नाम
तिम्रो लागि
नाम नाममात्रै होलान्
मेरो लागि
नाम नाममात्रै होइनन्
नामले पनि राजनीति गर्छ
नाममा पनि राजनीति हुन्छ
बुझौँ यसरी कि
नाम सुरुमा कुटनीति बन्छ
र डुल्छ मान्छेहरूको घर-आँगन
पुजाकोठा, देउराली, सिमेभुमे
पस्छ खोलामा अनि चुपचाप फेरिदिन्छ खोलाको नाम
उक्लिन्छ पहाड र फेरिदिन्छ पहाडको नाम
चढ्छ हिमाल र फेरिदिन्छ हिमालको नाम
डुल्छ जङ्गल र फेरिदिन्छ चराचुरुङ्गीको नाम
फेरिदिन्छ एउटा समग्र देशको नाम
जस्तो कि
छिनमै फेरिन्छ मुक्कुमलुङ पाथिभरामा
छिनमै फेरिन्छ फक्ताङलुङ कुम्भकर्णमा
नाम फेरि भाष्य बन्छ
जस्तो कि विकास, समृद्धि
र भत्काउँछ मिथक
अनि नामले पनि सभ्यता मार्छ
अनि नामले पनि इतिहास बदल्छ ।
लेखक परिचय
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।