मोतीराम भट्टका गजल
१.
दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो
पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
र भन्नु भारी महल न हो दरबार पो किन चाहियो
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो
२. इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे
बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे
अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोति’ पनि झर्न लागे
३.
म तिम्रा अघी पर्न लायक् कहाँ छू,
त्यसैले अघी सर्न लायक् कहाँ छू।
हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू,
बिना मर्जि आँट गर्न लायक् कहाँ छू।
अरूका ऊपर आँखिभौं तानि हाने,
म जावो हरे! मर्न लायक् कहाँ छू।
जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,
तिनै झैं नजर् तर्न लायक् कहाँ छू।
सडकमै छ मन् हर्न सक्नू हरीले,
सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू।
मोतीराम भट्टका गजल
लेखक परिचय
मोतिराम भट्ट (१९२३ - १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता पनि मोतिराम भट्ट थिए ।
प्रतिक्रियाहरु 1