ए मना ! थुइया
उहिले उहिले
आदि नै नभएको बेलाको कुरा–
निङ्खुरी फुक्कुमा
याक्थुङ माङजिरी माङ्वेतहरु जन्मदाको कुरा–
एक आपसमा भेटै नभए पनि
तन्नेरी घामको रापिलो इशारामा
तरुनी इक्सा खाम्बेकले
अन्तरिक्षको सून्यतामा फन्को मारिरहिन्
ताराहरुले रमिता हेरि बसे
जुनले पच्छ्याइ रहयो
उल्काहरुले आह्रिस गर्दै बसे
उहिले उहिले
आदि नै नभएको बेलाको कुरा–
निङ्खुरी फुक्कुमा
याक्थुङ माङजिरी माङ्वेतहरु जन्मदाको कुरा–
सवैथोकले सुहाएको इक्सा खाम्बेकमा
हावा चलिरहेकै थियो
इम्विरी याङ्धाङ्वा जस्तै अरुअरु खोला नदी
कलकल गर्दै वगिरहेकै थिए समुद्र भेट्न
फक्ताङ्लुङलाई
साक्षि राखेर अनेक चराहरु चिर्विराइरहेका थिए
बनमा थोक्फे?ला फुलेकै थिए
लहरापहरामा अम्लारी पनि
झरीमा कामूक भएर वेरिएकै थिए
उहिले उहिले
आदि नै नभएको बेलाको कुरा–
निङ्खुरी फुक्कुमा
याक्थुङ माङजिरी माङ्वेतहरु जन्मदाको कुरा–
सजिसजाउ इक्सा खाम्बेकको
काख अनेक अनेक थरीले भरिभराउ भएको बेला
अझै अझै अपूर्ण अपूर्ण लागेपछि
केके केके नपुगेको नपुगेको
नभएको नभएको लागेपछि
समग्र पुर्णताले भरिएको इक्सा खाम्बेक घोषणा गर्न
मान्छे आविस्कार गर्न बांकी भएको बेला
उहिले उहिले
आदि नै नभएको बेलाको कुरा–
निङ्खुरी फुक्कुमा
याक्थुङ माङजिरी माङ्वेतहरु जन्मदाको कुरा–
पोरोक्मी योम्फामीले
सवै थोकले इक्सा खाम्बेक सजिएर पनि सुन्दर नलाग्दा
मान्छे बनाउने शुत्र प्रयोग गरे
मान्छेलाई
अमर बनाउन
सुनैसुनको सुनौला मान्छे बनाए
चाँदीनै चाँदीको सेता मान्छे बनाँए
हिरामोती नै हिरामोतीको टल्किने मान्छे बनाए
धातुका आदिम मान्छेका देहमा
थोरै फरक पार्न
पुरुषदेहमा गैंडाको शक्तिले भरिएको
लिङ्ग जोडि दिए
अनुहारमा पुरुष सौन्दर्य दाह्री–जुंगाले भरिदिए
ज्यानमा बलिष्ठ छाती र पाखुरा बनाइदिए
पोरोक्मी योम्फाम्मीले
स्त्रिदेहलाई झन सुन्दर र कामुक बनाउन
मुहारमा चमक भरिदिए
वक्ष अलिकति उठाएर
बनाइदिए फियमलुङ्माको शिखर
बनाइदिए अनि बारुले कम्मर
स्त्री देह चिन्नकालागि
नाइटो मुनि जांघको वीचमा
गैंडाकै प्रहार थेग्न सक्ने
भुत्लैसरीको योनी थपिदिएर
निडर तर लजालु बनाइदिए
उहिले उहिले
आदि नै नभएको बेलाको कुरा–
निङ्खुरी फुक्कुमा
याक्थुङ माङजिरी माङ्वेतहरु जन्मदाको कुरा–
आफैले बनाएको स्त्री र पुरुष देहमा
पोरोक्मी योम्फाम्मीले
आङसराङबाट आएको हावालाई
फु फु फु गरेर स्वास हालिदिए
र, बोलाए– ए मना !
नआएपछि जवाफ
हुँदै निराश
कल्पिदै अर्को उपाय
ताप्पेथोकमा लागेको
निगालेघारीको खरानीमा
मिसाएर खोजेनिममा उड्दा उड्दै
विष्टेको लुईंचेको सुली
नाङखोलेङगे अम्लारी फुलको पातमा
झरेको शीतपानीले मुछेर
बनाए फेरि
एउटा तरुनी स्त्री देह
अर्को तन्नेरी पुरुष देह
र, छेउमै अदृष्य भएर वहिरहेको
मुिरङ्ला खारिङला तेम्बेबाट फर्केको
हावाको झोंक्कालाई
छिराइदिए देह भित्रभित्रसम्म पुग्नेगरी
फेरि बोलाए–
ए मना !
हं – फर्कायो जवाफ मनाले
हेर्दै पुलुक्क
उहिले उहिले
आदि नै नभएको बेलाको कुरा–
निङ्खुरी फुक्कुमा
याक्थुङ माङजिरी माङ्वेतहरु जन्मदाको कुरा–
अमरत्वकालागि
सुनचांदी र हिरामोतीको मना बनाउंदा
एक शव्द नबोल्ने
मेन्जो मेन्जो
शीतको पानीमा
खरानी र शुली घोलेर बनाउदा
बोलेपछि
अचानक फुत्कियो
पोरोक्मी योम्फाम्मीको
मुखबाट
हर्ष र विस्मातसहितको
भयंकर मृत्यु श्राप
थुइया मना
मरिजा !
…………………………………
(यो कविता मुन्धुम संकलक तथा लेखक पुर्व कुलपति वैरागी कांईंला, तुम्याहाङ लम्मण मेन्याङ्बो, मुन्धुम खोजकर्ता अर्जुवाबु मावोहाङ र प्रध्यापक ध्रुव मेन्याङ्बोले तयार गरेको याक्थथुङ मुन्धुममा आधारित छ ।)
केही शव्द अर्थहरु
निङ्खुरी फुक्कुः याक्थुङ पितृ तागेरा निङ्वाफुमाङको अवस्थल । यो ताप्लेजुङको साविक लेलेपमा पर्छ ।
याक्थुङ माङजिरी माङ्वेतः खरानी, सुली र शीतपानीले बनेको मान्छेका सन्तान (भूमिपुत्र)
इक्सा खाम्बेकः घुम्ने पृथ्वी
इम्विरी याङ्धाङ्वाः याक्थुङ सभ्यताको साक्षी तम्मर खोला
फक्ताङ्लुङः नेपालीकरण भएको कुम्भकर्णको मौलिक नाम
थोक्फे?लाः गुरांस
पोरोक्मी योम्फामीः याक्थुङ पितृ
फियमलुङ्माः मानाभाराको याक्थुङ नाम । यो ताप्लेजुङको साविक खोक्लिङमा पर्छ ।
आङसराङः पाचथरको गाउं
ताप्पेथोकः ताप्लेजुङको उत्तरी गाउ
नाङखोलेङ् : ताप्लेजुङको साविक नाङ्खोल्याङ
मुरिङ्ला खारिङला तेम्बेः मुन्धुममा बर्णित स्थान जो ताप्लेजुङको साविक लेलेप र इखावुको शीरमा पर्छ ।
थुइया मनाः थुक्का मान्छे ।
लेखक परिचय
प्रदिप मेन्याङ्बो अहिलेको समयका शक्तिशाली कवि हुन् । उनी आफ्ना सिर्जनामा संस्कार संस्कृतिको उत्खनन् पनि गर्ने गर्दछन् । कवि मेन्याङ्बो पत्रकारीता पेशामा समेत संलग्न छन् ।