बाँसको थाङ्ग्रामा
सिमीका लहरा बेरिए झैँ
हाम्रो साइनोहरू बेरिएर
हौ दाहालनी साइँली!
तिमी र म त कहिले—कहिले
सोल्टी सोल्टिनी पो भैसकेछौँ !
भित्तामा टाँसेको माटोजस्तो
थेप्चो नाक, चिम्से आँखा
डल्ले डल्ले अकबरे…
यस्तैयस्तै भन्दै तिमी मलाई जिस्काइरहन्थ्यौ,
म पनि तिमीलाई
काली बाहुनी, नाक चुच्ची,…
यस्तैयस्तै भनेर जिस्काइरहन्थेँ,
कम्ती रमाइलो थिएन
हाम्रो त्यो गोठाला जाँदाको उन्मुक्त समयहरू !
तिम्रो ओठको कुनाबाट
हरदम बगिरहने नीलो तमोर
भेटैपिच्छे मलाई आदिम लिम्बुनी स्पर्श गरेर जान्थ्यो ।
तर एकदिन भदौरे घाममा
एउटै गोगनपातले दोभानको पानी खाँदै गर्दा
अचानक !
कुश खोज्न आएको तिम्रो बाबुले देखेपछि,
खोई किन हो सोल्टिनी
भोलि पल्टदेखि तिमी गोठाला आउनै छोड्यौ
मन सारै बिरक्तियो,
कैयौँ दिन एक्लैएक्लै बजाइरहेँ—बिरहको बाँसुरी ।
खोजिरहेँ बगरभरिभरि
मेटिन बाँकी तिम्रा पैतालाका डोबहरू
खोपिरहेँ हाँगाभरी तिम्रो नाम
आएर हेर्नु कुनै दिन
दोभान छेउको जमुनाको रुखमा
यसरी हाम्रो प्रेमको
दुखद अवसानपछि
खै ! तिमी कहाँ गयौ—गयौ
म भने लागे बाध्यताको परदेश
यो बगरैबगरको जङ्गलमा
तातो वाफको निसासिँदो आकाशभित्र
हर क्षण बिरामी बाँचेर पनि
सम्झ त, सोल्टिनी !
कसरी सकुशल बचाइरहेछु
छातीभित्र तिम्रो सम्झनाका फूलहरू
कतिकति साउने भेलहरूले
हिर्र्काएर गए होलान् त्यो दोभानको छाती
कतिकति बिजोडी ढुकुरहरू
जोडीजोडी धान नाचे होलान्
जमुनाको हाँगाभरि
त्यै बगरको बाटो हुँदै
कतिले शुरु गरे होलान्
जीवनको लामो यात्रा !
मलाई विश्वास छ सोल्टिनी
तिमी कुनै दिन—
विद्रोहको गुलाबी अनुहार बोकेर फर्कि आउनेछौ
उही गोठाला…
उहि दोभान…
त्यसबेला सुस्तरी बतासको भाका टिपेर हेर्नु
म फेरी पनि
त्यही कही जमुनाको हाँगाहरूमा
हाम्रो प्रेमको अमर
कथा खोपिरहेको हुनेछु
लेखक परिचय
सुन्दर कुरुप युवा पुस्तामा प्रभावशाली कविको रूपमा चिनिने गर्दछन् । विशेष गरी उनी कविता तथा गजल विधामा कलम चलाउने गर्दछन् । पृथ्वीको आविष्कार कविता संग्रह उनको प्रकाशित कृती हो ।