पुष्पहाङ लोवा पुष्पहाङ लोवा पुष्पहाङ लोवा
कसरी हेरुँ म ?
यी नग्न आँखाहरूले
जाङ् फाटेर रक्ताम्य मुर्छा परेकी
मेरी आमाको जीर्ण शरीर ।
कतै तरुनीको यौनिक पालामी आँचलमा
कतै पैकारेनीको तीनपाने कुवामा
कतै मार्क्स बाजेको छरपस्ट कागजी चेपहरुमा
कतै जिजश चेप्जुको क्रुसको फेदीमा हराएँ हुँला म ।
कि त याङ्वरक्केनी अन्तरीको निहुँमा
तमोरखोले लुङाहरूसँग खुकुरी हानाहानमा
कि त पल्लो गाउँ माक्लीको
चार कलम हक्तबामा भुसुक्कै भुले हुँला म ।
मेन्छ्यायेम् धापमा फेदापेनीहरूसँग
तीनदिन तीनरात
सप्तमी, साप्सु ओढेर बादल चारखोलीनीहरूसँग
सातदिन सातरात
लैबरी पालाम गाएरै कति उर्वर समय बिताएँ हुँला ।
यसरी म,
यतै कतै भुलिरहेको बेला
मेरी आमाको फक्ताङ्लुङ् जस्तो शरीर माथि
साम्राज्य फैलाउँछन् अलेक्जेन्डरहरू
बुट बजार्छन् हिटलरहरू
परेड खेल्छन् इदि अमिन र मुसोलिनीहरू ।
पसार्छन् तानेर चुल्ठोमा
चिथोर्छन् बेस्सरी गाडेर गिद्देनङ्ग्रा
सल्बलिन्छन् कीटाणुहरू
मुटु, कलेजो र फोक्सो खान,
खुकुरी धारमा पुगेर
पापी, असत्तीहरूको पीडा सहेर
खै कसरी बाँचेकी छिन् ?
अलिकति ढुकढुकीमा मेरी आमा ।
न त सक्यो मेरी आमाको पीडा बोध गर्न
न त सक्यो चोटहरूमा मल्हम पट्टी गर्न
ती पालामहरूले ।
मेरी आमाको वेदना नबुझ्ने
विद्रोहको कुनै लय नगुँजिने
पालाम गाएर बित्थामा बिताएछु अमूल्य समय ।
त्यसो त अझैसम्म
ढलेको छैन जवानी मेरी आमाको
युगीन कीटाणुहरूले खाएर
रोगिएकी मात्र हुन्
त्यसैले सहवास गर्न सक्नुपर्छ हरेक समयसँग
सहर्ष स्वीकार्न सक्नुपर्छ एउटा सुन्दर युगको बिर्य
मेरी आमाले,
भोलिः
किम इल सुङ
मण्डेला र गान्धीहरू जन्मनुछ
फिडेल क्यास्ट्रो र होचि मिन्हहरू जन्मनुछ
अझ चे ग्वँ भाराहरू जन्माउनुछ ।
अहिलेलाई म लडिरहनेछु प्राण बचाउन आमाको
थोरै भए पनि गाइरहनेछु पालाम मुक्तिको भाखा मिसाएर
हरपल जुटिरहनेछु उठाउन आमाको जीर्ण शरीर ।
लेखक परिचय
फालेलुङ् पाँचथरका पुष्पहाङ लोवा, मूलत: आदिवासी सौन्दर्यलाई मूल विषय बनाएर लेख्ने लेखकका रूपमा चिनिन्छन् । उनी कथा, नाटक, कविता र नियात्रा विधामा कलम चलाउँछन् । लोवा याक्थुङ लेखक सङ्घ र याक्थुङ साहित्य प्रतिष्ठानसँग आबद्ध छन् । तङ्अम्भुङ् कविता संग्रह - (२०६७), याग्राङ्सिङ् कविता संग्रह - (२०७३) लोवाको प्रकाशित कृति हुन् ।