पराजित पोमु
आदिम बस्तीबाट धुवाँ उठेपछि
ढाकिन्दो रहेछ नीलो आकाश
बनिन्दो रहेछ अनेकानेक आकृतिहरू
पूर्व आकाशमा-
-नामसामीले धनुकाण तन्काइरहेको देखिन्छ
कतै युमा महारानी तान बुनिरहेकी छिन्
कतै हिमाल पर्वत फेदीमा किराती सुकन्याले
सुनको गैतीले तरूल भ्याकुर खनि्रहेको देखिन्छ
कतै फूङ्सेमी सुनको खुर्मी र सुनको थुन्चे बोकेर कुमकुमपाती धुपहरू बटुलिरहेको आकृति छ
कतै नालिगेन थाङ्बेन र सिसागेन मेन्छ्या
शिरफूल आभूषणमा हात समातेर धाननाच नाचिरहेको देखिन्छ
कतै सृष्टिको निर्माण पहिलो घरमा-
खाथुक्वा हाङ्वा ढोल नाच्दै धमिरा झारिरहेको आकृति छ
सिमलको आठतले हाँगाहरूबाट पलास फुलिरहेछ,
पश्चिम आकाशमा-
तायामा खियाम सिलिको मौलिक लय टिपिरहेको देखिन्छ
कतै खाम्बोकसाले बिनायोको युगिन धुन बजाइरहेको छ
तिन चुला माथि धुवाँ उडि रहेको छ
उत्तरी आकाशमा-
गुम्बा डाँडामाथि लुङ्दर फरफराइरहेको छ
उर्गेन-घोडचरीमाथि तरवार बोकेको युद्ध लडिरहेको क्यानभास देखिन्छ,
आदिम आकाशमा-
घले गाउँमा लिगलिग दौडको बाजी खेलिरहेको जस्तो आकृति देखिन्छ,
चेपे नदीमा रगत बगि रहेको छ,
बिक माइलादाई आरानमा युद्धका गोलीगट्ठा काटिरहेको आकृति छ,
माइली भाउजू आरानमा खुकुरीको दाप खिपिरहेकी छिन्
सार्की साँइलदाई युद्ध जान तयारीमा छालाको बुट सिलाइ रहेको जस्तो धुवाँको आकृति उठेको देखिन्छ
तिमी चुपचाप चुपचाप सुधारगृह परिसर
काठको घोडा चढेर सवार गरेपछि
उठेको हो धुवाँको अनेकानेक आकृति
लिएको हो धुवाँले गति
यही नीलो आकाशमा
त्यही आदिम बस्तीहरूबाट उठेको हो धुवाँ
धुवाँले गति लिएपछि अनेकन् आकृति बन्दो रहेछन्
वर्षैं वर्षदेखि नीलो आकाश उपर
यही धुवाँको आकृति नियालिरहेको छु,
धुवाँले विद्रहको संकेत गरिरहेछ
यो आदिम बस्तीहरूबाट उठेको धुवाँ हो
यो आदिवासी धुवाँ हो। पराजित पोमु
लेखक परिचय
कवि पराजित पोमु मूलत: आदिवासी मूल्य र सौन्दर्यको जगमा कविता उठाउने गर्छन् । उनी इतर आवाज साहित्य समाजका सकृय अभियान्ता पनि हुन् । लेप्मुहाङ्को डुङ्गा (कविता) पोमुको प्रकाशित कृति हो ।