मुक्त भए तापनि रम्घादेखि पटक-पटक काठमाडौँ आइरहनुपर्थ्यो – कति समय चाहिँ काठमाडौँमै वास समेत बस्नुपर्थ्यो । यसैताका लेखिएको यो युद्ध काण्ड रामायण सिद्ध्याउन यिनलाई एक वर्ष (३६५ दिन) भन्दा धेरै समय फुर्मास गर्नुपरेको देखिन्छ । सातकाण्ड रामायणमध्ये सबैभन्दा लामो काण्ड रहेको यस काण्डमा मोठ ३१६ श्लोक छन् ।
उत्तर काण्ड रामायण:
भानुभक्तले उत्तर काण्ड रामायण वि.सं. १९१९ (सन् १८६२) मा उल्था गरी सिद्ध्याएका हुन् भन्ने कुरा उनैको एउटा पत्र मार्फत खुलस्त हुन्छ ।
भानुभक्तीय रामायणमा छन्द प्रयोग –
कवि भानुभक्त आचार्य एकजना साधारण अनुवादक मात्र होइनन् तर यिनी प्रतिभाशाली, मेधावी, खप्पिस, अब्बल अनुवादक हुन् भन्ने मूल अध्यात्म रामायण र यिनको रामायणमा प्रयोग भएका छन्दहरूले नै छतछती प्रमाण गर्दछ । मूल अध्यात्म रामायणमा पन्ध्रवटा विभिन्न वर्णमात्रिक संस्कृत छन्दको प्रयोग भएको पाइन्छ भने भानुभक्तीय रामायणमा मात्रै ९-वटा छन्द प्रयोग भएको पाइन्छ । ती छन्दहरू हुन् –
१। शार्दूलविक्रीडित छन्द,
२। शिखरिणी छन्द,
३। वसन्ततिलका छन्द,
४। इन्द्रवज्रा छन्द,
५। उपजाति छन्द,
६। स्रग्धरा छन्द,
७। मालिनी छन्द,
८। स्वागता छन्द,
९। द्रुतविलम्बित छन्द ।
१। शार्दूलविक्रीडित छन्द –
एक् दिन् नारद सत्य लोक् पुगि गया लोक् को गरू हित् भनी – १९ अक्षर
SSI IIS ISI IIS SSI SSI S
मगण सगण जगण सगण तगण तगण गुरु
विश्राम = बाह्रौँ अक्षरमा, उन्नाइसौँ अन्तिम अक्षरमा
(बालकाण्ड पहिलो श्लोक पहिलो पाउ)
२। शिखरिणी छन्द –
गयो खान्या बेला मकन त मिल्यो राज्य वनको १७ अक्षर
ISS SSS III IIS SII IS
यगण मगण नगँ सगण भगण लुघगुरु
विश्राम = छैठौँ अक्षरमा, (६+११=१७) सत्रौँ अन्तिम अक्षरमा
(अयोध्या काण्ड २५ औँ पहिलो श्लोकको पहिलो पाउ)
३। वसन्ततिलका छन्द –
यै ज्ञान कहिन्छ सुन येहि कहिन्छ विज्ञान १४ अक्षर
SSI SII ISI ISI SS
सगण भगण जगण जगण गुरुगुरु
विश्राम = आठौं अक्षरमा, (८+६=१४) अन्तिम चौधौँ अक्षरमा
(अरण्य काण्ड २९ औँ श्लोकको पहिलो पाउ)
४। इन्द्रवज्रा छन्द –
तस्मात् अहङ्कार कन तुच्छ मानी ११ अक्षर
SSI SSI ISI SS
तगण तगण जगण गुरुगुरु
विश्राम = चौथो अक्षरमा, (४+७=११) एघारौँ अक्षरमा
(उत्तर काण्ड १७२ औँ श्लोकको पहिलो पाउ)
५। उपजाति छन्द –
आफ्ना पुरोहीत् ति वसिष्ठलाई ११ अक्षर
SSI SSI ISI SS
तगण तगण जगण गुरुगुरु
विश्राम = चौथो अक्षरमा, (४+७=११) एघारौँ अक्षरमा
(उत्तर काण्ड २४४ औँ श्लोकको पहिलो पाउ)
यसै श्लोकको तेस्रो पाउ (हरफ) –
हुकम् भयो मङ्गल गर्नलाई ११ अक्षर
ISI SSI ISI SS
जगण तगण जगण गुरुगुरु
यस श्लोकमा तीनवटा पाउ (हरफ) इन्द्रवज्रा छन्दका भए तापनि दोस्रो पाउ उपजाति छन्द परेकाले यो श्लोक उपजाति छन्द बनेको छ ।
६। स्रग्धरा छन्द –
सर्वेश्वर सर्वरुपी, भुकन यसरी लड़्न पो क्यान पर्थ्यो २१ अक्षर
SSI SIS SII III ISS ISS ISS
मगण रगण भगण नगण यगण यगण यगण
विश्राम = सातौँ अक्षरमा, (७+१४=२१) अन्तिम एक्काइसौँ अक्षरमा
(युद्ध काण्ड ११३ औँ श्लोकको पहिलो पाउ)
७। मालिनी छन्द –
खुसि भइ नलले सब् वीरको तेज् जगाई १५ अक्षर
III III SSS ISS ISS
नगण नगण मगण यगण यगण
विश्राम = आठौँ अक्षरमा, (८+७=१५)
(युद्ध काण्ड ८० औँ श्लोकको पहिलो पाउ)
८। स्वागता छन्द –
धन्य हुन् इ हनुमान् इ सरीको ११ अक्षर
SIS III SII SS
रगण नगण भगण गुरुगुरु
विश्राम = सातौं अक्षरमा, (७+४=११) अन्तिम एघारौं अक्षरमा
(सुन्दर काण्ड १५३ औँ श्लोकको पहिलो पाउ)
९। ९। द्रुतविलम्बित छन्द
अयुत वर्ष त राज् प्रभुको भया १२ अक्षर
III SII SII SIS
नगण भगण भगण भगण
विश्राम = सातौँ अक्षरमा, (७+५=१२) अन्तिम एघारौँ अक्षरमा
(सुन्दर काण्ड ३७६ औँ श्लोकको पहिलो पाउ)
उपर्युक्त ९ वटा छन्दहरूमध्ये भानुभक्तले आफ्ना अनूदित रामायण (सातौँ काण्ड)-मा भने सबैभन्दा धेर १,०४९ श्लोकहरू शार्दूलविक्रीडित छन्दमा रचेको पाइन्छ । ठुङमार्दो कुरो ता के छ भने, रामायणको आरम्भ र अन्त्यमा समेत शार्दूलविक्रीडित छन्द प्रयोग गरेको भेटिन्छ । त्यसपछि दोस्रो स्थानमा वसन्ततिलका छन्दको नाउँ आउँछ । यिनले १३४ वटा श्लोकमा यस छन्दको प्रयोग गरेको भेटिन्छ । बालकाण्ड रामायणमा कतै पनि यस छन्दको प्रयोग नभेट्टाइए तापनि ६ वटै काण्डमा वसन्ततिलका छन्दको प्रयोग भेटिन्छ । चासोपर्दो कुरो ता के छ भने, मूल संस्कृत अध्यात्म रामायणमा मोठ ४,३५0 वटा श्लोकहरू छन् तर भानुभक्तले आफ्नो उल्थाको बलले ती श्लोकहरूलाई ४,३५0 श्लोकबाट ३,०३१ घटाई (४,३५0 -३,०३१ ) १,३९९ श्लोकमा रामायण पूरा गरेका छन् । यिनले ६९.३९ प्रतिशत घटाएर ३०.३१ प्रतिशतमा मात्र आफ्नो अनूदित रामायण प्रस्तुत गरेर एकजना अब्बल एवम् सफल अनुवादकमा हुने उत्कृष्ट अनुवादेली प्रतिभा देखाएका छन् । यसैले मूल संस्कृत अध्यात्म रामायणको तुलनामा भानुभक्तीय रामायण छोटा-छरिता-रसिला-टेसिला र बान्किला हुनाका साथसाथै शिष्ट र झर्रा नेपाली शब्दयोजनाको अनूदित रामायणलाई बान्किला बनाएको पाइऩ्छ । यसबाहेक पनि, भानुभक्तीय रामायणमा मौलिक उक्तिहरूको भक्कुचूर प्रयोगले विश्वभरिका नेपालीहरूका जिब्रामा रामायण सजिलैसित भिज्न सकेको हो भन्ने निर्धक्कै दाबी गर्न सकिन्छ । यहाँ यिनै मूल संस्कृत अध्यात्म रामायण र भानुभक्तीय रामायणका श्लोक सङ्ख्याको तुलना गरिन्छ –
मूस संस्कृत अध्यात्म रामायण
क्र.सं. काण्ड सङ्ख्या काण्डहरू सर्ग श्लोक सङ्ख्या
० ० माहात्म्य १ ६०
१ १ बालकाण्ड ७ ३९१
२ २ अयोध्या काण्ड ९ ७२८
३ ३ अरण्य काण्ड १० ५१८
४ ४ किष्किन्धा काण्ड ९ ५६०
५ ५ सुन्दर काण्ड ५ ३२७
६ ६ युद्ध काण्ड १६ ११५५
७ ७ उत्तर काण्ड ९ ६११
जम्मा ७ ६६ ४,३५०
भानुभक्तीय रामायण
क्र.सं. काण्ड सङ्ख्या काण्डहरू श्लोक सङ्ख्या
– – – – –
१ १ बालकाण्ड १३९
२ २ अयोध्या काण्ड १२३
३ ३ अरण्य काण्ड १२२
४ ४ किष्किन्धा काण्ड १४३
५ ५ सुन्दर काण्ड १५४
६ ६ युद्ध काण्ड ३८१
७ ७ उत्तर काण्ड २५७
जम्मा ७ – १,३१९
यसबारेमा हेनतेन नबखानेर बाबुराम आचार्यको ठुङमार्दो भऩाइ यहाँ राख्नु सान्दर्भिक देखिन्छ – “…मूल संस्कृत अध्यात्म रामायणको पहिलो सर्गमा रहेका ५८ वटा श्लोकहरूलाई कवि भानुभक्तले जम्मा २६ श्लोकमा पूरा गरेका छन् । त्यस्तै दोस्रो सर्गको ५८ श्लोकलाई २५ श्लोकमा, तेस्रो सर्गको १०० श्लोकलाई ५० श्लोकमा, चौथो सर्गको ४७ श्लोकलाई २७ श्लोकमा र पाँचौं सर्गको ६४ श्लोकलाई २६ श्लोकमा लेखी सो सुन्दर काण्डका जम्मा ३२७ श्लोकलाई उनले जम्मा १५४ श्लोकमा पूरा गरेका छन् ।”
भानुभक्तीय रामायणमा अलङ्कार प्रयोग –
मूल संस्कृत अध्यात्म रामायणलाई आफ्नो उल्थेली (अनुवादेली) सीपको भरमा अनुवाद (उल्था) गरेर मात्रै टार्ने काम गरेनन् महाकवि भानुभक्त आचार्यले । यत्रो विशाल महाकाव्यबाट यिनले ६९.३७ प्रतिशत श्लोक घटाएर प्रायः ३०.३१ प्रतिशत श्लोक मात्रै राखी उल्था गर्नु लरतरो काम होइन । यस नेपाली अनूदित रामायणलाई सर्वाङ्ग सुन्दर बनाउऩे प्रयासमा यिनले अन्त्यानुप्रास र अनुप्रासीय आन्तरिक भक्कुचूर प्रयोग गरेर अनुवादित रामायणलाई शैलीगत तथा लयगत रूपमा मिठाइलो बनाउने प्रयास गरेको देखिन्छ ।
(क) शब्दालङ्कार –
(अ) छेकानुप्रास (उही वर्णक्रमको पटकपटक आवृत्ति) अलङ्कारको सुन्दर प्रयोग –
“येती विन्ति गरी दिया ति गहना देख्या प्रभूले पनी ।
चीहन्या सब् गहना र शोक् बहुत भो हा ! मेरी सीता ! भनी ।।
रोया छाति विषे धऱ्या र गहना नाना विलापले जसै ।
लक्ष्मण, सुग्रिवले तहाँ प्रभूजिको दिल् खुस् गराया तसै ।।”
(किष्किन्धा काण्ड, दशौँ श्लोक)
(आ) श्रुत्यनुप्रास अलङ्कार (समस्थानीय व्यञ्जनवर्णको आवृत्ति) -शब्दगत अलङ्कारको बान्किलो प्रयोग –
“नजर वरि परीको जो छ शोभा नजर् भो ।
त्रिकुट गिरि उपरका पूरिमा फेर् नजर गो ।।
वरिपरि परखाल् छन् बीच बिचमा छ खाबा ।
सहज त अरुले ता गर्न को सक्छ दावा ।।”
(सुन्दर काण्ड, सत्रौँ श्लोक)
(इ) वृत्यानुप्रास अलङ्कार (अनेक वर्णको पटकपटक आवृत्ति)
“हूकुम भो हनुमानलाइ हनुमान् ! लौ श्रृङ्गवेरमा गई ।
मेरा खुप् प्रिय छन् सखा गुह तहाँ तिन्थ्यै समाचार कही ।।
नन्दीग्राम् गइ भाइलाइ गरि भेट् श्रीराम आया भनी ।
मेरो लक्ष्मणको सिताजिहरूो समचार् बताउ पनी ।।”!
(युद्ध काण्ड, ३२४ औँ श्लोक)
(ख) अर्थालङ्कार – भानुभक्तीय रामायणमा उपमा, रूपक अर्थालङ्कारको प्रयोग सँगसँगै अन्य अर्थालङ्कार पनि आकलझुकल प्रयोग भएको देखिन्छ ।
(अ) अतिशयोक्ति अलङ्कार –
“जो मण्डप छ विवाहको तस उपर झुम्का हिराका झुले ।
मूँगा मोति जुहार् जनकपुरमहाँ घरघर् सबैका झुल्या ।।”
(बालकाण्ड, १११ औँ श्लोक)
(आ) रूपक / उपमा अलङ्कार –
“यस्तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्ता भया ।
रामको गर्व हरूँ भनी परशुराम् रामकै अगाड़ी गया ।।”
(बालकाण्ड, १२५ औँ श्लोक)
“जीवता मुक्त छ शुद्ध निर्मल फटिक् जस्तो उपाधी गरी ।।”
(उत्तर काण्ड, १३५औँ श्लोक)
(इ) दृष्टान्त अलङ्कार –
“भ्यागूतो खाँ भनि खोज्छ डाँस् मुख विषे साँपले धरयाको पनी ।
तसतै भोग् गरुँला भनेर मनले भन्छन् दुनियाँ पनी ।”
(अयोध्या काण्ड, ३१औँ श्लोक)
(ई) असङ्गति अलङ्कार –
“हे ताराजि ! विचार नराखि तिमिले शोकै कती गर्दछ्यौ ।
यो मेरो पति हो भनेरे नबुझी व्यर्थै शरीर् हर्दछ्यौ ।।
जीवै हो पति भन्दछ्यौ पनि भन्या मर्दैन जीव ता कहीँ ।
देहै हो पनि भन्दछ्यौ त किन शोक् गर्छ्यौ छ ऊ ता यहीँ ।।”
(किष्किन्धा काण्ड, ६२ औँ श्लोक)
भानुभक्तीय रामायणमा अर्थालङ्कारको प्रयोगले रामायण रमणिलो भएको छ । यसैकारण, यो रामायण नेपालीको जिब्रामा सजिलै भिजेर युगौँदेखि बाँचिरहेको छ । नेपाली संसार रहुन्जेल भानुभक्त उल्थित (अनूदित) रामायण विश्वभरिका प्रत्येक नेपालीको मुटुको धुकधुकी भएर रहनेछ ।
कृतज्ञता स्वीकार –
१। आदिकवि भानुभक्त आचार्य: भानुभक्तको रामायण (अन्य कृति तथा फुटकर रचनासमेत), साझा प्रकाशन, आठौँ संस्करण, वि.सं. २०७६ (सन् २०१९, काठमाडौँ, नेपाल ।
२। सूर्यविक्रम ज्ञवाली (सम्पादित) : भानुभक्तको रामायण, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, वि.सं. २०११ सन् १९५४ (द्वितीय संस्करण) ।
३। डमरुवल्ल्भ पोखऱ्याल : भानुभक्तीय रामायण भाषा (काशी : देवराजवर शर्मण, वि.सं. १८८५ (सन् १९४२) ।
४। शिवराज आचार्य कौण्डिल्यायन : भानुभक्तकृत भाषारामायण, रत्न पुस्तक भण्डार, काठमाडौँ, वि.सं. २०६७ (सन् २०१०) ।
लेखक परिचय
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com