जिज्ञासा
कसैले आगो सल्कायो मन्दिरमा
जलायो वर्षौदेखिको आस्था र विश्वास
ठड्यायो मसाल बोकेको मूर्ति
र
मिसियो भिडमा
हामीसँगै बाँच्न सिक्दै गरेको,
कतै त्यो भगवान स्वयं त होइन !
भ्रम
दिनेले यस्तो प्रश्न उपहार दिएर गयो
उत्तर दिऊँ मेरो जिब्रो काटिनेछ
मौन बसौं, मेरो शिर काटिनेछ
यसकारण म बोलेको बुझ्नु हुन्न
मैले त यत्ति भनेको हुँ
“जति हल्ला छ बजारमा सबै सत्य होइनन्”
प्रश्न
निधारमा आगो सल्काएर
प्रत्येक पफसँग आनन्द लिने मान्छे
कुनै दिन चुरोट हुने छ
ओठका बिचबाट सल्केको आगो
निभाउन सम्म पाइने छैन
खुट्टाले रगेटेर भुईँमा
आगोसँग खेल्नु वा आगोसँग रमाउनु
आगोसँगै जल्नु पनि हो
के तपाईँ चुरोट सल्काउन बन्द गर्नु हुन्छ ?
लेखक परिचय
युवा पुस्तामा प्रभावशाली लेखकको रूपमा उभिने एउटा गतिलो नाम हो मिलन आचार्य । विशेष गरी कविता र गजल लेखन तथा प्रस्तुतीकरणमा सशक्त आचार्य समालोचनामा पनि उत्तिकै दख्खल राख्छन् ।