निर्झर निर्झर निर्झर
युग-युगदेखि युग-युगसम्म
कसरी धाइरहन्छौ ?
चिर-चिरको यो तिम्रो यात्रा
भनन कहिले शेष यो गछौं।
सुधाको प्रेम-सुधाझै
फुटीकन निस्क्यो अन्तरबाट
सारा प्राणी-जीवनीभित्र
जीवन भर्छौ, शक्ति विराट !
नित्य निरन्तर नबसी काहीँ
कत्ति नथाकी दिक्क नमानी
रत्ति नभुली पथमा आफ्नो
खुरुखुरु जान्छौ सरिता सानी !
खुरुखुरु जान्छौ सुरुसुरु
जान्छौ कहीँ रोडामा ठक्कर खान्छौ
धुरुधुरु रुन्छौ आँसु बगाइ
नित्य यसरी नबसी जान्छौ !
कहीँ रोडामा ठक्कर लाग्छ,
कहीँ धोत्रोबीच जीवन हुन्छ
कहीँ छ छाँगो भीषण अग्लो,
दुःखमय पथमै जीवन बित्छ ।
यस्तो दुःखमय पथको यात्रा
गर्छौ कोसित मिल्न निर्झर,
किन धावा झन् यत्रो वेगले,
क्षणभर बसेर सास त फेर !
“थापिरहन्छौ जति दिनसम्म
उति दिनसम्म दिइररन्छु ।“
तिम्रो प्रण यो भीषण पूर्ण
गरेको देख्दा छक्क म पर्छु ।
‘मैले यति दिएँ-दिएँ यथेष्ट,
दिएँ भएभर, अझ लौ धेर दिन्छु””
भनीकन प्रण गर्छौ त निर्झरकन लौ
क्षणभर हेर
बगि-बगि जान्छौ, खस्तै
जान्छौ, स्वाँस्वाँ गर्दै सास नफेरी
लड्दै ठक्कर खाँदै जान्छौ,
कुदि-कुदि जान्छौ,
गलि-गलि जान्छौ !
कति-कति धक्का पथमा
खान्छौ, हुलमुल गर्दा कति चिरिन्छौ।
खस्ता छाँगाबाट त्यो उच्च
क्षणभर त्यहीँ मूर्छा पर्छौ।
लड्दै ठक्कर खाँदै जान्छौ,
कुदि-कुदि जान्छौ।
दायाँ-बायाँ न कतै हेर्छौ,
कैले न त तिमी पछि नै फिर्छौ।
अनन्ततिर त्यो आँखा गाडी
अघि नै बढ्छौ अघि नै सर्छौ,
क्षणिक सुखको निम्ति यसरी
मरिमेट्नु नै जीवनसार
गरम छातिको सुख-सपनामा
लायौ जीवनमा ठूलो भार ।
दुःख होस् सुख होस्,
सुख होस् दुःख होस्,
नित्य तमाशा सुख-दुःखकै होस्,
दुःख औ सुख औ तब पो जीवन,,
किन नहोस् सुख नै दुःख पनि नहोस् ।
पाऊँ सुख भनी गर्छौँ क्रन्दन,
जानी-जानी दुःखमय विश्व,
अमावसीमा शशि-दर्शनको
इच्छा गर्ने मूढ हो जीव !
(नवप्रभात, १।२, मार्च १९८४) (रचनाकाल २००५ अघि)
लेखक परिचय
भारत कालिम्पोङका नरेन्द्रप्रसाद कुमाई कलिलै उमेरदेखि कविता लेख्थे । सशक्त कविताहरू लेखे पनि उनी ओझेलमा पारिएका प्रतिभा मानिन्छन् । केही समय महाकवि देवकोटासँग संगत गरेका उनमा स्वच्छन्दतावादी धाराको प्रभाव देखिन्छ । उनका कविताहरू पीडा, दयावतीसँग र प्रथम यौवन शारदा पत्रिकामा क्रमशः वि.स. २००१, २००२ र २००४ मा प्रकाशित भएका थिए । कुमाईका पाँचवटा कविता सन् १९५५ मा रामकृष्ण शर्माद्वारा सम्पादित उद्गगार कविता सङ्ग्रहमा संग्रहित छन् । खण्डकाव्य रोदन उनको मृत्यु भएको २४ वर्षपछि सन् १९७२ मा मात्र प्रकाशित भयो ।