बुवा नबाँच्नु हो त
सायद घुम्दैन होला यो पृथ्वी
बगेर हिमालजस्तो निधारबाट
कहाँ पुग्दो हो र खेतहरूमा
पसिनाहरुको नदी
चलेर पाखुरीको जादु
कहाँ फेरिँदो हो र पाखामा
खुसिहरूको ऋतु
गरेर दुखहरूको गोडमेल
कहाँ उम्रँदो हो र आँगनीमा
सृष्टिको पहाड
टेकेर छातीको उचाइ
कहाँ झुल्किँदो हो र सिकुवामा
सपनाको घाम
बुबाले सास नफेर्नु हो त
सायद चल्दैन् यो हावा पनि !
ए! पोरोक्मि यम्भामिमाङ
खासमा को हो यो पृथ्वी को श्रष्टा?
सन्जित फलाना
लेखक परिचय
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।