छिनमै कालो, छिनमै सेतो
कहिले रातो, कहिले निलो
एकै छिनमा रंगिचंगी बन्छ,
घरीघरी बदलिरहन्छ पत्त्याउनै नसकिने गरी
मान्छेहरूको रङ ।
यसरी मान्छेहरूले,
भटाभट रङ फेर्ने थालेपछि
आफू बाँचेको बिरासत लाज पचाएरै खोसिदिएपछि
छेपारोले लेखेछ सुसाइड नोट
र गरेछ आत्महत्या ।
लेखेछ–
“म भन्दा बढी रङ मान्छेहरूले फेर्न थाले
अब म बाँच्नुको के अर्थ ?”
म सोचिरहेको छु,
छेपारो जस्तै कति जीवहरूले लेखे होलान् सुसाइड नोट !!!
मान्छेहरूसँग प्रतिस्पर्धा गर्न नसकेर
कतिले गरे होलान् आत्माहत्या ?
लेखक परिचय
इलाम जिल्लाको माङ्सेबुङका तुम्बापो व्यक्तिगत भोगाइ र समसामयिक विषयबस्तुको उठान गरी सरल ढंगले प्रस्तुत गर्न माहिर लेखक हुन् । पेशाले शिक्षक उनी लेखनमा समयको चेतलाई केलाउँदै त्यसलाई कलात्मक ढंगले प्रस्तुत गर्न सक्षम देखिन्छन् ।