बर्षौँको अन्तरालपछि
हामी त्यसरी नै भेटिएका छौँ
जसरी बर्षौँ पहिले
हामी पहिलो पटक भेटिएका थियौँ।
त्यतिबेला पनि अन्जान-अन्जान थियौँ
अहिले पनि अन्जान-अन्जान जस्तै भएका छौँ।
धेरै कुराहरू पहिले जस्ता रहेनछन्
धेरै कुराहरू पहिले जस्ता नै रहेछन्
हाम्रो गालाहरू चाउरी परेछन्।
तर हामी भेट्दा
हाम्रो गालाहरूमा छाउने उमङ्ग,
अझै उस्तै रहेछ।
हाम्रा आँखाहरू कम्जोर भएछन्
तर हामी एक अर्कालाई देख्दा,
हाम्रो आँखाहरूमा छाउने चमक
अझै उस्तै रहेछ।
पहिले जस्तो रहेनछ
हामी हात समाएर सँगै हिँड्ने त्यो बाटो
पहिले जस्तो रहेनछ
हामीले घण्टौँ समय सँगै बिताउने त्यो चौतारी
तर पहिले जस्तै रहेछ
बाटोहरूमा हात समाएर
सँगै हिँड्ने हाम्रो चाहत
पहिले जस्तै रहेछ
चौतारीमा घण्टौँ समय सँगै बिताउने
हाम्रो रहर।
बर्षौँको अन्तराल पछि हामी त्यसरी नै भेटिएका छौँ
जसरी वर्षौँ पहिले हामी पहिलो पटक भेटिएका थियौँ।
बर्षौँको अन्तराल पछि भेट्दा
हाम्रो दाँतहरू उस्तै नरहे पनि
हाम्रो ओठहरू उस्तै नहरे पनि
एक अर्कालाई देखेपछि
हामी बाट फुत्किने मन्द मुस्कान उस्तै रहेछ।
हाम्रो स्वर पहिले जस्तै सुरीलो, मिठो नरहे पनि
एक अर्काको नाम लिँदा
उतिकै प्यारो लाग्दो रहेछ।
हाम्रो हात र खुट्टाहरू थरथरी काँप्ने भएछन्
तर मेरै लागि भनेर गलबन्दी बुन्ने तागत
तिमीमा उस्तै रहेछ।
तिम्रै लागि भनेर मत्रो किन्न फेदेन झर्ने तागत
ममा उस्तै रहेछ।
समयको बहावमा बगेर तिमी काबेली भयौ
म तमोर भएँ
तर बर्षौँको अन्तराल पछि
हामी त्यसरी नै भेटिएका छौँ
जसरी बर्षौँ पहिले,
हामी पहिलो पटक भेटेका थियौँ।
फरक त यति मात्रै हो कि
त्यतिबेला हाम्रो जिन्दगी
समयको आकाशमा पूर्वतिर थियो।
अहिले हाम्रो जिन्दगी
समयको आकाशमा पश्चिमतिर छ।
र यतिबेला हामी दुवैले महशुस गरिरहेका छौँ
गुमाएर पनि केही पाएजस्तो।
पाएर पनि केही गुमाएँजस्तो
बर्षौँको अन्तराल पछि…….
लेखक परिचय
मोरङ जिल्लामा जन्मनु भएका प्रदिप योङ्हाङ लिम्बु समकालीन नेपाली साहित्यका एक सशक्त कविको रुपमा चिनिनु हुन्छ। हाल बि. एड. दोस्रो बर्षमा अध्ययनरत योङ्हाङको संयुक्त कृति उज्यालोका मालिहरु, २०७६ प्रकाशित भइसकेको छ भने फुट्कर कविताहरु विभिन्न पत्रपत्रिकाहरु मार्फत प्रकाशित भएका छन् ।