युवराज घलेभाइ युवराज घलेभाइ
१
सत्य परिवर्तनको क्रान्ति
कोल्टे रथहरूको उज्यालो
बाङ्गा रथहरूको उज्यालो
खोइ उज्यालोको गति मर्यो ?
आउँदाआउँदै,
चेतना कता भर्यो ?
चुरासँगै फुटेका भाग्यहरू
चुरासँगै झुन्डिएका जीवनहरू
सिउँदो पुछेर मर्नेहरूले
जिउँदै लुटिएका जीवनहरू……।
लौरो टेकेर छामछाम छुमछुम गर्ने
पथहरू,पत्थरिला मात्रै छन्
ठोक्किएपछिको
सम्भावित भयको अनुमानले छोपेर
काटिएका पखेटाहरूको शपथ लिएर
अब पर्खनु हुँदैन…………
मात्र सहनु हुँदैन ……….. ।
ढाँट्यो सूर्यले पनि यतिन्जेल
उज्यालो बोकेर आउँछु भनेर
तत्काल,
अँध्यारोबाटै अब
फेरि सत्य परिवर्तनको उदय हुनुपर्छ
फेरि एउटा क्रान्तिको तय हुनुपर्छ ।
२
निर्धा हामी
व्यर्थै लडेको त होइन हामी गोर्खाली
व्यर्थै मरेको त होइन हामी गोर्खाली
लाग्छ मलाई मेरो छोरोले लड्ने
माटो पाएन,
अचेल डर लाग्छ सँघारमा
स्याल कराउँदा
अचेल झस्कन्छु घरको
गोगुनको रुखमा काग कराउँदा
मेरी बुहारी-छोरीको सिउँदोको सिन्दुर देख्दा
सुकेर गएको वसन्तले
नछोएको उदास रुखजस्तो
आज यस्तै लाग्छ
हाम्रो किपट खोसिएको
हामीले हाम्रो माटोको पुर्जा साटेछौं
ढुङ्गा छौं, हामी न त दुख्छ मुटु
मौन ईश्वर झैं बोल्दैनौँ हामी-हाम्रो
पर्खाल भई बसिदिन्छौँ अरुको निम्ति
टिस्टा रुन्छ, रङ्गित रुन्छ खर्पन डोको
कोदालो रुन्छ,
हाम्रो साक्षी कञ्चनजंघा घाम-जून बाहेक
कोही भएन,
तातो पसिना झर्छ, तारा रोएर झर्छ
नुनिलो धारा झर्छ,
तर झर्दैनन् यहाँ, जोडिँदैन यहाँ
एकताका हातहरू ।
३
कमजोर हातहरू
जताततै हेर्यो यहाँ प्वालै-प्वाल
मर्दो मानसिकता स्वाभिमान जल्छ
अरुको दोष देखाउँदै, सकिँदो तेल कस्तरी बाल्छौँ
नफुले’नि हुन्थ्यो लाली-गुराँस चुँडिलान्छ
मुट्ठी बलियो भई उठ्छ आँतै सुकाउनुपर्छ
शङ्काजनक चहल-पहलमा क्रान्ति रुन खोज्छ
रङ्गभेद, जातिभेद, नाताभेदभित्रको मान्छे
भेष बद्लेर धारिलो छुरा ओढ्छ घातको बर्को
पाप लुकाउन भिज्नैपर्ने, महलभित्र रातभरि
गाँस खोसेर हाँस्नैपर्ने नाम कमाउन दिनभरि
स्वाभिमान सकेको, कमजोर हातहरूको विद्रोह
गार्हो भो बलियो मुट्ठीसित प्रतिवाद गर्न यहाँ ।
लेखक परिचय
साहित्यमा एम.ए गरेका सिक्किमका कवि युवराज घलेभाइ नब्बेको दशकदेखि साहित्य र पत्रकारितासँग संलग्न छन् । उनका कविता प्रकृति, जीवन, जगत् र अस्तित्वका विषयमा बढी लेखिन्छन् । आह्वान एउटा क्रान्तिको र क्रान्तिका समवेत स्वरहरू उनका प्रकाशित कृतिहरू हुन् भने फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् ।