खुर्पे घाम/जून हेर्न
आकाशलाई उतार्थ्यौ ठू…लो बटुकामा
भरिदै गएपछि घाम/जून
आकाशलाई बोकेर आँगनमा मिल्काउँथेऊ
आँगनमै
बर्षिन्थ्यो बादल
आँगनमै
चिच्याउथ्यो चट्याङ्ग बर्षायाममा,
कर्कलाको पातको एक जोर छाता आँगनमै थन्काँउँथेऊ
एक अंश बाल्यकाल
त्यहि चिप्लिएर लडेको थियो
केही थोपा निर्दोष समय त्यही हिलाम्मे भएको छ
त्यही एक कुनामा छुटेको छ तिम्रो हत्केला
आमाले लतार्दै लैजादा मतर्फ बढेको,
तिमी छुट्टिपछि पनि त्यही रूझिबसेथेँ म
हेर्दै बसेथेँ-
भिजेर पनि तैरिरहेका
तिमीले बनाएका कागजका दुई डुङ्गाहरू !
पानीले भिजेर
बिरामी परेकी थियौँ अरे,
त्यसपछि तिमीलाई कहिल्यै देखिन स्कूलमा,
छुट्टिएका ती अौलाहरू
अहिले पनि खोज्छु-
भीड/पार्क/सडक/सुनसानहरूमा,
तर त्यो कुनै अनाम आमाले तान्दै पुर्याएको ठेगाना
मैले अझै जान्न सकेको छैन !
लेखक परिचय
मनोज बिश्वकर्मा अहिलेको समयका शक्तिशाली कवि हुन् । उनका कवितामा समयको चेत बेजोड रुपमा पाइन्छ । कवि बिश्वकर्माले साताको साहित्य पुरस्कार समेत प्रप्त गरिसकेका छन् ।