नवराज विक नवराज विक
ओ मनुष्य !
पाँच हजार वर्ष अघिदेखि नवराज कामीहरूले आफ्नै गिदीको बन्दुक बनाएर तिम्रो राज्य थामेका हुन्
आफ्नै नली हाडको भाला खुकुरी तिर बनाएर तिम्रो शत्रुलाई परास्त गरेका हुन् ।
तिमीलाई इतिहासमा महावीर बनाएका हुन्
आफ्नै औँला काटेर करूवा बनाई तिम्रो खेतको फ्यूज
बनाएका हुन्
कहिल्यै देख्यौ इतिहासमा नवराजहरूले तिमीलाई हतियार फर्कायो ?
औँला ठड्यायो ?
यो पृथ्वीको इमानको नदी नवराजहरुकै रगतको भाटीबाट खारिएर आगोमा बग्दै तिम्रो मस्तिस्कलाई सिञ्चित गरेको हो
त्यै पसिनाको नदीलाई तिमीले वागमतीको लेदो बनायौ
विष्णुमतिको फोहोर मिसायौ
तिम्रो आफ्नै पृथ्वीनारायणको दर्शनलाई गुहुमा झैं लट्पटायौ
तिम्रो वेदको रिचालाई लतरपतर कुल्चेउ
तिम्रो बुद्धको अहिंसालाई हिलोमा गाडेऊ
तिम्रो संविधानको मर्म र भावनालाई भीरबाट झार्यौ
तिम्रो समाजवाद मानवता बालेर आगो ताप्यौ
तिम्रो माक्सवाद वर्गसङ्घर्ष खरानी बनायौ
तिम्रो जनयुद्ध धोती लगायौ
र, आफैमाथि ढुङ्गा वर्षाउँदै
नाबालिका र बेखुसीको काउसो रोप्यौ
हेर त यो हरियो खेतमा चल्ने हसियाहरू निर्माणको गीत गाइरहेछ
जुन संगीतले तिम्रो खलियानदेखि भान्सासम्म लय भर्छ
त्यै लयमा तिम्रो तथाकथित सभ्यताको सास चल्छ
तिम्रो कलकलाउँदो नानीहरू हुर्किन्छन्
त्यो उनै नवराजहरुको ब्राण्डेड करङ्बाट उत्पादित हो
आली आलीमा स्पर्श गर्ने कोदालो कुटोहरू समृद्धिको
चुम्बनमा छन्
जो उनीहरुकै मांसलबाट यति बलवान र चलायमान छ
तिम्रो सुत्केरी आमालाई खिर पकाउँने कसौडी नवराजकै सन्तानको दाहिने घुँडाको पाङ्ग्राको रसायनबाट गालियो
र, आमाहरू दूधको मातृत्व बगाउँछन्
रूखलाई पातले झैं तिम्रो लाजलाई छोप्ने नवराजहरूकै छालाले हो
जसको कारण तिमी पशुहरूभन्दा अलग छौ
आफ्नै आमा बहिनी अघि बेलाज उभिन सक्छौ
तिम्रो कुरूपतालाई उनैहरूले आफ्नै आँखा झिकेर
गहनामा सजाएपछि तिमी सुन्दर देखियौ
तिम्रो वैभवको चिन्ताको आगोलाई निभाउँन उनैहरूले
आफ्नै मुटुको सन्दुकमा आफ्नै नसा काटेर ताला चाबी आविष्कार गरे पछि तिमी अजेय भयौ
यी सब गुणको आविष्कार पछि भने
तिमीले आफ्नो आँखा बन्द गर्यौ
आफ्नै लागि मात्र हेर्यौ
तिमीले आफ्नो कान बन्द गर्यौ
आफ्नै लागि मात्र सुन्यौ
तिमीले आफ्नो गिदी बन्द गर्यौ
आफ्नै लागि मात्र सोच्यौ
जो आँखा कान गिदीको पोषण नवराजकै
बहुराज्य कम्पनीमा उत्पादन हुन्थ्यौ स्वीकारेनौ
वास्तवमा तिनीहरू सभ्यताकै आविष्कारका आविस्कारक थिए
कलाका ज्ञाता थिए
तकनीकिका पिता थिए
तिमीलाई उनीहरू देखि शुरुमै ईर्ष्या थियो
त्यही ईर्ष्याले जलेर तिमी संसार जलाइरहेका छौ
प्रेम त पहराबाट रसाएर उम्रिने जरुवा जस्तो हो
जो हृदयको मुलबाट निस्किन्छ
प्रेम त प्रकृतिको अनुपम उपहार हो
जो अप्राप्य अमूल्य छ
प्रेम त ईश्वरीय स्वरूप हो
जो अनिवार्य र सत्य छ
यो संसार प्रेमको लायक छ
तब हे मनुष्य !
तिमी को हौ ?
र,
नवराज कामीहरू को हुन् ?
लोकतन्त्रले उत्तर खोजिरहेको छ
मलाई त रगत उम्लेर आउँछ ।
लेखक परिचय
कवि शेर्मा नेपाली साहित्यको मुख्यतय कविता विद्यामा कलम चलाउछन् भने नियात्रा, निबन्धमा पनि उनको उत्तिकै दख्खल रहेको छ । शब्दहरुको याक्सा उनको प्रकाशित कविता संग्रह हो ।