त्यो पहाडको माथि माथि
बहने अदृश्य बतासलाई सोध
बहनु र ठोक्किनुको पीडा
त्यो पहाड भन्दा पर… पर
उभिएको हिमाललाई सोध
खस्नु र पग्लनुको दर्द
दुई किनारा भएर बगेको नदीलाई सोध
एक्लै एक्लै बग्नुको बाध्यता
र तल … तल अस्तित्व मेटेर भेट्नुको दु:ख ।
सोध, शान्त गहिरो समुन्द्रलाई सोध
किन उठ्छ घरी घरी ज्वार ?
किन मातिन्छ समुन्द्र ?
क्षितिजको इन्द्रेणी हेरेर
टिप्दै नटिप जीवनको रङ
अरे कुन रङसँग मिल्छ हो जीवन
रातो, हरियो, पहेँलो, वैजनी या अन्य अन्य ?
भो अलमल नगर ।
हामी त्यही बतास हौँ
बर्षौँ देखि ठक्कर खपेर बहँदै दुर आइपुगेका
हामी त्यही हिमाल हौँ
बर्षौँ देखि खसिरहेका, पग्लिरहेका
हामी त्यही नदी हौँ
बर्षौँ देखि अस्तित्व छोड्दै छोड्दै छुट्टिएका
त्यही समुन्द्र हौँ
युगौँ देखि चुपचाप जमिरहेका ।
जब जब तिम्रो उन्मादले
लघार्छ नादान अस्तित्वहरू
खप्नै नसक्ने गरि नाघ्छ नैतिकताको संघार
तब पो हामी हुरी भएर आउँछौँ
तब पो हामी चट्याङ भएर खस्छौँ
भेल बाढी भएर पस्छौँ तिम्रो मूल ढोकाभित्र
अनि ज्वार भएर उठ्छौँ ।
नबिर्सनु तिम्रो भयंकर साम्राज्यको
कुनै छेउ कुनातिर
हामी पनि अस्तित्वमा छौँ ।
लेखक परिचय
खोटाङ जिल्लामा जन्मिएकी कवि राई, आदिवासी जनजाति साहित्यकार/लेखक सङ्घका सचिव हुन् ।