“ऊँ एहि सूर्य ! सहस्त्रांशों ! तेजो राशे जगत्पते !
अनुकंम्प्यं मां भक्त्या गृहाणार्घ्यं दिवाकर !!”
ऊँ ‘इजा’ अर्घ्य नमः ।
ऊँ ‘इजा’ अर्घ्य नमः ।।
इजा पूर्वपीठिका –
सिलिगुड़ीदेखि दार्जिलिङ जाँदाहुँदी वा दार्जिलिङदेखि सिलिगुड़ी फर्कँदा हुँदी घूम स्टेशन छेउ गाड़ी आइपुग्दा त्यहाँ विराजमान रहेका शाक्य गुम्बा र शिवमन्दिरको अघि दुइपल्ट आँखा चिम्म गरेर शीर निहुराउनुपर्छ । ठिक शाक्य गुम्बा र शिवमन्दिर छेवैमा पुगी त्यहाँ पनि शीर निहुराउँदा घूममा तीनपल्ट शीर निहुराउनुपर्छ । तेस्रो शीर निहुराउने श्रद्धेय स्थान हो “इजा हाङमा प्रेयर हल ।” इजा हाङमा प्रेयर हल घूमकै नवीन सुब्बा र मञ्जुला तामाङ सुब्बाकी एकमात्र सुपुत्री हुन् । उनको स्मृतिमा नै “इजा हाङमा प्रेयर हल” प्रतिष्ठा गरिएको हो । जन्म १२ अगष्ट १९९० का दिन जन्मेकी इजा नवीन सुब्बा र मञ्जुला तामाङकी एकमात्र सुपुत्री हुन् । ३ फरवरी २०१३ का दिन २२ वसन्तकी हँसिली, फर्साइली इजाले यस अपत्यारिलो पाराले छक्याएर आमा-बाबा, साथी-सङ्गी, छर-छिमेकी, इष्ट-मित्र, आफन्त्हरू सबैलाई संसार छोड़ि गइन् । उनैको स्मृतिमा प्रतिष्ठा गरिएको यस “इजा हाङमा प्रेयर हल”-मा इजाभन्दा साना तथा उनकै दौंतरीहरूलाई संलग्न गरिएको पाइन्छ । यस प्रेयर हलमा हुने प्रत्येक कार्यक्रममा घूम जोरबङ्लो भेकका तमाम् नानीहरू भेला भई इजाको स्मरणमा उनकै वियोगी आमा विरचित एवम् प्रख्यात सङ्गीतकार वसन्त छेत्रीको सङ्गीतमा निम्न प्रार्थना गाइने गरिन्छ –
“प्रणाम प्रणाम प्रणाम
साना साना कलिला हातहरूको
निश्छल कोमल हृदयको
प्रणाम छ हाम्रा मन मन्दिरमा
प्रणाम. . .”
मञ्जुला तामाङ सुब्बाले प्रस्तुत काव्यकृति भारतीय नेपाली वाङमय फाँटलाई चढ़ाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाकै बिँड़ो थामेकी म छतछती देखिरहेकी छु । कवि मञ्जुला तामाङ सुब्बा पुत्रीवियोगी । उता पुत्र वियोगले छटपटेका देवकोटाले ‘एक वियोगी पिताप्रति’ कविता लेखे झैँ यता मञ्जुलाले ‘इजा अर्घ्य’ लेखेर पुत्रीव्यथामा मल्हमपट्टि दल्ने काम गरेकी छन् । देवकोटा पनि दुइ-दुइ जना कल्कलाउँदा-झर्झराउँदा पुत्रवियोगी पिता थिए । पुत्रवियोगी पिता देवकोटा बारे नित्यराज पाण्डेले लेखेका छन् – “देवकोटा स्वयम् वियोगी अर्थात् पुत्रवियोगी पिता थिए, ….प्रस्तुत कविता (एक वियोगी पिताप्रति) लेख्नुअघि उनी दुई पटक पुत्रवियोगमा परेका थिए – पहिलो पटकको वियोग उनका माहिला छोरो कृष्णप्रसादको र अर्को पटकको चाहिँ उनका जेठा छोरा प्रकाशप्रसादको । ततत्कालीन नेपालको एकतन्त्री जहानियाँ राणाशासनका विरुद्ध प्रजातन्त्रका निम्ति देवकोटा २००४ साल (सन् १९४७) श्रावण ३ गते त्रिचन्द्र कलेजको आफ्नो प्रोफेसरी- जागीरका साथै जहान-छोराछोरी र घर सबैलाई त्यागी सुटुक्क बनारसमा नेपाली राष्ट्रिय काँग्रेसमा सम्मिलित हुन गएपछि उनको जागीर गयो र घर तायदात र रोक्कामा पऱ्यो अनि ‘काँग्रेस लागेको घर’ भनी उनका बन्धु-बान्धव, छरछिमेकी र इष्टमित्रहरू पनि पर-पर भए । त्यस बेला टाइफाइडले सिकिस्त विरामी परेका उनका ११ वर्षै माहिला छोरा कृष्णप्रसादको आवश्यक औषधोपचारको प्रबन्ध हुन नसक्दा २००४ साल (सन् १९४७) २० गतेका दिन असामयिक देहावसान भएको थियो भने उनका आई. ए. पढ़्दै गरेका २१ वर्षे जेठा छोरा प्रकाशप्रसादको पनि विरामी अवस्थामा यथासमय ओखतीमूलो हन नसकेर २००९ साल (सन् १९४७) साल (सन् १९५२) ११ गतेका दिन त्यस्तै असामयिक निधन भएको थियो ।”
यता, कवि मञ्जुला कविकै रुपमा ओर्लिए पनि आखिर आमा हुन् । पुत्रीवियोगी आमाको कमुलो देवकोटालाई परेकैजस्तो पीर थाम्प, खप्न सक्तिनन् र पुत्रीवियोगमाथि उनको व्यथा यसरी सोझै वमन हुन्छ –
“हिजोसम्म थियौ कोपिला
स्याहारेँ तिमीलाईृ।
आहा ! आज फुल्यौ सम्हालेँ तिमीलाई
भोलि फेर मुर्झाउँछौं
लुकाउँछु तिमीलाई ।
मन बुझाउँछु
खुशी हुन्छु ।
अर्कातिर पुत्रवियोगी देवकोटा आफूलाई सान्तवना दिँदै भन्छन् –
“गुलाब जरा छन् चिहान घुसेका,
ज्योति सबै छन् छायाधार ।
योग-वियोग नृत्यभूमि यो,
जन्म लक्ष्य नै मृत्युकिनार ।”
कवि प्रतिभाका धनी देवकोटा आफूलाई जस्तै पीर परे पनि ती खुल्लम खुल्ला उजागार गर्दैनन् । तर कवि मञ्जुलाको मुटुमाझमै पुत्रीवियोगको झीर उनिएको छ…त्यो देवकोटाजस्तो भुल्न र पचाउन सक्तिनन् । यसैले लाचार आमाको स्वाभाव देखाउन कुनै अप्ठ्यारो मान्दिनन् –
“सजाउन छोड़िदिएँ तिम्रा यादहरू
सिँगार्न छोड़्दिएँ तिम्रा मौन कोठाहरू
तिमी छैनौ नि त शून्यतामा कति खोजूँ ?
कतै छैनौ तिमी मुटुभित्र कति बाधूँ ?
उपरोक्त कवितांशमा कवि-आमाको घुर्की, दुःख मनाउ देखिए पनि तलको कवितांशमा भने साँच्चै पुत्रीवियोगिनी आमाको साक्षात रुप ता देखिहालिन्छ –
“इजा !
तिम्रो यादमा धडकिने मुटु
फ्याँक्न सक्तिनँ।
आऊ अब नयाँ संसारमा डुलौं ।
असल र खाँटी कविको हृदयबाट निस्किएको मुटु चिमोट्ने कविता ।
”इजाहाङमा”
छात्तीभित्र नमेटिने तृष्णा बनी
कहिले नफर्किने विदा
किन लियौ ?
यथार्थ एवम् मार्मिक बुनाइ । मेरो साहित्य यात्राको यहाँसम्म आइपुग्दा मैले जानेँ-बुझेँ अनि देखेँ अनुसार कविहरू दुइ प्रकारका हुँदारहेछन् भन्ने छतछती प्रमाण भइसकेको छ । ती दुइ प्रकारका कविहरूमध्ये पहिलो हुन् बुनबाने अनि दोस्रा तानतुने । बुनबाने कविले कविता बुन्छन् । भावना बुन्छन् । विषयवस्तु वा घटना बुनेर त्यसलाई सिङ्गो कविताको रुप दिन्छन् । अनि दोस्राले तानतुन पारेर कविता लेखेजस्तो गर्छन् । कवि मञ्जुला तामाङ सुब्बाको यस मार्मिकक मात्र होइन उनको घाइते मुटुबाट प्रक्षेपण भएको यस कवितामा साँच्चै एउटा सत्य, यथार्थ एवम् अहिले भइरहेको मर्मस्पर्शी, कहालिलाग्दो सत्य घटनालाई कविताको साँचामा ढालेकी छन् । कविताको आकार हेर्दा पुड़्को छ तर यसको भाव, यसको कथन पद्धति अग्लो छ । यो कविताको खास मर्म ता पुत्रीवियोगिनी आमाहरूले मात्र बुझ्दछन् ।
इजा अर्घ्य – शीर्षकको सार्थकता
इजा हाङमा शब्दको अर्थ राजकुमारी हो भने संस्कृतको नपुंसकवाची अर्घ्य शब्दको शाब्दिक अर्थ हुन्छ, देवदेवीको पूजामा चढ़ाइने जल, दुमो, फल र पञ्चामृत आदि चीज, अतिथि वा मान्यजनको सम्मान-सत्कार गर्दा अर्पण गरिने जल फल आदि एक किसिमका स्वागत-सत्कारको पानीपियाइ । यसै शब्दको विशेषणात्मक अर्थ हुन्छ, पूजा चढ़्ने वा चोखो, पूजा गर्न लायक, पूज्य, सम्मान्य, धेरै मोल पर्ने, बहुमूल्य, महँगो । यसको पुलिङवाची शब्दको अर्थ, मूल्य, मोल, पूजासामा, पूजासामग्री ।
काव्यकृतिको नाम “ईजा अर्घ्य” । “ईजा” (ना, स्त्री.) र अर्घ्य (सं. नपुं) पदहरू” मिलेर बनेको “ईजा अर्घ्य” पदावली शीर्षकका रुपमा आएको छ । यसले शाब्दिक रुपमा ईजा सम्मान, सत्कार भन्ने बुझिन्छ । सबैले कवि मञ्जुला तामाङ सुब्बाले उनकी स्वर्गवासी छोरी “ईजा”ईजा अर्घ्य”-को सम्झनामा काव्यकृतिको राखेकी बुझे तापनि प्रतीकात्मक रुपमा कविताकी राजकुमारी (ईजा = राजकुमारी)-लाई सम्मानस्वरुप उनको प्रथम काव्यकृति अर्घ्यको रुपमा चढ़ाएको बुझिन्छ । कविताको आरम्भमै “ईजा अर्घ्य”-द्वारा आरम्भ गरिएको पाइन्छ । यसका पनि सहज अर्थमा आफ्नै छोरीको यादमा कविता लेखेकी रहिछन् भन्ने बुझ्ने वा ठान्ने धेर होलान् तर प्रतीकात्मक रुपमा कविताकी राजकुमारीलाई वन्दनाको रुपमा मङ्गलाचरण गरेकी भन्ने बुझिन्छ । ईजा अर्घ्यको रुपमा काव्यात्मक अभिव्यक्ति भएकाले प्रतीकात्मक रुपमा यस काव्यकृतिको शीर्षक सार्थक रहेको छ ।
कवि मञ्जुला तामाङ सुब्बा परिचयाङ्कन –
शिलङ (मेघालय) को ह्यापीभेलीमा आसाम रेजिमेण्ट (११९ इण्फेण्ट्री बटालियन) को छाउनी । एम बी तामाङ आसाम रेजिमेण्टका कर्तव्यरत भारतीय सैनिकका नायक…सेनाका ड्राइभर । आफ्नी जहान दोजी इडेन तामाङलाई लगेर क्वार्टरमै राखेका थिए । एम. बी. तामाङकी धर्मपत्नी इडेन तामाङ मान्छे डँड़ाक । पढ़ेलेखेकी । उनलाई आसाम राइफल्सको AWWA (Army Wives’ Welfare Association) सामेल गरियो । श्रीमती इडेनले त्यहाँ सेनाका पत्नीहरूलाई तालिम दिन्थिन् ।
भारत-पाकिस्तानको घमामान युद्ध भइरहेको थियो । क्षण-क्षणमै साइरन बज्ने । साइनर बज्यो कि बङ्करभित्र पस्नुपर्ने । दोस्रोपल्ट साइरन नबजि़ञ्जेल बङ्करभित्र पस्नुपर्ने अवस्था । युद्धकै समयमा २ अक्टोबर १९६५ का दिन दोजी इडेन तामाङको कोखबाट छोरी जन्मिइऩ् । जन्मेदेखि नै खेलाउँ-खेलाउँ लाग्दो, पुक्तुक्कै परेकी छोरी सेना छाउनी लगायत फेमिली क्वार्टरमा थै थै थिइन्। बिहान उठेर तयार तम्मर भएपछि कुनै न कुनै एकजना आएर लाने नानीलाई । त्यसपछि कल्ले, त्यसपछि कल्ले । आमाले ता नानी खेलाउनु नै नपाउऩे । दूध जस्तो सेतो, विछट्टै सुन्दरी । उनको सुन्दरता देखेर पिता एम बी तामाङकै युनिटका क्यापटन एस. पुरकायस्थले नानीको नाम श्रीमञ्जुला राखिदिए । तर सबैलाई श्री शब्द उच्चारण गर्न गाह्रो र समय लागेकोले मञ्जुला नाउँमै बोलाउन थालिएको हो । मञ्जुला शब्द शब्दकोशमा पाइँदैन । मञ्जुलाको सुन्दरता देखी ती क्यापटन साहेबले मञ्जु शब्दमा आ प्रत्यय थपी मञ्जुला भनेका हुनन् । मञ्जुल संस्कृतको विशेषण शब्द हो । जसको शब्दकोशीय अर्थ हुन्छ, सुन्दर, मनोहर, मधुर, मनोरम । यसकारण मञ्जुलाको शाब्दिक अर्थ मनोरमा, मनलाई प्रफुल्लित पार्ने स्वभावकी वा लक्षणकी देवी, सरस्वल्ती-साहित्यविद्या, भाषा; सुन्दरी नारी, प्यारी पत्नी, कान्ता; बौद्धिक ; प्रतिमा हुन्छ । स्मरण गराइन्छ, नानी जन्मेपछि छोरीको नाण इडेन रिञ्जी राखिएको भए पनि क्यापटन पुरकायस्थले राखिदिएका नाउँ नै आजसम्म मञ्जुला रहेको पाइन्छ ।
अझ ठुङमार्दो कुरो ता के छ भने, मञ्जुलालाई क्यापटेन साहेबकी मेमसाहेबले साह्रै मनपराउँथिन् । बिहान गाड़ी लिएर नानी लिनु अर्डरलीलाई पठाउँथिन् । दिनभरि नानी मेमसाहेबसितै । नानीले लाउने लुगाफाटा सबै साहेब र मेमसाहेबले नै किनिदिन्थे । त्यति मात्र पनि कहाँ हो र नानी मञ्जुलाको कारणले उनीहरूलाई अफसर्स क्वार्टरमा बस्ने अनुमति समेत दिइएको थियो ।
युद्ध घमासान भइनै रहेको थियो । रोकिने टुङ्गो थिएन । यसैताका उनीहरूको छाउनी इम्फाल जानुपर्ने भयो । एम बी तामाङ सेनाको गाड़ी लिएर इम्फाल लागे । इडेन मञ्जू र उनकी कान्छी छोरी लिएर घूम जोरबङ्लो आएर बस्न थालिऩ । पछि एम बी तामाङले पनि Pramatured Retirement लिएर शिलाङबाट सुके रोड, घूमको पैत्रिक थलोमा आए । अवकाशकालमा विदेशबाट यिनलाई नोकरीको निम्ति बोलाइए पनि गाड़ी किनेर घूममै गाड़ी हाँक्न थाले । यिनको गाड़ीको नम्बर १९५ थियो । पल्टनमा नायक साहेब, उस्ताद, तामाङ साहेबमै परिचित भए पनि घूममा आफ्नै गाड़ी हाँक्न थालेपछि एम बी तामाङ, नायक साहेब, उस्ता, तामाङ साहेबको ठाउँमा उनी सबैका भेना भए । आज पनि भेना पछि एम बी तामाङलाई नचिन्ने कोही छैनन् । म़ञ्जुला प्राथमिक घूमबाटै शुरु गरेर घूम गर्ल्स हाई स्कूल (अहिले हायर सेकेण्ड्री) स्कूलबाट स्कूल फाइनल उत्तीर्ण गरी दार्जिलिङ गवर्मेण्ट कलेजमा एघारौं श्रेणीमा भर्ना भइन् ।
विद्यार्थी अवस्थादेखि नै साहित्यमा रुचि भएकोले साहित्य लेखनपट्टि ध्यान दिइन् । लेख्न थालिन् अनवरत् । लेखेर के गर्ने रचना छपाउने भनेजस्तो पत्र-पत्रिका थिएन । लेख्दै राखिन् । फेसबुक आएपछि उनले फेसबुकमा लेखिन् । अनवरत लेख्दै गइन् ।
घूम जोरबङलो क्षेत्रबाट हाल मञ्जुला तामाङ सुब्बाको पदार्पण भएको छ । हुन ता पचास दशकदेखि नै घूम, जोरबङ्लोबाट गनुसिंह गुरुङ, काजीमान कन्दङ्वा, धनहाङ सुब्बा, सचेन राई दुमी, राधिका राया, शान्ती राई, खड़कसिंह काँड़ा, गोपी बस्नेत, भद्र थापा ‘साबी’, मनबहादुर प्रधान. कृष्ण कुमारी सुब्बा, प्रताप राई ‘प्रेरित’, जगन्नाथ प्रधान (जे. एन. प्रधान), सरिता प्रधान, ए जे प्रधान, जी छिरिङ, पदम गजमेर, कृष्ण खड़्का, प्रदिप मुखिया, विष्णुप्रसाद शर्मा ‘विप्रश’, पारस राई आदि साहित्यकारले घूम जोरबङ्लो क्षेत्रको साहित्यिक गतिविधिमा योगदान पुऱ्याएको देखिन्छ । यी साहित्यकारहरूमध्ये कति बितिसके, कति काम-विशेष अन्यत्र गएर साहित्यको सेवा गरेको पाइए तापनि सत्तरी दशकदेखि यता घूम जोरबङ्लो क्षेत्रको साहित्यिक गतिविधि ठप्प भएको देखिन्छ । अहिले एकमात्र मञ्जुला तामाङलाई साहित्य सेवामा सक्रिय देखिन्छ ।
इजा अर्घ्य – साङ्गोपाङ्ग विवेचना –
कोरोनाकालको यस्तो कहालिलाग्दो स्थितिमा पनि कोरोनालाई बूढ़ो औंली देखाउँदै, लकडाउनलाई सामान्य अटेरी गरी तयार पारिएको नयाँ काव्यृति ‘इजा अर्घ्य’ थपिएका छ भारतीय नेपाली कविताको फाँटमा । कवि मञ्जुला तामाङ सुब्बाको यो पहिलो कृति हो । अब भारतीय नेपाली कविताको फाँटमा मञ्जुला तामाङ सुब्बाको नाउँ एकजना भारतीय नेपाली नारी कवि हस्ताक्षरको रुपमा दर्ता भएको छ । उनको कविता सिर्जना यो प्रथम प्रसवलाई स्वागाताभिनन्दका साथै भक्कुचूर बधाई, शुभकामान अनि आशीर्वाद ।
आफ्ना रचनाका माध्यमबाट गाउँ-घर, समाज, राष्ट्र आदिको संरक्षण, संवर्द्धन, विकासको चाहना, आपसी मेलभावको चाहना. सद्भाव, ममता, सम्मान, शान्ति सुरक्षा, समुन्नति एवम् जातीय एकताको शङ्खघोष गरिन् फेसबुक मार्फत् । फेसबुकका छातीमा प्रस्तुत गरिएका कविताहरूमा कवि मञ्जुला तामाङ सुब्बाले युगीन यथार्थको अभिव्यक्ति-राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक जुन सुकै विषयमा पनि अभिधार्थमा मात्र नभई व्यङ्ग्यात्मक रुपमा समेत प्रस्तुत गरेकी पाएँ मैले । यिनका कविताको बाह्य पक्षमा सरल रुपले एउटा विषयको उठान गरिए पनि आन्तरिक पक्षमा भने नजानिँदो पाराले व्यङ्ग्यको चिमोटाइ पाइन्छ । व्यङ्ग्य भनेको हँसाउनु मात्र होइन । नहँसाइकन पनि व्यङ्ग्य प्रयोग गर्न सकिन्छ । जस्तो कवि मञ्जुलाका प्रायः कविताहरूमा देखिन्छन् । कतिले हास्यको भुङरोभित्र व्यङ्ग्यको भुप्रो थुपारेका हुन्छन् । तर कवि मञ्जुला भने मात्रै व्यङ्ग्य गर्छिन् ।
”बीज वैरीको उमारेँ
आफ्नै आँगनमा
नयन पिपासुहरू
आफ्नै रक्त साइनाहरूमा । (बीज वैरीको)
यस कवितांशको वाह्य शिल्पमा आफैआफले वैरी उमारेर आफै बिल्लीबाठ भएको कुरा गरिएको भए पनि आन्तरिक शिल्पमा भने विशुद्ध व्यङ्ग्यको लेप पाइन्छ । कविको समाजमा पहिलेजस्तो भाइचारा, मित्रता, आपसी मेल-मिलाप ठ्याम्मै छैन । तर अहिले समाजमा वैरी नै वैरीको ढलीमली छ । कसैमाथि कसैको विश्वास छैन । सबै रक्त पिपासु छन् । आफ्नै दाजु-भाइ, माथ्लो-गाउँ, तल्लो-गाउँहरू आफैले वैरी उमारेर समाजलाई पशुत्व बनाएका छन् । धोबीको नीरमा चोबलिएको स्यालजस्तो राजनीतिक नीरमा चोबलिएर कविकै समाजका आफन्त सबैसित नाता, सम्बन्धसित छुटानाम गरी समाजलाई आफूखुशी राजधानी घोषणा गर्नेहरूको कमी छैन । आफैले घोषणा गरेको साम्राज्यमा आफै केदी भएर हुतिहारा जीवन बिताउनेहरू पनि देखिन् कविले । यस कवितांशमा टड़कारो व्यङ्ग्य पाइन्छ । कवि मञ्जुलाका अन्यान्य कविताहरूमा पनि युगीन यथार्थको अभिव्यक्ति-राजनैतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक जुनसुकै भए पनि अभिधार्थमा मात्र नभई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्न कुनै कञ्जुस्याइँ गरेको पटक्कै देखिन्न । यसबाट कविको आँट, साहस अनुमान लाउन सकिन्छ ।
यसरी हेर्दा यस काव्यकृतिमा मोठ दुइ कोड़ी एक (२०+२०+१=४१) कविता समाविष्ट गरिएको छ । कवि मञ्जुला जीवनको संवेदना भर्ने आजका कवि हुन् । यी कविताहरूमा अभिव्यञ्जनाको गहिराइ पाइन्छ । यिनका कविताहरू साङ्गोपाङ्ग अध्ययन र मनन गर्दा, कवितालाई आकर्षण र गहिराइका विपर्यासममा राखेर आफू बसेकै समाजका पीड़ाहरूको अनुसन्धान गर्दै आत्मीयताको मिठाइलो स्वरमा मलहम पट्टी लगाएको पाइन्छ ।
शब्दहरूको अभिव्यञ्जनात्मक बिम्ब तयार पारी थौरेमा धेरै कुरा खाँदेर भन्नमा कविलाई सफल देखिन्छ । सानो झिल्कामा पनि अनुभूतिलाई निश्चित गोरेटो प्रदान गरिहाल्ने कविको प्रवृत्ति अत्यन्त नौलो र श्रृङ्खलाका लागि उपयुक्त लाग्छ । यिनका कवितांशले पाठकलाई नजिक ल्याएर आत्मीय बनाउनमा छिनु र मार्तोलको काम गरेको देखिन्छ ।
ग्रामीण परिवेशप्रति पेमभाव प्रकट गर्नु र सहरिया जनजीवनप्रति घृणाभाव व्यक्त गर्नु स्वच्छन्दतादी कविको प्रवृत्ति हो । स्वच्छन्दतावादी कवि मञ्जुलाले पनि उनका कवितामा यही प्रवृत्ति ग्रहण गरेकी देखिन्छ । गाउँप्रतिको आकर्षण –
“सुन्दर छ हाम्रो गाउँ, सानो छ हाम्रो गाउँ ।
प्यारो छ हाम्रो आँगन, आऊ साथी मिली खैलौं ।” (जाऊँ बालापनतिर)
आफू बसेकी सहरप्रति विकर्षण –
“ओ दार्जिलिङ तिम्रो आँचलले
छोपिएको दग्ध हृदय रोएको देखिरहेछु ।
झलल झल्किरहेको चाँदीको घुम्टोभित्र
कालो चट्टान उदास बनेको देख्छु । “ (सातो हराएकी दार्जिलिङ)
कवि मञ्जुलाले कविता स्थानीय प्रकृति, आत्मपरक चित्रण गर्ने निहुँमा बाह्रै मास कुहिरोको घुम्टोभित्र बसिरहने घूम जोरबङ्लोबारे सोद्देश्यमूलक ढङ्गले प्रकृतिको चित्रण गरेकी छन् । यस कवितांशमा प्रकृतिको मानवीकरण गर्नाका साथै कविताको माध्यमबाट आफ्नै मातृभूमिको भक्कुचर प्रशंसा गरेको पाइन्छ –
“कहिल्यै घाम नलाग्ने ठाउँ हे हरि !
घूम जोरबङ्लो पर्यटकीय नगरी ।
सूर्योदयको प्रथम किरण स्पर्श गर्ने अहो कति सुन्दरी
पर्यटकहरू गुँड़तिर लाग्छन् सम्झना मुटुकै सिरानमा सिँच्छन्
मुस्कुराइरहन्छे घूम जोरबङ्लो टाइगरहिलको न्यानो आँगनमा ।
(कुहिरोभित्र घूम जोरबङ्लो)
सन् १९५२ को मई महिनामा देवकोटा दार्जिलिङ आएका थिए । देवकोटालाई त्यसताकाका नेपाली साहित्य सम्मेलनका पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा कोइरालाले घूमकै टाइगर हिल भ्रमणमा लगे । टाइगर हिलको मनोरम दृश्य देखेर देवकोटाले तत्कालै ‘बाघचुलीमा’ कविता फररर….सुनाए ।
मञ्जुला तामाङ सुब्बाको ‘कुहिरोभित्र घूम जोरबङ्लो’ कविताले मलाई देवकोटाको ‘दार्जिलिङको बाघचुलीमा’ र ‘बाघ पर्वतको एक प्रभात’ कविताको सम्झना गराउनु मात्र होइन घूम र त्यसका वरपरका दृश्यलाई विषयवस्तु बनाएर कविता कथ्ने देवकोटापछि यिनै मञ्जुला तामाङ सुब्बा हुन् भन्ने दाबी गर्न कुनै अप्ठ्यारो लागे । घूम जोरबङ्लाबारे कविता लेख्ने अरु पनि होलान् सोबारे मलाई अहिलेसम्म कुनै जानकारी छैन ।
दुःखी वा सुखी, नितान्त यथार्थ जीवनबोधको सुमधुर सङ्गीत पाएको स्वाभाविक अभिव्यक्ति नै कविता हो । त्यसमा उच्चतम, मध्यम स्तरका कटु वा हर्षका अनुभव र अनुभूतिको घातप्रतिघात चलिरहेको हुन्छ । कटुतम जीवनभोगको वियोगान्त कला कवि मञ्जुला यसरी ओकेल्छिन् –
“मोती आमैको आर्तनाद –
एकलो भएँ म ए भित्ताहरू
म ता एकलो भएँ ।
आँखाहरू मोतीविन्दुहरूले ढाकिए ।” (वृद्धाश्रमको भित्ता)
मानवतावादी दृष्टिकोण भएकी मञ्जुलाको संवेदनाका धनी हुँदा हुँदै पनि उनी गुहू र गोबरमा भिन्नता रहेको कुरा पनि जान्दछिन् । उनी न्याय र सत्यको पक्षमा हिँड़्ने अब्बल नारी हुन् । उनी ढाँट्न जाऩ्दैनन् । स्पष्टवादी । जे देख्यो त्यही भन्ने ढीट स्वभावकी । उनलाई समाजमा नपच्ने कुराहरू ठ्याक्कै मनपर्दैन । सेतोलाई सेतो कालोलाई कालो भन्ने आँटी प्रवृति उनको । धेरै वृद्धाश्रम वृद्धाश्रमजस्तै भए पनि थोरै वृद्धाश्रम चाहिँ अचेल वृद्धाश्रम जस्तो छैन । वृद्धाश्रममा आउने सबै नै पीड़ित हुँदैन । तरै पनि त्यस्ता अपीड़ितहरूको पनि उपस्थिति देखिन थालेको छ अचेल । यो कुरो कवि मञ्जुलालाई पटक्कै पचेको छैन । यसैले उनी विद्रोह वमन गर्छिन् – “यस्ता वृद्धाश्रममा सबै
हेलिएका, त्यागिएका, छोड़िएका
तिरस्कृतहरू आउँदैनन्
नाङ्गो आँखाले देखिएका
सबै वृद्धाहरू सहानुभूतिका
पात्र हुँदैनन् ।
ए मोती आमै
सबै सहानुभूतिका पात्र हुँदैनन् । (वृद्धाश्रमका भित्ता)
आफ्नो सहकर्मिता र सहधर्मितालाई जीवन्त पार्दै तथा मानवतावादीको शङ्खघोष गर्दै मीठो पाराले नमीठो मानवीय पक्षको कटु सत्यलाई काव्यकलाको बान्किलो कसीमा उतारेकी पाइन्छ । उनको संवेदनशील भावनाले व्यङ्ग्यको सिरुपाते खुकुरी चलाएको स्पष्टै देखिन्छ । कवि मञ्जुलाको संवेदनामा मृत्यु मात्र छैन तर बिग्रिएको कपटी समाजको बेथिति, निस्सासिएका अस्थिर, स्वार्थी मान्छे र उनीहरूको कुण्ठित परिवेश, मासिँदै गएको नाता सम्बन्ध, बिर्सिँदै गएको रितिरिवाज तथा पात्लिँदै गएको आपसी भेटघाट माथि टड़कारो व्यङ्ग्यको सिर्कनु चलाउन सफल देखिन्छिन् –
“जिउँदाहरू टाढिन्छन् मदेखि
कति छिः छिः दूर गर्दा हुन्
कारण म ह्वास्सै गन्हाउऩे मान्छे परेँ ।
मेरो शरीरबाट धुवाँ गन्हाइरहेछ
यसैले मदेखि टाढ़ा हुन्छन्…पर…पर… हुन्छन् ।
म पोड़े हुँ
फगत् लाश जलाउने पोड़े ।” (पोड़े)
देशलाई सेवा गर्ने सपूतहरूको, देशका निम्ति मरिमेट्ने शहीदहरूको दुर्गतिले एउटा भयावह मनःस्थिति र कहालिलाग्दो स्थिति सिर्जना गरेको छ । हाम्रा वीर गोर्खा सपूतहरू शहीद भइदिँदा पनि कविलाई भक्कुचूर असन्तुष्टि छ, शत्रु फाँड़ी युद्ध जितेर तकमा भिरेर आउँदा पनि असन्तुष्ट । घाइते बनी फर्की आउँदा पनि शान्ति छैन । स्थिति वियोगान्त छ । परिस्थिति डाँवाडोल छ यहाँ । यो वियोगान्त नाटकीय भएको छ । कवितामा यस्तो नाटकीयता सिर्जना गर्नु पनि कविको निजी वैशिष्ट्य मान्नुपर्ने हुन्छ । कवि मञ्जुलाको विद्रोहको व्यङ्ग्यात्मक स्वर यसरी मस्तिष्कभरि रुमलिनु वाध्य बन्छ –
“……..
जीवनले वीरगति प्राप्त गरे
तिरङ्गा झण्डा सम्हाली राख्ने ठाउँ खोई ?
वीरताका तक्माहरू छातीभरि भिरेर आए
सुरक्षित सजाउऩे भित्ताहरू खोई ?
घाइते बनी फर्केर आए
उसको वासभूमि खोई ? (तीन अघोषित युद्धहरू) ।
हाम्रा गोर्खा सपुतहरू शहीद हुने ठाउँहरू दुइवटा देखिन्छन् । एउटा भारतमाताको रक्षार्थ सिमानामा डटिरहने गोर्खा सपूत अनि अर्को आफ्नै वासभूमिको काकाकुली तिर्सनामा छटपटेका सपूतहरू । दुवै शहीद हुन्छन् । सहनै नसकिने स्थितिप्रति पनि कविको दुःख मनाउ त्यतिकै देखिन्छ –
” मोहन
मोहन मरिसके, ऊ शहीद बनिसके
देशको सीमानामा होइन
आफ्नै घर आँगनमा ।
जातीय सुरक्षाको उन्मुक्तिको आन्दोलनमा ।
(तीन अघोषित युद्धहरू) ।
झट्टै हेर्दा कवि मञ्जुलाका कविता सरल भाषाका अभिधाजस्तो लागे पनि अलिक घोरिएर, गम्भीर भएर वा घोत्लिएर हेर्नु हो भने, ती कविताभित्र बिम्ब, प्रतीक, व्यञ्जना र व्य़ङ्ग्यहरू भरमार पाइन्छ । झ्वाट्टै व्यङ्ग्यमय प्रस्तुति दिन पनि उनी खप्पिस छन् –
“समुद्रका छालहरूसँग
रमाउन
तिम्रा हातहरू थामेँ
लहरहरू बीचमै साथ छोड़्यौ
मैले तैरिन सिकेँ ।” (उड़ान)
उपरोक्त तीन कवितांशमा व्यङ्ग्य भरमा पाइन्छ । कवितांशमा निहित व्यङ्ग्य सबैले छर्लङ्ङै बुझ्छन् । जे होस्, संसारका कुनै पनि साहित्यिक युगमा व्य़ङ्ग्यविनोदले धेरै ठूलो ठाउँ ओगटेको पाइन्छ । व्यङ्ग्यको उद्देश्य हाँस्ने-हँसाउने मात्र पनि होइन ।
हरियो गलैंचाजस्तो देखिने चिया कमानको दृश्य सुन्दर, मनमोहक देखिन्छ । पर्यटकहरू यहीँ हरियो गलैंचा हेर्न, फोटो खिँच्न ग्वारग्वार्ती आउँछन् । तर चिया कमानलाई हरियो गलैंचा बनाउने हातहरूको पीड़ी, व्यथा, छटपटाइबारे कसले याद गरेका छन् र ! त्यसबारेमा कमानका बाबुहरूलाई लुतो कनाइ ता छँदैछैन, नेताहरूलाई पनि वास्तै छैन । कमान धाउने बालाहरूबारे कवि मञ्जुलाले सविस्तार वर्ण गरेकी छन् ‘चियाका तप्कनाहरूमा’ । उनी भन्छिन् –
”टोकरी र छातासँग
गीतको भाकामा
चियाका मुनाहरू सुमसुमाउॅदै
भाग्य खोज्छन् साइँलीहरू
(चियाका तप्कनाहरू)
कविता ‘चियाका तप्कनाहरू’ सामान्य रुपमा हेर्दा वर्णनात्मकजस्तो लागे पनि यहाँ बिम्बको भरमार देखिन्छ । खासै कुरा भन्न हो भने, सबै कवितामै बिम्ब संयोजन भएको पाइन्छ । प्रख्यात समीक्षकका साथै बिम्बवादका जण्डा व्याख्याता सी. डी लेविसले ता प्रत्येक कविता आफै आफमा बिम्ब हो र सबै कविताहरूमै बिम्ब देखिन्छ भनेका छन् – “The image is present in all poetry and every poem itself is an image.”।
प्रस्तुत कवितांशमा पनि दृश्य /चाक्षुष/ चक्षुसंवेद्य बिम्ब, शब्द वा श्रव्य बिम्ब / कर्णसंवेद्य बिम्ब, आस्वाद बिम्ब/रसनासंवेद्य बिम्ब, घ्रात्व्य बिम्ब/ गन्धसंवेगद्य बिम्ब, स्वप्नबिम्ब (कमान, साइरन, गम्बुट, झरी, टोकरी, छाता, चियारङ्ग, चियाका बुट्टा, दुइ पात एक सुइरो, पगडण्डी) संयोजन भएको पाइन्छ ।
कवि मञ्जुला तामाङ सुब्बाको निम्न कविता पङक्तिमा साँच्चै एउटा सत्य, यथार्थ एवम् अहिले भइरहेको मर्मस्पर्शी, कहालिलाग्दो सत्य घटनालाई कविताको साँचामा ढालेर साँच्चै कविता बुनेकी देखिन्छ । नाटकीय रुप दिएर कथिएको यस कविताको खपत अवस्था पुड़्को देखिए पनि यसको मूल भाव, परिवेश, उद्देश्य, कथनढाँचा तथा सन्दर्भ, समसामयिकता अग्लो देखिन्छ ।
“. . .
तिम्रो लाश किन्नुपऱ्यो
विडम्बना यहाँको
अन्तिम दर्शन पनि नपाइने भो
…………………………………………
निर्दयी व्यापारीहरूको व्यवहारले
पिठ्यूँमा आघात पऱ्यो ।”
लाशमाथि व्यापार चलेको घटनालाई भावनाको सुइधागाले उनेर कति मार्मिक बुनाइ यहाँ यस कवितामा । भन्नु द्विमत नहोला, कवि मञ्जुला कविता बुन्नमा पोख्त भइसकेकी छन् । यति मार्मिक, मुटु च्वास्सै घोंच्ने, खुइय्य…काढ़्न लाउने कविता बुन्न सक्नु नै कविमा हुने हुने बिरुवाको चित्ला पातको लक्षण हो ।
‘कोरोना नाटक’ – नाटकीय काव्य –
नाटकीय काव्य वा कविता पद्यमा लेखिएको हुन्छ । नाटकीय काव्य वा कविताले अभिनयको निम्ति भए पनि विशेष यस्तो कविताले एउटा कथा चित्रण गर्दछ । नाटकीय कविता कथात्मक कविताभन्दा बेग्लै हुन्छ । यो चरित्रको दृष्टिकोणले लेखिन्छ । नाटकीय कविताको दोस्रो रुप ‘कोठे नाटक (Closet Drama)’-को रुपमा मानिन्छ । कवि लर्ड बायरन र पर्सि बिसे शेलीहरू नाटकीय कविता लेख्न निकै खप्पीस थिए । नाटकीय काव्य वा कविताको उत्पत्ति संस्कृत नाटकहरू र ग्रीक त्रासदीहरूबाट भए/को हो । छैटौं र पाँचौ शताब्दी ईसा पूर्वमा, नाटक आविष्कार हुनुभन्दा पहिले एथेन्समा उत्सवको रुपमा गरिएको थियो । संसारमा सबभन्दा पहिले नाटकीय कविता एथेन्स अन्तर्गत डायोनिस रङ्गमञ्चमा प्रदर्शित गरिएको पाइऩ्छ । १६ र १७ औँ शताब्दीमा अङ्ग्रेजी पुनर्जागरणको समयमा बेन जोन्सन र विलियम शेक्सपियर जस्ता अब्बल, प्रतिष्ठित कविहरू र केही नाटककारहरूले नयाँ तक्निकी विकसित गर्नाले नाटकीय कविता व्यापक रुपमा प्रचलित हुनथाल्यो । पशि्चमका कविहरूद्वारा लेखिएका नाटकीय काव्य वा कविताहरू – १. रोबट ब्राउनिंग – होम-थट्स, फरम एब्रोड (Home Thoughts, from abroad), २. दाँते – हेल (नरक), ३. जोन मिल्टन – प्याराडाइज लष्ट, ४. विलियम सेक्सपियर – द सेभेन एज अफ म्यान, ५. एरिष्टोटल – पोयेट्री (कविता), ६. अल्फ्रेड टेनिसन -युलिसिस, ७. जोन किट्स – अड अन इण्डोलेन्स, ८. विलियम ब्लेक – द टाइगर (The Tyger) आदि ।
नेपाली काव्यजगतमा मोहन कोइरालाका धेरै नाटकीय कविता पाइन्छ । ती मध्ये प्रमुख हुन् – घाइते युग, सूर्यदान, लेक, सारङ्गी बोकेको समुद्र आदि । त्यस्तै प्रकारले कवि मञ्जुला तामाङको प्रस्तुत ‘कोरोना नाटक’ पनि नाटकीय काव्य श्रेणीमा पर्न गएको नाटकीय काव्य -ले तिनको विश्लेषण गर्न प्रयास गरिएको छ –
छ्यातछ्याती जोखाना खुट्याइदेऊ
चिन्ता गर्ने वा जोखाना हेर्ने थान थपना
चीत्कार चीत्कार चीत्कार
सुन्न आऊ मेरो कोरोना चीत्कार
कसरी सुनाऊँ, मेरो अपरिचित
कोरोना मृत्युसंहार ।
मञ्जुलाका कवितामा शिल्पसौन्दर्य –
शिल्पसौन्दर्य वा काव्य सौन्दर्य भन्नु नै कविता बुनोटको सुन्दरता हो । प्रत्येक निर्माणका एक प्रकारका शिल्प हुन्छ । बिना शिल्पको निर्माण गरिनुको कुनै अर्थ नै हुँदैन । कविताको प्रचलित ढाँचा भित्र कविले आ-आफ्नो वैयक्तिक शिल्प प्रयोग गर्छन् । छन्दहीनताको शिल्प रच्छन् । कोमल भाषा प्रयोग गर्छन् । कविताको आन्तरिकतामा उनको आफ्नै विशिष्टता देखिन्छ । शिल्पको गहिराइमा डुबेर आन्तरिक शिल्प हेर्न सकिन्छ । कवितामा शिल्प सौन्दर्य निर्माण गर्ने शिल्पका धेरै तत्त्व हुन्छन् । तीमध्ये प्रमुख हुन् –
क) कविताको भाषा, (ख) नाद सौन्दर्य, (ग) लय, प्रवाह, (घ) गेयताको गुण, (ङ) रस. च) छन्द -अलङ्कार, (छ) सम्पेषणीयताको गुण, (ज) भावाभिव्यक्तिको स्तर आदि ।
यिनै तत्त्वका आधारमा कविताको आन्तरिक शिल्प निर्माण हुँदछ । यसैकारणले नै तिनको शिल्प सौन्दर्य प्रकट हुँदछ । कुनै कविताको शिल्प सौन्दर्य खुट्याउनु हो भने यिनै तत्त्वका आधारमा कविताको शिल्प सौन्दर्य निर्धारित गर्न सकिन्छ । कविताको भाषा कस्तो छ ? सरल सहज तत्सम तद्भवको प्रयोग छ कि छैन, कस्ता शब्दावली छन् क्लिष्ट कि उच्चारणै गर्न नसकिने यी सबै काव्य शिल्पका तत्त्वहरू हुन् । कवि मञ्जुलाका यस सङ्ग्रहमा समाविष्ट कवितामा काव्य शिल्प छैन भन्नु मूर्खता हुन्छ । कवि मञ्जुलाले कवितामा भन्न चाहेका कुराहरू , विचारहरू, उनका विद्रोहहरू, व्यङ्ग्य-कटाक्षहरू जति सबै नै शिल्पविधानमा निर्भर रहेको पाइन्छ । सरल भाषाको माध्यममा कवि मञ्जुलाले कवितालाई बान्किलो बनाउऩे प्रयास गरेको देखिन्छ ।
“शङ्काको ढुङगाले टाढ़ामा
विश्वासलाई प्रहार नगर
छेवैमा रही
कर्त्तव्यपथ साथ देऊ
दोष दिन काम नगर ।” (शङ्का)
कवितामा अभिव्य़डञ्जना टड़कारो रुपमा प्रस्तुत भएको पाइन्छ । भाषाको माध्यबाट सुझाव, सल्लाह प्रस्तुत गरेकीले कविताको शिल्प सौन्दर्य बान्किलो भएको देखिन्छ ।
मञ्जुलाका कवितामा दृष्टिविन्दु वा कथन पद्धति ढाँचा –
कविले पाठक वा श्रोतासमक्ष जुन कविता प्रतिष्ठा गर्छन् त्यसको पनि एउटा तौर तरिका हुन्छ । यस्तो पद्धतिलाई दृष्टिविन्दु भनिन्छ । कविको स्थितिलाई बुझाउने दृष्टिविन्दुले कविताको सहभागी, कार्यव्यापार, परिवेश, उद्देश्य आदिलाई पाठक वा श्रोतासमक्ष पुऱ्याउने तरिका पनि बुझाउँछ । कवितामा कविका भाव, विचार, अनुभूति, वस्तु आदिलाई पाठक श्रोता सामु उपस्थित गर्ने तरिका नै दृष्टिविन्दु हो । मञ्जुलाका कवितामा पनि दृष्टिविन्दुहरू पाइन्छन् । उनको प्रथम पुरुष दृष्टिविन्दु –
“जिउँदाहरू टाढ़िन्छन् मदेखि
कति छि: छिः दूर गर्दा हुन्
कारण म ह्वास्सै दङ्दङ्ती गन्हाउने मान्छे परेँ ।
मेरो शरीरबाट धुवाँ गन्हाउँछ
धुवाँ सँगसँदै मासु गन्हाउँछ ।
यसैले मदेखि टाढ़ा हुन्छन् …पर…पर.. हुन्छन् ।
म पोडे हुँ.
फगत लाश जलाउने तुच्छ पोड़े ।” (पोड़े)
‘पोड़े’ शीर्षकको कवितामा ‘म’ पात्र यस कविताको समाख्याता हो । ‘म’ पात्र यहाँ प्रथम पुरुष दृष्टिविन्दु रुपमा प्रस्तुत भएको छ ।
उनको उनको तृतीय पुरुष दृष्टिविन्दु
“तिमीलाई पुज्ने यस भूमिमा, नारीको रक्त बहनु हुँदैन
दाइजो, बलात्कार, उत्पीड़नको आगोमा नारी शोषण हुनु हुँदैन ।”
“सुन मनिषा ! सुन निर्भया !
तिमीले अब न्याय खोज्नु होइन
तिम्रो सुरक्षा तिमी आफै गर्नू ” (हाथरसकी मनिषा)
यस कवितामा मनिषा र निर्भया (नामधारी व्यक्ति) ! लाई असहभागीको रुपमा प्रस्तुत गरिएको छ । यहाँ नामधारी व्यक्ति तृतीय पुरुष दृष्टिविन्दु हो ।
यिनका कवितामा जिन्दगीका अनिश्चितता, असन्तुष्टि, निराशा, अभाव, पीर मर्का र निरर्थकताको व्यञ्जना पाइनुका साथै उनी जीवनका सार्थक र सुन्दर पक्षको गीत गाएकी पनि पाइन्छ । आफ्ना समाज, गाउँ-घर, वन-पाखा, खोला-नाला, पहाड़ कन्दराका पीर व्यथालाई ओकलेर सहानुभूति पोखाउन चाहन्छिन् । उनी भावकको हृदयलाई स्पर्श गर्ने गरी अनूभूतिहरुको सञ्चार गर्नमा सिद्धहस्त देखिन्छिन् । यिनै काव्यात्मक सौनदर्यले कविताको शिल्प सौन्दर्य बान्किलो भएको पाइन्छ ।
बिम्बआयोजना –
कुनै वस्तु इन्द्रियानुभूत भएर भावना पुनर्निर्माण हुने प्रक्रिया नै बिम्ब हो । बिम्बका धेरै नामहरू देखिन्छन् । जस्तै – प्रतिच्छाया, प्रतिच्छवि, प्रतिबिम्ब आदि । सैद्धान्तिक रुपमा नपालीमा ‘बिम्ब’ शब्द नै प्रयुक्त भएको पाइन्छ । अङ्ग्रेजीमा ‘बिम्ब’-लाई Image Imagery भनिन्छ । नेपालीमा भनिने ‘बिम्ब’ अनि अङ्ग्रेजी भनिने गरेको Image वा Imagery शब्दले साहित्यमा पारिभाषिक रअर्थबहन गरेको छ र यसले ‘काव्यबिम्ब’ वा ‘Poetic Image’ शब्द वहन गर्छ । पूर्वीय साहित्यमा ‘बिम्ब’ शब्दको प्रयोग जताततै गरिएको पाइएता पनि कुनै साहित्यिक सिद्धान्त, वाद वा मान्यता, वाद वा सम्प्रदायका रुपमा प्रतिष्ठापन गरेको पाइँदैन न ता विकास भएको नै पाइन्छ । अङ्ग्रेजी साहित्यमा प्रयोग गरिने Image नै वर्तमान प्रचलित बिम्ब वा काव्यबिम्ब हो ।
कवि मञ्जुला तामाङ सुब्बाः बिम्बसंयोजन –
”ईजा- अर्घ्य”-मा समाविष्ट कविताहरूमा बिम्बसंयोजन भरमार पाइन्छ ।
”मेरो अर्घ्यस्वरुप
मेरो आर्तनाद कवितामा
तिम्रो कोमल हातले स्पर्श गरिदिनू । (ईजा -अर्घ्य)
कवितांशमा प्रयुक्त सबै पदपदावालीहरु कविको पीड़ा रुमलिरहेको छ । एउटा आह्वान छ…स्पर्शको। कवितामा आर्तनाद कविको आफ्नै आर्तनाद हो । ईजाप्रति स्मृतिजन्य संवेदनाहरूको प्रस्तुति छ । मातृस्नेह र वात्सल्यभाव अभिसिञ्चित यस पदावलीमा एउटा हार्दिक मातृवात्सल्य अभिव्यञ्जित भएको पाइन्छ । ”तिम्रो कोमल हातले स्पर्श गरिदिनू” मा स्पृश्य बिम्ब सोझो रुप प्रष्फुटित भएको छ।
”अभागी हामी वास्तविकतामा झस्किँदा
तिम्रा सुवासनाहरू मगमगाइरहेका छन् घरका कुनाकुनामा
तिम्रै आभाषहरू अनुभव गर्दछौं हाम्रा धड़कनहरूमा । (वाचा तिमीलाई)
कवितांशमा घरका कुनाकाप्चामा मगमग आइरहेको सुवासना कवि ईजाका आभासहरू अनुभव गर्छिन् । अप्राप्तिका निराशजन्य भावमा यहाँ घ्राणसंवेद्य बिम्ब प्रकट भएको पाइन्छ ।
”ती दुइ काँधहरूमा दिव्य
ज्योति जलिरहेका देख्दथें
भद्र पुरुष हजूर
कर्कश आवाज कस्ता थिए
सुन्न पाइनँ ।
पिताको मिठो म्वाइँ सिवाय
मेरा लाखौं गल्तीहरूमा पनि
कुटाइको बोध छैन । (आकाश झर्दा)
पितृवियोगमा छटपटिएकी कविको विह्वल यस पदावलीमा पोखिएको पाइन्छ । ‘कर्कश आवाज’ कर्णसंवेद्य बिम्बको लक्षण हो । शाब्दिक चमत्कारको माध्यमले शब्द वा श्रव्य बिम्ब वा कर्णसंवेद्य बिम्बका रुपमा आएका छन् । ”मिठो म्वाइँ” मा स्पर्श्य बिम्ब र ”कुटाइको बोध”ले दृश्य वा चाक्षुसबिम्ब वा चक्षुसंवेद्य बिम्ब सङ्केत गरेको पाइन्छ । बालककालको स्मरणले कविलाई विह्वल बनाएको मार्मिक र मिठाइलो कविता हो ‘जाऊँ बालापनतिर’ । यस कविताले कवितालाई मात्र होइन कविता प़ढ़्ने जत्ति सबैलाई विह्वल नबनाई छोड़्ने होइन । कवितामा ढुकुमुकु ढुकुमुकु, भोटे कुकर उम्क्यो, चीं मुसी चीं, मलाई टाउको तिमीलाई पुच्छर, चोर पुलिस (डुगारा), अम्बल डम्बल, एस्प्रेस, इञ्चु मिञ्चु, एति एति पानी घेघेरानी, ब्यारिङ गाड़ी, पाइप र झीर, स्किप शब्दहरूले स्मृति बिम्ब सँगसँगै शिशु बिम्बको प्रतिनिधित्व गरेको पाइन्छ । समकालीन कविताहरूमा शिशुबिम्बले वास पाएको त्यति नदेखिए पनि कवि मञ्जुलाको यस कवितामा शिशुबिम्ब स्मृतिबिम्बका रुपमा समेत आएको देखिन्छ ः
“आऊ साथी आऊ हरियो चउरमा खेल्न जाऊँ
कालीगेड़ी, कुकुरदाइने, ठोट्ने, ऐंसेलु मखभरि चबाऊँ
धाराको पानी ‘धिरी’-बाट अँजुली थापी तिर्खा मेटाऊँ
दगुर दगुर कुहिरो म पछिपछि आउँला
………………………………………….
……………………………………………
आमाको झटारो लट्ठी र चिम्टा, खुट्टामा बजारिँदा
लङ्गड़ो हुँदै उनीलाई नै गिजाउँदै भन्नु फेरि
‘बाङ्गी बाङ्गी खुट्टीले सिन्की खाँदौलाट
थाङ्ना भोटो नदेऊ बज्यै नाङ्गै नाचौंला ।” (जाऊँ बालापनतिर)
बाल-बालिकाको बाल चरित्रको स्वाभाविक चित्रण, बालक्रीड़ा, कार्यव्यापार, उपद्र्याइँ, छलछद्म आदि सन्दर्भहरू यस कविता काव्यबिम्बमा प्रस्तुत भएर शिशुबिम्बमा परिणत भएको पाइन्छ ।
कवि मञ्जुलाको कवितामा रस –
रस सिद्धान्तका प्रणेत आचार्य भरतमुनि (२०० ई.पू.) हुन् । उनले भनेका छन्, ”विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पति” अर्थात् विभाव, अनुभाव र व्यभिचारी भाव (स्थायीभाव)को संयोगले रस निष्पत्ति हुँदछ । ‘निष्पत्ति’ शब्द सर्वप्रथम आचार्य भरतमुनि रस सुत्रमा गरेको पाइन्छ । रसको शाब्दिक अर्थ हुन्छ ‘आनन्द’ । काव्य पढ़्दा वा सुन्दा जुन आनन्दानुभूति हुन्छ त्यसलाई ‘रस’ भन्दछन् । रस (झोल) बिना भोजन खल्लो, बेस्वादिलो हुन्छ । ‘रस्यते आस्वाद्यते इति रसः’ अर्थात् जसलाई आस्वाद गर्न सकिन्छ त्यही रस हो । साहित्यमा रस यसै दोस्रो अर्थ- काव्यास्वाद अथवा काव्यानन्द अन्तर्गत पर्दछ । साहित्यिक आनन्दको नाम नै नै रस हो । साहित्य दर्पणकार विश्वनाथले स्पष्टै भनेका छन् – ”रसात्मकं वाक्यं काव्यम्’ अर्थात् रस नै काव्यको आत्मा हो । काव्यप्रकाशमा मम्मटले भनेका छन्, ”आलम्बनविभावले उत्प्रेरित, व्यभिचारी भावहरूबाट परिपुष्ट तथा अनुभावद्वारा व्यक्त हृदयको ‘स्थायी भाव’ नै रसको द्योतक हो । रस नौ प्रकारका हुन्छन् – श्रङ्गार रस (रति). हास्य रस (हास), करुण रस (शोक), रौद्र रस (क्रोध), भयानक रस (भय), वीभत्स रस (घृणा, जुजुप्सा) र अद्भुत रस (आश्चर्य ) ।
प्रस्तुत ”’इजा अर्घ्य’ काव्यकृतिमा करुण, रौद्र, भयानक रस, वीभत्स रस, वीररसको सङ्गम पाइन्छ ।
करुण रस – तिमी छैनौ नि त शून्यतामा कति खोजूँ ?
कतै छैनौ तिमी मुटुभित्र कति राखूँ ? (स्नेही इजा !)
बेचियो मुद्दा हराए झुत्ता अस्तित्व जातिको ।
यसरी कथा लेखियो अब जेलमा स्वयमको ।। (कारावास)
रौद्र रस – खोसेर राख लुटेर सजाऊ
अस्थायी तिम्रा निराशाका महलहरू (उड़ान)
भयानक रस – शक्ति – महाशक्तिहरू
विश्व शान्तिका
ब्यानरपछिल्तिर
अणु, परमाणु, जैविक हतियारहरूको
फर्मुला व्यापार गर्दछन् । (विश्व शान्ति)
वीभत्स रस – दुगर्गन्धहरू शरीरभरि टाँसेर
समाजदेखि टाढ़ा बस्छु । (पोड़े)
वीररस – आउला है विद्रोही भूकम्प सर्वनाश हुने गरी
छातीभित्रको वेदना निस्केला अग्निज्वाला सरी । (नारी दिवस)
उपसंहार –
साहित्यस्रष्ट्राको काम हुन्छ साहित्य सिर्जना गर्नु । यसोउसले साहित्यस्रष्टा सिर्जनाकै ध्याउन्नमा एउटै गोरेटो समातेर जीवनभरि साधनामा लिन हुन्छन् । यी सर्जकहरूभित्र विविध प्रतिभाको खानी हुन्छ भन्ने हामीले देखेका छौं, देखिरहेका छौं । साहित्यका विविध विधाहरू जस्तो, कविता, कथा, उपन्यास, निबन्ध वा प्रबन्ध, नाटकमा सराबरी कलम चलाउने र त्यसबारे चर्चा-परिचर्चा गर्ने सर्जकहरू नदेखिएको होइन । यस्ता स्रष्टा वा सर्जकहरूका सङ्ख्या होइन धेरै नै छन् । यसैकारण थुप्रै उपन्यास लेख्न उपन्यासकार कवि बनेका छन्, निबन्धकारहरूद्वारा पनि कविता लेख्नेहरू देखिएका छन् । यी सबै विषय कविता, कथा, निबन्ध, भूमिका सराबरी लेख्ने सर्जकहरूमध्ये घूम जोरबङ्लाकी उदीयमान एकजना साहित्यकार हुन् मञ्जुला तामाङ सुब्बा । विविध विषयमा लेखिएका यिनका कथा, निबन्ध तथा भूमिकाहरूभन्दा यिनका कविता सिर्जना नै सिरानमा रहेको देखिन्छ .। हेनतेन नभनेर यहाँ अङ्ग्रेजी साहित्यकार कवि, विद्वान समालोचक, दार्शनिक तथा धर्मवेत्ता सामुयेल ट्रेलर कोलेरिज (Samuel Taylor Cloleridge 1772-1834)-ले उनको निबन्ध सङ्ग्रह ‘Table Talk’ एक ठाउँ भनेका छन् – “Prose = words in their best order, – poetry = the best words in the best order”. कोलेरिजले स्पष्टरुपमा, पोयेट्रीलाई प्रोजभन्दा माथि राखेका छन् । कारण, यिनको भनाइ नै छ, “सबै कवि होइनन् । कोही कोही मात्र कवि हुन् ; कवि – किनभने तिनीहरूका हृदयमा कल्पना अनि कल्पनाभित्र भावना, अनुभूति तथा अनुभवको स्वतन्त्र अस्तित्व रहेको हुन्छ । यतिमात्र होइन, उनीहरूको हृदयमाझ विगतका धेरै पीर-मर्का, हर्ष-अमर्ष सँगसँगै आधुनिक (वर्तमान) जगतका नया-नयाँ काव्यविकिरणले यी सर्जकहरूलाई प्रत्यक्ष-अप्रत्यक्षमा रुपमा सिर्जनाको निम्ति हुटहुटी लाइरहेको हुन्छ । तर सबैको भाग्यमा यस्तो सहयोग वा सहायता जुर्दैन । जसको हृदयमा वाल्छ्याल कल्पना र कल्पनाभित्र अनूभूति र सोंच्ने शक्ति हुऩ्छ तिनीहरूलाई मात्र सहयोग वा उर्जा प्राप्त हुने गर्दछ । विभिन्न प्रकारका चराचरसित नङ-मासुझै सम्पर्क राखी उनीहरूले कविता सिर्जना गर्ने अवसर पाउँछन् ।” हृदयभित्र अतित था वर्तमानका भावना, अनुभूति, कल्पनालाई हृदयको मुठीमा कँज्याएर राखी कविता सिर्जना गर्ने कवि हुन् मञ्जुला तामाङ सुब्बा । उनका चारैतिर छरपष्टिएका अनुभूतिलाई बिटा पारी कविताको रुप दिई आफ्ना अनुभूतिहरूलाई सही निर्णय दिएकी पाइन्छ । जीवनका अपूर्ण इच्छाहरू, उकुसमुकुस भएर निस्सासिरहेका विद्रोहहरूले कवि मञ्जुलालाका कविताहरूलाई सशक्त, गम्भीर बनाएको देखिन्छ । उनको कवितामा व्यक्ति, आफू बसेको संसार र प्रकृतिलाई समेटी कविताको प्रतिमा तयार पारेकी देखिन्छ । प्रेम-अप्रेम, व्यङ्ग्य-विदोह, आक्रोशहरू मूर्त भएका कविताहरूले अवश्यै पनि पाठकको मन स्पर्श नगरी छोड़्दैन । थिको अनुभूति गज्जब पाइऩ्छ ।
कविताको कुनै निर्दिष्ट परिभाषा निश्चितरुपले पाउन नसकिए पनि कवितामा चित्रकारिता सँगसँगै व्यञ्जनाको गहिराइ पाइन्छ । शब्दमाथि शब्द सजाएर जुन चित्र कवि मञ्जुलाले तयार पार्छिन् ती चित्रकारिताले उनकै समाजमा दिन-रात भइरहने झैं-झगड़ा, हानाथाप, काटमारको मार्मिक छवि उतार्नमा सफल देखिन्छ । यी कविताहरूलाई पाठकले व्यक्तिगत अनुभूतिकै हुबहु चित्र अनुभूत गर्छन् ।
मञ्जुलाका कवितामा पिड़ाइलो अनुभूति, विषाद देखिने हुनाले यिनका कविताहरूलाई पाठकहरू आफ्नै पीड़ा, निजी विषाद अनुभव गर्छन् । यिनै पिड़ाइलो अनुभूति र विषादकै कारण यी कविताहरू साङ्केतिक रुपमा प्रस्तुत भएको पाइन्छ ।
मैले बुझें अनुसार र यिनका समग्र कवितामा घोत्ले बमोजिम कवि मञ्जुला तामाङ सुब्बा जीवनवादी कवि भएकीले जीवनको पक्षमा आशावादी भएर जीवनलाई प्रतिनिधित्व गरेको पाइन्छ। यस काव्यकृतिमा समाविष्ट अधिकांश कवितामा साझा पीड़ा, विद्रोह र आशा-निराशाका अभिव्यक्त भएको पाइन्छ । कवि युद्धमा वीरगति प्राप्त गर्ने शहीद, चाहे उनका वीरपुत्र सिमाना शहीद होस् वा उनकै घर अघि खैराते गोलीको शिकारले शहिद होओस्…ती सबै वार, आँटी आत्माप्रति श्रद्धानत् पनि देखिन्छिन् । आगामी दिनहरूमा यिनका कवितामा अझ व्यङ्ग्यात्मकता, गम्भीरता, गहनताका साथै निखारता आउने कुरामा म सोह्रै आना आश्वस्त र विश्वस्त छु ।
पुछारमा, कवि मञ्जुलाका कविताहरूका काव्यचेत र काव्यकला माथिल्लो स्तरको छ र त्यसभित्र राष्ट्रियता, प्रकृतिप्रेम, भाइचारा, मानवीयता, जनमुखी भाव, सामाजिक विद्रोह र सुधार, तीव्र व्यङ्ग्य, नाटकीयता र वैयक्तिक स्वतन्त्रताको सम्मान, मीठो कल्पनाशीलताजस्ता विशेषताहरू भेटिन्छन् । कवि मञ्जुलाको कवितामा सिङ्गो जीवन बल्छ ऱ यसको व्यापकतामा जीवन्त भई बस्छ । भारतीय नेपाली काव्य साहित्यमा इजा अर्घ्य थपिदिएर बिर्सिनै नसकिने गुण लाउऩे कवि मञ्जुला तामाङ सुब्बाकन बधाई भक्कुचूर ।
सिद्धिर्भवतुः ।
कृतिको नाम – इजा अर्ध्य
कृतिकार – मञ्जुला तामङ सुब्बा
विधा काव्य
प्रकाशक इजा प्रकाशनका पक्षमा
गोर्खा ज्योति प्रकाशन
मणिपुर ।
प्रकाशन मिति सन् २०२१ (वि. सं. २०७८)
कृतज्ञता स्वीकार –
१ Barnet, Sylvan and Others, An Introduction to Literature, 2nd Edition (Boston : Little, Brown and Company, 1963) pp 441)
२ R.A. Scott-James –Some Principles of Criticism Examined in the light of Ancient and Modern Theory.
३ Attridge, D. Poetic Rhythm : An introduction, Cambridge : Cambridge University Press, 1995.
४ Bouissac, Paul, ed., Encyclopedia of Semiotics, Oxford : Oxford University Press, 1998.
५ Buchbinder, David, Contemporary Literary Theory and the Reading of Poetry, London : Macmillan Company Ltd. 1991.
६ Widdowson, H. G., Practical Stylistics : an approach to poetry, Oxford : Longman Group Limited, 1986.
९ Richards, I.A. The Imagination, Literary Criticism, (Delhi : Oxford University Press, 1996 AD.)
१० डा. नगेन्द्र, काव्यबिम्ब, नेशनल पब्लिसिङ हाउस, दिल्ली, सन् १९८० ।
११ डा. बिमल कुमार, बिम्बविधान, छायावाद (दिल्ली : साहित्य सहकार, सन् १९८४ ।
१२ एम. ए. प्रा. वासुदेव, काव्य में बिम्बविधान, (दिल्ली : साहित्य सहकार, सन् १९९०) ।
१३ बराल, ईश्वर, सम्पा. मोहन कोइरालाका कविता, काठमाण्डौं : साझा प्रकाशन, दोस्रो संस्करण.. २०४८ (सन् १९९१) ।
१४ कोइराला, मोहन, सम्पा., आजका नेपाली कविता, काठमाण्डौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५० (सन् १९९३) ।
१६ डा. केदारनाथ सिंह, आधुनिक हिन्दी कवितामा बिम्बविधान : (दिल्ली : साधाकृष्ण प्रकाशन, (सन् १९८४) ।
१७ सिंह, केदारनाथ, आधुनिक हिंदी कविता में बिम्बविधान, नई दिल्ली : वाणी प्रकाशन, सन् १९९६ ।
१८ गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण : साझा प्रकाशन, दोस्रो संस्करण.. २०६० (सन् २००३) ।
२० राई, असीत, भारतीय नेपाली साहित्यको इतिहास : साझा पुस्तक प्रकाशन, दार्जिलिङ सन् २००४ ।
लेखक परिचय
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com
सरको समीक्षा पढेर मञ्जुलाज्युको कवितालाई बुझ्ने अवसर पाए । दार्जिलिङ्गे कविता, लेखन परिवेश र सामेक्षता, मञ्जुलाको कवि चेर र वर्तमान परिपेक्षमा समग्र कविता कृतिलाई बुझ्न सहज हुनेछ यो लेख । धन्यवाद सर यति मिठो, रसिलो, गुणिलो र गहकियो समीक्षाको निम्ति । भक्कुचुर बधाई