मनोज लोहार मनोज लोहार
२५.
कति अराजक तिमी
कोशौं टाढा बसेर नै सहि; ताराहरू आँखा तर्दथेँ । र म आँखा छोप्न सक्थे आफ्नै सपना सम्झेर ! के जादु गर्यौ रातभरि भरि सूर्य हिडिरहन्छ । हाँगाबाट ह्वार्रह्वार्र पात उडेका रूखको जङ्गलै जङ्गलले पछ्याईरहन्छ ।
यात्राभरि बजिरहने गीतजस्तै थियौँ !
कति अराजक तिमी ?
एक्लै बसिरहेको टि~टेबलको अर्को छेउमा
आई पुग्यौ र भन्यौ-“सँगै चिया पिम न कवि ज्यू,”
मुस्कुरायौँ
कुरैकुरामा
मैले पिई सक्दा पनि, अर्को एक कप बाफिदै बसिरहेछ छेउमै
सोध्छु-“खै कता गइन उनी ?”
वेटरले भन्छ-“यहाँ थिएन कोही हजुर बाहेक !”
अब बन्द गर, तिम्रो चकचक !
२४. प्रेम
भित्रभित्रै भित्रभित्रै
सधै
तिमी भित्रै रहुँ…!
२३.
अनुवाद
तिमीले नै बुझ्नु
मैले क्याफेको प्रसङ्ग उप्काए भने गद्यमा,
तिमीले नै मुस्कुराउनु
चिया – कप साटासाट गरेर स्वाद लिएका हरफमा,
तिमीले नै महसुस गर्नु
तिमीलाई पहिलो पटक छुदा उफ्रिएको मुटुको वर्णन,
तिमीले सक्छौँ
त्यो कबितालाई सबैभन्दा नजिकबाट पढ्न,
पढ्नु
र अनुवाद गरिदिनु अरू कसैले बुझ्न नसक्ने भाषामा !
२२. केही कुरा आधा नै सुन्दर हुन्छ
केही कुरा आधा नै सुन्दर हुन्छ
जस्तो तिम्रो शिरबाट खसेको झरना
पिठिउँको छेउछाउ नपुग्दै रोकिनु,
जस्तो तिम्रो ओठबाट खसेको प्रेमिल स्वर
जीवनको किनार नछुदै रोकिनु,
जस्तो कि तिम्रो र मेरो सम्बन्ध ….
केही कुरा आधा नै सुन्दर हुन्छ
जस्तो कि आकाशमा आधा मुस्कुराएको जून,
जस्तो कि आधा घाम आधा पानी मिसिएर टाँगिएको ईन्द्रेणी,
जस्तो कि आधा अनुहार देखाएको कुनै हिमाल,
केही कुरा आधा नै सुन्दर हुन्छ
जस्तो कुनै यात्रामा भेटिएको सुन्दर मानिसको नाम छुट्नु,
जस्तो कुनै प्रिय गीत हजार पटक सुने पनि आधा मै रहनु,
जस्तो कुनै पढ्दै गरेको कविता ।
२१. मौनता
तिम्रो मौनताको गहिराईमा-घृणा भए
म मेट्नेछु-प्रेमको उचाईले !
तिम्रो मौनताको गहिराईमा-प्रेम छ भने
म समेट्नेछु-प्रेमको उचाईले !
तिम्रो मौनताको गहिराइमा
सिर्फ मौनता छ भने
म अाफैँलाइ मेट्नेछु-प्रेमको उचाइले !
२०. यादहरूको सङ्ग्रहालय
कपूरको सुगन्ध
बिलाए झैं बतासमा
म बिलिन नहुञ्जेल
बतासबाट
आफुभित्र सङ्ग्रह गर्न चाहान्छु यादहरू !
बरफहरूको जङ्गलमा
म एक्लै एक्लै जम्दा
सगैँजम्न तयार उनी
उनको आँखा
मेरो आखाँको एउटा कुनामा राख्न चाहान्छु !
मैले ढुङ्गाको गीत गाईरहँदा
मलाई धर्तीले गीत सुनाउनेहरूलाई
जीवनको अन्तिम स्टेसनसम्म
कुदिरहने मुटुको ट्रेनमा बसाउन चाहान्छु !
मैले हेर्न नजानेको
-फूल
मैले महशुस गर्न नसकेको
-बतास
मैले नजानेरै कुल्चिएको
-दुबो
सबैसबैला राख्न चाहान्छु
छातीको र्याकमा !
बुख्याचा थिए म
सम्बन्धको हाड
भावनाको रगत
विचारको छाला दिएर
मान्छे जस्तै बनाउनेहरूलाई
धड्काईरहन चाहान्छु सासहरूको लयमा !
यो बाटाहरुको सहरमा
मैले बाटो नै नभेट्दा
मलाई नै बाटो बनाउनेहरूलाई !
जीवनको साईकल मुस्किलले पेलिरहँदा
खुट्टाको ट्युबमा हावा भरिदिनेहरूलाई !
छाडेर फर्किनेहरूलाई !
फर्किएर फेरि कहिल्यै नआउनेहरूलाई !
मेरो आत्मामा मरुभूमि
बिछ्याउनेहरूलाई !
मरुभूमिको गाउँबाट
फर्कदा
ओठको बालुवा
ओठैले पुछिदिनेहरूलाई !
म बूढो रुख बनेर
नखसुञ्जेल जीवनको अनाम पहाडबाट
सुरक्षित राख्न चाहान्छु याद बनाएर !
यही यादहरू त बस्दा रहेछन्
एक्लोपनमा सँगसँगै
आफुसँग सधैँ सधैँ ।
१९. वकपत्र
तिम्रो शरीरमा
जबरजस्ती टसाईएको ओठहरू
मलाई थाहा छ !
मलाई थाहा छ-
हर दिन किन च्यातिन्छ तिम्रो भित्री वस्त्र
म महशुस गर्न सक्छु-
हर रात तिमी स्तम्भ हुन्छौ
र लडाउछ प्यासी बतासले
र पनि म प्रेम गर्छु प्रेयसी !
म प्रेम गर्छु- मलाई देख्दा तिम्रो आँखामा ओहरदोहर गर्ने आगोलाई
जसले शितलता दिन्छ-मेरो आत्मालाई
त्यसैले तिमी मात्र फूल होइनऊ !
फूलमा आगो रोप्दै हिड्ने-मेरी प्रेयसी !
मैले प्रशस्त गल्तिहरू गरेको छु !
गल्ति सुधार्दा सुधार्दै एकदिन माफ पाएँ भने
म दिनेछु-
मेरो ओठ तिम्रो ओठलाई
र निदाउनेछु च्यापिएर तिम्रो अङ्गालोमा !
या घृणा नै गरि पो रहन्छौ कि..?
तिमीले घृणा गर्दा- गर्दै
एकदिन म बादशाह भएँ भने
नाङ्गै पार्नु र कोर्रा लगाउनु
म तिम्रै प्रेम शरीरभरि कुँद्न चाहन्छु !
या म जपिरहुँला तिमीलाई…..जप्दाजप्दै तिम्रो नाम ।
उल्टिएर प्रशन्न भई जाला कुनै देवता । म तिम्रो मुस्कानलाई पाण्डुलिपी बनाएर लेख्नेछु प्रेमायण । र हिँड्नेछु-आफैले नहिँडेको बाटो !
या
तिमीलाई प्रेम गर्दागर्दै
आँखा खुल्लैपारि निदाई पो जान्छु कि कुनै दिन
कृपया बन्द नगरिदिनुस ति आँखा
म चाहन्छु-
मेरो आखाँबाट कहिल्यै नहटोस् तिम्रो तस्विर !
या हुन सक्छ यी कल्पनाले धर्ती छुनु अगावै तिम्रो आँखाबाट हराई पो जान्छ कि ? आगो त थोरै भए पनि फक्रि दियो भनेँ जून ! म भूकम्पित हुनेछु तिम्रो धर्तीमा । समुन्द्र जसरी अड्डिने छु तिम्रो हत्केलाभरिको रातमा !
ओ ! बादल जस्तो मन
नथाक्नु
उड्नु
प्रेमको क्षितिज छोएर
सग्लो पागलपन समेट्न
म हेरूलाँ टुक्रा~टुक्रा आफूलाई तिम्रो आखाँमा
समय चुपचाप
जम्ने छ हाम्रो बन्द हत्केलाभित्र
ऐनाको छातीमा टल्किएको काँचो घाउ
हाम्रो हुनेछ
तर
तिम्रो आँखामा हुने छैन मेरोलागि आगोका हरफहरू !!
१८. माफ
हामी अङ्गालोमा रहे पनि एकअर्काको
दुरी छ हामीबीच
ओठबाट ननिस्किए पनि एक शब्द
शब्दहरू छन् आँखामा
जीवनलाई हिडाउन सुरक्षित यात्रामा
छुटेका थियौँ राजीखुसी
सायद हामीले टाह्रेका थियौँ
सम्भावित दुर्घटना !
दुर्घटना दुई फरक पृष्ठभूमिले घटाउन सक्थ्यो
दुर्घटना दुई फरक बिचारले गराउन सक्थ्यो
तर छ सायद अझै बाँकी
सँगै दुर्घटीत हुन नपाउनुको गुनासो
र त भएको होला अङ्गालोमै पनि दुरी
यसैले त भएको होला आँखामा शब्दहरू
यो यसैले पनि हो कि
मैले अझै सकेको तिमीलाई माफ गरिदिन
तिमीले अझै सकेकी छैनौँ मलाई माफ गरिदिन ।
१७. सत्तीदेवीलाई चिठ्ठी
डियर सत्तीदेवी!
मेरो आधापन तिमीभित्रै आत्महत्या गर्न चाहान्छ
मेरो ईन्द्रिय चाहन्छ तिमीलाई नै महसुस गर्न !
मलाई तिम्रो छातीको न्यानोमै सेकिएर बाँच्नु छ
एक जन्म
मलाई तिम्रो काखमै पल्टिएर निदाउनु छ
एक जन्म
डियर सत्तीदेवी
लाग्छ
जुनदिन तिमी जन्मिएकी थियौ
त्यही दिन पहिलोपल्ट मुस्कुरायो ब्रह्माण्ड
त्यही दिन नै पूर्णता पायो यो सृष्टिले
बने
– हिमाल, हिउँ धर्तीमा
– तारा, जून आकाशमा
र यो पृथ्वी
पृथ्वी जस्तो भयो।
तिमीलाई थाहा छ सतीदेवी
म महादेव
त्यही दिनदेखि त शिरमा बोकिहिड्छु
-धर्तीको गङ्गा
-आकाशको जून
डियर ! गौरा
तिमी जुन नदी किनारमा कुरिरहन्थ्यौ मलाई
बालुवामा बनाएर मेरै प्रतिमा
तर म
आउनै सक्दिनथेँ, त्यहाँ
यदि आउथेँ भनेँ
मेरो छातीमा रोपिन्थ्यो मैले नै बनाएको त्रिशूल !
हो सत्तीदेवी !
दुनियाँले जान्दै जान्दैन् कि म कति पल्ट
शमशान घाट पुगेँ
आफ्नै हत्या गर्न
तिमीलाई पनि थाहा नहुन सक्छ
तिम्रा यादहरूको डोज कालकुट बनेपछि
म वर्षौँ वर्ष जम्थेँ कैलाशमा
अनि पग्लिएर बग्थेँ तिमीले पुज्ने नदीको किनारै किनार
र खस्थेँ तिम्रै अञ्जुलीबाट उचालिएर।
प्रिय ! दक्ष प्रजापति पुत्री
जुन दिन थाहा पाएँ-
तिम्रा पिताले कि म त्रिशूल बनाउँछु
र मैले छोएँ तिम्रा-‘अञ्जुलीका औँलाहरू’
केही थान राक्षस जस्ता भगवानहरूले
तिम्रो भगवानको
निधारमै रोपिदिएँ त्रिशूल
जसलाई दुनियाँले
त्रिशूलको ‘शूल’ हटाएर ‘नेत्र’ भन्छ !
जुन दिन थाहा पाएँ-
तिम्रो पिताले दैलोमा बस्न नदिएको मान्छे
दिलमा बस्यो भनेर
धर्मशास्त्र
र कानुन
दुई
याँमानको तुनाले
मेरो शरीरलाई डमरु बनाएर बजाइरहे नथाकुञ्जेल
र कैद गरिदिएँ
बासुकीहरूको सहरमा !
त्यही बेलादेखि मलाई लागेको हो-
पशुहरू मानिसभन्दा जाति हुदाँरहेछन्।
डियर ! गौरा
म त्यहीँ कैदबाट
लेखिरहेछु यो पत्र
पुग्छ पुग्दैन् तिमी सामु
तर सुन्नु तिमीले बतासको ढुकढुकी।
डियर सत्तीदेवी!
म यो कैदबाट
भनिरहेछु
– आउ
अब यस्तो एउटा प्रण गरौँ ता की
कुनै पनि सत्तीदेवीले
कुनै पनि युगमा
चुकाउनु नपरोस् प्रेमको मूल्य- आत्मदाह !
डियर सत्तीदेवी आऊ
अब यस्तो एउटा प्रण गरौँ ता की
तिम्रो शव हैन्
म बोकेर हिड्न सकुँ
यो सारा जगत्मा
हाम्रो प्रेम
र जहाँ-जहाँ खस्छन् हाम्रो प्रेम
त्यहाँ त्यहाँ उत्पति होस् धर्तीकै सुगन्धित फूलहरू !
१६. चिठ्ठी
सम्बोधनमा तिमी थियौँ
समापकमा थिएँ म
एउटा पुरानो चिठ्ठीमा !
पुगोस् सहिसलामत भनी
आफै बनेथेँ-खाम !
हातमा परेपछि चिठ्ठी
च्यातिनु पर्दोरहेछ खाम
फ्याँकिनु पर्दोरहेछ भुईँमा !
१५. प्रेमी
अघिल्लो जन्म थियो पोखरीमा
हिलोमा उफ्रियो
सुस्तायो लेउको नरम भूवामा
त्यो सानो पोखरी नै सिङ्गो धर्तीजस्तो
सिङ्गो धर्ती नै पोखरीजस्तो
जीउन सिक्यो चाहे जसरी
मर्यो चुपचाप
अहिले फेरि एउटा जन्म छ उसँग
मानिसको रूपमा
हेर्न
सिङ्गो धर्ती छ
उड्न
सग्लो आकाश छ
उ भने चुपचाप खपिबस्छ
चिसो यादहरू
डुबिबस्छ त्यसैको पोखरीमा !
१४. क्रमभंग
तिम्रा हरेक उपेक्षामा
मैले शब्दहरू गुमाएको छु !
तिम्रा हरेक अविश्वासमा
मैले आफ्ना आँखाहरू पगालेको छु
आज तिम्रो साथमा अरू नै कोही देखेँ
त्यही छाडी आए आफ्ना आँखाहरू
जो थिए कैयौं दिनदेखिका अनिँदा
जो चाहान्थे निदाउन त्यही कुममा अडेसिएर !
१३. तिम्रो प्रेममा……..
तिम्रो प्रेममा
कैदी बनेर
बेर्नु परे पनि आँखाभरि अन्धकार
फाँसी दिनु परे पनि हरेक दृश्य
म तयार छु !
बस्
तिमी फिजाईदेउ केश
म निदाउ त्यहाँ !
तिम्रो प्रेममा
नदी बनेर
बग्नु परे पनि तातो हिमालभरि
जम्नु परे पनि न्यानो समथरभरि
म तयार छु !
बस्
म बगुँ
तिमी थामिदेउ छाल
तिमी बग्नु मेरो आत्माभरि !
तिम्रो प्रेममा
बादल बनेर
डुल्नु परे पनि आकाशै आकाश
डुल्दा डुल्दै ठोकिनु परे पनि पहाडसँग
म तयार छु !
बस्
म टुक्रिउ
सम्हाल तिमी
म चुहिउँ
समाहित गर तिम्रो धर्तीमा !
१२. प्रेम-२
कुनै अर्कै कथा लेख्न चाहेको थिएँ
लेखियो; कुनै अर्कै कथा !
मी
११. भगवान
एउटा मौनता तिमीसँग छ !
एउटा मौनता मसँग छ !
तिम्रो आकाशमा टाँगिएको ताराले
हेर्दैन तिमीलाई
तिम्रो जून
सधैँसधैँ तर्किएर हिड्छ तिमीसँग
लुकेरै उदाउछ
तिम्रो घाम तिम्रो भूगोलबाट !
तिमी
जसको लागि धर्तीको सबैभन्दा सुन्दर फूल सिउरीरहेकी छौ केशमा
तिमी
जसको लागि हेरिरहेकी छौ बेदाग अनुहार श्रृंगारको अनुपम गहिराईबाट
उसले हेर्दैन तिमीलाई !
तिमी
जुन भगवानलाई पुजा गरिरहेकी छौँ मन-मन्दिरमा
उ भड्किरहन्छ सहरका कुरुप सहरहरूमा !
मेरो आकाशमा टाँगिएको ताराले पनि
हेर्दिनन् मलाई
मेरो जून पनि सधैँसधैँ तर्किएर हिड्छे मसँग
मेरो घाम पनि लुकेरै उदाउछ मसँग
मेरो भगवान
स्वयम् पुजिरहेछिन अर्कै भगवानलाई !
एउटा मौनता मेरो भगवानसँग छ !
एउटा मौनता मसँग छ !
१०. ईच्छा
म खसेँ पनि धर्तीभन्दा नि तल तल !
म मेटिएँ पनि क्षितिजभन्दा नि पर पर !
लिपिनु पाऊ
तिम्रो आँखाको डिलमा
बाक्लो परेली झैँ !
टासिनँ पाऊ
तिम्रो ओठको रक्तिम बाटोमा
मुस्कान झै !
तिम्रो श्वासहरूको सिम्फोनीमा
डुब्दै डुब्दै पुगुँ
धडकन बस्ने ठाउँमा !
९. जून
तिम्रो आँखा
कुनै निलो समुद्र
मेरो आत्मा
छप्ल्याङ्ग छुप्लुङ्ग छप्ल्याङ्ग छुप्लुङ्ग
डुबिदियो त्यसमै
प्रेम बोकेर
डुब्दाडुब्दै डुब्दाडुब्दै
पुगिदियो पिँधमै
त्यतिबेला
तिमीले चुपचाप निकालि दियौ
मेरो अराजक सास
मुटुबाट
र भन्यौँ-“अब आईन्दा नधड्किनु कुनै जूनको लागि !”
८. छु ट् नु-२
हावाको छातीबाट आँधी -बेहेरी छुटेजस्तो
होईन छुट्नु-हाँगाको हत्केलाबाट पात
उकाली / ओरालीमा सास छुटेजस्तो
होईन छुट्नु-सहयात्रीको निर्मल / कञ्चन कथाहरू
काँडाहरूमा बिश्वास छुटेजस्तो
होईन छुट्नु-बिश्रामको स्पर्श छहारीमा
कैयौँ पुस्तकको पृष्ठहरूमा
आफैलाई छाडेर हिडेको छु
कैयौँ सम्बन्धका साँघुहरूमा
जोगाउदै बसेको छु खसिरहेको मुस्कानलाई ,
कति शिरबाट खसेको हुँला ,
कैयौँ मन्दिरमा
आफैलाई चुँडेर चढाएको छु
कैयौँ तिर्थयात्राबाट
निसासिएर भागेको छु ,
फुल्छु भनेर बसन्त आउथ्यो
एउटा सपना मौसमजस्तै धोकेबाज बन्थ्यो
छिचोल्दै छिचोल्दै अक्षरहरूको गोरेटो
मेट्दै / लेख्दै / खस्दै / टिप्दै
हिँडेका आफ्नै पाईतालाको वाक्य
गायब गायब छ यात्राको अनुच्छेदहरूमा……
काव्य जस्तो जीवनको अन्तिम हरफतिर आईपुग्दा
लय छुटेछ वाक्यबाट
महसुस छुटेछ शब्दबाट
भेट्दाहरूमा ‘स्वागत’ छुटेछ
छुट्नुहरूमा छुटेछन ‘लास्ट हग’
. . . केही ‘छु टे को’ महसुस गर्नु भयो ?)
७. छु ट् नु
खुर्पे घाम/जून हेर्न
आकाशलाई उतार्थ्यौ ठू…लो बटुकामा
भरिँदै गएपछि घाम/जून
आकाशलाई बोकेर आँगनमा मिल्काउथेऊ
आँगनमै बर्सिन्थ्यो बादल
आँगनमै चिच्याउथ्यो चट्याङ्ग
बर्षायाममा ,
कर्कलाको पातको एक जोर छाता त्यही थन्काउथेऊ
एक अंश बाल्यकाल
त्यही चिप्लिएर लडेको थियो
केही थोपा निर्दोष समय त्यही हिलाम्मे भएको छ
त्यही एक कुनामा छुटेको छ तिम्रो हत्केला
आमाले लतार्दै लैजाँदा मतर्फ बढेको ,
तिमी गएपछि पनि त्यही रूझिबसेथे म
हेर्दै बसेथे-
भिजेर पनि तैरिरहेका
तिमीले बनाएका कागजका दुई डुङ्गाहरू !
पानीले भिजेर
बिरामी परेकी थियौँ अरे ,
त्यसपछि तिमीलाई कहिल्यै देखिन स्कूलमा ,
छुट्टिएका ती अौँलाहरू
अहिले पनि खोज्छु-
भीड/ पार्क / सडक/ सुनसानहरूमा ,
तर त्यो कुनै अनाम आमाले तान्दै पुर्याएको ठेगाना
मैले अझै जान्न सकेको छैन् !
६. बियोग-२
पृथ्वीमा सूर्य नखसेको भए
युग पुग्दैथ्यो
बाटाहरू
डुबिसकेका थिए अन्धकारको योनीभित्र
त्यहीबेला
मैले देखेको हुँ
तिम्रो ओठलाई दियोजस्तै
त्यसपछि
तिमी दियो बन्यौ
र हुरहुरती सल्कियौ मेरो शरीरभरि !
बरु
मलाई तिम्रो मुटुभित्र
एउटा सानो खाल्डो खन
र गाडिदेऊ !
बरु
मलाई तिम्रो मस्तिष्कको मसिनो धर्साभित्र
एउटा नाम बनाऊ
र मेटाईदेऊ
तर
म डढेर खरानी हुन नपाउदै
नखसालिदेउ आँखाबाट
तिम्रो पाईतालाले टेकेको
आँशुको जमिनमा !
५. बियोग
जब हृदय हल्लियो हत्केलामा
अन्तिम धड्कन बनेर
शब्दहरू चुपचाप अड्डिए
आखाँमा आँसु जस्तै !
आशुँले खस्न बिर्सिसकेछ
आखाँको हागाँबाट
सायद
यतिञ्जेल जीवनको रूखबाट
चुड्डिसकेका थिए अनगिन्ति हरिया पातहरू !
डियर !
हरिया पातहरू
छाडि जानु अघि
तिमीलाई दिनु थियो छातीभित्र फुलेको फूल
तर
तिमी हिड्नु
र, मेरो ईश्वर निदाउनु एकै पल्ट भईदियो !
जसले टच टमाग्यो मेरो हत्केला
कोर्यो किरिङमिरिङ धर्सा
र, भन्यो-
“अब तँ एक्लै हिड्नु यो नागबेली बाटोमा ।”
४. स्पर्श – ४
मानौँ वर्षौं पहिले तिमीले खनेकी हौ छातीमा गहिरो खाल्डो
र म कुनै अनाम सम्मोहनले जम्न पुगेको हुँ त्यहाँ
पहिलो भेटमा
हाम्रा मुटुको कुम ठोक्किए
र धड्किदै खस्यो एउटा थोपा हृदयबाट !
दोस्रो भेटमा
तिम्रा हात राखेँ हातमा; खस्यो मुस्कानका थोपा ओठबाट !
पछि त दुरी लम्बियो हामीले सँगै छिचोलेको बाटोभन्दा
र काप्दै खस्यो केहि थोपा आखाँबाट !
यात्राको नदी यसरी फैलियो कि
दुई किनार भएँ स्मृतिहरू
केहि थोपा अक्षर खसेँ
म्यासेज-वक्सबाट
केहि थोपा आवाज खसेँ
कल-लिस्टबाट
थोपैथोपा गासेँपछि बनाएको थिएँ तिम्रो अनुहार
म तिम्रै तरल अनुहार भएर
जम्न पुगेको थिएँ तिम्रै छातीमा
जहाँ तिमीले नै खनेकी थियौँ वर्षौं पहिले एउटा खाल्डो
आज वर्षौंपछि खल्बलिएको छु म
मानौँ तिम्रै ओठ जस्तो बतासले छोएर गएको छ मलाई ।
३. स्पर्श-३
जति शब्दहरू
जति नै तरिकाले मिलाए पनि
तिम्रो अनुहारझैँ कुनै कविता कोर्न सकिँदैन……
जति शब्दहरू
जति नै तरिकाले कोरे पनि
विस्थापित गर्न सक्दैन तिम्रो ओठमा फक्रिएको मुस्कानका हरफलाई
तिम्रो हत्केलामा फुलेको जून
किन यति चम्कियो मेरो अाकाशमा ?
तिम्रो मुटुमा लुकेको सपना
किन यति ढुकढुक मेरो छातीमा ?
मैले हेर्ने क्षितिजको
एक मात्र धर्ती / एक मात्र आकाशमा तिम्रै अनुहार टाँगिएको छ
मैले हिड्ने बाटोको
हरेक प्रतिक्षालयमा तिम्रै स्मृतिको स्पर्श छुटेको छ
तिमीले हेरेपछि बलियाबलिया प्रलयहरू पनि
फूल जस्तै मुस्कुराउन थालेँ
तिमीले छोएपछि पागल आँधी-हुरी पनि
आफैलाई जोगाउदै पत्तासाफ भए
तिमीले छोएपछि
तिम्रो पाईताला भएको छ मेरो आँखा
तिम्रो छाती र त्यहाँ चलमलाउने सपना भएको छ मेरो मुटु
तिमीले छोएपछि
मैले हेर्ने ब्रमाण्डको नक्शा फेरिएको छ
मैले पुज्ने भगवानको अनुहार फेरिएको छ
तिमी नहुदी हौ त
उक्लिन नसकेर जीवन; आधार-शिविरमै फोक्सो समात्दै
बसेको हुने थिएँ म
तिमी नहुदी हौ त
आफैभित्र निस्सासिएका शब्द-बमले पड्किएर
सखाप भईसक्थेँ म !
२. स्पर्श-२
केही यात्रा थिए
जो बाटोमै छुट्टि गए ।
केही सम्झना थिए
बिर्सनेहरू बोकेरै बेपत्ता भए ।
केही सम्बोधनहरू थिए
सम्बन्धको डायरीमै च्यापिए ।
र पनि ,
बाटोमा भेटिने मानिसहरूसँग मुस्कुराउन सिकेँ
बाटोमै अलपत्र छाडिएका फूलहरू उठाउन सिकेँ
तिमीले नछोई दिएको भए जीवन यति सुन्दर हुने नै थिएन…
१. स्पर्श
जब तिमीले छोयौ
मभित्रको झुसिलकिरा मर्यो
मृत झुसिलकिराको आत्मा उड्यो
रङ्गिन पुतली बनेर । मनोज लोहार मनोज लोहार मनोज लोहार मनोज लोहार मनोज लोहार मनोज लोहार
लेखक परिचय
मनोज बिश्वकर्मा अहिलेको समयका शक्तिशाली कवि हुन् । उनका कवितामा समयको चेत बेजोड रुपमा पाइन्छ । कवि बिश्वकर्माले साताको साहित्य पुरस्कार समेत प्रप्त गरिसकेका छन् ।