म खालि मन्जिलतर्फ दृष्टि फिजाउँदै पाइडल मार्न सक्छु;
दृश्यको फाँट अझै अघि सार्न,
दिनरात नभनी आफ्ना हातहरूलाई यान्त्रीकरण गरि म संचालित राख्ने
गर्छु –
२४ घन्टामा ८६४०० सेकेन्ड, हप्तामा ७ दिन ७ रात
दिनमा कतै हावा सुस्केरा लाउँदै साथी गर्न आइपुग्छ,
कतै मत्स्य पनि मेरो नितान्त एक्लो सागरमा पौडिँदै रमिता हेर्न आइपुग्छ।
रातमा चन्द्रमा मलाई आफ्नै प्रेमिल बाहुमा लिन मायालु पुकार गर्दै
आइपुग्छे,
सक्दिन..
अनि निथ्रुक्क पारी भिजाउँछे मलाई, आफ्नो आँसुले; निर्दयी ऊ देख्तिन,
उसको आँसुले मलाई कति पिर्छ कति !
आज फेरि अर्को साँझ छ, म यो सागरसँग बहस गर्न सक्दिन।
मलाई थाहा छ ऊ जादुगर होइन ।
समय निरन्तर बहिरहेछ, यात्रा निरन्तर बग्दै ..
म पाइडल मार्छु, हात चलाउँछु, आँसु झार्छु.. डुङ्गा भरिन्छ ।
असन्तुलित डुङ्गा अब कोल्टे पर्छ, मेरो शरीरको
बोझले केहि सन्तुलन हुन खोज्छ त्यो
तर आँसुका छालहरूले फेरि असन्तुलित बनाइदिन्छ !
मत्स्य, मेरी सखी, जान्छे खै कता..
उसलाई मेरो खुब चिन्ता छ ।
ऊ बुझ्दिन; यो प्रेमले उसलाई घाट पुर्याउने छ ।
हावाले आफ्नो तुफानी रूप धारण गरेको छ,
ऊ मलाई जोगाइ राख्न चाहन्छ, केहि खास गुमाउने डरले
बलपूर्वक त्यो कारकलाई रोक्न उसको ध्यान एकत्रित भएको छ …
मेरो डुङ्गा कोल्टे नपरेकोमा धन्य छ ऊ,
मेरो शरीर अझ त्यहि डुङ्गामाथि भएको खबर भयो उसलाई।
उसको आँखाका चमक बोलीरहेथ्यो ।
तर, डुङ्गा सयौँ माइल पछि धकेलिएको खबर पत्तो के उसलाई!
म भनूँ पनि के, निर्दोष छ ऊ ..
वर्तमानको क्षणमा रिक्तता छ छैन, म चेतशून्य छु..
यति भने आभास छ – म रित्तो भएकी छु;
स्वरले, उर्जाले, दृश्यले, जीवनले ..
आज चन्द्रमा फेरि रुष्ट छे मदेखि,
मात्र आफ्नो सुसारेहरूलाई छाडी गएकी छे मकहाँ..
आउन त उसलाई पर्छ, भोलि फेरि
मकहाँ..
तर उसलाई के थाहा
‘ भोलि ‘
एक नवीन रात हुनसक्छ,
तर उसलाई के थाहा
‘ भोलि ‘
एक अपवाद हुनसक्छ ..!
लेखक परिचय
सुन्दर विशेष गरी कविता विद्यामा कलम चलाउछिन् । उनी नाम जस्तै सुन्दर कविता सिर्जनामा माहिर कविको रूपमा चिनिने गर्दछिन् ।