त्यो पाठेघर नै हो
तिम्रो जीवनको पहिलो घर
त्यो योनी नै हो
तिमी धर्तीसम्म पुग्ने पहिलो बाटो
तिनै स्तन चुसेर हौ
तिमी एक हृस्टपुष्ट जवान भएको
तिमी ठूलो भयौ हुर्क्यौ, सबै बिर्स्यौ
जिन्दगीको पहिलो घर
जिन्दगीको पहिलो बाटो
जिन्दगीको पहिलो भोजन
र त चिथोरी दियौ
आफ्नै जिन्दगीका आधार।
ए! पुरुष मान्छे!
कुनै स्त्रीमाथि हिंसाको नजर डुलाउनु पुर्व
तिम्रो आँखाअघि
तिम्री आमाको अनुहार घुम्दैन?
तिम्री बहिनीको अनुहार डुल्दैन?
तिम्री श्रीमतीको जवानी आउँदैन?
एकचोटि पनि सोच्न सक्दैनौ?
एकचोटि पनि सम्झिन सक्दैनौ
आफ्नो सृष्टिकर्ताको अनुहार?
के महिलाले अब
स्तन काटेर बाँच्न पर्ने हो?
योनी सिलाएर जिउन पर्ने हो,
आफ्नो जीवन जोगाउन?
होइन भने
किन हरेक दिन बलात्कारपछि
बीभत्स हत्या भै रहेछ
किन कलिला मुना निमोठी रहेछौ?
जवाफ देउ!
एक पटक सोच त
कुनै दिन तिनै योनी
सन्तान उत्पादन नगर्ने हड्तालमा उत्रिए भने
कुनै दिन तिनै स्तन
हामी अब दूध चुसाउदैनौँ भनेर जागे भने
के तिम्रो यो हिंसाको रणभूमि उर्वर होला त?
के यो सृष्टिले मानवीय अनुहार भेट्टाउला त?
तिमी सच्चिएनौ भने
तिम्रो बलात्कारको साम्राज्य ढल्नेछ
यो मानवीय सृष्टिसँगै।
लेखक परिचय
रियल तेज नेपाली साहित्यको युवा पुस्ताहरूमा खरो रुपमा उत्रिएको नाम हो । उनी विशेषगरी कविता विद्यामा कलम चलाउँने गर्दछन् । पुटकर रुपमा उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।