अनिल कोइरालाका तीन कविता टेकोमा अडिएको दर्शन
शदियौँदेखि
दर्शनको विशाल मन्दिर
उभिइरहेको छ ,
विचारको उही जडवत् खम्बा भएर
दर्शनको पुच्छर समातेर
हिँड्न कति पनि हिच्किचाउँदैन मान्छे
मूल्याङ्कनको सत्य परिणामस्वरूप
टेको फुस्किन्छ र मन्दिर धरासायी हुन्छ भनेर
झ्यालखाना
अपनत्वको दायराभित्र रहेर
सङ्कुचित सोच राख्ने पिपाशु
सुन त !
मुना निमोठ्ने तिम्रा हात
हवस मेटाउने तिम्रा लिङ्ग
पनि कुहिएर झर्ने छन्
जसरी संभोगसँगै कुहिए
तिम्रो मान्छेको अस्तित्व
र तिम्रो रंगिन पर्दा पछाडिको कुकर्म पनि पर्दाफास हुनेछन् एक-एक गरी
अनि आउनु पलायन भई मेरो एकान्तमा
जहाँ आत्मग्लानीले हरदम तिमीलाई कैदी बनाउने छ
जसरी कैद भए आमा, दिदी, बैनिहरू
मृत्युको अँगालोमा
तस्बिर
एउटा समय बाँचेर
याद पस्केको छ आकृतिले
जहाँ, बाल्यकालको एउटा भुल पनि
प्रेमिल रस बनेको छ
तर आकृति पाएका सबै छुमन्तर छन्
न त बोल्ने चेष्टा गर्न नै सक्छन् ती सोझै
न त बोलाउँदा बोल्छ प्रतिछवि कोरेको तस्बिर ! अनिल कोइरालाका तीन कविता
लेखक परिचय
हेटौडाका कवि अनिल कोइराला साहित्यबाहेक गायन र चित्रकलामा रुचि राख्दछन् । उनी हाल बिबिएम आठौँ सेमेस्टरका अध्ययन गर्दैछन् ।