सायद, मान्छेलाई दास बनाउन
सामन्तहरूले घडी बनाए
अखण्डित समयको गतिलाई
एउटा सानो वृत्तभित्र कुण्ठित गरेर
घण्टा, मिनेट र सेकण्डहरूमा विभाजन गरे ।
घडीका काँटाहरूको घुमाइसँगै
पियरेका प्रयोगशालाका कीरा जस्तै
मान्छेहरू फनफनी घुम्न थाले
प्रकृत्तिको अविभाजित समय बाँच्ने
स्वतन्त्र जीवन कहाँ छ र ?
अचेल मान्छेसँग ।
मेरै घरको भित्तामा टाँसिएर
मैमाथि अघोषित शासन गरिरहेछ, घडी
घर, कार्यालय, बाटो र बजार
हेरक ठाउँमा म उसको निगरानी भित्र छु
ऊ मलाई राति सुताउँछ
विहान जुरूक्क उठाउँछ
र दिनभर यता–उता कुदाउँछ ।
ऊ मलाई
लाओत्सुको जस्तो शान्त र हतारोरहित
जीवन बाँच्न दिँदैन
अचेल म अन्योलमा छु
घडी मेरो हो
वा म घडीको हुँ
लाग्छ, मैले बाँधेको होइन रहेछ घडी
बरू उसैले बाँधिरहेछ, मलाई
र कुण्ठित गरिरहेछ मेरो स्वतन्त्रता ।
ऊ मेरो नाडीमाथि टाँसिएर
निरन्तर सुनिरहेछ
मेरो हृदयको भित्री आवाज
र नापी रहेछ, मेरो जीवनको लम्बाइ
राति म निदाएको बेला पनि
डुहुरे मुसाले कपडा काटे जस्तै
कुटुकुटु काटेर टुक्राइरहेछ
मेरो सिङ्गो आयु
घण्टा, मिनेट र सेकेण्डहरूमा
घण्टा, मिनेट र सेकेण्डहरूमा ।
लेखक परिचय
कवि न्यौपाने साहित्य सिर्जनाका साथसाथै महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा प्रध्यापन समेत गर्नु हुन्छ । उहाँको गमलाको पिपल नामक कविता संग्रह प्रकाशित छ ।