काख
टुहुरो बालकलाई
जबजब आमाको काखको याद आउँछ,
तबतब धमिलो सम्झनालाई सिरानी बनाएर,
जमिनमा पल्टिन्छ।
तर हरेक पटक उसलाई,
सिङ्गो जमिन पनि साँघुरो लाग्छ।
सिमाना
हामी सिमानाको लागि लडिरहेका थियौँ,
मैले उसको छातीमा प्रहार गरेँ
र युद्ध जितेँ,
तर अहँ!
पृथ्वीको क्षेत्रफल एक ईञ्च पनि बढेन।
लेखक परिचय
मोरङ जिल्लामा जन्मनु भएका प्रदिप योङ्हाङ लिम्बु समकालीन नेपाली साहित्यका एक सशक्त कविको रुपमा चिनिनु हुन्छ। हाल बि. एड. दोस्रो बर्षमा अध्ययनरत योङ्हाङको संयुक्त कृति उज्यालोका मालिहरु, २०७६ प्रकाशित भइसकेको छ भने फुट्कर कविताहरु विभिन्न पत्रपत्रिकाहरु मार्फत प्रकाशित भएका छन् ।