इतिहासको अन्धकारमय पृष्ठहरू च्यात्दै
एकदिन उनीहरू कर्कसतापूर्ण स्वरमा चिच्याए
हामी तिम्रो रैती हुन मान्दैनौँ
पछाडिबाट आवाज थपियो – “मान्दैनौँ मान्दैनौँ”
लहलह धान पाक्ने आफ्नै खेतबाट वञ्चित
भोका पेटहरू, शोषित निधारहरू
एकदिन भिरबाट कालोभारी पल्टाउँदै गर्जिए
हामी हाम्रो थाप्लोमा तिम्रो शोषणको नाम्लो थाप्न मान्दैनौँ
पछाडिबाट आवाज थपियो – “मान्दैनौँ मान्दैनौँ”
झार्लाङ्गी तर्न काजीको बारीमा जोत्तिरहेका प्रताडित हातहरू
एकदिन मुठ्ठी कसेर उठ्यो र भन्यो
हामी तिम्रो दरबारको हुकुम मान्दैनौँ
पछाडिबाट आवाज थपियो – “मान्दैनौँ मान्दैनौँ”
यसरी इतिहासमा
लाखौँ थोपा पसिना र रगतहरूको बलिदानपछि
हजारौँ सपनाहरूको सङ्घर्ष र हत्यापछि
एकदिन हाम्रो यो जिब्रोले स्वतन्त्रता पायो।
यही स्वतन्त्र चेतनाका जिब्रोहरूसँग
किन हो किन
आज गान्तोकका ठालूहरू तर्सिरहेछन्।
स्वतन्त्र स्वाभिमानी स्वरहरूमाथि ढक्कनी लगाउन प्रयत्नशील
गान्तोके ठालूहरू
ढुक्कसँग बस्न खोजिरहेछन्
आत्मपराजित गान्तोक आज एमजी मार्गमा
दासत्वको घाम तापिरहेको छ
गान्धीको मुर्तिले नतमस्तक भएर यो रमिता हेरिरहेको छ।
जीवन थिङका घोडाका टापहरू दासत्वको साङ्लो तोडेर
स्वतन्त्र दौडको तयारी गर्दैछन् र भन्दैछन् –
अब हामी हिप्पोपोटामस बन्न चाहँदैनौँ
पछाडिबाट आवाज थपिरहेछ एउटा सानो भीड
– “चाहँदैनौँ चाहँदैनौँ”
हामी फेरि तिम्रो रैती बन्न मान्दैनौँ
हामी फेरि कालोभारीको नाम्लो मान्दैनौँ
हामी फेरि दरबारको हुकुम मान्दैनौँ
जिब्रो काटिएपछि निस्किएको
ताजा अनि रातो रगतका अक्षरहरूले एनबी घिमिरे
आज सडक, भित्ता र गल्लीहरूमा सुनखरी र लाली गुराँसहरू लेखिरहेछन् –
हामीले दिएको तिम्रो कुर्सीलाई राजगद्दी हुन दिँदैनौँ
हामीले बनाएको त्यो सदनलाई दबार बन्न दिँदैनौँ।
तर किन हो
आज पछाडिबाट आवाज थपिएन।
सत्ताको अगाडि समर्पित नभएर
केही कञ्चनजंघा जत्रै अट्टेरी चेतनाका हातहरू बढिरहेछन्
सुनिश्चित गर्न अभिव्यक्ति अघि र अभिव्यक्तिपछिको स्वतन्त्रतालाई।
अहिले काफरे सत्ताले उनीहरूलाई देशद्रोही घोषणा गरिदिएको छ।
एनबी घिमिरे
लेखक परिचय
सिक्किम प्रोग्रेसिभ युथ फोरमद्वारा त्रैमासिक प्रगतिशील पत्रिका 'नयाँ दृष्टिकोण'को नेपाली अङ्कको प्रमुख सम्पादक एनबी घिमिरे सिक्किममा प्रगतिशील विचार, साहित्य, कला र राजनीतिको विकासको निम्ति विगत चार-पाँच वर्षदेखि क्रियाशील छन् ।
सिक्किम केन्द्रीय विश्वविद्यालय, गान्तोकमा नेपाली विषयमा स्नातकोत्तर गरिरहेका घिमिरे स्वतन्त्र पत्रकारितामामा पनि संलग्न छन् ।
अहिलेसम्म सिङ्गो कृति प्रकाशित नभए पनि उनको विभिन्न क्षेत्रीय दैनिक पत्रपत्रिका तथा अनलाइनहरूतिर कविता, सामाजिक तथा राजनैतिक विषयका लेखहरू प्रकाशित छन् ।