१
राजनीति:एक घनचक्कर
वर्षौँदेखि
शासकहरू
बनाएर हाम्रै छातीलाई मैदान
राखेर हाम्रै विश्वासलाई बन्धकी
युधिष्ठिरले
द्रौपदीलाई राखे झैं
दाउमा राखेर हाम्रो आत्मनिर्णय
निर्लज्ज खेलिरहेछन् राजनीतिको भद्दा खेल
पुँजीवादका रक्षाकवच जस्ता
यी कर्पोरेट शकुनीहरू
सलह झैं फैलिएका यी बहुराष्टिय कम्पनीहरू
असीमित लालसाको ललिपप
बाँड्दै हिडेको उपभोक्तावादी बजार
रच्छन् आवधिक/ मध्यावधि चुनावी खेल
नेपथ्यमा पूर्व निर्धारित नै हु्न्छ- म्याच फिक्सिङसँग
देखाउनका लागि मात्र न हो-
यो रङ्गीचङ्गी चुनावी मैदान
यी गोटीहरूको भ्याइ नसक्नु दौडधुप र रस्साकस्सी
अन्तत: खेल त्यसैले जित्छ-
जसले नि:शंकोच आत्मसमर्पण गर्छ बजारको नग्नतासॅंग
जसले बलात्कार गर्छ आफ्नै विवेकको बन्ध्याकरण
र बदल्छ आफूलाई कमान्ड नियन्त्रित रोबोटमा
जसले गर्छ बहुसंख्यक निमुखाको आशा हरण
र सीमित एलिटको अन्धानुकरण।
नग्नता नै नाङ्गिएपछि
कहाँ रहन्छ र लज्जा बाँकी ?
कुरुपता नै लजाएपछि
कहाँ रहन्छ र कुरुपता बाँकी?
तर पनि अभिशप्त छ दुनियाँ
भोग्न यो
चुनावदेखि चुनावसम्मको घनचक्कर
उराल्न कैले मुर्दावाद र कैले जिन्दावादका नारा
विभक्त भएर झुन्ड झुन्डमा।
२
शृङ्गार
फूलले
जूनले
मुनालले
मृगले
कहिल्यै श्रृंगार गर्दैनन्
र पनि सधैँ सुन्दर देखिन्छन्
मान्छेले मात्रै किन गर्छ श्रृंगार
कुरूपता छोप्न
या कृत्रिमता बेच्न???
३
आँसुको रङ्ग
अन्तिम भेटमा
तिमीले मेरा हातमा निकै स्नेहले
आमाले बच्चाको हातमा
चकलेट थमाइ दिए जस्तो
थमाइ दियौ मायाको चिनो: गुलाबी रुमाल।
छुट्टिने बेला
बर्बरी आँसु झार्दै
अँगालोमा बाँधिएर चुम्यौ एकअर्कालाई धेरै बेर
घर फर्केपछि
जब हेर्छु आफूलाई स्मृतिको ऐनामा
गालामा लत्पतिएको रातो लिपिस्टिक त
सहजै पुछी गयो समयको सप्कोले
तर जति नै प्रयास गरे पनि मेट्न सकिन प्रिय
गालामा टाँसिएको त्यो आँसुको दाग
मान्छेहरू भन्छन्- मायाको रङ्ग कलेजी हुन्छ
र हृदयबाट रसाउॅंछ
मैले अझैसम्म चिन्न सकेको छैन
हरेक पटक तिमीलाई सम्झिदा
आँखामा रसाइहाल्ने यो आँसुको रङ्ग कस्तो हुन्छ ?
लेखक परिचय
हाल टेक्सस् अमेरिकामा रहेका प्रवासी सुमन(भानु क्षेत्री)ले त्रि. वि. काठमाडौँबाट एम. ए. गरेका छन् । सुमन, कविता, गजल, मुक्तक र हाइकु लेख्छन् ।