सुष्मा रानाहँमा सुष्मा रानाहँमा
समयले कोल्टे फेर्छ भन्थे…
किन भिजाइरहेछ आफ्नै सिरानीले ?
समाचार पड्छु देशको
लामो सुस्केरा छुट्छ अनायास
यति हुँदाहुँदै
फर्किनु छँदैछ आफ्नै जिन्दगीको लयमा ।
निथ्रुक्क रुझ्छु पसिनाले
आहा !
कति मीठो पसिनाको गन्ध
बेस्सरी कुँडिन्छ मन ।
केहिबेर निदाएको थिएँ भर्खर मात्रै
साना नानीहरू छेउमा बसेर
पेन्सिलले देशको नक्सा कोर्दै मेट्दै थिए सपनामा
अचानक ! भेरीमा बाढी आयो
केही थान प्रेमिल सपनाहरू बगे
छुटाइदियो हामीबीच
सिमा छुटाइदियो छुतअछुतको।
मनमा त उठाएकै हुँ देशको सिमामा काडेतारको बार
खै, कहाँ लडेछौँ माटो र स्वतन्त्रताको मुक्ति युद्ध ?
विभेद अत्याचार उठेको दम्भमाथि युद्ध ?
अब साँच्चै लड्नुछ
वाह्य र आन्तरिक कोलनिमाथि युद्ध ।
खैर,
सरकार सामाजिक सिमा तोकिरहेछ
भोकको सिमा बड्दो छ
रोगको सिमा मौलाउँदो छ
राष्ट्रको सिमा खुम्चँदो छ
विभेद असमानताको सिमा उम्दो छ ।
देश बिरामी छ
सिमा बिरामी छ।
लेखक परिचय
सत्ताले निर्माण गरेको धार्मिक, सांस्कृतिक, एकात्मक सौन्दर्यमाथि खबरदारी गर्न पछि नहट्ने नेपाली कविताको नयाँ पुस्ताका एक सक्रिय सदस्य कवि सुष्मा रानाहँमा `इतर आवाज‘का अभियन्ता हुन् ।आमाको तासफोटो कविता सङ्ग्रह रानाहँमाको प्रकाशित कृति हो ।