अमर आकाश अमर आकाश
१.
मुल्य
चित्रहरू थिए
कविताका किताबहरू थिए
ईतिहासका ठेलीहरू थिए
सुन्दर मूर्तिहरू थिए
वैभवशाली अट्टालिका
चन्द्रमा किन्ने सुन
ज्ञान विज्ञान
बुद्धि र सफलताका सूत्रहरू सब थिए
वायु भन्दा तेज यन्त्रहरू थिए
ब्रम्हाण्ड चहार्ने रकेटहरू थिए
एक से एक विलक्ष्ण प्रतिभाहरू थिए
दम्भले फुलेका सुन्दर फूलहरू थिए
ईर्ष्या र दुःख ले अँध्यारा अनुहार
कुटिलताले भरिएको मगज
रिसले मुर्मुएिका हत्केलाहरू
के थिएन सब थियो
र अब अन्धकार मात्र छ
केवल अन्धकार
साँच्चै हो !
सूर्य पनि मर्ने दिन आउँदो रहेछ ।
२.
टुङ्ना
यो हाम्रो हाड हो
मासुको मासु
गण्डकी, कोशी यसका तारहरू
जहाँ हाम्रो रगत बग्छ
यौटा मुटु छ यसभित्र
त्यहाँ हाम्रो स्पन्दन सुनिन्छ
हाम्रो जिब्रो हो यो
मातृ भाषा
आत्मा हो हाम्रो
झण्डा पनि यै हो
नक्सा पनि
लालीगुराँसको सुगन्ध बोकेको
नेपाल यै हो
लेखक परिचय
युवा कवि, कथाकार, सिनेफाइल र, नेपाली साहित्यको गम्मभीर अध्येता अमर आकाश सिनेमा समीक्षक पनि हुन् । विश्व सिनेमा सम्बन्धी आकाशका लेखहरु मधुपर्कमा प्रकाशित छन् ।