स्वतन्त्रताको बिगुल फुक्दै-फुक्दै
छिरेथ्यो समानताको नाराहरू लिएर
एउटा भोकहरूको बस्तीमा ।
अँजुलीभरि बोकेर
घामका किरणहरू
ताप्दै – ताप्दै पुगेथ्यो
एउटा सर्वहाराहरूको बस्तीमा ।
हिउँको सेताम्मे सितहरू बोकेर
झरेथ्यो तराईका फराकिलो फाँटहरूमा
हिमाल पहाड तराई
कोहि छैनन् पराई भन्दै – भन्दै पुगेथ्यो
एउटा कमलरीहरूको बस्तीमा ।
समानताको जुलुस लिएर
सर्वहारा गरीबहरूको न्यायालय बोकेर
स्वतन्त्रताको बिगुल फुकेर
देश भित्रको देशमा छिरेथ्यो
देश हराएको नागरिक खोज्दै
एउटा बिशाल जनयुद्ध
र पुगेथ्यो त्यही शोषकी र सामन्तीहरूको बस्तीमा ।
तर यतिबेला विडम्बना –
अझै छट्पटी रहेछ उही भोकहरूको बस्ती
अझै रोईरहेछन उही सर्वहाराहरू
अझै उस्तै छन् घाउहरू
अझै उस्तै छन् वेदनाहरू
अझै उस्तै छन् गरीबहरूका सपना
अझै उस्तै छन् शोषकी र सामन्तीहरूको अत्याचार
अझै उस्तै छन् शासन पद्धतिहरू
तर्सथ पुनः एउटा भयङ्कर बौद्धिक जनयुद्धको खाँचो छ ।
तर
अबको जनयुद्ध
बिपिहरू, माओहरू र लेलिनहरूको हुने छैन
हुनेछ छ त केवल
– यहीँबाट बग्ने नदीहरूको
– यहीँबाट उड्ने माटोको धुलोहरूको
– यहीँबाट फेरिने स्वासहरूको
– यहीँबाट उभिएको मानवहरूको
– यहीँबाट फक्रीएको फूलहरूको
– यहीँबाट झुल्किएको घामहरूको
– यहीँबाट उठ्नेछन समानताको आवाजहरू
र बुलन्द फुट्ने छन् र पड्किने छन्
सदाको लागि अ-समानताको खाडल पुर्न
यसरी पड्किने छन्
जसरी हिरोसिमा र नागार्जुनमा
पड्किएको बमजस्तै ।
लेखक परिचय
पहिचानवादी कवि सुमन सहयात्री योङहाङ सशक्त समकालीन सर्जक हुन् । उनी आदिवासी जनजाति साहित्यकार/लेखक सङ्घ साउदी अरेबियाका अध्यक्षका रूपमा काम गरिरहेका छन् ।