यस्तो लाग्छ कहिलेकाहीँ…
म उनको आँखा भैदिउँ
र हेरिदिउँ आँफ्नै आँखा,
आखिर त्यस्तो के रहेछ मेरो आँखामा ?
कि उनी डुबिरहन चाहान्छिन्।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको हात भैदिउँ
र स्पर्श गरिदिउँ आफ्नै हात ।
आखिर त्यस्तो के रहेछ मेरो हातमा?
कि उनी स्पर्श गरिरहन चाहान्छिन्।
यस्तो लाग्छ कहिलेकाहिँ
म उनको छाती भैदिउँ
र आफ्नै तस्बिर टाँसेर आँफैलाई सम्झिदिउँ,
आखिर त्यस्तो के रहेछ मेरो तस्बिर टाँसेर सम्झिनुमा?
कि उनी हरेक रात छातीमा टाँसेर मेरो तस्बिर,
मलाई सम्झि रहन्छिन्।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको ओठ भैदिउँ
आखिर त्यस्तो के छ र मेरो आगमनमा?
कि सबथोक बिर्सिएर उनको ओठ
मेरो आगमनमा मुस्कुराइदिन्छ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको आँसु भैदिउँ
र छुटिने बेला उनको परेलीबाट खसि दिउँ,
आखिर त्यस्तो के छ हामी छुट्नुमा?
कि उनको आँसु मेरो निम्ति खस्नु परोस्।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको पैताला भैदिउँ
र हिँडिदिउँ आफैँ सँग
आखिर त्यस्तो के छ म सँग हिँड्नुमा?
कि उनको पैताला काँडा कुल्चिएर पनि
म सँगै हिँडिरहन चाहान्छ।
यस्तो लाग्छ कहिलेकाहीँ
म उनको धैर्यता भैदिउँ
र पर्खि बसुँ आफैलाई
आखिर मलाई पर्खि रहनुमा त्यस्तो के मज्जा छ?
कि म हिँड्ने बाटोमा
घण्टौ सम्म मलाई पर्खि रहन्छिन्।
यस्तो लाग्छ कहिलेकाहीँ …..
म उनी भैदिउँ
अनि आफैलाई प्रेम गरिदिउँ
र थाहा पाइदिउँ
यति बिघ्न मलाई प्रेम गर्नुको रहस्य।
ताकि यतिकै प्रेम गर्न सकुँ उनलाई
जो मलाई यसरी एकोहोरो प्रेम गर्छे।
लेखक परिचय
मोरङ जिल्लामा जन्मनु भएका प्रदिप योङ्हाङ लिम्बु समकालीन नेपाली साहित्यका एक सशक्त कविको रुपमा चिनिनु हुन्छ। हाल बि. एड. दोस्रो बर्षमा अध्ययनरत योङ्हाङको संयुक्त कृति उज्यालोका मालिहरु, २०७६ प्रकाशित भइसकेको छ भने फुट्कर कविताहरु विभिन्न पत्रपत्रिकाहरु मार्फत प्रकाशित भएका छन् ।