इक्साहाङ चेम्जोङ इक्साहाङ चेम्जोङ
आफ्नै छाती चिरेर निकालेको
मुटुको आलो टुक्रा छट्पटीन्दै छ
हस्पिटलको आइसोलेशन बेडमा
म आधा टुक्रा मुटु मात्र बोकेर
चियाईरहेको छु
हस्पिटलको एउटा कुनाबाट
उनी भित्र छिन्
म बाहिर छु
हामीबीच सिसा पर्खाल छ
म चेतना बिहिन भएर
सिसा बाहिरबाट नियालिरहेको छु
उसको हरेक पिडा
सिसाका पर्खालहरूले छेक्न सकेनन्
ती सिसा, ती वालहरू छिचोलेर
म सामु आईपुग्यो
उसका प्रत्येक छट्पटीले
मेरो शरीर दुख्छ
उस्का प्रत्येक चिच्याहटले
मेरो मुटु दुख्छ
लाग्छ म पनि उसँगै छट्पट्यौं
लाग्छ म पनि उसँगै चिच्याउँ
हस्पिटलको भाषा नबुझ्ने भएको छु म
“अक्सिजन अभाव”
“रगत कम्ती छ”
“काउन्टरमा डिपोजिट”….
खै के-के भन्दै मेरो सामु फलाक्छन्
तर म साच्चिकै नबुझ्ने भएको छु
हस्पिटलको भाषा
मसँग छ त केवल
मेरै फोक्सो भित्र बोकेको अक्सिजन
पिडाहरू प्रसारण गर्ने नशा भित्रको रगत
अनि म पनि मानव हुँ भन्ने
एक आडम्बरी मस्तिष्क
लाग्छ मलाई
अक्सिजन अभाव भए
मेरो फोक्सो खाली गरेर
उसैकोमा भरी दिँउ,
लाग्छ मलाई
रगत कम भए
मेरो मुटु सिनिक्कै निचोरेर
उस्को मुटुमा लगाई दिउँ
मेरा सबै उर्जाहरू निखारेर
उसको शरीरमा सारिदिउँ
अनि उसलाई हुने निर्मम पिडाहरू
मेरो शरीर भरी उनिदिउँ
र डिपोजिटको लागि
मेरा सबै अँगहरू बन्धक राखी दिउँ
तर !
तर यी सब मेरा काबुमा रहेनन्
किनकी हस्पिटलको भाषा अर्कै छ
न मेरो भाषा बुझ्छ
न म हस्पिटलको भाषा बुझ्छु
माफ गर मुटु !
मैले चाहेर पनि मेरो मुटुमा जोड्न सक्दिन
तिमीले चाहेर पनि जीवन पाउन सक्दैनौ
तिमीसँगका प्रत्येक याद भुलाउन
तिमीलाई सधैँको लागि बिर्साउन
तिमी बाँच्ने धरातलबाट दुर लैजान
तिम्रो जीवनको लागि मैले भिख नमाग्न
तिमी यो दुनियाँको लागि केही हैन भनिन
मलाई सिँहदरबारमा
रमित हेर्न बोलाउँछन्
जहाँ नाटक मञ्चन गरिहेका छन्
हरेक दिन चटकेहरूले ।
लेखक परिचय
इक्साहाङ चेम्जोङ आदिवासी सौन्दर्यलाई मूलधार बनाएर लेख्ने कवि हुन् । चेमजोङ सामाजिक अभियान्ता साथै याक्थुङ लेखक सङ्घका केन्द्रिय सचिवालय सदस्य पनि हुन् । कालो आकाश (उपन्यास) उनको प्रकाशित कृति हो ।