पाखाको सालिम्बोसँगै दर्शन सरकार
बर्षेनि
बुबाले काटिरहनुभएको छ आफ्नै आयु ।
कहाँ पाइन्छ?
बुबाको बैँश बोकेर फुल्ने फूलहरु
खोज्नु छ ।
मेरी आमासँग दर्शन सरकार
जून लजाएर लुकेकै रात
त्यो रातले मेरै आमाको कपालसँग
कालो रंग पैँचो मागेर नुहाएको थियो रे
अब कहिले फिर्ता दिन्छ?
मेरि आमाको सेतो कपाललाई कालो रंग ।
त्यो औँसीलाई सोध्नु छ ।
मान्छेहरू ढलेर
रगतको मूल फुटेको युद्वमैदानमा
रगत मात्रै बगेन
कसैको आँसु बग्यो,
कसैको पसिना बग्यो,
कसैको सिन्दुर बग्यो,
बमहरू पड्किन छोडेन
बन्दुकहरू चल्न छोडेन
बारुदको धुवाँ र धुलोसँगै
कसैको सपना उड्यो
कसैको जीवनबाट सबै रंग उड्यो ।
अध्यारो आँखा
धमिलो मन
निरस जीवनको कालो यथार्थ ढाक्न
सेतो वस्त्रमा बेरिएको
बहिनीको जीवनमा सिन्दुर भरिदिने
सिन्दुरी क्षितिज कति डाँडापारि छ ?
त्यहाँसम्म पुग्नु छ ।
पुग्नुपर्ने त त्यहाँ पनि छ
जहाँ आफ्नै पनि सपना छ
जस्तो
किन्नु छ एउटा पछ्यौरी,
रंग्याउनु छ क्षितिजमा चोबेर,
खोज्नु छ आकाशसम्म पुग्ने भर्याङ,
टिप्नु छ जून, ताराहरू,
सजाउनु छ पछ्यौरी,
जानु छ बोकेर डाँडापारि,
र ओडाइदिनु छ प्यारीलाई उपहार ।
कति सपना
प्रश्न बनेर मथिङ्गल हल्लाइरहन्छन्
कति सपना
कविता बनेर ओठमा सुसाइरहन्छ्न्
कति सपना आँसुसँगै बगेका छन्
कति सपना मनभित्रै बसेका छन्
लेखक परिचय
इलामका कवि दर्शन सरकार सशक्त नवोदित प्रतिभा मानिन्छन् । विभिन्न पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भएका छन् ।