, सिलिगु़ड़ी (भारत) ।
परिचयाङ्कन
१ मार्च १९४२ का दिन तीन महल्ला बड़ा गाउँ, काकझोड़ा, दार्जिलिङमा माइली थामीको कोखबाट जन्मेका कर्ण थामीलाई भारतको सर्वोच्च साहित्यिक संस्था साहित्य अकादेमीले सन् १९९२ मा “सुकान्तका कविताहरू” नामक बङ्ला कविता सङ्कलनलाई नेपाली साहित्य अकादमी अनुवाद पुरस्कार प्रदान गरी सर्वप्रथम भारतीय नेपाली अनुवादकका कवच पहिराएका हुन् । अनुवादकको कवच पहिरिएपछि अनुवाद साहित्यको प्राङ्गणमा ओर्लिई कर्ण थामीले एघार सयभन्दा धेर नेपाली साहित्यकारहरूका रचना, कृतिहरू बङ्ला भाषामाअनुवाद गरी भारतीय नेपाली अनुवाद साहित्यलाई थाक्रो लाउने काम गरेर गतिलो गुण लाएका छन् ।
बड़ा कागझोड़ामा ठिटौले उमेर बिताए पनि पछि सिंहमारीको भोटे गाउँ, कैलू लामा रोडमा जीवनको अन्तिमसम्मै बिताए । पिता जङ्गवीर थामीको कठोर अनुशासनमा हुर्केका कर्ण थामी सत्र वर्षको झर्झराउँदो, कलकलाउँदो उमेर सुकेनाशले थलिएर तीन वर्ष (1959-1961) सम्म खर्साङको एस. बी. डे. सेनेटोरियममा बिताउनु पऱ्यो । सेनेटोरियममा पुगेर उनले दावा बमजनलाई भेटे । दावा बमजन पनि सुकेनाशले नै थलिएर आठ वर्ष (1957-1964) सम्म सेनेटोरियममै उपचाराधिन थिए । दावा बमजन कविता लेख्ने मान्छे अनि राजनीति मनपराउने मान्छे । दावा बमजनका कविताहरू “भारती”मा समेत प्रकाशित भएको पाइन्छ । सेनेटोरियमाको आँगनमा घाम ताप्दा कर्ण र दावाको लामो गफ हुन्थ्यो । दावा बमजनको कुराले कर्णलाई साहित्यप्रति रुचि बढ्नुका साथै राजनीति तिर पनि चासो बढ्नुथाल्यो । दावा निको भएर 1964 मै सर्वप्रथम खर्साङमै “तरुण सङ्घ” नामक सामाजिक संस्था प्रतिष्ठा गरे । त्यतिबेला कर्ण निको भएर दार्जिलिङ पुगिसकेका थिए । पछि दावा बमजन दार्जिलिङ पुगी दार्जिलिङको सामाजिक, आर्थिक, राजनीतिक परिवेशको कहालीलाग्दो अवस्था देखी दार्जिलिङमै “तरूण सङ्घ”-लाई राजनैतिक संस्थामा परिणत गरेर केही कालसम्म जीवन धाने । सन् 1969 मा दावा कङ्ग्रेसमा सामेल भए भने कर्ण थामी चाहिँ सीपीआईका सक्रिय सदस्य बनेपछि फेरि उनी सीपीएममा निकै वर्षसम्म खटे। राजनीतिप्रति रस भिज्दै गयो । लेनिनवाद, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग मार्क्सवाद छिचोले । लेनिन. निकोलाई बुखारिन, लियन ट्राट्स्की, जोसेफ स्तालिन, ग्रेगरी जिनोवीच र लेभ कोमेनेव, कार्ल मार्कस् खर्लप्पै निलेँ । लेनिनवादको मुख्य सिद्धान्त खर्लप्पै निलेपछि यिनी कट्टर कमरेड भएर आफ्नो रगत-पसिना फुर्मास गरे पनि हाते लागे शुन्य भएपछि यिनी साहित्यतिर ढल्के । राजनीतिको मोहमा यिनले नोकरी मात्र होइन हात खुट्टा बाँध्न समेत मनै गरेनन् । यिनी आजीवन मुगलिस भएर साहित्यलाई नै जीवन साथी बनाए । यिनी “फुल टाइम साहित्यकार” भएर साहित्यकवच भिरेर दर्जनौं अनुवाद-मौलिक कृतिहरू लेखे । भक्कु नाटक लेखे । थुप्रै पुरस्कार हत्याए । साहित्यकवच भिरेर कर्ण साहित्यकै काममा संसार डुले । महाभारतका कर्णले कवच दान गरे यता हाम्रा कर्णले साहित्यमा आफ्नो जीवन दान गरे । साथीभाइहरूको निम्ति मरिमेट्न मरिञ्जेल कञ्जुस्याइँ गरेनन्…साथीहरूलाई आफ्नो मुटु नै चु़ड़ाउँलैजस्तो गरेर माया गर्थे तर जीवनकालमा कर्णलाई मरिमेट् टोपल्याइँ गर्नेहरू उनको अन्तिम दर्शनमा कति देखिए, कति देखिएनन् सो ता देख्नेहरूलाई थाहा होला । आफू अर्थीमा लमतन्न सुतेका बेला कर्णका आत्माले कति आफ्ना साथीहरूलाई हेऱ्यो होला, कति बाटो कुरिरह्यो होला । थोरै मात्र देखिँदा कर्णले यसो भनेर पीरगाथा पोखे होला –
“साथी !
` तिमीहरू मेरो
यो दयनीय अवस्था देखेर
हाँसेको ?
तर के थाहा
तिमीहरूलाई ?
मैले तिम्रो निम्ति
यो संसार
यो समाज-व्यवस्था
सुन्दर सजिलो र समानतापूर्ण
बनाउँन चाहँदा
कति कति
कष्टहरू झेलेको ?
कति कति
बलिदान गरेको ?
खोई त ?
तिम्रा. . .
_______________
मेरो जीवनको
ती सर्वश्रेष्ठ सुन्दर क्षणहरू
आज बितेर गयो
खै आज आफू
एक्लै एक्लै रोइरहेछु
भोकाइ रहेछु
आफ्नो सर्वस्व लुटिए पछि
एकदमै निस्वः भएको छु
महाभारतका ‘कर्ण’ झैं
विश्वासघातको शिकार भई
आज आफ्नो जीवनको
यो युद्धभूमिको
रगतको आहालमा
कुनै ‘कृष्ण’ भई
मोक्ष प्राप् गर्ने
उत्कट इच्छा मात्रै
राख्न थालेको छु ।
हो, मैले मेरो यो समाज
साथै समाजको निम्ति
अकथ्य बलिदानहरू
चुपचाप चुपचाप
यसरी दिएको छु ।
सुन्, . . .
___________
कुनै नारीले
मलाई असाध्यै चाहन्छे
तर उसको सिउँदोमा
सिन्दुर हाल्न सम्म
आज म मा
सामर्थ्य रहेन ।
_______________
मैले कहिले पनि
तिमीलाई भनिनँ
किनकि समय त
अब बित्यो, बित्यो
मल्हम पट्टी गर्न
पाएका घाउहरू भर्न
पाएका घाउहरू भर्न
साथै सुनाउन र भन्न-
‘मेरो कोही रहेन
मेरो केही रहेन. . .’ ।”
(मेरो बर्बादीमा हाँस्नेहरूलाई – उदुम्बरा पृं सं. ७०-७२ ।
जीवनकालमा जुन साथीहरूसित आन्द्रा गाँसे, जुन साथीहरूका निमित्त आफूले दिलोज्यान दिए, जुन साथीहरूसित ठट्टा गरेर रामरस लुटे तर उनको अन्तिम दर्शनमा ती साथीहरू फाट्फुट मात्रै देख्ता कर्णले नभए पनि तिनका आत्माले साथीहरू कस्ता रहेछन्, कति पानीमा थिएछन्, कति दहमा थिएछन् र आत्माले अन्तिम दर्शनका दिन छतछती देख्यो । उनको जीवनको अन्तिम कालमा अथवा उनलाई तल शम्शान घाट पुऱ्याउने समयमा भन्दा पनि कर्णले आफू जीवनकालमै बुझिसकेका थिए र नै “मेरो बर्बादीमा हाँस्नेहरूलाई” जस्ता मार्मिक, व्यङ्ग्यात्मक कविता उनको छलकपटविहीन अन्तरआत्माबाट सेता कागजको वक्षस्थलभरि पोखिए । कवि भनेको ब्रह्म दोस्रो रुप हुन् । कविहरु दूरदर्शी हुन्छन् । पछिसम्मका कराहरु उनीहरूले पहिल्यै देखिसकेका हुन्छन् । कविको दिव्यदृष्टि टड़कारो हुन्छ । यस कवितामा कवि कर्णको दिव्यदृष्टि रुपियाँ सोह्रै आना सही भएको सत्यासत्य माथिका कविता पङ्क्तिले नै छर्लङै पारेको छ । अब यसबारे हेनतेन फलाकेर फाइँफुट्टी लगाइरहनु नपर्ला किनभने बुझ्नेलाई ईशारै काफी छ ; नबुझ्नेलाई घर छेउमा पहिरो छ ।
कर्णका सिर्जनाहरू
नेपाली, हिन्दी, बङ्ला तथा अङ्ग्रेजी भाषामा ज्ञान भएका कर्ण थामीले नेपाली बाहेक पनि हिन्दी र बङ्ला भाषामा समान रुपमा लेख्न मात्र होइन अनुवादमा पनि गतिलै हात बसिसकेको कुरा यिनका अनुवाद कृतिहरूले नै छतछती प्रमाण गर्छ । कथा, कविता, नाटक, निबन्ध-प्रबन्ध, गीत बाहेक पनि अन्य विषयमा पनि दक्षका साथ कलम चलाउने बुता भएका कर्णका अन्तिमकालसम्मका सिर्जनाहरू यस प्रकार देखिन्छन् –
१. बङ्लाको श्रेष्ठ कथा (अनुवाद) १९८२
२. अनि बादल यसरी फाटिन्छ (मौलिक कथा सङ्ग्रह) १९८४
३. प्रतिध्वनि (पूर्णाङ्की मौलिक नाटक) १९८५
४. धूप जलिरहेछ (मौलिक कविता सङ्ग्रह) १९९१
५. सुकान्तका कविताहरू (अनुवाद – साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त – १९९४ ) १९९१
६. सञ्जय विश्वासका कविताहरू (अनुवाद ) १९९३
७. बापुका जीवन कथा (अङ्ग्रेजीमा अनुवाद) १९९५
८. मुक्त माटोको खोजीमा (मौलिक कथा सङ्ग्रह) १९९७
९. भारतीय कथा शिखर कोश, नेपाली कहानियां भाग १ , (हिन्दीमा संयुक्त अनुवाद) १९९८
१०. भारतीय कथा शिखर कोश, नेपाली कहानियां भाग २१, (हिन्दीमा संयुक्त अनुवाद) २०००
११. वर्षा ओ झरना (खहरे बङ्लामा संयुक्त अनुवाद – साहित्य अकादमी) २०००
१२. पूर्खा (उड़िया उपन्यास – अनुवाद) २०११
१३. नेपाली कविता सङ्कलन (बङ्लामा संयुक्त अनुवाद – साहित्य अकादेमी) २००८
१४. प्रतीक्षिता (मौलिक उपन्यास) २०१४
१५. उदुम्बरा (मौलिक कविता सङ्ग्रह) २०१५
१६. सूर्य श्रेष्ठ की कविताये (अनुवाद) ।
यी मौलिक तथा अनुवाद सिर्जनाहरू बाहेक पनि कर्णले धेरै पत्र-पत्रिका सम्पादन गरेको पाइन्छ । तीमध्ये प्रुमुख हुन् –
१. मैमनसिंहका गीतिका
२. युक्ति १९७९
३. पत्रिका दार्जिलिङ १९९२
४. नयाँ यात्रा २००२
५. दियालो २००६
मञ्चित नाटकहरू –
१. ज्वाला (रुपान्तर – पूर्णाङ्की सामाजिक नाटक) १९७९
२. खबरहरू (सड़क नाटक) १९८०
३. आँधी (पूर्णाङ्की मौलिक नाटक) १९८२
४. बाटो (पूर्णाङ्की सामाजिक नाटक) १९८३
आकाशवाणी खर्साङका नियमित वार्ताकर कर्ण थामी विभिन्न साहित्यिक सामाजिक संस्थाहरूसित सम्बन्धित रहेर यिनले बिर्सिनै नसक्ने योगदान पुऱ्याएका छन् ।
उदुम्बरा (? ?) –
वाराणसीबाट प्रकाशित हुने ‘उदय’ (पूर्णाङ्क 146 – अक्टोबर) मा प्रकाशित ‘उदुम्बरा’ कवितामा ‘अभि-जमान गुठी’-द्वारा ‘उदय पुरस्कार’ प्राप्त भएको उत्कृष्टम कविता हो । उदुम्बरा काव्य सङ्ग्रहमा यो कविताले पहिलो चरणमा ठाउँ पाउनुका साथै “उदुम्बरा” नाउँमै दोस्रो मौलिक काव्यकृतिका रुपमा प्रकाशित गरेका छन् । “उदुम्बरा”बारेमा यिनको स्पष्टिकरण यस्तो देखिन्छ –
“मेरा आदरणीय प्रिय पाठकहरूलाई अवश्यै यी कविता-सङ्ग्रहका शीर्षक “उदुम्बरा” के हो ? भनी उतकट जिज्ञासा आ-आफ्ना हृदयमा उब्जिरहेको होला भनि सम्झन्छु । उसो त मैले यो “उदुम्बरा” फूललाई साकार-रुपमा देख्न पाएको छैन तर केही वर्ष अघि दूरदर्शनमा यसै ? “उदुम्बरा” फूल सम्बन्धी समाचारमा नयाँ कुरो सुनेँ – यो उदुम्बरा फूल प्रत्येक तीन हजार वर्षमा एक पटक फुल्छिन् रे, उसको जीवन चक्र यसरी नै चलायमान भइरहन्छन् रे । यो फूल त्यस समय कोरिया देशको एक पहाड़मा स्थित बौद्ध मन्दिरमा भगवान बुद्धको एकापट्टिका गालामा फुलेकी थिई रे….। म यो कुरोले असाध्यै प्रभावित भएँ साथ-साथै उत्सुकता र जिज्ञासा बढ़्न थाल्यो । संस्कृत शब्दकोशमा यो बारे अर्थ खोज्न थालेँ – एक रहस्यमय फूल, जो तीन हजार वर्षमा एकपटक फुल्छिन् भनी जानकारी पाएँ । एक पुरानो अंग्रेजी शब्दकोशमा पनि – A kind of misterious flower भन्ने अर्थ पाएँ । अब यता आफू एक कवि-हृदयी हुने सौभाग्यले गर्दा यी “उदुम्बरा” माथि कविता रच्न उत्कट अभिलाषा उम्लेर आयो फलस्वरुप यी कविता यतिसम्म रच्न सकेँ । …………”
तर कवि कर्ण थामीले भनेजस्तो “उदुम्बरा” भन्ने शब्द संस्कृत, नेपाली, अङ्ग्रेजी, हिन्दी तथा बङ्ला शब्दकोशमा कतै नभेटेर ? “उदुम्बर” शब्दले ठाउँ पाएको देखिन्छ । संस्कृतमा “उदुम्बर”को शब्दकोशीय अर्थ यस्तो पाइन्छ –
उदुम्बर = (उं शम्भुं वृणाति – उ + वृ + खच्, मुम्, उत्कृष्ट, उम्बर प्रा. स. दस्य डत्वम् गूलरको वृक्ष (औदुम्बर) ।
नेपाली शब्दकोशमा “उदुम्बर” शब्दले ठाउँ नपाए पनि “औदुम्बर” शब्दको अर्थ दिइएको पाइन्छ – औदुम्बर (सं डुम्बर, वा) = डुम्रीको फूल ।
डुम्री = गूलरलाई नेपाली भाषामा डुम्री भनिन्छ । डुम्रीको शब्दकोशीय अर्थ हुन्छ (सं डुम्बर, ना.) विनाफूलले अढ्जीरका जस्ता फल लाग्ने-लाम्चा पात हुने, वर जातको वनस्पति र त्यसको फल ।
खासै भन्नु हो भने, कवि कर्ण थामीले प्रयोग गरेका “उदुम्बरा” शब्द “उदुम्बरा” नभएर “उदुम्बर” हो । यिनले अङ्ग्रेजी शब्कोशमा उदुम्बर यस्तो लेखेको भेट्टाए – UDUMBARA । अङ्ग्रेजीमा राम लेख्दा RAMA, रावणलाई RAVANA, रामायणलाई RAMAYANA, महाभारतलाई MAHABHARATA लेखिन्छ, वेदलाई VEDA आदि आदि । उनले “उदुम्बर”को अङ्ग्रेजीमा अर्थको निम्ति शब्दकोश पल्टाउँदा “UDUMBARA” लेखिएको पाएर नै उनले निर्धक्क “उदुम्बरा” लेखेका हुनन् । खासमा नेपाली उच्चारणमा “उदुम्बर” हो “उदुम्बरा” ठ्याम्मै होइन । किनभने “उदुम्बरा” शब्दले नेपाली शब्दकोशमा वास पाएको छैन ।
तर के मा सन्तुष्टि मान्न सकिन्छ भने, देवकोटाले गोबरको पछिल्तिर इलो (गोबर+इलो=गोबरिलो) प्रत्यय थपेर गोबरिलो (असारको पन्ध्र) लेखे झै कवि कर्ण थामीले पनि उदुम्बराको पछिल्तिर आ प्रत्यय (उदुम्बर+आ =उदुम्बरा) थपेर उदुम्बरा बनाएको सहजै स्वीकार्दा कुनै टुटा पर्दैन । जसरी देवकोटाले गोबर शब्दको अन्त्यमा इलो प्रत्यय थपेर गोबर+इलो= गोबरिलो पारेका छन् ।
जे होस्, “उदुम्बरा” शब्दले नेपाली शब्दकोशमा वास नपाए पनि कवि कर्ण थामीले उदुम्बरमा “आ” (उदुम्बर+आ =) प्रत्यय थपी उनको मौलिक काव्यकृतिको शीर्षक नै “उदुम्बरा” राखेकाले यो “उदुम्बरा” शब्दले नेपाली शब्द भँड़ारमा वास पाएकोमा उनलाई श्यावाशी दिनैपर्छ । कविको खूबी पनि यसैमा देखिएको छ ।
उदुम्बरलाई बौद्घ साहित्यमा यसरी परिभाषित गरिएको पाइन्छ – ” In Budhhism, Udumbara (Pali, Sanskrit) refers to the tree, flower and fruit of the Ficus recemosa (syn. Ficus glomerata). 1/2/3/4 In Buddhist literature, this tree or it fruit may carry the conotation of tarity and parasitism. It is also mentioned in Vedic texts as the source of wood for rituals and amulets. The udumbara is also used to refer to the flowers of the blue losus. (Nymphaea careulea SAV).
In Some Buddhist texts; the flowers of the Udumbara are enclosed within its fruit, as in all figs. Because the flower is hidden inside the fruit, a legend developed to explain the absence (and supposed rarity) of the visual flower: In Buddhism, the flower was said to bloom only once every 3000 years and thus came to symbolize events of rare occurrence. 1 In early medieval Japan and possibly elsewhere this flower is believed to be capable of saving the lives of those dying from disease.4 It is mentioned in the Helen Japanese classic Utsubo Monogatari.
संस्कृत साहित्यमा उदुम्बराको विश्लेषण –
According to Bhikkhu Bodhi, Vedic sacrifices used udumbara wood for many different ritual purposes such as a ladle and post, as well as amulets made of udumbara wood are mentioned in Vedic texts5.
It is mentioned as the name for the Ficus racemosa in the Atharvaveda, Taittiriya Samhita, Aitareya Brahmana, Shatapatha Brahmana and the Mahabharata 3.
पाली साहित्यमा उदुम्बरा –
In Pali literature, the udumbara tree and its flowers are used concretely (as the tree beneath which a former Buddha gained enlightenment), metaphorically (as representative of a caste) and symbolically (evoking the insubstantiality of things and self6.
उदुम्बरा सामान्य घोत्ल्याइँ
यस काव्यकृतिमा मोठ 49 वटा कविता समाविष्ट गरिएको छ । तर कविले यसलाई तीन चरणमा विभाजन गरी यथाक्रमले पहिलो चरणमा सदभावना (12 वटा कविता), दोस्रो चरणमा अनुभूति (दशवटा) अनि तेस्रो वा अन्तिम चरणमा असन्तुष्टि (27 वटा कविता) शीर्षक दिएर आफ्नै जीवनका तीन पाटालाई ओकल्ने प्रयास गरेको देखिन्छ ।
कुरै गर्नु हो भने, प्रत्ये मानिसको आफ्नो एउटा छुट्टै रुप, स्वभाव र विचार हुन्छ त्यसरी नै प्रत्येक भाषा र प्रत्येक कविताको पनि आफ्नै रूप, स्वभाव र विचार हुन्छ । यसैले कविताको बारेमा आजसम्म कुनै सर्वमान्य निष्कर्ष फेला पार्न सकिएको छैन । विभिन्न कालहरूमा, विभिन्न देशहरूमा कविताको रुप पनि परिवर्तन भएको देखिन्छ । गत पचास दशकदेखि नै कविता लेखनमा बामे सर्ने कवि कर्णले जीवनको अन्तिम कालसम्म आइपुग्दा आफ्ना कविताहरूलाई बारम्बार नयाँ रुप प्रदान गर्ने गरेको देखिन्छ । तक्निकलाई ध्यानमा राखेर यिनले यिनका कवितालाई छुट्टै विशिष्टता प्रदान गरेर मौलिक कविता सिर्जना गरेको देखिन्छ ।
अचम्मको कुरा ता के छ भने, यो दुम्बर वा उदुम्बर (डुम्री)को फूल कसैले पनि देख्न सक्तैन तर जसले देख्छ तिनको भाग्य नै पल्टिन्छ भन्ने पनि किंवदन्ती छ । अझ के पनि भनिन्छ भने, ओदुम्बर वा उदुम्बर (कवि कर्ण थामीको भाषामा उदुम्बरा) को फूल सेवन गरेको खण्डमा वृद्घ पनि युवा बनिन्छन् ।
यसै सन्दर्भमा कवि कर्णले अदृश्य उदुम्बरालाई समम्बोधन गरेर लेखेका कवितामा यथार्थको जलप वालछ्याल देखिन्छ । उदुम्बरा नदेखिने फूल हो तर सोही अनुरुप कवि कर्णले आफ्नो जीवनको अन्तिम कालसम्म पनि उनको जीवनको उदुम्बरालाई देख्न सकेनन् । र उनी भन्छन् –
उदुम्बरा !
देख्न त पाइएकै छैन
आजसम्म तिमीलाई
कतै उम्रिएकी
कतै फुलेकी
……………….
कविलाई तीन हजार वर्षमा एकपल्ट फुल्ने उदुम्बरा होइन तर खासमा उनलाई उनको जीवनमा ढकमक्क फुलिदिने आफ्नै उदुम्बरा हेर्ने तिर्सना थियो…सो कहिल्यै पूरा भएन । उदुम्बरालाई पाउने हरहरती तिर्खाले काकाकुली छपटिएर नै कवि कर्ण थामी यो संसारबाट विदा भए । र उनकी उदुम्बरालाई उनी भन्छन् –
तिमीले सम्झना गरिदिनू
यो कर्ण थामीलाई पनि
जसले आफ्ना हृदय फूलबारीमा
जीवन्त राखिरहेछ
एक झलक भए पनि
तिम्रा साकार रुप
फुलेकी फूल तिम्रा
हेर्न एकजना अभिलाषी बनी
सदा सर्वदा तिमी प्रति पनि़
सदभावना राख्नेछु – मन भरि भरि…..
अदृश्य उदुम्बराप्रति कविको सदभावना साह्रै टिठलाग्दो देखिन्छ ।
जीवनका आरोहण-अवरोहण छिचोल्दै गएपछि उनका अनुभव र परिपक्वता निकै खारिएको देखिन्छ । आरम्भका कविताहरू त्यति खँदिला नदेखिए पनि जीवनको दोस्रो चरणमा आएर कविको कविता लेखनमा निकै परिपक्वता तथा गहन विचारहरू प्रष्ट भएको देखिन्छ । जीवनको अर्थ सिङ्गै छिचोलिसकेका कवि कर्ण थामी जीवनलाई परिभाषित गर्ने क्रममा आफ्नो अनुभव यसरी फलाक्छन् ः
प्रायः कहिले काहीँ म
यो जीननको असह्य भारले थिच्चिएर
मातेको मान्छे सरह
लड़खड़ाइ रहन्छु
किनकि “भ्याकुम” छ
यो जीवनमा जताततै
यसैले यसमा
व्यथा र पीड़ाहरू मात्र
भरिरहेको पाउँछु ।
यहाँ कवि मात्र असहायले भारले थिचिएका छैनन्, कवि मात्र मातेको मान्छजस्तै लड़्बड़िएका छैनन्, कविको जीवनमात्र भ्याकुम छैन अनि कविले मात्र व्यथा र पीर खप्न परेको छैन यो ता कविले देखेका, चिनेका, भेटका तमाम मानिसहरूको हरदर पीर व्यथा हो ।
जीवनका अन्तिम कालमा आएपछि कवि कर्ण थामीले सबै कुराको नालीबेली केलाएर हेरेका छन् । प्रत्येकलाई बुझिसकेका छन्, चिनिसकेका छन्, जानिकसकेका छन् । र उनी भन्छन् –
सो कसो यो दार्जिलिङ
हाम्रो पहाड़, यो गाउँ ठाउँ
अब हाम्रै नरहला कि
जसतो पो भान हुन थाल्यो ।
कविको शङ्कामा सहमित हुने प्रशस्तै ठाउँहरू छन् । कविले आफ्नो परिवेश, आफ्ना मान्छेहरूको चालचलन, चालामाला, गतिविधि बुझ्दै गएपछि तिनका जिवाइहरूमा असन्तुष्टिको धमिराले खङरङ्ङै पारेको कुरा ओकल्न पनि कवि कर्णले ठ्याम्मै क़ञ्जुस्याइँ गरेका छैनन् । पहाड़प्रमाण असन्तुष्टिले कर्ण विरक्तिएका छन् र उनी आफ्ना असन्तुष्टिहरू यसरी ओकेल्छन् –
कति कति व्यथा र वेदना
जलन र तड़पन, मिलन र विछोड़
यहाँ पोखिए होलान्ॉ
बखान भए होलान्
_____________
समय र परिवर्तनको इतिहासमा
निर्मम अट्टहासमा
त्यसको कथा र व्यथामा
हामीलाई पनि अनुतप्त गराउने
कहिले अनुरक्त पनि बनाउने
यो ख़ण़्डहर हो –
एक बवण्डर हो, एक आडम्बर
एक ठहर, एक रहर, एक लहर, एक अक्षर हो –
समयको
सभ्यताको
संस्कृतिको ।
कवि बसेको ठाउँ कविले सबै खण्डहर देखेका कुरा ठ्याम्मै ढाँट होइन । जे देख्यो त्यही लेख्ने कविको स्वभाव हो । कवि अन्तरयामी हुन्छन्, कविलाई कसैले ढाँट्न सक्तैन, छल्न सक्तैन । कवि कर्णको परिवेश खण्डहरूमा परिणत भएको कुरालाई बड़ो चतुरकासाथ प्रस्तुत गरेर एकजना परिपक्व, अनुभवी, पोख्त कविको रुपमा आफ्ना आत्मअसन्तुष्टिका कुराहरू पोखेका छन् । कवि कर्ण थामीको असन्तुष्टि हामी सबैको हरदर असन्तुष्टि हो ।
समष्टिमा भन्नुपर्दा, कवि कर्ण थामीका स्वरहरू मात्रै सहृदयी छैनन्-भावना पनि सहृदयी छन्, भावना सँगसँगै विचार पनि सहृदयी हुनाका साथै संवेदना तथा विम्बहरू पनि सहृदयी छन् । कर्ण थामीका कविताहरू उनकै गाउँ-घरका, उनकै समाज बलोक पाइन्छ । आफ्नै समाजको वर्तमान परिवेशका विकृति-विसङ्गति र अन्तरविरोधहरू ओकलिएको पाइन्छ । यिनका कविताहरूमा स्वाभिमान कुर्लेको छ, नैतिकता पग्लिएको छ । यिनका कविताहरूमा विम्ब र प्रतीकहरूको प्रयासमा सहजताको रमरम छाप पाइन्छ । कर्णका कविताहरू जीवनका दुःखद भोगाइको आलोचना र मानवीय सहभावका मार्गदर्शकका रुपमा टड़्कारो रुपमा प्रष्टिएका छन् । कविताका थोरै कुराहरूले पनि धेरै कुराहरूको प्रतिनिधित्व गराउन सोह्रै आना सफल भएको कुरा स्वीकार्नुपर्छ ।
कवि कर्ण थामी हामी माझ छैनन् । तर यिनी हामीमाझ नभए पनि यिनका कृतिहरूमा बाँचेका छन् , बाँचिरहनेछन् यो संसार रहूञ्जेल ।
पुछारमा कवि कर्ण थामीको आत्माले स्वर्गमा वास पाउन् ।
अस्तु ।
सन्दर्भ –
१. McCullouth, Helen Craig; Murasaki Shikibu (1994). Genji and Helke: Selections from The Tale of Genji and The Tale of the Helke. Stanford University Press, pp 94. ISBN 0-8047-2258-7]
२.Rhys Davids, Thomas & William Stede (eds.) (1921 -5), The Pali Text Society’s Pali-English Dictionary (Chipstead : Pali Text Society), p. 135, 19 Nov 2008 from “U. Chicago” at Udumbara.
३. Monier-Williams; Monier (1899, 1964). A Sanskrit-English Dictionary (London; Oxford University Press), pp. 175, 186. Retrieved 19 Nov 2008 from “Cologne University” at http://www.sanskrit- lexicon. Uni-koein. de/scans/MWScan/MWScanpdf.mw0175-ujjha. pdf and http://www.sanskrit- lexicon. uni-koein.de/scans.MWScan/ MWScanpdf/mw0186-udays.pdf.
४. Utsuho Monogatari Tale of the Cavern, trans. by Ziro Uraki, .237 footnote.
५. SN 4.21, “A Number (Discourse)”, trans. by Bhikkhu Bodhi (2000). The Connected Discourses of the Byddha: A Translation of the Samyutta Kikaya (Boston: Wisdom Publications) pp. 210-11. In Bodhi’s own note to this sutta (p. 419 n. 302), he remarks: ‘In the Vedic sacrificies, udumbara wood was used for all kinds of ritual puropses; the sacrificial post, lagle, and amulets were made of this wood (Macdonell and Keith, Vedic Index, s.v. udumbara)”593, 1906 n. 81.
६. Based on searched of the SLTP tipitaka at “Bodhhaya News”) (http://bodhgayanews.net/pali.htm) and ‘MettaNet-Lanka’ (http://www.metta.lk/tipitaka), Pali canonical and post-canonical texts that include referecens to the udumbara tree that are not represented further in this article include: SN 35.231 (Bodhi, 2000, The Connected Discourses of the Buddha, Wisdom Publication, pp. 1228-29); An 8.54 (Narada, 1985), 8.55 (Upalavanna, n.d. -a), 8.76 (Upalavanna, n.d.-b), Ja Nos. 208 (Rouse, 1895-a), 298 (Rouse, 1895-b), 342, 429, 492; Nd2 15-4 (SLTP); Ap i. 236 (SLTP), i.295 (SLTP), i.301 (SLTP), ii.419 (?) (SLTP); and, Vsm VIII, 117 (Nanamoli, 1975/1999, The Path of Purification, BPS Pariyatti, p. 251).
लेखक परिचय
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com