गजल १
पहिला दोस्ती पक्का बनाउनुछ रुपियाँसँग
र त्यसपछि बाजी खेल्नुछ, यो दुनियासँग
जिन्दगी बन्दुक हो चाहेको बेला पट्काइदिन्छन्
विश्वास गरेर सँगत गर्नुहुन्न यस्ता घटियासँग
तिमी गोली बनिदेउ म पनि बन्दुक बनिदिउँला
बरु यसरी बदला लिन सकिन्छ माफियासँग
पागल जस्तो, हावा जस्तो भन्यौ ठिकै छ अरु केके मिल्छ भनिदेउन यो हुलियासँग
पिउँन खोज्दा पनि यो मुखमा पोलिदिन्छ
अरे यार खै के दुश्मनी रहेछ त्यो चियासँग
म मुस्कुराउँछु एउटा तस्वीर खिचिदिनुस् न
हाँसेको तस्बिर घरमा पठाउनुछ भरियासँग
आज दुश्मनसँग मिलेर ऊ काट्न आयो
दुश्मनी त छैन जस्तो लाग्थ्यो हसियासँग
गजल २
बरु एक टुक्रा काटेर लैजानुस् पुरै लिन मिल्दैन
यो आमा बसेको मुटु हो अरुलाई दिन मिल्दैन
छोराले सम्झेन कि भनेर दु:ख नमान्नुस आमा
भगवानभन्दा धेरै तिमीलाई सम्झिन मिल्दैन
तिमीलाई जलाउनेहरूलाई पनि जलाएर जाउ
ए जिन्दगी ! पर्ख न यसरी जलेर सकिन मिल्दैन
बिचरा खुट्टा नहुनेहरू पनि कसरी हिँड्न सकुन्
जाबो यो दिल टुट्दा त एकछिन उभिन मिल्दैन
आउनुस् दुईचार वटा गाग्री आँसु भरेर लैजानुस्
आँखामा समुन्द्र भएपनि समुन्द्रले रित्तिन मिल्दैन
गजल ३
आँखा रोज्नु हुन्छ, कि आँखाको नानी के रोज्नुहुन्छ ?
रोज्नुस् रोज्न मिल्छ मृत्यु र जिन्दगानी के रोज्नुहुन्छ ?
अरे यार ! चितामा बसेर प्यास लाग्यो भन्नुहुन्छ तपाई,
दुईटामा एउटा रोज्नुस् आगो वा पानी के रोज्नुहुन्छ ?
बाबु, एउटा कुरा भन्नुस् न बरु नयाँ गुडिया किनिदिन्छु,
तपाई ठूलो भएपछि बाआमा, महारानी के रोज्नुहुन्छ ?
तपाईलाई कुन्नी, यो सरकारले कहिल्यै सोधेन मलाई,
ए! नेपाली भाइ भन्नुस् गाउँ, राजधानी के रोज्नुहुन्छ ?
लेखक परिचय
रारा साहित्य प्रतिष्ठानका महासचिव निर्दोष क्षेत्री 'अतीत' विशेषगरी गजल लेख्छन् । उनको निर्दोषका अतीत गजल संग्रह प्रकाशित छ ।