कमला तामाङ कमला तामाङ कमला तामाङ कमला तामाङ
उनीहरू घरमा छैनन् ।
तर सङ्क्रमणको सम्भावना
हरेक क्षण बोकिहिँड़ेका
उनीहरूको निम्ति
दिन र रात समान बनेको छ।
उनीहरूले आज
समयको सुद्धि हराएका छन् ।
‘ ईश्वर ‘ बस्ने भिन्दा भिन्दै घरहरू
बन्द छन्
तर अहिले विश्वभरि नै
अस्पताल अस्पतालमा
सेता परिधानमा
डाक्टर – नर्सहरूका स्वरूपमा
‘ उनी ‘ अवतरित छन् ।
कहीँ सुरक्षाका सामानहरू
अपुग – अवस्थासँग सम्झौता छ
कहीँ जीवन – मरणको साँधमा
रहनेहरूलाई मन – मनमा प्रार्थना छ
तर बिसाउने फुर्सद बिर्सेजस्तै छ
पेटको भोकले भुलेजस्तै छ
आँखाअघि अन्तिम निश्वास
लिन लागेकाहरूलाई
बचाउने भरमग्दुर प्रयास छ ।
युद्धरत यिनैहरूको पनि
घर त छ नि !
फर्किएर घर पुग्ने दिनले तर
एउटा अनिश्चितताको फरमान
जारी गरेको छ ।
मन्दिरहरू बन्द छन्
सुर्ताएका छौं
गिर्जाघरहरूमा ताला झुण्डिएका छन्
विक्षुब्ध छौं
त्रिपिटकका अमूल्य – वाणीहरू
गुम्बाहरूभित्र बन्द छन्
कुरानका आयातहरू पढ़िनपर्ने कुरा
मस्जिद पनि बन्द गरिनुपर्ने
फरमानले थिचिएको छ ।
गुरूवाणीहरू गुरूद्वाराका
बन्द ढोकाहरू भित्र थुनिएका छन् ।
तर यतिबेला
विवेकको आँखा उघारेर हेर्नुपर्ने हो –
मृत्युको पन्जाबाट
जीवनहरू खोसिल्याउन
सङ्घर्षरत छन् देवदूतहरू
अस्पताल – देवालयहरूमा ।
चारमहिने शिशुलाई घरमा छाड़ेर आएकी
नर्स – बहिनीको मनलाई
सोध्नु मन लागेको छ –
उसलाई घरको तिर्खा कति लागेको छ ?
अनुहारबाट थकान पुछ्न नभ्याउने
डाक्टरको मनभित्र पनि
बृद्ध बुवालाई हेर्न नपाएको गुनासो छ ,
त्यस गुनासोलाई उनले
दायित्ववोधको दराजमा थन्काएका छन् ।
अहिले उनीहरू पनि
क्वारेन्टाइनमा जानपर्ने अवस्थामा
बाँच्दैछन् ।
यी उत्सर्गी जिन्दगीहरूको नाममा
हिजोअस्ति बजाएका तालीहरू अपुग भएको छ ।
अब ,
प्रार्थनाको जम्ले हात चाहियो हजुर !
उनीहरूका अविराम आरोग्यताको निम्ति
उनीहरूका अविस्मरणीय उत्सर्गको निम्ति ।
हजुर !
एउटा स्यालुट त बन्छ नै आज
यी पवित्र मनहरूलाई
यी त्रासदीका योद्धाहरूलाई
यी त्रासदीका योद्धाहरूलाई ।
लेखक परिचय
राजनीति विज्ञानमा एम. ए गरेकी मिरिक, दार्जीलिङकी कमला तामाङ नेपाली मूलका भारतीय कवि तथा अनुवादक हुन् । नेपाली र हिन्दी दुवै भाषामा उत्तिकै कलम चलाउँने तामाङ पेशाले शिक्षीका हुन् । “अक्षरयात्रा“ ( कवितासङ्ग्रह, सन् २०१८) उनका प्रकाशित कृति हो, भने उनले दार्जीलिङ ‘काव्य सेतु’का निम्ति धेरै नेपाली कविताहरू हिन्दीमा अनुवाद गरेकी छिन् । तामाङ, अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान (सन् २०१८), विद्यावाचस्पति (विक्रमशिला हिन्दी विद्यापीठ, गांधीनगर, भागलपुर, बिहार (सन् २०१८) र, अन्तर्राष्ट्रिय तथागत विशिष्ट सृजन सम्मान (उत्तरप्रदेश) २०१९ जस्ता पुरस्कारबाट सम्मानित भइसकेकी छिन ।