म ठुलो सपना देख्छु
म चौतर्फी सपना देख्छु
म सपना सपनाकै रूपमा देख्छु
किनकि केही सपना
सपनाकै लागि हुँदारहेछन्
त्यसैले होला मेरा सपना
विपनामा कहिल्यै फेरिएनन्
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।
मेरा सपनामा म,
मेरी हजुरआमाको
बहादुर पौरख देख्छु
मेरी आमाले लगाईदिएको
उड्ने प्वाँख देख्छु
मेरा वुबाले भरिदिएको
बलियो आत्मविश्वास देख्छु
मेरा दाजु-भाउजूले सिकाएको
गोरेटो देख्छु
मेरा भाइ-बहिनीले देखाएको
सम्मान देख्छु
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।
म सपनामै बोल्छु,
सपनामै कुरा गर्छु,
सपनामै जीवनको बाटो
हजारौँ हजार पटक नापिरहन्छु।
मेरो सपना एक किताब,
अनि पाठशाला पनि हो
पाठशालाबाट सिकेको कुरा
कहिल्यै कमजोर हुँदैनन्
भन्ने सुनेको छु
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।
मेरो सपनामा
पर्यटनको प्रशस्त सम्भावना छ
कैयौँ पर्यटकहरू आँउछन्, जान्छन्
पर्यटकहरूका लागि
म एक उभिने मजबुत धरातल
अनि पथप्रदर्शक भएको छु
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।
मेरा सपनाहरूमा
समय अनुकुलताको छाप देखिन्छ
समयले सिकाएको आभास देखिन्छ
समयसँगै बदलिएका छन् मेरा सपना
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।
म मेरा सपना साकार पार्न
कुनै स्रोत साधनको कमी देख्दिन
किनकि मैले कुनै हिसाबै नराखी
भरपुर समय सपनामै खर्च गरेको छु
मेरा ज्ञानेन्द्रियहरू
मेरा सपना अनुकूल सहायक जो छन्
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।
म चौतर्फी सपना देख्छु
सपना एकै प्रकारका हुँदा रहेनछन्
त्यसैले म मेरा सपनामा
कहिले पूर्वबाट प्रतिष्ठा देख्छु
कहिले पश्चिमबाट प्रारब्ध,
कहिले उत्तरबाट उन्नति देख्छु
कहिले दक्षिणबाट दायित्व,
यी सबथोक म मेरा सपनामा देख्छु
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।
म मेरा सपनामा
फरकलाई समान आँखाले
हेर्न सक्ने सपना देख्छु
विपनामा बदलिने सपना देख्छु
तर मैले जे-जस्ता सपना देखेपनि
केही सपना सपनाकै लागि हुँदारहेछन्
त्यसैले होला मेरा सपना
सपनाकै रूपमा देख्छु
किनकि मेरा सपना
विपनामा कहिल्यै फेरिएनन्
र पो म ठुलो सपना देख्छु
म चौतर्फी सपना देख्छु
म सपना सपनाकै रूपमा देख्छु
किनकि मेरा सपना
विपनामा कहिल्यै फेरिएनन्
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।
लेखक परिचय
नेपाल सरकारको निजामती सेवामा कार्यरत जोशी साहित्यका विभिन्न विद्या तथा अनुसन्धानात्मक लेखहरूमा कलम चलाउने गर्दछन् ।