तिमीसँगको घनघोर वियोग पछि
मैले समयको पृथ्वीलाई बिरहको भयङ्कर दबावले चेप्ट्याएँ
र, आवेगले दुर छुट्टिएर बाँचेँ
छुटिन हाम्रो सम्बन्ध देखि सधैँलाई
बर्षाै बर्ष वैराग्यको हुरी चलिरह्यो
महिनौ महिना तिम्रो धमिलो तस्विरको
असिना बर्षामा उमारेँ क्याकटसको बस्ती
मनको वल्लो पृथ्वीदेखि सिमान्त किनारसम्म
प्रिय !
वियोगको हजार घण्टा वर्षपछि क्याक्टसहरू पनि पो फुल्यो र
म फर्कि आएँ प्रिय !
हाम्रो गहिरो ट्रेजडि पछि प्रेमको पृथ्वीलाई धाँजा धाँजा पारेँ
र जिएँ फरक भूगोलमा
अलग भैजान हाम्रो परित्यक्त सम्बन्धहरुबाट
फाँडेर उर्वर हृदयको हरियालीलाई मरुभूमि उमारेँ
अचम्म बालुवामा खसेका ठोस आँसु पग्लिएर नदी बन्यो र कमल फक्रिएर मृग शावकहरू क्रिडामा मस्त भए ,
र,म फर्कि आएँ प्रिय !
हाम्रो अतिसय मानसिक विच्छेदन पछि
निङ्वा फूमाङसँग अनुरोध गरेर छुट्टै जिजे ११३२ मानवग्रहको निर्माण गरेँर बसेँ
तिम्रो यादहरूको परावैजनी पराकम्पनदेखि टाढा
त्यहाँ पनि तिम्रो पृथ्वीबाट सहश्राब्दी बर्षमा पठाएका
स्वर्णपाताहरूसँग तिम्रो प्रेम गीत आइपुग्यो प्रेमसँग
मलाई आँसुको तलाउँमा डुबायो
अचम्म फेरी पृथ्वीबाट यानहरू ओर्लियो अन्वेषणको लागि
उनीहरूले मेरो मनमा तिम्रो अस्तित्वको बिज उत्खनन् गरे
सँगै ल्याएका मल्टि म्यासेन्जर एस्ट्रोनमीले तिमी उदास बाँचिरहेको ब्रह्माण्डकै भिज्यूवल देखायो तब थाम्नै सकिँन र म फर्कि आएँ प्रिय !
धेरै समयसम्म हामी हराई गएपछि पनि
हाम्रो अभिमानको आगो यति माथि थियो
जहाँ यति धेरै कठोर सम्झौताहरू जलेर खरानी भई गएछ
लौ अचम्म !
त्यहि खरानीमा तिम्रो गन्धको सेक्मुरी फूल पो उम्री गयो
र,म त्यसको वासनाले वसिभूत भएर पो फर्कि आएँ प्रिय !
हाम्रो ईर्ष्याहरू यति शक्तिशाली थियो
प्रेमको चुपचाप मृत्यु हुन्थ्यो
सात अचम्म !
ईर्ष्याको नली हाडमा प्रेमको खुन त काँचै बाँची गएछ
त्यै खुनको क्लोन साम्बाले चिहानबाट बौराएपछि बौरी आएँ प्रिय !
हे प्रिय !
यो संसारको मायाजालले छोपी ल्याएपछि म फर्कि आएँ
यो अनन्त ब्रहमान्डको अतिसय किनारबाट पनि फर्कि आएँ
तिम्रो असम्बोधित त्यै घृणित प्रेमी
तिम्रो घृणाको काँचुली फेर्दै – फेर्दै अनगन्ती आकाश गंगा बिच
प्रकाशको झर्नामा नुहाउँदै – नुहाउँदै आएँ
अन्तरिक्षको सर्वाङ्ग खुल्ला बाटोमा नासाको प्रेम बस्तीमा जीवन कृडामय थियो
र, म फर्कि आएँ प्रिय !
पृथ्वीको छेवैबाट हुइकिरहेको भीमकाय पुछ्रे ताराले
हाम्रो पृथ्वी भत्काइहाल्छ कि लागेर
म तिम्रो सम्झनाको यानमा अतिसय वेगमा त्यै ताराको नजिकबाट यो दुर्घना अघि नै फर्कि आएँ प्रिय !
म धर्तीमाआउँदै गर्दा क्याक्टसमा चराहरूको गुँड थियो
सृष्टिमा सबैभन्दा महान् सृजना नानीहरू हुुर्कदै थिए
म यतै फर्कि आउँदा मरुभूमिको मनको ढुङ्गामा पनि पो टुसा टुसाउँदै थियो
बर्षौं पछि यादहरूको झरी पर्यो
जमिन च्यातिएर जीवन उम्रियो
र, फर्कि आएँ प्रिय !
यो सांसारिक मायाजालमा वशीभूत भएपछि
प्रेमको मोहनीले जलेपछी नछुट्दो रहेछ सम्बन्धहरू
ननिखृदो रहेछ मायाजालको सिमसारबाट मायावी पुत्लाहरू
म तिम्रो मोहनीको त्यान्द्रो छुटाउँन नसकेर आएँ प्रिय !
बुद्धले झुटो बोलेछन्
म बुद्ध हुन बाँकी भएर आएँ प्रिय !
मलाई तिम्रो प्रेमिल चित्तले नै
मलाई बुद्ध बनाऊ !
म नवीन बुद्ध बन्न चाहन्छु !
अब म घर फिरेको छु ।
आफ्नै घर !
प्रिय !
आफ्नै घर !!
लेखक परिचय
कवि शेर्मा नेपाली साहित्यको मुख्यतय कविता विद्यामा कलम चलाउछन् भने नियात्रा, निबन्धमा पनि उनको उत्तिकै दख्खल रहेको छ । शब्दहरुको याक्सा उनको प्रकाशित कविता संग्रह हो ।