१
मन थाम्दै सियो टेकेँ,कहाँ ऐया भयो !
यत्ति देखेदेखि मेरो दुश्मन टाढा भयो
अर्को साल कतै फल लाग्थ्यो कि !
काटिसकेर पो रुखको हेक्का भयो
फेरि भिडमै अलमलिँदै हिँड्नु पर्ला
म थाकिहालेँ जब बाटो खुला भयो
सपनाहरू फालूँला तिम्ले देखाएका
ढुक्क हौ, चश्मा नफाल्ने वाचा भयो
अब कम्तीमा कुरा काटेर हिँड्दैन
बोल्न छोडेपछि साथी सच्चा भयो ।
२
नदेखेको हाम्रो नाङ्गोपना र भोक होला ,
प्रभुभित्र आँखा बाहेक सबथोक होला
कोही काँचा आँपले मलाई हिर्काइरहेछ
अहो,यो बोटमुनि अडेस लाग्न रोक होला
यै सोची भोको बस्तीमा यौटा रोटी पठाइएछ
-रोटी खान मान्छेहरूको टोकाटोक होला
बाहिर- भित्र गराउने सम्म कोही छैन घरमा
सरकार!सहिदकी आमाको कति बिजोक होला?
उसले अन्धकारमै यात्रा थालेको हुनुपर्छ
भन्दैछ -जहाँ जाँदैछु त्यहाँ आलोक होला ।
लेखक परिचय
कक्षा एघारमा अध्ययनरत सिटौला निकै सशक्त र प्रिय गजलकार मानिन्छन्।