घाम- न कसैको पोल्टाबाट झुल्किन्छ,
न त अस्ताउँछ- कसैको पोल्टामै।
केही अराजक बादलहरूसँग मिलेर,
छोप्ने दुस्साहस गर्यौ- उज्यालो मुहान
बुझेनौं- जो अत्यन्तै घातक छ।
कुनै बेला-
चलाखी बिज्ञानको काँध-काँध टेकेर आकाशमा उक्लियौ
हेक्का रहोस्-
कोही आकाश पुग्दैमा- आफू पूर्ण आकाश बनेको हुँदैन।
पानी जमीन मै मात्र हुन्छ-
अहिलेसम्म तिमीले पिउने स्वच्छ पानी कहाँबाट पाएको हो?
प्यास मेटिरहेछौ नि!
हरेक चिज उम्रन धर्ती नै चाहिन्छ,
अब भन तिमी कहाँबाट उम्रिएर आयौ?
यदि पैताला नै कसैसँग छ भने- टेक्ने ठाउँ धर्ती हो
अब भन तिमी!
तिम्रो हिँड्ने पैताला छ कि उड्ने प्वाँख?
थाहा छ? बाटो छोडेर कहाँ हिँडिरहेछौ तिमी?
यदि तिमीले जस्तै-
यी रगतहरूले मुटुको बाटो छोडेर हिँड्यो भने नि!
के होला? शरीरको हालत।
इतिहासमा- हिटलरको कहानी खुब पढेछौ
तर बुझेरै हो कि नबुझेर हो
यो साझा माटोमा हिटलर जन्मायौ।
बुद्ध जन्मिएको माटोमा-
हिटलर जन्माएर जीवनकै ठूलो भूल गर्यौ।
अब तिमीले पिउँदै आएको यी तलका पानीहरू
सडक सडकमा धमिलिएर भेल बन्नेछन् तिम्रो विरुद्धमा।
यत्ति चाहिँ बुझ-
अब तिम्रो- न छातीले काम गर्छ न त मुटुले नै
हामी त्यो समय पर्खिरहेछौं कि-
अझै कति समय काम गर्ला तिम्रा मृगौलाहरूले!
लेखक परिचय
योञ्जन नेपाली सहित्य लेखनमा एक सशक्त प्रतिभाको रूपमा चिनिन्छन् । उनी विशेषगरी कविता विद्यामा कलम चलाउने गर्दछन् । फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।