किशन पौडेल १ चट्टान
ऊ
कठोर छ
दृढ र अडिग छ
नत्र पहाडहरू
पहिरो बनेर खस्ने थिए
तिम्रा सपनाहरूमा !
२ आगो
झिल्को बाट
फिलिङ्गो हुँदै
दन्किन्छ ज्वाला
अनि,
तिम्रो बसमा हुने छैनन्
ती लप्काहरू
डढेलो लाग्ने छ
नर्कट घारीमा ।
होसियार !
आगोको कुनै जात धर्म हुँदैन ।
****
३ विडम्बना
पृथ्वीको
अखण्ड भूगोलहरूमा
अनेकौँ सिमानाका
कल्पित रेखाहरू कोरेर
मानवीय चेतनाका
मस्तिष्कहरूमा
संकीर्ण विचारहरू कोचेर
सदियौँदेखि लडिरहेछ
आफ्नै जातिविरूद्ध
एउटै नश्लका
फरक मान्छेहरू !
किशन पौडेल
लेखक परिचय
हेटौंडा-६, मकुवानपुरका किशन पौडेल लामो समयदेखि साहित्य साधनामा कार्यशील छन् । उनी कविता, गजल, हाइकु र लघुकथामा कलम चलाउछन् । पैडेलको एकल गलज संग्रह ‘कहर‘ र संयुक्त गजल संग्रह ‘हैसियत‘ कृतिहरू प्रकाशित छन् । हाल पौडेल मातृभूमि साहित्य समाज हेटौंडा र साहित्य संगम मकवानपुरसँग आबद्व भई
नेपाली साहित्यको प्रवर्द्धन गरिरेहका छन् ।