बैरागी काइँला
एकअर्काप्रति आतङ्कको प्रश्नचिह्नजस्तो
यी हाम्रा गल्लीहरू
यी हाम्रा पिचरोडहरू
अकर्मण्यताले अलकत्रा झैँ कालो भएका छन्
मलाई मानिस भएकामा ग्लानी हुन्छ अनि –
म मेरो वजनजति मेरो धरतीलाई भार भएको हुन्छु ।
बिना आसका जिउँदा लासहरू
जिभ्रो काटिदिएका मानिसहरू
घरघरमा सजाइएका चिनिँया माटोको
सजावटका कप र प्लेटहरू झैँ
घरघरमा नानीहरूले चाबी लगाएर दौडाउने
प्लाष्टिकका दगुर्ने मोटर झैँ
जीवनका सडकमा, गल्लीगल्लीमा
बोली खोसिएका मानिस चुपचाप डुल्छन् ।
गल्लीको भित्ताले जनताको माग टाँगेको पोस्टर
आफ्नो छात्तीमा टाँसेको हुन्छ
तर मानिस चुपचाप हिँड्छन्…
दम दिएर टेबलमाथि राखेको घडी झैँ ।
मलाई मानिस भएकोमा ग्लानी हुन्छ अनि –
म मेरो वजनजति मेरो धरतीलाई भार भएको हुन्छु ।
म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु / बैरागी काइँला
लेखक परिचय
बि. सं. २०६६ देखि बि. सं.२०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपति रहेका वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) नेपाली साहित्यका मूर्धन्य साहित्यकार हुन् । उनी आयामेली आन्दोलनका प्रवर्तक समेत हुन् ।