हामीबीच एक टकराव थियो
तिमी, तिमी हुनुले टकराव थियो
म, म हुनुले टकराव थियो
हो, हामी बिच एक टकराव थियो!
उद्देश्य त एउटै थियो हाम्रो– जुन टेक्ने
सोच्थें, हिँड्ने बाटोमा टकराव थियो,
सोच्ने तरिकामा टकराव थियो
हो, हामीबीच एक टकराव थियो!
दुबैले बाँचेको युग त एउटै थियो हाम्रो,
लाग्थ्यो, उमेरमा टकराब थियो,
चाहनामा टकराव थियो
हो, हामीबीच एक टकराव थियो!
तिमी मेचीको पानीले सिञ्चित, म सेतीको
सोच्थें, भुगोलको टकराव थियो,
भाषा र संस्कृतीको टकराव थियो,
हो, हामी बिच एक टकराव थियो!
संगै उभिँदा ‘आहा जोडी’ पनि अपेक्षा थियो होला
सम्झन्थें, वर्णको टकराव थियो,
बनावटको टकराव थियो
हो, हामी बिच एक टकराव थियो!
तर,
म नमज्जाले टुटेँ जब थाहा पाएंँ––
असली टकराव त,
मेरी आमाले जांँतोमा पिसेर पठाउनु भएको सातु
र,
तिम्रो ड्याडिले डिपार्टमेन्ट स्टोरबाट किन्नु भएको ओट्सबीच थियो।
साँच्चै! हामीबीच एक टकराव थियो!
लेखक परिचय
भट्टराई नेपाली सहित्य लेखनमा नव प्रतिभाको रूपमा उदाएका छन् । उनी विशेषगरी कविता विधामा कलम चलाउने गर्दछन् ।