१.
नजरलाई ठम्याउन कठिन थियो
म फिका थिएँ, ऐना रङ्गिन थियो
देखायौ तर के नयाँपन लाग्थ्यो र !
जाबो दुबो रोपेको जमिन थियो
छुट्ने बेला हाँसेर कुरा मिलायौ
भेट्ने बेला मुहार मलिन थियो
पानी परोस् छाप्रोमै मजाले सुत्छु
छिमेकको छानोमा बज्ने टिन थियो
रुँदै तिमीसँग नुनको ढिको मागेछु
मेरो जीवन आफैँमा आयोडिन थियो
२.
कम्तीमा मलाई सास जान त सजिलो भए हुन्थ्यो
दुश्मनको एउटै प्रहार यति चोटिलो भए हुन्थ्यो
उसले हिर्काएको सबुत खोज्नेलाई देखाउन पाइन्छ
अझै केही समय यो छातीमा निलो भए हुन्थ्यो
तिमीसँग हिँड्दैमा चित्त बुझ्दैन, लड्न पनि मन छ
यो बाटाको कुनै एक भागमा हिलो भए हुन्थ्यो
जान्छु भन्दै बसेको छौ, म कतै छेकथुन देख्दिनँ
घुर्की लाउनेलाई त जान सजिलो भए हुन्थ्यो
फेरि यस्तै हो भने मित्रकहाँ जाने मन मर्न सक्छ ,
मित्रकहाँ जाँदा मित्रको मुहार हँसिलो भए हुन्थ्यो ।।
सविन सिटौलाका दुई गजल
लेखक परिचय
कक्षा एघारमा अध्ययनरत सिटौला निकै सशक्त र प्रिय गजलकार मानिन्छन्।