फूलसँग रङ र सौन्दर्य चोरेर
मुस्कुराउन आइपुगेथेँ तिम्रा
शिशिरहरूमा
तिमीले गाली गर्याै
र, पो म फर्किएँ ।
तिमी जङ्गलै जङ्गल दौडँदा
जङ्गलका काँडाहरूलाई फकाएँ
र, तिम्रा पाउहरूमा नबिझ्नु भनेँ
तिमी सपना बोकेर उडिरहँदा
पहाडहरूलाई फकाएँ
र, तिम्रो शिरलाई ठक्कर नदिनु भनेँ
तिमी दुःखको पर्वत चढिरहँदा
बाँसुरीहरूलाई फकाएँ
र, मङ्गल धुनहरू बजाउनु भनेँ
तिमी हिँड्ने बाटो,
थकाइ मार्ने प्रतीक्षालय
र, तिम्रा तमाम आफन्तहरूसँग
तिम्रा लागि उज्याला आशीर्वाद मागी
बसेँ
तर, तिमीले त सपनामा पनि
मेरो छायालाई लखेटिरह्यौ
अनि, पो म फर्किएँ ।
मैले उनलाई नछुनु
टाढैबाट हेर्नु भनेपछि पो
आकाशमै बसेका हुन् जून र ताराहरू
मैले उनलाई नसताउनु भनेपछि पो
परै बसेको हो दुःखको मरुभूमि
जीवनको यात्रामा थाकेकी हौली
सोचेर
मैले प्रत्येक दिन
उज्यालोलाई बास बस्न लगाएपछि
छुट्टिएका हुन् दिन र रात
तर, तिमीले त
मेरा यादहरूलाई पनि नजरबन्द
गरिदियौ
र, पो म फर्किएँ ।
फर्किने क्रम पनि अचम्मैको हुँदोरहेछ
फर्किँदाफर्किँदा म त उही देउरालीमा
आइपुगेछु
जहाँ बसेर कुनै बेला
हामीले एउटै सपना देखेका थियौँ ।
लेखक परिचय
हेम प्रभास युवा पुस्तामा प्रभावशाली लेखकको रूपमा चिनिने गर्दछन् । शक्तिशाली कविता सिर्जना र त्यसको प्रस्तुतिकरणका साथसाथै उनी चलचित्र निर्माण तथा निर्देशनमा पनि संलग्न छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रभासको 'उल्झन' प्रकाशित उपन्यास हो ।