प्रकाश थाम्सुहाङ
सोह्र बर्षपछि
बि.स. २०६८ सालको हिउँद
यो जाडो दिन
शब्दको जहाज चढेर
तिम्रो तस्बीर
मेरो कवितामा आएको छ
समय अन्तरालमा
जसरी फूल्छ बाँस कुनै दिन
धेरै बर्षपछि
फर्किन्छ परदेशी आफ्नो गाउँ प्रकाश थाम्सुहाङ
त्यसरी नै तिम्रो सम्झना
यो शितनिन्द्राबाट मलाई ब्यूँताउन आएको लाग्छ
सोह्र बर्षअघि
हिउँदको त्यो जाडो दिन
हाम्रो भेट भएको लाग्छ
लाएर निधारमा शिरबन्दी जून
उनेर चोलीतुनामा सिङजाङगो फूल
तिमीले बोल्दा कञ्चनजंघा हाँसेथ्यो
तिमीले गाउँदा बतास नाचेथ्यो,
हाम्रो भेट संयोग थियो
आँखा जुध्नु सुखद दुर्घटना
बोल्नु सम्बन्ध प्रारम्भ
बाँकी के रह्यो ?
बनायौ मेरो हृदयको घरमा
गौथलीले झैं गुड
चतुरे डाँडामाथि
तिम्रो पाउको शालिन स्पर्श
धाननाचको मञ्चबाट मेरो प्रेम प्रस्ताव
तिम्रो मौन समर्थन
साक्षी बस्यो देउराली
भेटिनु छुटिनु जीवनको एक खेल हो भन्छन्
त्यो जाडो दिन
तिम्रो बिदाईमा हात हल्लाउन पनि सकिन
तिमी गएपछि
बादल घरको बलेसीबाट आँशु झार्यो घामले
पारी उदास उभिएको थियो सुम्हालुङ गढी
लेखे हजारौँ प्रेमपत्र
निचोरे यति मुटु
कि पहाड माया तिमी समक्ष पठाएँ,
२०६० सालको हिउँद
त्यो जाडो दिन
तिमी आफैँमा समाचार बन्यौ
सुनेर म तुषारो जमे
युद्घको झोलुङ्गे पुलबाट
खसेछौ तिमी तमोरमा
र अर्को जुनी भएछौ लिम्बुनी माछा
सोह्र बर्षपछि
२०६८ सालको हिउँद
यो जाडो दिन
म बरफ उभिएको छु
कुनै अल्कोहलिक मान्छेको हात झैं
काँपीरहेछ मेरो हृदय
तिम्रो सम्झनाले – तिम्रो सम्झनाले ।
प्रकाश थाम्सुहाङ
लेखक परिचय
प्रकाश थाम्सुहाङ अहिलेको समयका शक्तिशाली कवि हुन् । कवि थाम्सुहाङ करिब दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय छन् ।