१.
टाढा टाढाको हुन्छ मन्जिल, दुखी हाल्छ
परेर आउँछ बहुत मुस्किल, दुखी हाल्छ
दिनेले त अनेकौँ चोटहरु दिएका हुन्छन्
पत्थरले बनेको होइन दिल, दुखी हाल्छ।
२.
पसि दिन्छ छातिमा किरा, बेला बेलामा
पारी दिन्छ अनौठो चिरा, बेला बेलामा
दिलमा भएका तिम्रा यादहरुलाई भुल्न
पिउन थालेको हुँ मदिरा, बेला बेलामा।
३.
हिम्मत जुटाएर काम गर्नु, भनेकै हो
मुर्खका नजिक नसर्नु, भनेकै हो
बाबाले उपदेश दिए सफल हुनलाई
तरुनिको चक्करमा नपर्नु भनेकै हो।
४.
राखी दिन्छन् सबै अधुरा, काटी हाल्छन्
बन्न दिँदैनन् आकार पूरा, काटी हाल्छन्
सानोतिनो गल्ति हुन्छ, भुल भएका बेला
समाजका मान्छे न हुन्, कुरा काटी हाल्छन्।
५.
यो कस्तो अनौठो व्यथा छातिमा हुन्छ?
न त राहत मिल्छ न कुनै बिमा हुन्छ
घरिघरि सधैँभरि दुख्न थाल्छ यो दिल
न कुनै समय हुन्छ न त सिमा हुन्छ।
लेखक परिचय
मुक्तक लेखनमा सक्रिय काशिराम रिमाल एक सशक्त नव प्रतिभा मानिन्छन्। लेखनमा सरलता र मौलिकता उनका मुख्य विशेषता रहेका छन्।