एउटा उदात्त सेवक विहिन देश
आफ्नो पहिचान रक्षाकाे लागि
संघर्षरत यात्रामा लम्केको छ,
यहाँ गणतन्त्र यमराजको वाहन झैं
भोका पेेेटहरूको जुलुसमा नारिएर
नाङ्गो सडकमा दौडिरहेको छ,
आफ्नो स्वतन्त्र अस्तित्वको किल्ला खडा गर्न
लोकतन्त्रवादीहरू आफ्नो स्वार्थको श्लोक भट्याउन
तथा सत्ता र स्वामित्वको रसपान गर्न
आतुर रहेको बेला
आवाजविहिन निरिहहरू
सतहमाथि कमजोर खुट्टाहरू टेकेर
एक टुक्रा रोटिको लागि हस्ताक्षर बटुलिरहेछन्
तर छानामाथि छरिएका सुर्यका किरणहरू
भ्रष्ट गनाउने छायाँ र अखबारहरू वाधक बनेका छन् अस्तित्व बचाउन गुञ्जिएका
परिवर्तनशिल आवाजहरू
छिमेकीसंँग आमाको रक्षार्थ पहिचानको आन्दोलनमा
निलाडामहरूसँग रक्तरञ्जित बनेको छ!
यसरी अस्तित्वको गाथा डुब्न लाग्दा
उडाइएका प्रतीकहरू नियाल्न नपाउंँदै
दृष्टिभ्रममा परेका छन्
त्यसैले यहाँ बुद्धको मुहार मलिन छ
र स्वाभिमानको शिर निहुरिएको छ!
हिजो आलो रगतमा डुबेका घाउहरू
भोका पेटहरु र खोसिएका खुशिहरू
अभावको आगोले जलाई रहँदा
तर अझै वाचिरहेका छन् आशाका ज्योतिहरू
र सप्रेम समर्पित गरिरहेका छन्
प्रिय जीवन भोगाइहरूलाई
चिम्लिएका आखाँहरू
तर्सिएका मनहरू
र उच्च आलापमा चिच्याइएका आवाजहरू
एक साथ गुञ्जिरहेछन्
गुहार !गुहार !!गुहार!!!
लेखक परिचय
कवि अग्नी दहाल विशेष गरी कविता तथा गजल विधामा कलम चलाउने गर्दछन् । उनी लेखनको अलवा शिक्षण पेशामा समेत संलग्न छन् ।